पद्य कविता
जाडो कता त्यो गयो
जाडै मात्र कहाँ र मित्रहरुहो गर्मी यहाँ आउँछ
उस्तै हुर्मत गर्न सक्छ त्यसले झन् उष्णता ल्याउँछ
जाडाको नगरौं मिलेर त्यसको बद्नाम धेरै भयो
चाँडै भोलि हुनेछ सोच छिनमै ‘जाडो कता त्यो गयो ?’
लाऊँ खोज गरी गरी जखमले ज्याकेट लाऊँ अब
बाटो हेर्नु हुँदैन यो विपदमा हावा नखाऊँ अब
आफ्नो स्वास्थ्य स्वयम् सुरक्षण गरे मात्रै छ सन्सार यो
चाँडै नै हुन सक्छ सोच अनि यो ‘जाडो कता त्यो गयो ?’
गनथन
उडेर माहुरी कतै परागमा बसे सरी
म बस्न पाऊँ योगमा र ध्यानमा बसे सरी
दिमागमा फुलून् नयाँ नयाँ गवेषणाहरु
जलेर नासियून् सबै विषाक्त एषणाहरु ।।
गरेर काव्य साधना म पार लाउँला कहाँ
र त्यो विसाल फाँटमा तरेर जाउँला कहाँ
न साधना छ तेजिलो न भावना छ उर्बर
छ काव्यको अनन्तता म पार पाउँला कहाँ ?
उडेर माथि चन्द्रमा कहाँ म भेट्न सक्छु र ?
विधान लेखियो भने कहाँ म मेट्न सक्छु र ?
अनन्त भाव उठ्दछन् कहाँ समेट्न सक्छु र ?
विसाल स्वप्न देखिए कहाँ लपेट्न सक्छु र ?
कता कता नजानिदो गरेर भाव आउँछन्
नवीन भावना फुरी अनेक थङ्थिल्याउँछन्
अनन्त दुस्तराहरु कता म पार पाउनु
नेता भएको छ रे
थोत्रो चप्पल लाउँने अब उही नेता भएको छ रे
रुन्थ्यो देश भनेर जो अब उही नेता भएको छ रे ।।
ऐले कार चढेर हिंड्छ अथवा भैमा नहेरीकन
सिङ्गै देश चलाउने अब उही नेता भएको छ रे ।।
सामन्ती दुनियाँ बदल्नु छ यहाँ भन्थ्यो बडो गर्वले
आफ्नो देश र देशको सपथ जो खान्थ्यो बडो गर्वले
च्यातेथ्यो मतपत्र आज उही नै सिंहासनैमा चढी
सत्ता बाँड र फाँड गर्न अहिले नेता भएको छ रे ।।
बन्डापत्र गरेर देश त्यसले टुक्र्याँउदै गो जब
दाजु भाइ र इष्टमित्र बिचमा झुक्याउँदै गो अब
बस्ती गोठ र गाउँमा जब थियो दाम्रो परेको थियो
किर्नो झैं अथुलो भएर अहिले नेता भएको छ रे ।।
भोको बस्न तयार जो अघि थियो ऐले फुलेको छ रे
चुनाउ
जित्नै छैन चुनाउ भ्रष्टगणले माला लगाई सके
सारा दुष्ट सबै मिलेर पहिल्यै यो देश खाई सके
बोल्नै हुन्न अगाडि सर्दछ उही डाको उसैको ठुलो
केही छैन उपाय आज घरमा बल्दैन यौटै चुलो ।।
आयो फेरि चुनाउको दिन यहाँ आएर के पाउनु ?
हामी छौं रनभुल्ल फेरि अहिले धाई कता धाउनु ?
काला कानुनबाट यो मुलुकले उन्मुक्ति के पाउनु ?
आँखा चिम्म गरेर धूर्तहरुको के गीत यो गाउनु ?
शिखा मैनबत्तीकाे
भूपि सेरचनको कविता
मैनवत्तीको शिखा
यौटा मोम बलिरहेछ अहिले हेरीरहेको छु म
आई झ्याप्प निभाउने पवनको सम्भावना देख्तिनँ
कालो खान्छ प्रकाश छर्छ यसले कालै धुवाँ फाल्दछ
टाढा भाग्दछ अन्धकार जब यो बत्ती कतै बल्दछ ।
एकातर्फ प्रकाश छर्छ यसले आफैं जली रुन्छ कि ?
अर्कातर्फ सुशान्त श्निग्ध छ शिखा मानौ दुःखी पो छ कि
यौटी भर्खरकी कुनै युवती झैं सर्माउँदै पो छ कि ?
मानौ भर्खर भर्खरै पर सरी कौमार्य छर्दैछ कि ?
पैलो पल्ट रजश्वला भई कुुनै बाला नुहाइकन
आफैं भित्र भएछ सर्म कि बरा मुन्टो लुकाइकन
नौलो ज्ञान हुँदा बडो चकित झैं मुस्कान छाडिन् कि क्या ?
यो देश नङ्ग्याउन
जित्नै छैन चुनाउ भ्रष्टगणले माला लगाई सके
सारा भ्रष्ट मिले मिलेर पहिल्यै यो देश खाई सके
बोल्नै हुन्न अगाडि सर्दछ उही उस्कै छ डाको ठुलो
केही छैन उपाय आज घरमा बल्दैन यौटै चुलो ।।
आयो फेरि चुनाउको दिन यहाँ आएर के पाउनु ?
हामी छौं रनभुल्ल फेरि अहिले धाई कता धाउनु ?
काला कानुनबाट यो मुलुकले उन्मुक्ति के पाउनु ?
आँखा चिम्म गरेर धूर्तहरुको के गीत यो गाउनु ?
कोही छैन पराइ यो मुलुकमा सम्पूर्ण आराध्य छन्
उल्टा त्यो मतदान गर्न बिचरा यो याममा बाध्य छन्
के सक्थे तिनमाथि नागरिकले भेटेर दङ्ग्याउन
सारा धूर्त सरे अगाडि अहिले यो देश नङ्ग्याउन ।
युवालाइ अाह्वान
यो आह्वान छ देशका युवकले जाग्नै प-यो देशमा
आफ्नो लक्ष्य यतै बनाउन सधैं लाग्नै प-यो देशमा
अर्काको घरमा बसेर तिमीले के पाउने हो अब ?
ज्यूँदै छन् अझ रोगका चुलीहरु नाग्नै प-यो देशमा ।।१।।
भो भो तर्क वितर्क धेर नगरी फर्केर आऊ अब
आफ्नो बुद्धि विवेक वर्गत सबै लौ लौ खन्याऊ अब
लौ आफ्नै घरभित्र आई पसिना आफ्ना चुहाऊ अब
आफ्ना देश र देशवासीहरुमा माथा झुकाऊ अब ।।२।।
हाम्रै स्वच्छ हिमाल तालहरु छन् मैदान छन् खेत छन्
पाखा छन् र पहाड खोंंचहरु छन् उद्यान छन् बाग छन्
उब्जाऊ अब खेतफाँटहरुमा बाली बिनै खाली छन्
पुर्खाको यशले उपार्जित अझै मेची महाकाली छन् ।।३।।
तिजकाे कविता
परिवर्तनका आवाजहरु
यता सस्कृतिकाे छ नौलो मुहार
उता तीजको आज आयो बहार
भयो तीज धन्दा कसैलाई चाहिं
कसैमाथि चाहिं भयो झन् प्रहार ।।
नखोजौं भन्यो झन् त्यसैमा छ ध्यान
न गच्छे छ केही न केही छ मान
यसैले यहाँ संस्कृति हुन्छ ध्वस्त
विदेशीहरु झन् हुने मस्त मस्त ।।
नजानेर होला भयो धेर पाप
अरुको सिकोबाट क्यै छैन लाभ
विना अर्थका स्वाङ पारेर हुन्न
सदाचार सद्भाव केही रहन्न ।।
छ हाम्रो पृथक् सोच संस्कार हाम्रो
छ माया र सम्मान सद्भाव हाम्रो
अरुको लहैमा नलागौं नलागौं
छ औकात जस्तो त्यतैतर्फ लागौं ।।
समस्याहरु लाखका लाख आउन्
समस्याहरुले समाधान पाउन्
डटी कर्मका खालमा हामी लागौं
कविताकाे अाह्वान
नजानिंदा र स्वादिला विभिन्न भाव जन्मियून्
नयाँ नयाँ कथाहरु मभित्र आज पन्पियून्
जसै कथाहरु नयाँ मभित्र पन्पिँदा यहाँ
विभिन्न ज्ञानकुञ्जमा नयाँ विचार अन्मियून् ।।
कथा व्यथा बिहानीका कता यहाँ सुकाउनु
सुकाउने छ योजना यसै कता फुकाउनु
जसै उठेर आउँदा कथाहरु नयाँ नयाँ
कता कता पिरोल्दछन् कहाँ कहाँ लुकाउनु ?
मनुष्यका दिमागमा अनन्त स्वैर कल्पना
फुरेर आउँदा र’छन् रसालुशिक्त भावना
ती श्वैर कल्पनासँगै अनेक गीत गाइयोस्
अगम्य दिव्य ध्यानमा निमग्न बन्न पाइयोस् ।
उडेर माहुरी कतै परागमा बसे सरी
म बस्न पाऊँ योगमा र ध्यानमा भिडे सरी
दिमागमा फुलून् नयाँ नयाँ गवेषणाहरु
तीन कविता गाइजात्राकाे लागि
गाइजात्राका लागि तिन कविता
१ गणतन्त्रः खसीका मुखको कुभिन्डो
केही शान्ति र चैन जो अघि थियो नासेछ यो छेदले
हाम्रो राष्ट्र अखण्ड जो अघि थियो भाँचेछ यो छेदले
धामी झाँक्री पुरेत हो मुलुकको फुक्फाक केही गर
ल्याएछन् गणतन्त्र यो मुलुकमा त्यस्बाट टाढा सर ।।
हाम्रो देश सखाप पार्छ कि कसो सारै पिराहा रछ
यो देशै सतचूर्ण गर्छ कि कसो यो ता ठिमाहा रछ
मारी सत्रहजार मानिस जसै आउँदै गरेको थियो
यो आउँदा त्यस पापीका अगतिको जूठो परेको थियो ।।
हामी देश र देशवासीहरुको अन्यायी साहु रछ
लाखौं ज्यान बली चढाउनु प¥यो पापिष्ट राहु रछ
सिङ्गै देश डढाउँदैछ यसले यो पारीकै छेद हो
कविता अाषाढ
अाज असार एककाे लागि पाे मिल्ने रहेछ याे कविता
पर्देशबाट घरको सम्झना
बेला यो छ असारको सिमसिमे छिट्याउँदो हो झरी
कैले बादल उग्र भै घनघटा वर्षाउँदो हो झरी
पैरोले भिर खेत बारीहरु नै हुत्याउँदै पो छ कि ?
चम्किएर मिलिक्क पापी विजुली अत्याउँदै पो छ कि ?
खेतालाहरु ब्याँसी खेत लहरे गाएर झर्दा हुनन्
रोपाहार मसक्क मस्किई हिलो छ्यापेर खेल्दा हुनन्
ब्याडे चाहिं बियाडबाट बिउका फ्याँकेर मुठ्ठाहरु
जिस्के हुन् सपना भयो घर पनि टाढा छु खै के गरुँ ?
बैंसालुहरुलाई जिस्कन हिलो छ्याप्ता हुनन् बाहुसे
मायालुहरु इत्रिंदै मुसुमुसु बाँड्दा हुनन् दोपरे
कविता
यसाे लेखिटाेपलेकाे
हे क्वैली अब गाउने सुर चले भाका भरी गाउनू
राजाका सँगमै बसेर रुखमा माया मिठो लाउनू
तिम्रो उन्नति होस् सधैं मन मिलोस् माया छचल्काउनू
मेरो प्रेम रहेन यो सययमा मैले कहाँ पाउनू ? ।।१।।
मायाले अनुरागले विरहले गुन्जाउँदैछ्यौ वन
को हो को नचिनेर हो कि किन हो उम्लन्छ तिम्रो मन
डालीमा बस गाइराख अहिले आइरहे हुन् प्रिय
आफ्नामाथि नगर्नु कहिल्यै यो व्यर्थको संशय ।।२।।
यो तिम्रो लयबाट बुझ्छु मुटुको खाटो बिझाए सरी
यद्वा स्नेह धरापमा हुन पुगी माया रिसाए सरी
मेराे याे मनभित्र ता बिरहकै अागाे लगाए सरी
बैंसालुहरुले कुनै बिरहको भाका लगाए सरी ।।

युवा राष्ट्रनिर्माणमा लाग आज
झरेर गए ती दुई तारा, आउलान् र फेरि उदाउन