भोकै बस्न स्वयं तयार रहने खाना बनाएपछि
मात्रै खान तयार हुन्छ अरु को अर्काे अघाएपछि
पानीकै भरमा निरन्तर यहाँ को बस्छ सन्सारमा
भन्नोस् सज्जन हो अडिन्छ कसको सन्सार आधारमा ?

सोच्नोस् को हुन सक्छ यो भुवनामा आमा सरीको अरु
धर्तीमा सब मिल्न सक्छ तर के पाइन्छ आमाहरु
पैल्यै ध्वस्त हुने थियो यी नभए बाबा र आमाहरु
धेरै वर्णन गर्न सक्दिनँ यहाँ ऐले म खै के गरुँ ?

धर्ती हौ अझ स्वर्ग हौ गगन हौ आमा तिमी प्राण हौ
हाम्रो आश्रय हौ तथा भुवनकै आमा तिमी त्राण हौ
मायाकी प्रतिमूर्ति हौ भुवन यो आमा विना के छ र
हे आमा जगदम्बिके तिमी विना सन्सारको के भर ?

जस्को हार्दिक स्नेहमा भुवन यो मानौं अडेको छ कि
जस्को पावन पुण्य त्यो हृदयमा माया जडेको छ कि
हे माता यस विश्वमा तिमी सरी को हुन्छ त्यो आखिर
माताका चरणारविन्दतलमा मैले झुकाएँ शिर ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *