नेता
साधारण किसानको घरमा उसले जन्म लियो । उसले मात्र होईन धेरैले जन्म लिए! अरु ता सब मिहिनती थिए, ऊ भनें अल्छी । गफ ठुला-ठुला जोत्दथ्यो, काम-माटोको यौटा ठेला समेत उठाउने चेष्टा उसले कहिले गरेन । बिस्तारै समयले उसलाई ठुलो बनाउदैं लग्यो । उसका हत्केलाहरु ठुला भए, उदर ठुलो भयो, ललाट ठुलो भयो, शरीरका सबै अङ्ग ठुला भए, सिवाय मगज । उसको मगज सानोको सानो नै रह्यो । बुवा-आमा दिनभरी कुटो-कुदाली गरेर आउँछन्, ऊ भने वनतिर डुल्छ, आवाराहरुसँग गुच्चा खेल्छ, तरुणीहरुलाई जिस्क्याउँछ, बुवाको गोजीबाट दुई-चार पैसा चोरेर चुरुट पिउँछ, बेला-बेला घर्तिनी दिदीकहाँ गएर जाँड्-रक्सी पनि पिउँछ । समाजमा घुलमेल बढाउँदै जाँदा उसले जुवा खेल्न पनि सिक्यो, मुझराहरुमा मन बहलाउने तवरहरु पनि सिक्यो ।

“अँध्यारो रातमा हेडलाईट बालेर राजमार्गऊपर तीव्र गतिमा गाडी त सबैले कुदाउँछन साथी”, उसले भन्यो,”म भिन्दै किसिमको मान्छे हूँ, मलाई हेडलाईट चाहिंदैन । म जुनकिरीकै प्रकाश मात्र भएपनि ६० मील प्रति घन्टाको रफ्तारले गाडी हाँक्न सक्दछु…. ।”