ए रक्सीका निर्माता,
तिमी असल वैज्ञानिक
पिएर जब हुन्छु म चुर
हराउँछन सारा त्रास,
ती त्रास अनन्त
त्रास – एटमको
त्रास – बारुदको
त्रास – हिड्दा-हिड्दै लाग्न सक्ने हैजाको
त्रास – बाटो काट्दा काट्दै गाडीले कुल्चेको
त्रास – मृत्युको
यस त्रास नै त्रासले भरिएको एक सन्ध्यामा
जब लगाउँछु म एक प्याला,
नाच्दछिन मसँग मधुबाला
प्याला- प्याला एक प्याला
सत् सत् नमन तिमीलाई
ए रक्सीका निर्माता ।
आईन्स्टाईन, न्युटन, डेकार्ट्स
तिम्रो झन्डामुनी झुक्दछन्
हे मेरा प्यारा –
रक्सीका निर्माता ।
हेर हेर सुर्यको अवगतिपछि,
अनगिन्ती त्रासहरूबीच
रमाइरहेछ मानिस,
रमाइरहेछ- दुई घुँट पिएर – शराब ।
ए रक्सीका निर्माता
सत् सत् नमन
सत् सत् नमन
तिमी नै असल वैज्ञानिक
तिमी नै असल वैज्ञानिक !!
