Skip to content


१९६० इस्वी तीरको कुरा हो यो! कमलाकान्तले जीवनका अन्तिम चन्द साँसहरु लिईरहेका थिए । उनी ओच्छ्यानमा र् याल चुहाउदैं आफ्नो जेष्ठ पुत्र- खुमलनाथलाई जीवनका तमाम उकाली ओरालीहरुबारे बताईरहेका थिए । यत्तिकैमा आत्मा शरीरबाट चुड्ला – चुड्ला झै भयो । घरका सारा जहाँनहरुले गङ्गाजल खोज्न थाले; आमा ईश्वरीदेवीका परेली भिजे ।
“बाबु खुमल ! जीवनमा धन – सम्पत्ती केही जगेर्ना गर्न सकिन ।” – कमलाकान्तको बोलीमा गम्भीरता थियो -“मास्टरी पेसा गरेर घर धान्ननै धौ – धौ पर्थ्यो मलाई! सम्पत्तिका नाउमा ससुरा बाले दिएको यो फिलिप्सको रेडियो मात्र छ; यो अब मैंले तिमीलाई नै सुम्पेर जादैछु….”
कमलाकान्तको आत्माले सुटुक्क हाड – मासुको घर छाडेर अन्तै डेरा सर्यो । घर शोकाकुल भयो, चारैतर्फ विलाप गुन्जियो । त्यो टिलिक्क टल्किरहेको फिलिप्सको रेडियोलाई खुमलले सुम्सुम्यायो । रेडियोले भन्यो – “म तिम्रो शहर छोडी टाढा – टाढा जादै छु….”

खुमलनाथले पनि बाउकै बीडो धानेर मास्टर भएका थिए । उनले विवाह गरेनन । उनी बडो दार्शनिक किसिमका मान्छे थिए । उनी भन्दथे – “विवाह मानिसको शत्रु हो; विवाह पछि स्वतन्त्रता रहदैन मानिसको जीवनमा । स्वन्त्रता पाउन मानिसले चितामै निदाउनु पर्छ, विवाह पछि । उनलाई धेरै स्त्रीहरुले आफ्नो वरको रूपमा आत्मसात गर्न खोज्दथे । तर खुमलनाथ भन्थे – “मेरो जीवन काम – वासनामा लिप्त हुनको लागी होईन सङ्गिनी ! मेरो जीवनको यौटा उद्देश्य छ जुन तिम्रो मगजको दायरा भन्दा धेरै परको कुरा हो।“ १९६५ इस्वीतिर खुमलनाथले हरिद्वारबाट ऋषी – मुनिहरुको सँगतमा परेर जीवनको दर्शन भेटेका थिए । उनी हामीलाई शिक्षा दिन्थे – “जीवन त्यो हरिद्वारमा बग्ने गङ्गा नदी जस्तै हो; जसको सतहमा माछाहरु डुल्दछन , त्यो भन्दा केहि गहराईमा गोईहरु हुन्छन र अझै गहराईमा पुग्यो भने मोती भेटिन्छन । सामान्य मान्छेहरुले माछामा पाइने प्रोटिनको लोभ गरेर माछा मार्दछन जुन प्रोटिन अरु कुरामा पनि पाउन सकिन्छ । तर, जो असल साधक हुन्छ, त्यसले गोईको सामना गरेर नदिको गहराईमा पुगी मोती बटुलेर फर्कन्छ ।”
खुमलनाथले मलाई असाधै माया गर्दथे । म वहाँको अत्यन्तै प्रिय छात्र थिएँ । बेला – बेला म उनिसँग प्रश्न गर्दथे – “सर ! ती मोतिहरु बटुलेर मानिसलाई के काम ? सुन भन्दा किमती त ती मोतिहरु हुँदैनन ?” खुमलनाथ भन्नुहुन्थ्यो-“सुन अवश्य किमती हुन्छ मोतिको तुलनामा तर सुनमा त्यो चमक हुँदैन जो मोतिमा भेट्न सक्दछौ तिमी! मोतिमा परिश्रमको चमक हुन्छ , बाबु ।”


२००० ईश्वितिरको कुरा हो । नयाँ युग आयो भनेर युवावर्ग डान्सबारमा अर्धनग्न युवतिहरुसँग नाचिरहेका थिए । म खुमलसरसँग थिए त्यो दिन । खुमलसर थकित देखिनुहुन्थ्यो, चाउरिएको अनुहारमा सदियौ देखीको कुनै ठुलो पिडा विभोर भएको स्पस्ट बुज्न सकिन्थ्यो । मैंले प्रश्न गरें – “सर आज किन यती साह्रो चिन्तित मुद्रामा देखिनुहुन्छ ?”
“एउटा समस्या छ बाबु! अब म धेरै बाँचदिन होला….”
“यस्तो अशुभ-अशुभ न बोल्नोस न सर!” – म गम्भिर भएँ – “हजुरलाई केही भएको छैन ।”
खुमलसरले भन्नुभयो – “अशुभ होईन बाबु! यो जीवनको सत्य हो । सबैले एक न एक दिन मृत्युलाई आत्मसात गर्नै पर्दछ । मेरो अब यस लोकमा समय पूरा हुन थाल्यो, त्यसको चिन्ता गरेर त केहि हुनेवाला छैन । जसोरी म्याद सकिएको ATM card लाई renew गर्न bankनै पुग्नु पर्दछ, त्यसरीनै मान्छे को म्याद सकिएपछी मान्छेले पनि यो लोक छाडेर ईश्वरको दरबारमा पुगेर जीवनलाई renew गर्नु पर्दछ ।”
म खुमलसरको कुरा सुनेर नतमस्तक भएँ, केहि लवज नै फुरेन । उनको महान विचारलाई कटाक्ष कसोरी नै गर्न सक्थे र मैंले ?


समय आफ्नै त्वरण र आफ्नै वेगमा बिती रह्यो । सन् २००५ ईस्वीमा खुमलसरले यस लोकबाट बिदाई लिनु भयो हामीबाट । त्यो क्षण अझ पनि मेरो मस्तिष्कमा ताजा भई रहन्छ । खुमलसर को क्लान्त अनुहारमा असीम सन्तोसको झझल्को मैंले भेटेको थिएँ । उनी चीर निद्रामा निदाउनु अघि नासो स्वरूप मलाई त्यो फिलिप्सको रेडियो सुम्पिन चाहनुहुन्थ्यो ।
“बाबु जीवनमा मैले विवाह गरिन किन भनें यो सन्सार का सबै बाल – बालिकाहरुभित्र मैंले आफ्नै सन्तानको झझल्को पाउँथे । र, मलाई मेरा आदरणिय पिताजी – जसको जीवन दर्शनलाई मैंले अनुसरण गरें, वहाँले मलाई छाडिगएको यो नासो म तिमीलाई सुम्पिन चाहन्छु, बाबु!”
मेरा आँखा अनायास नै भिजे । त्यो टिल्लिक टल्किरहेको फिलिप्सको रेडियो खुमलसरले मलाई सुम्पिनु भयो । म अत्यन्तै भावविरहल भएँ । जीवनमा प्रथम पटक मलाई यस्तो अनुभव भयो मानौं मैंले ठुलो क्षति बेहोर्नु परेको छ । खुमलसरको सम्झना अझै पनि हुन्छ, मलाई । जब जब त्यो टिलिक्क टल्किने फिलिप्सको रेडियो मेरा नयनहरुसामु पर्दछ, मेरो मष्तिस्कमा खुमलसर आउनुहुन्छ । उहाँको उपदेशको अभावको अनुभुति गर्दछु मैंले । आँखा त्यसै-त्यसै रसाउँछन ।एकदिनको कुरा हो! धेरै पुरानो कुरा त हैन, गतवर्षकै हो । मैंले पनि खुमलसरकै अनुसरण गरेर मास्टरी पेशा अङ्गाले ।मेरा पनि थुप्रा विद्यार्थीहरु भए । म रमाउन थाले उनीहरुसँग । एकदिनको कुरा हो यो । मलाई त्यो फिलिप्सको रेडियो ले अत्यन्तै भावुक बनाउन थालेको थियो, तेसैले त्यसलाई मैंले आफ्नो एकजना विद्यार्थीको जिम्मा लगाउन चाहें ।
भोलिपल्ट को कुरा हो यो! सन्जय, मेरो जुन अत्यन्त्यै प्रिय विद्यार्थी थियो, उसलाई मैंले त्यो रेडियो सुम्पिदिए ।

केही महिना पछाडी फर्केर हेर्दा मलाई त्यो दिनको सम्झना हुन्छ – म सन्जयको घर गएको थिएँ । उसका बुवा- आमा तीर्थ गएका रहेछन – अमरावती । सन्जयको कोठामैं ब्यान्ड थियो – गिटार , ड्रम सबथोक तयार थियो, बजाउनेहरु पनि तयार थिए । कोठा धुवाँले भरिएको थियो – गाँजाको धुवाँ थियो त्यो; अनि सन्जय त्यसको नशामा लठ्ठिएर गीत गाउँदै थियो – “यह धुवाँ – धुवाँ सा रहने दो…..”
सन्जयका आखाँ राता भएका थिए, उ बोल्थ्यो कम, हास्थ्यो बढी । उसले भन्यो – “सर ! i am sorry I ve lost the Radio given by you. त्यो रेडियो त्यसै पनि पुरानो भएको थियो सर , के काम त्यसको अब ? यो ipod राख्नोस सर । यसलाई मेरो उपहार न सम्झिदिनु होला; केवल क्षतिपूर्तिका निम्ति मैंले यो हजुरलाई सुम्पिरहेछु सर । म स्तब्ध भएँ । त्यस रेडियोको मुल्य मैंले मेरो प्यारो विद्यार्थीलाई सम्झाउने आँट गर्न सकिन । त्यो ipod बोकेर म फर्किएँ । साझ पार्कमा स – साना बाल – बालिकाहरु खेलिरहेका थिए ।
“ए उर्वसी !” – मैंले भनें-“लौ सानु यो ipod ।”
उर्वसीले त्यो ipod लगी । म मुक भई सम्झिरहेछु – त्यस नासोलाई!

***

Leave a Reply

Your email address will not be published. Required fields are marked *