नेपाल सुन्दर, शान्त, विशाल । आफ्नो मुलुकको परिभाषा गर्न महाकविका यी शब्द मैंले चोर्नै पर्योप, सायद ममा यति साहस छैन कि यस पवित्र धराको व्याख्या मैंले गर्न सकूँ । जीवनको २५ बसन्त पार गरिसक्दा ममा व्यग्र चिन्ता व्याप्त भयो, मगज रन्थनियो । मगज रन्थनिनु स्वाभाविक कुरा हो किनकि साथीहरू प्रगति गरिरहेछन्, म अवनति । म आफ्नो मगजलाई रन्थनिएको देख्न सक्तीन । म मगज-मन्थनका लागि डुल्न चाहन्थे । साउन माह थियो । मेघहरू गड्याङ्ग-गुडुङ्ग गर्दै थिए । इन्द्रदेव पृथ्वीवासीका निम्ति उदार भएका थिए । कोठाको झ्यालबाट पानीको एक बाछिटोले मेरो निद्रा भङ्ग गर्यो र म एक बेनाम, गन्तब्यविहिन यात्राका लागि हानिएँ ।

मुलुक श्रावण माहको वर्षाले नुहाइरहेको थियो । म पनि नुहाउँदै-नुहाउँदै धनकुटा पुगेछु । पाखाहरू रुझेका थिए, सडक पनि रुझेका, असीमित चाहनाले मन पनि रुझेको । लालीगुराँस बारीका कान्ला-कान्लामा मुस्काइरहेका थिए, सडक छेउ ती सल्लाका बोटहरू पनि श्रावणको यस सुन्दर वातावरणमा रमाइरहेका थिए, तिनका हाँगाहरू देख्ता लाग्थ्यो मानौं कुनै युवतीले भर्खर स्नानपछि आफ्ना केशहरू फिँजाएर स्नान-घरबाट बाहिर निस्केकी हो ! ती सल्लाका बोट उन्मादित थिए, कता-कता पिरतीमा गाँसिन पुगेछु म तिनीहरूसित । म नारायण गोपाल गीत सुन्दै अघि बढें, ‘साउनको झरी बनी तिमी आऊ न..’।

धनकुटालाई छोएर बग्ने अरुण नदीको आयतन बढेको थियो । अरुण उद्वेलित थिए, अभिमानित थिए । हिँउद मासमा स-साना सिङ्घाने बालकहरू अरुणको छातीउपर निर्वस्त्र भै विचरण गर्छन, तर अहिले भनें ती बालकहरू सचेत छन । अरुणको त्यो उग्र-रुप देख्ता स्वयं इन्द्रदेव पनि त्रसित हुन्थे, त हामी कसो त्रसित नहुनु, हाम्रा बाल-बालिका किन त्रसित नभउन? म पनि केही चाहना बोकेर पुगेको थिएँ, त्यहाँ । म खोजी गर्दै पुगेको थिएँ । मेरो खोज के हो, म जान्दिन, बुझ्दिन, परिभाषित गर्न सक्तीन तर मेरो मगजभित्र मेरो खोजी स्पष्ट रुपमा आफ-से-आफ परिभाषित भै बसेको छ ।

श्रावणको त्यस उग्र वर्षामा, अरुण किनारका सारा बस्तीहरू खाली भैसकेका थिए, कारण- बस्तीका मानिसहरूको मगजभित्र त्रास लिप्त थियो; अरुण भोको अजिङ्गर झैं हुँकार जो गरिरहेका थिए । म खाली भएका ती बस्तीहरू देख्छु, उजाड लाग्छ । मानिसविहीन बस्ती विरक्तिलो हुँदो रहेछ । प्रकृति जति नै सुन्दर भएतापनि, मानिस बगैरको सुन्दरता व्यर्थ छ ।

यौटा स्त्रीले आफ्नो लोग्ने गुमाएपछि जति सुकै साज-सज्जा किन नगरोस, उसको भित्री सुन्दरता कदापि झल्किन सक्तैन । उसको मन खिन्न नै रहन्छ, उसले स्वेत वस्त्र पहिरेर केवल एक कल्पना गर्छे । उसको कल्पनामा ऊ आफ्नो लोग्नेसँग आलिङ्गनबद्ध भै डुलिरहेकी हुन्छे । हो, अरुणको भाव मैंले बुझिरहेको थिएँ । अरुणले अभिमानित भै जति सुकै हुँकार गरेपनि उनको भित्री मनमा मानिसरुका निमित्त प्रेम थियो । उनी मानिस बिना एक्लो भएका थिए । सायद त्यो हुँकार एक्लोपनको उपज थियो क्यार ! मलाई अरुणसँग डर लागेन, म बगर-बगर, रेतउपर डुल्न थालें । पवनको एक शीतल लहरले मलाई छोयो । म पुलकित भएँ । वातावरण सौम्य थियो । पारी-पाखामा हुस्सु लागेको थियो । पवन बग्दै थिए । आफ्नो वेगसँगै पवनले त्यस हुस्सुलाई पनि ऊँबो-ऊँबो लगिरहेका थिए ।

बिस्तारै पारी-पाखाको हुस्सु, त्यहाँबाट पलायन भएर अन्तै सर्यो । पारीको हरित पाखा देख्दा मन उज्यालो भयो । मगजका तन्तुहरूले स्पन्दन गर्न थाले, अनायासै। अरुण किनारको यस पवित्र भूमिउपर बसेर ईशको आराधनामा म रमाउन चाहन्थे । मरुका कणहरू वर्षाले गर्दा ओस्सिएका थिए । ढुङ्गाहरू चिसा भएका थिए । सूर्योदय कामना गर्दै चरा-चुरुङ्गी ओत लागेर चिर्वीर गर्दै थिए…. ।

***

म ईश्वर भक्तिमा लीन भएँ । बादल गड्गड्याउन थाल्यो । झरीले शनै: शनै: उग्र रुप लियो । म अविचलित भै डटिरहें । सायद मेरो बहादुरी देखेर ईश्वर समेत नतमस्तक भए क्यार मसामु । केही बेरको ठुलो वर्षा आफ-से-आफ रोकिन पो पुग्यो । सूर्यदेव अम्बरमा देखा परे, धेरै दिनपछि । चरा-चुरुङ्गी ओत लागेको ठाऊँ छाडेर आ-आफ्नो गन्तब्यतर्फ अग्रसर हुन थाले । म ध्यानमा डुबें, डुबिरहें ।

मेरो ध्यान भङ्ग गर्न भनीं यौटा स्त्रीले अरुण नदीको पल्लो छेऊ नृत्य गर्न थाली । उसको पाउजुको स्वर सुनेर म उसप्रति लालायित भएँ । मलाई अरुण पारी जान मन लाग्यो । तर, म पारी कसोरी पुग्न सक्थें र त्यस दम्भित जलवेगलाई चिरेर ? ऊ मसमीप आउन थाली, अरुणको उग्र जलवेगमा पौडी खेल्दै । म त्रसित भएँ । अनायासै म चिच्याएँ, “आफ्नो ज्यानको माया छैन तिमीलाई ?”

अर्को क्षण त्यो स्त्री मेरो बाहुपाशमा बेरिन पुगेकी थिई । उसलाई देख्ता मलाई यस्तो लाग्यो, मानौं हाम्रो जन्म-जन्मान्तरको साइनो छ । मैंले प्रश्न गरें, “तिमी को हौं ?”

“म अरुणिमा”, उसले भनीं, “अरुण-नदीकी पुत्री अरुणिमा!”

मलाई अनौठो लाग्यो त्यो सब । तर, स्वप्न थिएन त्यो कुरा, म विपनीमैं विचरण गर्दै थिएँ । म अरुणिमाको जालमा परिसकेको थिएँ । उसका अङगहरू रुझेका थिए तापनि उसको सामिप्यतामा मलाई अनौठो न्यानोपनको आभास भैरहेथ्यो । के त्यो न्यानोपन प्रेमको प्रतिक थियो र ? मेरो मगजभित्र प्रश्नचिह्नहरूको छाल बग्यो । मैंले अरुणिमालाई बिस्तारै आफ्नो आलिङ्गनमा कसें । मेरो धैर्यको सीमाना टुट्दै गयो । मैंले उसका केश सुम्सुम्याउन पुगें । बेहद नै प्रभावशाली महक उसका अङ्गहरूबाट प्रवाहित हुन पुगे, वरपर ।

प्रकृतिको यो कस्तो उपहार ! अर्को क्षण पुन: वर्षा हुन थाल्यो र मैंले अरुणिमालाई चुम्बन गर्न थालें, बेहद नै रसीला चुम्बन! मेरो शरीर शिथिल हुन थाल्यो । मैंले सुस्केरे लवजमा उसलाई प्रश्न गरें, “मसँग विवाह गर्छ्यौ ?”

उसले मेरा आँखामा हेरी । केवल मुस्काई ऊ । मधुर मुस्कान थियो त्यो, कोमल-कोमल, सौम्य!

उसले मेरा अधरहरूलाई आफ्ना हत्केलाले थिचेर भनीं, “हाम्रो विवाह सम्भव छैन । म एक साधारण मछुवारिन, माछा मारेर जीविकोपार्जन गरिरहेकी छु । तँपै हुने-खाने ब्रहामण देखिनुहुन्छ….”

“मन मिलेपछि जातको के कुरा भो र अरुणिमा! ”

“ठिक छ”, उसले भनीं, “मा आफ्नो पिताजीसँग अनुमति लिएर आउँछु ।”

ऊ अरुणको तटऊपर पुगी र फर्केर मतर्फ हेर्दै मुस्काई । मैंले पनि प्रतिउत्तरमा मुस्काइदिएँ । अरुण नदीबाट यौटा ठुलो छाल बगेर त्यस तटउपर आइपुग्यो, जसले अरुणिमालाई आफ्नो वेगसँगै बगाएर लग्यो । म चिच्याएँ, “अरुणिमा! अरुणिमा!!”

अरुणिमाले ठुलो स्वरले अट्टाहास हाँस्दै भनीं, “म अरुणिमा हूँ, अरुणिमा! अरुण पुत्री अरुणिमा । मलाई यहाँ कसैको डर छैन, कसैको डर छैन……”

ऊ शनै: शनै: अरुणभित्र समावेश हुन थाली र मेरा नयनसामु नै ऊ चुर्लुम्म डुबी अरुणभित्र ।

मैंले मुकदर्शक बन्नु सिवाय अरु केही गर्न सकिन । अनायासै मेरा आँखाबाट दुई थोपा आँसु खसेर अरुण किनारको रेतउपर मिल्किए । मैंले बुझ्न सकिन, आफ्नै आँसुको त्यो रहस्य । के अरुणिमाका निम्ति ती आँसु खसेका थिए र ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *