Skip to content

लोकसेवामयी गाऊँ

गाऊँ सुन्दर छ, सरल छ, स्पष्ट छ- पौषको कुनै दिनझैं – मन चिस्सिएका अवश्य छन तर त्यो चिसोपनलाई कुहिरोले ढाक्न सकेको छैन; भित्र-भित्रै, त्यो मानिषहरुबीचको चिसोपनलाई – झन झन चिसो हुनबाट कसैले जोगाएको छ भनें, त्यो हो लोकसेवा!
कसैको रहर , कसैको बाध्यता , कसैको प्रतिष्ठा, कसैको आकाँक्षा हो – लोकसेवा । त्यसले गाऊँका समस्त दाजु-भाई, दिदी-बैनीहरुलाई एकसूत्रमा सिउरिएको छ । आजकाल गाऊँ परिवर्तित भएको छ; पहिले-पहिले दशैंको टीका निधारमा टाँसेर, जमरा शिरऊपर छरेर, बाजे-बजै, आमा-बुवा, काका-काकी, ठुल्बुवा-ठुलीआमा, मामा-माइजु, दाजु-दिदी सबैले एकैथरी आशिर्वाद दिन्थे- भाग्यमानी भव:, चिरन्जिवी भव:, विद्यासागर भव: लक्ष्यभेदी भव:, प्रतिज्ञ पुरुष भव: इत्यादि । आजकाल आशिर्वादले नयाँ रुप धारण गरेको छ । टिका थापेर आशिर्वाद पाइन्छ – अधिकृत, ना.सु., खरिदार भव: । आशिर्वाद पाएर मन प्रज्ज्वलित हुन्छ । अधिकृत, ना.सु., खरिदार इत्यादि पदहरुले बिद्यासागरभित्र पौडिएका मानिषहरुको छनोट गर्दछ, यी पदहरुमा आसिन आफ – से – आफ भाग्यमानी भए – तिनीहरु देश-विदेश घुम्ने मौका जुराउन सक्छन , एक मुष्ट दुई- तीन वर्ष बिदा लिएर गुप्तवास बस्न सक्दछन; अनि कुनै पनि मुलुकको चिरन्जिवी संस्थान भनेको सरकार हो-सदैव जिवित रहने ! त्यसकारण दशैंको टीकासँग विगतमा पाइने गरेका यी आशिर्वाद – भाग्यमानी भव:, विद्यासागर भव:, चिरन्जीवी भव:, लक्ष्यभेदी भव:, प्रतिज्ञ पुरुष भव: इत्यादिलाई यौटै शब्दमा सिउँरिदिएको छ – अधिकृत, ना.सु.,खरिदार भव: भन्ने आशिर्वादले । छोटो-मीठो आशिर्वाद ! यो आशिर्वाद लाग्यो भनें मानिष असल मानिष बन्न पुग्दछ भन्ने धारणा, यस गाऊँका आम –मानिषहरुको रहेको छ ।
***
काठमाण्डौंबाट बले एक माहका लागी गाऊँ फर्किदैं थियो । उसले बोकेको ठुलो झोलाभित्र लुगा-लत्ता भन्दा बढी, लोक-सेवा प्रतियोगी सहायक पुस्तिकाहरु थिए ।
सानो गोरेटो! गोरेटो मुनी र माथी सिंढीदार खेतहरु, पाकेर पहेँला भएका धानका बालीहरु चहु-दिशामा, खेतऊपर देखिन्छन; लाग्दछ- धरतीको गर्भभित्रबाट सुन उम्रेको हो । दशैंको आगमन घर -दैलोमा हुन केही दिन शेष छ । बलेले त्यो साँघुरो गोरेटोमा आफ्ना पगहरु अघि बढाउँदै छ । जसरी कुनै माननिय मन्त्रीको आगमनमा सर्व-साधारणले सडक किनार लागेर मन्त्रीलाई प्राथमिकता दिन्छन ; त्यसरी नै गोरेटोमा घाँस – झ्याङ्गऊपर रहेका फट्याङ्राहरुले बलेको पदचाप सुनेर-उसको स्वागतमा- गोरेटो मुनिको खेतमा फुत्त-फुत्त हाम्फाल्दै छन ।
‘ओहो बले कहिले आईस ?’ – गाऊँको प्रश्न तेर्सियो ।
‘म भर्खर आउँदै छु ।’
‘अनि काठमाण्डुतिरको खबर के छ नि?’
‘सब ठीक छ । भवानीले अधिकृतमा नाम निकाल्यो- खुशीको खबर यतिमात्र हो ।’
गाऊँभरी यो खबर फैलियो । यो खबर निकै चर्चाको विषय बन्यो । ‘छोरो हुनु त भवानी जस्तो!’ – यस्तो ऊखान बडा-बुजुर्गले आफ्ना पुस्ताहरुलाई दिन थाले । शिक्षकहरुले भवानीलाई आफ्नो गाऊँमा आदर्शको प्रतिक बनाए । शिक्षकहरु विद्यार्थीलाई उपदेश दिन्छन्- ‘भवानी हाम्रो विद्यार्थी हो, हामिले नै उसलाई शिक्षा दिएका हौं । घाँस – दाउरा गरेर- तिमीहरुजस्तै, उसले पनि पढ्ने गर्दथ्यो । घर आमा प्राय: बिरामी हुन्थिन; आमाको हेर-विचार गर्ने, गाई-भैंसीहरुलाई कुँडो-पानी गराउने, घाँस – दाउरा गर्ने जस्ता सारा काम सकाएर, ऊ टालेको पाइन्ट लगाएर विद्यालय आउँथ्यो । साथीहरुले उसलाई ‘माग्नेको छोरो’ भनेर जिस्क्याउँथे । पौषको ठिठुराउँदो जाडोलाई समेत यौटा पातलो स्वेटरमात्र लगाएर उसले बिताइदिन्थ्यो । राती अबेरसम्म ढिब्रो बालेर उसले पढ्थ्यो । मटीतेल किन्ने पैसाको जगेर्ना गर्न समेत हम्मे-हम्मे पर्थ्यो, उसलाई । घरमा मटीतेल नहुँदा गाउँभरी डुलेर, पुराना काम नलाग्ने फालिएका भक्कु चप्पलहरु बटुलेर, काँचो बाँसको लठ्ठिले चप्पललाई छेँडेर- डोकोमा अल्झाई, चप्पल बालेर-त्यसको उज्यालोमा- उसले पढ्थ्यो । भवानी जस्तै मिहिनती, कर्मठ र लगनशील मान्छे तिमीहरु पनि बन्नु पर्दछ, बाबु-नानीहरु ।’ भवानीको कथा सुनेर बाबु-नानीहरुका आँखा रसाउँछन । भवानीको यौटा सुन्दर छवि ती बाल – बालिकाहरुको आँखाभित्र समावेश हुन्छ ।
पढे-लेखेका युवक – युवती, भर्खर कलम समात्न सिक्दै गरेका बाल-बालिका, औंठाछाप बुजुर्ग, जड्याहा,गँजेडी,धतुरे, गोठाले, बाउन, क्षत्री, ठकुरी, मगर, घर्ति, राई, लिम्बु, गुरुङ्ग, कामी, दमैं, सार्की आदि-आदि सबैले लोकसेवाको परिभाषा जानेका छन्, बुझेका छन, यस गाऊँमा । त्यसरी, लोक-सेवा गाऊँको अङ्ग-अङ्गमा प्रवाहित भएको छ ।
***
दशैंको टिका भन्दा दुई दिन अगावे भवानी गाऊँ पुग्यो । उसको सम्मानका निम्ति गाऊँ भरीका वर-वधु, बाल-बालिका,बुजुर्गहरुको घुँईचो लाग्यो । भवानीलाई सबैले पुष्प-गुच्छा अर्पण गरेर उसको स्वागत गरे । स-साना बाल-बालिकाहरुले भवानीलाई माल्यार्पण गरे, ऊसित उभ्भिएर फोटो खिचाए । सन्ध्याकालिन चिसो सिरेटोले भवानीका वृद्ध बुवा-आमालाई पिरोलेको थियो । भवानीको आगमन गाऊँमा भएको थाहा पाउँदा त्यो चिसो सिरेटो ऊष्ण ‘लू’मा परिवर्तित भएर उमङ्गसरी ती वृद्ध दम्पत्तिको मगजभित्र फैलियो । खुशीको लहर भित्री हृदयबाट उम्लेर अनुहारमा पोखियो । दुवै त्यस हूलतर्फ बढे जहाँ भवानीको सम्मान कार्यक्रम चलिरहेको थियो ।

त्यस हूललाई छिचोलेर वृद्ध बुवा-आमा भवानी नगिच पुगे । बुवा-आमाको स्नेह भवानीऊपर बर्सियो । जसरी बन्झर भूमी श्रावणको पितृ स्नेह पाएर पुलकित हुन्छ त्यसरीनै भवानी पनि पुलकित भयो- बुवा-आमाको स्नेह पाएर । बुवाले त्यस हुललाई सम्बोधन गर्दै भन्नुभयो- ‘भवानी सानो छदाँ,हामीलाई मुखमा माँड लाउन पनि हम्मे हम्मे पर्थ्यो, गरिबीले हाम्रो ठुलो परीक्षा लिएको थियो । धेरै पटक, घरको दयनिय अवस्था देख्न नसकेर मैंले आत्महत्याको प्रयास समेत गरें, म भित्री -हृदयबाट टुटेको थिएँ । दोस्रो तल्लाबाट खसेको ऐनाका टुक्राहरु भूमिऊपर छरिएजस्तो, मेरो हृदय पनि खसेर चकनाचुर भएको थियो । आज भवानीले अधिकृत भएर राष्ट्रको सेवा गर्ने अवसर पाउदाँ,ती चकनाचुर भएर छरिएका मेरो हृदयका अनन्त टुक्राहरु पुन: एकत्रीत हुन पुगेका छन । मुक्तिनाथ, अमरनाथ आदि तीर्थ स्थल पुगेर ईश्वर भक्तिमा विलिन हुने मेरो ठुलो सपना थियो । अब त म बुढो भईसकें । रक्तचाप उच्च छ, सुगर छ, बुढेस्कालले अरु पनि विविध थरीका रोगहरु मलाई उपहार स्वरूप दियो; त्यस कारण चाहेर पनि मैंले आफ्नो तीर्थ यात्रा गर्ने रहरलाई सम्पुर्णता दिन सक्तिन। तर, आज यौटा नवप्रभात भवानीले मलाई देखायो । यस नवप्रभातमा सुर्यको स्वर्णिम लालिमाले मलाई अनौंठो उच्छवास नगिच पुर्याएको छ । लाग्दछ, मुक्तिनाथ र अमरनाथको दर्शन मैंले आज यस गाऊँमैं गर्न पाएँ, जस्तो! मानिष भित्रै तीर्थस्थल छ भन्ने ज्ञान पनि मलाई भयो । अब जीवनमा अर्को कुनै चाहना मेरो बाँकी रहेन ।’
सबै गाऊँवासीले ताली पड्काए । सदियौं पुरानो, हुरीका अनन्त थपेडा खाएर धुजा-धुजा परेको र ध्वाँसिएको पुर्वेली ढाका टोपी बुवाले आफ्नो शिरबाट उतारेर भावुक हुँदै भन्नुभयो – ‘यो टोपी हाम्रो पुर्खाको शान हो । सायद मैंले आफ्नो पुर्खाको यस शानलाई जतन गर्न सकिनँ, त्यस कारण यो धुजा-धुजा भयो,ध्वाँसियो । र, यसकारण म आज यो गौरवशाली टोपी भवानीलाई सुम्पिन्छु । ‘
त्यो टोपी बुवाको हाथबाट भवानीको शिरऊपर सुसज्जित भयो । भवानीलाई जीवनमा प्रथम पटक आफ्नो अस्तित्वबोध भयो ।
***
यस उत्सवमा शंख फुँकियो, ढोल बजाईयो; जसको मधुर लयमा धरती-अम्बर साराले नृत्य गर्न थाले, रुखका पत्रहरु उन्मादको रङ्गमा रङ्गिएर मुस्काउन थाले – स्वच्छ, निर्मल र निर्झर त्यो मुस्कान !
***

Leave a Reply

Your email address will not be published. Required fields are marked *