बिना तामाङ
प्रेम गर तर वाचा नगर
प्रेम तिमी गर तर वाचा कहिल्यै नगर
किनकि ती वाचाहरू सदैव तोडिन्छ
आकाशको जून टिपेर दिने कुरा नगर
त्यसले वास्तविकताको धरातल भाँचिन्छ
असम्भव बातहरूमा मलाई न अलमल्याऊ
मलाई त्यसले कता कता विचलित गराउँछ
मरेर अर्को जुनीमा भेट्ने आश्वासन नदेखाऊ
त्यसले मलाई जिउँदै मरेतुल्य बनाउँछ
सक्छौ भने मलाई स्वतन्त्रता देऊ
परिबन्दमा पार्ने कोशिस कहिल्यै नगर
सक्छौ भने तिमी मलाई विश्वास दिलाऊ
अविश्वासको खाडल कहिल्यै नभर
चाहिन्न भो मलाई ती भौतिक उपहार
मात्र स्वार्थ हुन्छ त्यसको प्रयोग नगर
माग्दिन म तिमीसँग रत्नजडित हार
मात्र मलाई हृदयले चोखो माया गर
प्रेम विश्वासमा हुन्छ, समर्पणमा हुन्छ
परिवर्तन
जीवनमा के के न गर्छु भन्ने लाग्थ्यो । उमेर छदाँ त उडेको चरा नै समातुँला झै लाग्थ्यो । घमण्डले छाती धक्क फुल्थ्यो । भलै डक्टर, ईन्जिनियर, पाईलट बन्ने सपना देखिएन तर पनि केही फरकशैलीको काम गर्नेछु भन्ने कुराले जरो गाडिरहन्थ्यो । अरुभन्दा पृथक देखिन मन लाग्ने। सायद यही घमण्डीपनाको चरमता थियो। कसैले भनेको नमान्नुमा गर्व महशुस गरिन्थ्यो । यद्यपि साथीहरूको निम्ति ज्यानै हाजिर हुन्थ्यो । कसैले चलनचल्ती अर्थात फेसनको कपडा आफ्नो जस्तै लगाएको देखियो कि भोलिपल्टदेखि त्यो कपडा आफ्नो शरीरमा घुसाउँदै नघुसाउने बरु च्यातिएकै भएप नि पुरानै लाउने तर् अरु भन्दा पृथक हुनै पर्ने। अहिले सम्झिँदा पनि आफैँ देखि घृणा लागेर आउँछ आफ्नो बानी देखेर ।
स्वतन्त्रता
थाहा छैन मैले समाजको नजरमा सही गरें वा गलत । तर आफ्नै नजरमा भने शतप्रतिशत सही छु । यसलाई पचाउने हिम्मत सायदै कसै कसैमा होला नत्र अलच्छिना, बेश्या, दुष्ट लगायत यावत सम्बोधनले मलाई रोप्ने शब्दहरूको भण्डार नै छन् यहाँ । तै पनि मनले भन्छ जे गरें ठिकै गरें ।
भनिन्छ नि दिल र दिमागको द्द्वन्दमा सैदब दिलको आवाज सुन्नुपर्छ । त्यसैले मैले पनि मेरो मनको आवाजलाई बुलन्द पारें अन्तत्वगत्वा मेरो मनको विजय भएको छ । अनि रुढिवादी संस्कार बिरुद्धको क्रान्तिले विजय प्राप्त गरेको छ । मेरो मनको विजय भएकोछ मेरो विजय भएको छ अनि जीवन संघर्षको दौरानमा मैले फड्को मारेको छु – यो चाहे अरुले मानोस वा नमानोस । हिड्ने गोरेटोहरूको तीखा काडाँहरू छिमल्दै यहाँसम्म सुरक्षित आईपुगेको छु । यसैमा म खुसी छु । अनन्त खुसीलाई समेटन सकेको छु ।
