बिना तामाङ
अनिवार्यता
‘दु:ख’ शब्द नै यति कठोर लाग्ने गर्दछ कि अधिकाशं मानिसहरू यो शब्दको उच्चारण नै गर्न डराउँछ नजिकै नपरोस भन्ने चाहन्छन् अनि आतिन्छन् मानौं शब्दमै काँडा छ र यसका तिखा सुईहरू चुभ्नेछ । अथवा भनुँ यसले घोच्दाको पीडा सहन सक्ने शक्ति तब छैन उनीहरूमा। तर म दु:ख मनपराउँछु। म दु:खलाई आत्मसाथ गर्छु ।
हुन त ममा पनि मानवीय गुण अनुरुप दु:खप्रति केही चित्त दुखाई नभएका हैनन् । तथापि म दु:खको अनुभव गर्न मनपराउँछु ।
अनलाइन प्रेम
घडीको सुई भित्तामा कहिले चढ्दै त कहिले ओर्लदै थियो । शुन्यतामा टिक् टिक् आवाज काफी थियो मुटुको धड्कन अझ तेज बनाउन । यस्तै ९ बजेको हुदोँ हो । एक्लै धुम्धुम्ती कोठामा बसिरहेकी मलाई नजिकैको स्योकेशमा राखिएको किताबका खातहरूले टोकुँला झैँ हेर्दै थियो । सुरज गएदेखि मेरो एकान्तको साथी बनेका ती किताबहरूलाई खै किन हो आज पल्टाउनै मन भएन । किन किन मन फुङ् उडेको मरुभूमि जस्तै हुदैंथियो ।
यस्तो त मलाई कुनै अपशकुन हुनु अगाडि हुने गर्दथ्यो । म निद्रादेवीको काखमा लुट्पुटिन आतुर थिएँ । तर आज निद्रादेवीले त्यति छिट्टै बोलाउलिन् जस्तो कुनै छाँटकाँट नै देखिन । आँखा उध्रेका बोरा झैँ खुल्लै रहिरहेथ्यो जति च्यापे पनि । अलि पर हेरें टेबलमा ल्यापटपले मलाई जिस्काईरहेको थियो ।
आदर्श
चौथो दिन अस्पतालमा मेरो । रात क्रमश छिप्पिदों छ । अँधेरीले ग्वाम्ल्याङ्ग प्रकृतिमाथि आफ्नो बर्को ओढाइसकिन । सायद त्यस्तै कालो बर्को भाग्यले मलाई पनि ओढाउँदैछिन् । कोरिडोरमा म एक्लै महशुस गर्दैछु यद्यपि बिरामीका आफन्तहरू यताउता गरिरहेकाछन् । त्यो भीडमा आफूलाई नितान्त एक्लो पाइरहेकोछु । थाहा छैन किन हो मनभित्र बेचैनीले बास गरिरहेको छ । कतिखेर यिनले छोड्लिन भनेर बडो ब्यग्रताका साथ म प्रतिक्षारत छु ।

