प्रेम तिमी गर तर वाचा कहिल्यै नगर
किनकि ती वाचाहरू सदैव तोडिन्छ
आकाशको जून टिपेर दिने कुरा नगर
त्यसले वास्तविकताको धरातल भाँचिन्छ
असम्भव बातहरूमा मलाई न अलमल्याऊ
मलाई त्यसले कता कता विचलित गराउँछ
मरेर अर्को जुनीमा भेट्ने आश्वासन नदेखाऊ
त्यसले मलाई जिउँदै मरेतुल्य बनाउँछ
सक्छौ भने मलाई स्वतन्त्रता देऊ
परिबन्दमा पार्ने कोशिस कहिल्यै नगर
सक्छौ भने तिमी मलाई विश्वास दिलाऊ
अविश्वासको खाडल कहिल्यै नभर
चाहिन्न भो मलाई ती भौतिक उपहार
मात्र स्वार्थ हुन्छ त्यसको प्रयोग नगर
माग्दिन म तिमीसँग रत्नजडित हार
मात्र मलाई हृदयले चोखो माया गर
प्रेम विश्वासमा हुन्छ, समर्पणमा हुन्छ
त्यसको अर्थलाई कहिल्यै अनर्थ नलगाऊ
प्रेम हृदयमा हुन्छ, अर्पण र पूर्णतामा हुन्छ
व्यर्थै त्यसलाई अपुर्णता बोध नगराऊ
बिना तामाङ्
काठमाण्डौ
