Skip to content

बाँच्नुको अर्थ


अस्पष्ट उज्यालोमा
सपनाको बीज रोपेर
जीवन फुलाउने रहरहरू
आँशुको पर्वतहरूमा अनुदित भएर गयो
मात्र पैसा सबै खुसी हुन सक्दैन
जिन्दगीका साथ हर-हिसाबहरू
कुनै नोटमा मोलतोल हुन सक्दैन
जीवन भौतिक न हो

तर जीवनका सन्धिसर्पनहरू
अज्ञात अध्यात्मसित जोडिन पुग्छन्
सग्लो सङ्लो जिउँ भन्दा
एक टुक्रा मुटु चोइटिन्छ
एक तलाउ मन धमिलिन्छ
छ्याप्प छ्याप्प हिलो टाँसिन्छ

ताकेरै हाने पनि निशाना चुक्छ बारबार
एक ढिक्का हाँसो पाउन
कैयौं ढिक्का आँशु बहाउनुपर्छ
एउटा विजयको खुसी मनाउन
कैयौंको हारको पीडा हेर्नुपर्छ

एउटा सिङ्गो जीवन जीउन
कैयौं मृत्युको प्रहार छल्नुपर्छ
संयोग भनेपनि भाग्य भने पनि
त्यसैमा अल्झेको छ जिन्दगी
मन भारी हुन्छ, अमिलिन्छ

घुटुघुटु थुक निल्दै
नियतिलाई दोष दिदैँ
निरन्तर अघि बढ्नुको
कुनै विकल्प छैन
थक्क थक्क लागिरहन्छ
कुनै ‘उफ’ बिना जीवनका
उकाली ओराली गरिरहनुपर्ने
गन्तव्य भेट्ने झिनो आशामा
व्यर्थै यो नाशवान शरीरलाई
बलजफ्ती घोच्याएर हिडाउनुपर्ने
शायद यही नै रहेछ बाँच्नुको अर्थ
यही नै रहेछ बाँच्नुको अर्थ

बिना तामाङ
काठमाण्डौं

1 thought on “बाँच्नुको अर्थ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *