Skip to content

शब्दहरूसँगको खेलसँग डर लाग्छ


भावहरू उर्लिएर आउँछ
समुद्रको छाल झै वेगसँग
फेरि हुत्तिएर किनारामा
निमेषभरमै पाखा लाग्छ
भाव व्यक्त गर्न व्यग्र हुन्छु
अभिव्यक्ति गर्न खोज्छु
अहो! मनमा त द्वन्द्व पो चल्छ
बहस चल्छ
अनि घमासान युद्द चल्न थाल्छ
परिस्कृत भएर
उजागार हुन
प्रत्येक शब्दहरू तछाँड मछाँड गर्छन्
आपसी मतभेद चल्छ
अनन्त मनका व्यथाहरू
छरपष्ट पार्न मन लाग्छ
फेरि किन किन डर लाग्छ
शब्द चयन गर्नै डर लाग्छ
शब्द! हो शब्द
अर्थ, अनर्थ, कुअर्थ
विम्व, प्रतिविम्व, प्रतिक

अलंकार
रुपमा
विविध स्वरुपका शब्द
छनौटमा चुक्ने
भयले ग्रसित हुन्छु म
शक्तिशाली, पराक्रमी
अणुबम अनि कहिले नौनी
कहिले रामबाण बन्छ
अचुक निशाना मार्छ
दर्दनाक चोट दिन्छ
फत्र्याक फत्र्याक पार्छ
कहिले त खुत्रुक्कै ढाल्छ
छटपटीन बाध्य बनाउँछ
अशोकाको तरबार भन्दा पनि धारिलो
एउटा शब्दले विद्वता ढालिदिन्छ

क्षणभरमै सिउँडी बन्छ
सिस्नुको रुप धारण गर्छ
बारम्बार तिखो चुम्बन गर्छ
कोमल मन हरू भाँच्छ
रगताम्य पार्दै छिया छिया पार्छ
बडो अचम्म्मको छ
शब्दहरूको भगांलो
चयनमा चुक्दा सफाचट पार्छ
अस्तित्वहिन बस्तु झै,
मुल्यहिन बनाउँछ
मात्र एक शब्द छनौटमा चुक्दा
त्यसैले शब्दसंग डर लाग्छ
मौन रहनु नै उत्तम लाग्छ
चुप रहनु नै वेश लाग्छ
किन किन शब्दहरूसँगको खेलसँग डर लाग्छ

बिना तामाङ
काठमाण्डौ

2 thoughts on “शब्दहरूसँगको खेलसँग डर लाग्छ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *