Skip to content


जीवनमा के के न गर्छु भन्ने लाग्थ्यो । उमेर छदाँ त उडेको चरा नै समातुँला झै लाग्थ्यो । घमण्डले छाती धक्क फुल्थ्यो । भलै डक्टर, ईन्जिनियर, पाईलट बन्ने सपना देखिएन तर पनि केही फरकशैलीको काम गर्नेछु भन्ने कुराले जरो गाडिरहन्थ्यो । अरुभन्दा पृथक देखिन मन लाग्ने। सायद यही घमण्डीपनाको चरमता थियो। कसैले भनेको नमान्नुमा गर्व महशुस गरिन्थ्यो । यद्यपि साथीहरूको निम्ति ज्यानै हाजिर हुन्थ्यो । कसैले चलनचल्ती अर्थात फेसनको कपडा आफ्नो जस्तै लगाएको देखियो कि भोलिपल्टदेखि त्यो कपडा आफ्नो शरीरमा घुसाउँदै नघुसाउने बरु च्यातिएकै भएप नि पुरानै लाउने तर् अरु भन्दा पृथक हुनै पर्ने। अहिले सम्झिँदा पनि आफैँ देखि घृणा लागेर आउँछ आफ्नो बानी देखेर ।

कसैले दिएको सुझावा सल्लाह आफ्नो ईच्छा विपरित भैइदियो भने रिसले आँखा ठूला ठूला भैदिने अनि नाक फुलेर घिरौला जत्रो हुने। आफ्नै जिद्दीमा अडिग । आमा, बुबालाई घुर्क्याउन पर्‍यो भने ३ दिन खाना नै नखाईदिने । धुरुक्कै बनाउथें । आफ्नो माग चाहे त्यो जायज होस वा नाजायज होस पुरा नभएसम्म भुईँमा लडिबुडी खेलिदिन्थें । सानैमा बिमारी भएर बुबाले साइकलमा राख्नुभएर अस्पताल लैजानुहुँदा बजारमा शिसाभित्र राखिएको पुतली नकिदिएसम्म औषधी खान नमानी बिच बजारमै लडिबुडी गरिदिएछु। कत्रो आपत बुबालाई । सिवाय उपचारको लागि लगिएको रकमभन्दा फजुल खर्चको लागि पैसा रहेनछ रे। औषधी नै फिर्ता गर्नुभएछ र मेरो माग पुरा गर्नुभएको रे। पछि घरबाट पैसा ल्याउनुभएर औषधी लानुभएको रे । कुनै काल्पनिक कुरा झै लाग्ने यस्ता गतिबिधिले आज आफैँलाई पश्चतापबोध गराउँछ। माईती हुदाँसम्म ढलेको लोटा न उठाउने म अहिले घरको सारा काम धाम भ्याएर अफिस जान पनि भ्याउने गर्छु भन्दा आफैँलाई अविश्वास लाग्ने गर्छ कहिलेकाहीँ । परिवर्तन? के साँच्चै परिवर्तन भएकै हो त? यो परिवर्तन भनेको के होला? सायद सानामा सोचिने आज माधुरी दिक्षितले ‘दिल’ फिल्ममा लगाएको कपडामा देखिनु अनि भोलिपल्टै रबिना टण्डनले ‘मोहरा’ फिल्ममा लगाएको कपडामा देखिनु परिवर्तन हो भने जस्तै हैन रहेछ यो परिवर्तन। रातारात परिवर्तन देखिनु के सम्भव छ र? यावत प्रश्नहरूले गाँजिरहँदा म सिरकले मुख ढाकेर घण्टौं सुतिदिन्थें आज बल्ल ज्ञात हुदैंछ कि परिवर्तन त समयको अन्तरालसँगै समयको बहाबसँगै हुने मानसिक परिवर्तनमा भर पर्ने कुरा रहेछ । समय सापेक्ष आफूलाई ढाल्नु नै परिवर्तन रहेछ। यो मलाई समयले नै पढाएको पाठ हो । हुन सक्छ आम मानिसमा अन्य कुनै तवरबाट र अन्य कुनै माध्यमले परिवर्तन गराउँछ।

जीवन जिउने क्रममा कति उकाली ओराली गरियो । कहिले हिँड्दा हिँड्दै ठेस लाग्दा थच्ककै भुईँमा बस्दै अब अगाडिको यात्रा तय सायद गर्न सक्दिन होला भन्ने कमजोर मानसिकताले नगाँजेको पनि हैन । कति निष्ठुर र कठोर हुदोँ रहेछ यो जीवन यात्रा आधाभन्दा बढी भाग त दु:ख पीडा मै तय गर्नुपर्ने भनेर थक्क लाग्दाका क्षणाहरूमा जीवनले पढाएको पाठले हैन अगाडि बढ्नुपर्छ, केही गर्न सकिन्छ है भन्ने तेजिलो र ओजस्वी विचारहरूको पार्दुभाव भएको छ । स्कुले जीवनमा कहिलेकाहीँ खेलकूदमा, पढाईमा हार खाँदाका समयमा आफूलाई केही गर्न नसक्ने हुत्तीहारा रहेछु भन्ने मानसिकताले झ्वाप्पै छोप्थ्यो। हार्दाको क्षणमा आत्मग्लानि गर्दै आफूलाई बन्द कोठाभित्रबाट बाहिर निकाल्न सक्दिनथें ।
आज सम्झिँदा पनि हाँस्यपद लाग्ने ती क्षणहरूमा म धेरै जल्थें। त्यति बिघ्न जल्ने यो मन आज जस्तै हार पनि सहजै स्वीकार गर्दै भोलिका दिनमा आफूलाई जित हात पार्न तयार हुन निर्देशित गर्छ न कि समस्याबाट भाग्न वा लुक्न । सायद यो समयले सिकाएको पाठ हो । यही नै परिवर्तन हो।

माया, प्रेम, स्नेह, रिस, आवेग, क्रोध जस्ता यावत कुराहरूलाई जीवनको अभिन्न अगं हो भन्ठान्ने प्रवित्तिलाई हैन समय सापेक्ष आवश्यक्ता अनुसार मात्र प्रयोग गर्नु पर्ने रहेछ नत्र दु:ख पाईने रहेछ । अँझ त्यसमाथि सकारत्मक सोच वा राम्रा विचारहरूलाई मात्र बढी स्थान दिएर अरु पाटालाई नेपथ्यमै राख्नु उपयुक्त हुने रहेछ भन्ने अनुभवहरू समयले नै सिकाएको छ।

हुन त मानवीय संवेगहरूको हाम्रो जीवनमा उतिक्कै महत्वपुर्ण स्थान रहन्छ तथापी नकारात्मक संवेगलाई नियन्त्रण गर्न सकेमा जीवनमा आफूलाई क्रमश: सफलताको सिँढी चढाउन मद्दत गर्दछ भन्ने मलाई लागेकोछ । यो मेरो नितान्त व्यक्तिगत विचारहरू हो यसमा कसैलाई सहमत हुनै पर्छ भन्ने छैन।

जीवनको यो घडीमा आईपुग्दाको अनुभवले जीवनको उत्तरार्धको लागि आवश्यक केही मार्ग निर्देशन भने पक्कै गर्छ भन्ने मेरो आशय भए तापनि क्रमिक रुपले यो परिवर्तित प्रकृयालाई यही पूर्णबिराम लगाउन भने नसकिने रहेछ । रिस, आवेग, घृणालाई यही अनुभवले केही हदसम्म भएपनि नियन्त्रण गर्न सफल भएता पनि कहिलेकाहीँ यो मानवमनभित्रको गुण बिस्फोट नहोला भन्न भने सकिदैंन यद्दपी परिवर्तन भने भएकै हुन्छ जीवन जीउने उकाली ओरालीका क्रममा मात्र परिवर्तन कहाँबाट, कसरी, शुरुवात हुन्छ र कहाँ अन्त्य हुन्छ भन्ने कुराको भने कुनै ठोस आधार भेटिन्न । हुन त शारीरिक परिवर्तन भने कुनै निश्चित बिन्दुमा पुगेर रोकिन्छ तथापी मानसिक रुपमा हुने परिवर्तन हरसमय वा भनुँ जीवनको अन्त्यसम्म पनि भैइरहदोँरहेछ। यही नै परिवर्तन हो।

बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *