Skip to content

के नै थियो गल्ती

  • by


के नै थियो गल्ती मेरो यस्तो सुन्नु पर्‍यो मैले
तथानाम गाली गर्‍यौ कान थुन्नु पर्‍यो मैले

विश्वासिलो पात्र तिमी धोकेबाज बन्दा आज
शंकाहरू मनमनै अनेक गुन्नु पर्‍यो मैले

एकै थियो बाटो हाम्रो हिजो यात्रा संगै गर्दा
टुट्यो यात्रा आज बेग्लै धार चुन्नु पर्‍यो मैले

पूरा गर्छु वाचा भन्यौ स्वप्नहरू साँचे पनि
जान्दा पनि पूरा हुन्न, स्वप्न बुन्नु पर्‍यो मैले

तिमीलाई आफ्नो ठान्नु दोष थियो यो मुटुको
त्यसैले त मुटु झिकी झिरमा उन्नु पर्‍यो मैले

बिना तामाङ ‘सुनगाभा’

Leave a Reply

Your email address will not be published. Required fields are marked *