दाजु कसरी शुरु गरूँ
कुन महङ्गो शब्दले समबोधन गरूँ?
भिरेर एउटा सस्तो जिन्दगी
महत्वहिन, निरुदेश्य भएपछि
शब्दहरूको पनि मूल्य हराउने रहेछ
प्रयोगकर्ता नै अयोग्य भए पछि
नमस्कार भनुँ भने
मेरो लागि न नमस्कारको नै कुनै अर्थ छ
न मैले नमस्कार गर्नुको नै कुनै अर्थ रहन्छ
अर्थ लगाउन खोज्दा
अर्थ भित्रै अनर्थ हुन्छ ।
जस्तो कि जीवनभित्र घात छ
म यति सस्तो भैसकेँ कि
मैले गर्ने नमस्कारको कुनै मूल्य नै छैन
अथवा भनुँ म नमस्कार गर्न योग्य नै छैन
हावाको जति पनि मेरो
जीवनको गुरुत्व छैन ।
दाजु म के खबर सुनाऊँ तपाईँलाई
मेरो कुनै खबर नै छैन
केहि छन् तर ती सुनाउन लायक छैन
जे होस म घिस्रिएर भए पनि बाँच्दैछु
दुई पैसाको जीवन बाँचेकी छु
जोगाईरहेछु यही बेकम्मा जीन्दगी
दाजु मेरा शब्दहरूले मन नदुखाउनुहोला
मेरा कृत्घ्न शब्दहरू पढेर
दुर्घटित जीवनका कथाहरू सुनेर
पटक्कै मन नदुखाउनु होला ।
हो मलाई याद छ अझै
ती दिनहरू
जुन दिनहरूमा तपाईँले
मेरो लागि गर्नु भएका प्रयत्नहरू
मलाई सफल बनाउन
बनाउनुभएका सिँढीहरू
तपाईँका महानवाणीहरूलाई मैले
लत्याएर घमण्डको आहालमा
चुर्लुम्म डुबेर
कुनै दिन हिडेथें
हो म हिडेथें किनकी
मेरो भाग्यमा यति बिघ्न दु:ख
कष्टका शृखंलाहरू लेखिएका रहेछ
अनि म आफै पनि एउटा ढुङ्गा रहेछु
यस्तो ढुङ्गा जुन वास्तवमै गोलो छ
हो म त्यही गोलो ढुङ्गा हुँ
जसलाई जति माथि लगेर राखिदिए पनि
फेरि गुड्किएर उहि धरातलमै झर्दछ ।
मलाई माथि चढाउन खोज्नु
तपाईँको महानता
अनि तल झर्नु मेरो अयोग्यता
सायद यहिंनेर खाडल थियो
हामी बीच
मलाई शिखरमा पुर्याउने
तपाईँको सपनाहरू
चकनाचुर पारेर मै हिडेकी थिएँ
हो मै हिडेकी थिएँ
किनकी म अभागी थिएँ
दाजु मलाई अतीतका दिन सम्झना छ
जब म हरेक कुरामा उछिन्थें सबैलाई
जीवनको बारेमा लम्बे चौडे कुरा गर्थें
अनि कल्पनाको उडान भर्थें
भविष्यको सुन्दर सपना बुन्थें
र फेरि वर्तमानको यथार्थले
आज मलाई बिझाउँछ
साँच्चै नै तपाईँका ती शब्दहरूलाई
मैले आत्मसाथ गरेकी भएँ
आज म यो दुर्द्शित जीवन भोग्दिन थिएँ
तपाईँका ती अ मृत वचन पिएकी भएँ
आज म यो नारकिय जीवन जिउँदिन थिएँ ।
दाजु तपाईँले भन्नुभएजस्तै
सबै बलेकै आगो ताप्दा रहेछन्
उमेर हुदाँका ती सब आफ्न्त अहिले पराई छ्न्
आज म एक्ली भएकी छु
नितान्त एक्ली
तर यसमा दुखी हुनुपर्ने कारण छैन
क्षणिक सुखको निम्ती मैले
रोजेको त्यही बाटो
आज काँडाहरूले भरिएको छ
यो मेरै अन्धोपनाको नतिजा हो
त्यसैले म आज दु:खी भएर पनि
कसैसँग गुनासो गर्न सक्दिन
कारण मेरै गल्ती थियो ।
त्यसैले आजभोलि मलाई लाग्छ
यो व्यर्थको जीवन
एकै झट्कामा सिध्याईदिउँ
यो तुच्छ जीवनको के अर्थ?
अन्तहिन सम्झौताको के तुक?
नियतिको यो उपहार
मैले ग्रहण गर्ने समय आएको छ
जित्न नसकेको यो जीवन
हार स्वीकार्न नसकेको यो जीवन
अनि बाँचेर पनि पुर्णता नपाएको
पिँधमा छेद भएको डुङ्गा जस्तै यो जीवन
आज म रित्याउन गैरहेछु ।
त्यसैले आज अन्तिम शब्द
दाजुको नाममा कोर्दैछु
म टुङ्याउँदैछु आफ्नो जीवन
सक्नुहुन्छ भने माफ गर्नुस ।
विना तामाङ ‘सुनगाभा’
काठमाण्डौं
