कति मीठो छ घामको स्पर्ष ! कति प्यारो छ घामको स्पर्ष ! कठ्याङ्ग्रिएर जडवत बनेका जीवनहरूमा प्राणऊर्जाको तरङ्ग फिँजाउँने गर्छ घाम । ब्रह्माण्डमा घाम नभैदिने भा के होला ? सोच्तामात्र कहाली लाग्छ । सजीव जगत्को अङ्गप्रत्यङ्गमा घामकिरणहरू लिपिएको पाउँछु । सकल ब्रह्माण्डलाई न्यानो उज्यालो दिने हरप्रकाशकी जननी हुन् घाम । हरेक तापपुञ्जहरूकी आमा हुन् घाम । आगोकी आमापनि घाम, रजनिशरोशनीकी उद्भवश्रोतपनि घाम । घामको महिमा लेखिसाध्य छैन । घामको फाइदा कहीसाध्य छैन ।
आदिम जङ्गलीयुगको लाटोमनुवा घामको स्मृति कल्पेर चिसोअँध्यारो रात काट्थ्यो । त्योरात ऊ बहुत कठिनले काट्थ्यो । शितकालमा त जाडो चिलेर कति जीवनहरू देह छोडेर भाग्थे । शनैः शनैः युग घस्रिने क्रममा आगोको आविष्कार गर्यो । त्योदिन धर्तीका एउटा सुनौला क्रान्ति सम्पन्न भयो । मानव विकासको इतिहासमा आगो देख्न पाएको दिन, काँचो शिकार आगोमा सेकाएर खान पाएको दिन, ठण्डीले गङ्ग्रिएका औँलाहरू आगोमा सेक्न पाएको दिन, त्योदिन अपूर्व खुशियालीको दिन थियो । आदिम मनुवाको अनुहारमा एक अपूर्व आभाको वर्षात छरिएको थियो । लामो कालसम्म मान्छेले आगोलाई विछट्टै माया गर्यो । विछट्टै जतन गरेर बोक्न थाल्यो । अहिलेको एक्काइसौँ शताब्दीमा सबै धनको जननी पैसा भएको छ । अहिले सबैचिज किन्नसक्ने क्षमता पैशामा रहेको कुरा अर्थशास्त्रीहरू आफ्ना सिद्धान्तहरूबाट उद्घोष गरिरहेछन् । यो बेलाको पैसाजस्तै बहुमूल्यचिज त्यसयुगमा आगो नै थियो, यसमा दुईमत छैन । एक त आगोले काँचोकचिलो भोजनलाई सुस्वादु पकवानमा फेरिदिएको थियो । जसले गर्दा युगयुगदेखिको अपचयुक्त अस्वस्थकर जीवनलाई तिलाञ्जली दिएको थियो र मान्छेलाई स्वस्थताको संसारतर्फ तानिरहेको थियो । अर्को कुरा रात्रीको अँध्यारो र चिसो आक्रमणलाई आगोले निस्तेज गरिदिएको थियो । त्यो बाहेक जङ्गली पशुहरूको रात्री आक्रमणबाट पनि मानिसलाई रमाइलो ढङ्गले बँचाएको थियो ।
घामपुत्र आगोको कथा सुन्दा तिलस्मी भावले छुने गर्छ । आगोको आल्हादकारी रुपदेखि मान्छे नतमस्तक छ । आगोको सृजनशील रूपदेखि मान्छे मोहित बनेको छ । आगोको विध्वँसकारी विभत्स रूपपनि छ । त्यो रुपदेखिचाहिँ मानव कहालिएको छ, डराएको छ, अग्घोरै तर्सिएको छ ।
आगो ऊर्जा हो । यसले जाडोमा टाक्सिएका जीवनहरूलाई तताउनेमात्र होइन, कहिलेकाहीँ डढाएर खरानीपनि बनाउँछ । आगोको दुरुपयोगले गर्दा मय दानवका तीन पुर आधानिमेषमा स्वाहा भएजस्तो मानवसभ्यताका विशाल बस्तीहरू क्षणभरमा भष्मखरानी पनि भएका छन् । आगोको सदुपयोगले न्यानो र उज्यालो संसारको क्षितिज खुल्छ, आगोको दुरुपयोगले अनाहकमा लामा लामा सभ्यताहरू पोलिन्छन् पनि । सभ्यताका हरेक यात्राहरू आगोका याात्रा थिए । मानव विकासको शृङ्खलामा चलेका न्यायका युद्धहरू, समानताका युद्धहरू, स्वतन्त्रताका युद्धहरू आगोका याचनाबाट प्रेरित युद्धहरू थिए ।
एकदिन दाहाल यज्ञनीधि दाजुसामु लेखनको विषयमा केही जिज्ञाशाहरू राख्ता भन्नुभयो–भाइ तिमीभित्र आगो छ । त्यो आगोलाई जतन गरी राख्नु । आफूभित्रको आगोलाई कहिल्यै निभ्न नदिनू । जुनदिन स्रष्टाभित्रको आगो निभ्छ, त्यो दिनदेखि स्रष्टा चिसो मुर्दामा परिणत हुन्छ । आफूभित्रका आगोका झिल्काहरू बँचाउने गर्नू, तिनै झिल्काहरूले तिमीलाई सतत् गतिमा लेखाइ राख्छ, तिम्रो सृजनशीलतालाई अविरल अगाडि बढाइराख्छ ।
उहाँको कुराले आफूभित्रको आगो ठम्याउन र फेला परेका झिल्काझिल्की जतनसाथ जोगाउन लागिपरिरहेको छु । हरेक मान्छेभित्र आगोका अणुहरू हुँदारहेछन्् । त्यसैले त ऊ आशावादी बन्दोरहेछ । विकृतिको राज पोल्न खोज्दोरहेछ । भित्र आगो निभेर चिसो भएका मान्छेहरूले राप, ताप र उज्यालोको वर्षात् गराउन सक्तारहेनछन् । त्यसैले मलाई शिवजीले तेस्रो नेत्रबाट आगो फालेको कथा मन पर्छ । प्रमिथसले देवताको अधिनमा रहेको आगो सुटुक्क चोरेर धर्तीभरि हुरहुर्ती फिँजाएको सन्दर्भ चाख लाग्छ । डान्कोले आफ्नो मुटु निकालेर राँको सल्काएको कुरा औधी मन पर्छ । फीनिक्स चरी आगोमै सल्किएर खरानी भएको अनि खरानीबाट अग्निजीवन पाएको कुरा प्रेरणादायी लाग्छ ।
माफ गर्नुहोला, घामपिताको जयगान लेख्तालेख्तै चिप्लिएर पुत्रअग्निको सन्दर्भतिर पो बग्दैगएछु । हुन त तपाईं राम्ररी बुझ्नु ह्ुन्छ, मैले आगोको कुरो गरूँ या अन्य उज्यालोको कुरा गरूँ, प्रकारान्तरले म घामबन्दना गाइरहेको हुन्छु । घामको महिमालाई शिखर चढाइरहेको हुन्छु । विज्ञान भन्छ– हिलियम टुक्रिएर न्यूक्लियर फिशन प्रतिक्रियास्वरुप हाइड्रोजनहरू बलेर अपार ताप र प्रकाश सूर्यबाट जगत्सामु ओइरिरहेको छ । म पृथ्वीको सौभाग्यशाली प्राणी, मेरो ग्रह यहाँबाट एकस्टेप घामतिर अगाडि भएको भए मेरो अस्तित्व संभव थिएन होला । अनि मेरो ग्रह एकस्टेप पछाडि भएपनि मेरो अस्तित्व संभव थिएन । घामबाट पृथ्वी एउटा सम्यक दूरीमा रहेकोले मात्र सम्पूर्ण पशुप्राणीको अस्तित्व संभव भएको छ ।
म प्रचण्ड ऊष्मा र जण्ड शिताष्णको मध्यविन्दुमा आफ्नो अस्तित्व देखाइरहेको छु । मेरो पृथ्वी सम्यक विन्दुमा सूर्य परिक्रमा गरेर जीवनको हरियाली फिँजाइरहेको छ । घामराजा भने त्यो हरियाली जीवनका ओठहरूमा किरणका लाली पोतिरहेका छन् । यो अलौकिक यथार्थले मलाई कल्पनाको क्षितिजभन्दा माथि टाँग्न खोज्छ ।
घामले मलाई कामपनि दिएको छ, मामपनि दिएको छ, रामपनि दिएको छ । उज्यालो ओडेर टाढाटाढा यात्रा गर्ने मेरा गोडाहरूलाई हिँड्ने बाटो दिएको छ, टेक्नको लागि ममतामयी माटो दिएको छ । माटोमा घामकै विम्ब देख्ने गर्छु । आखिर माटोढुङ्गापनि त घामकै अंशहरू त हुन् । अरबौँ वर्ष अघि एकदिन सूर्य चोइटिँदा पृथ्वी बनेथ्यो र यस जगत्को निर्माण भएथ्यो । ग्रह उपग्रहका शृङ्खलाहरू तयार भएथे । एउटै घामपिताबाट सौर्यमण्डलका सौर्यपरिवारहरूको रचना भयो । त्यसैले यो माटो घामकै अंश हो । यो बाटो घामकै धर्सो हो । त्यसैले त यसले अनवरत परिक्रमा गरिरहेछ आफ्नी जन्मदातृ जननीलाई ।
हरेक जीवनको केन्द्र घाम भएकोले पृथ्वीमात्र होइन अरु ग्रहगणले पनि सतत फेरो मारिरहेका छन् घामलाई । यो परिक्रमा यति लयबद्ध छ, यति सुव्यवस्थित छ र यति तारतम्ययुक्त छ; यसका नियमहरूदेखि जो कोही चकित नभैरहन सक्तैन । मेरी धराको वर्तुलघेरे परिक्रमाबाट सुुुन्दरऋतुहरूका खुस्बू छरिएका छन् । हरियाली र पत्झडको दोहोरो संगम घटित भैरहेछ । जे होस् केन्द्रमा घाम छ र म ढुक्क छु । हाम्रो जीवन त बाहिरी परिधिमा चक्कर मारिरहेको छ । मैले टेकेको पृथ्वी नै परिधिमा स्याँ स्याँ फ्याँ फ्याँ भएर घस्रिरहेको छ ।
केन्द्रबाट निसृत राप, ताप, रोशनीको सुरम्य झल्झलाकारबाट म आलोकित छु । पंक्षी आलोकित छ । फूल आलोकित छ । नदी जीवन्त गतिमा हाम्फालिरहेको छ । सबैसबै कुरामा घामका रश्मीको अनुपम संगम खिपिएको छ ।
व्योमका तारागणको उज्यालो हेरेर आफूभित्रको तारामय आकाशलाई ठम्याउने कोसिस गर्छु । बाहिरको सुगन्ध सुँघेर आफूभित्रको सुगन्धलाई हेर्न खोजिरहेको छु । घामराजाको उज्यालो चहक हेरेर आफ्नो अन्तर्दिलमा नवीन जीवनको आभा खुट्याउन खोजिरहेछु । यसरी हेर्दैजाँदा हाम्रो मनस्तलमा पनि एकएकओटा विस्तृतिमा फैलिएका आकाश हुँदारहेछन् । नक्षत्रगणको मनमोहक हाटदोकान देख्नसकिने रहेछ । आफैँभित्र झल्झलाकार चैतन्यको सूर्य छुन सकिनेरहेछ । बाहिरको सूर्यको प्रतिलिपि जस्तो अर्को सूर्यको उद्घाटन भित्रबाट हुँदोरहेछ । घामको ज्योतिले जगत्को सघन तमिस्रालाई उदाङ्गो पारेजस्तो भित्रबाट चेतनाको घाम उदाएपछि अन्तर्दिलका काला टाटाहरू पुछिन थाल्दारहेछन् । त्यसैले म आफूभित्र घाम रोप्न चाहन्छु । आफूभित्रको अँध्यारोलाई नास्न चाहन्छु । मभित्र अब घामको भुक्भुके उज्यालो पोखियो भनेर झिसमिसेमै बास्न चाहन्छु । उज्यालोको उपासक बन्नचाहन्छु । उज्यालोको गायक बन्नचाहन्छु । त्यसको लागि मनभरि तनभरि ज्योतिविजहरू छर्नचाहन्छु । निभेको दियोबाट कसरी पोखिन सक्छ रङ्गरोशनी । त्यो दियोलाई सल्काउनु छ । बाहिरको घामभित्र पनि रोप्नु छ । दिनदिनै घामवन्दना जप्नु छ ।
