Skip to content


धेरै दिनदेखि एउटा सुन्दर कथा लेख्नलाई साँचेर राखेको कथाकंकाल अथवा कथाको प्लट यतिखेर मेरो मनस्तलबाट धरासायी भएको छ । यस्तो धेरैचोटि हुँदै आएको छ । कथा लेख्नलाई निर्माण गरेको सोच, पात्र, परिवेश, घटना र उद्धेश्यको रुपरेखा मनमा पकाइरहेको बेला कुनै देशी बिदेशी लेखक कथाकारहरूका रचना पढेपछि तीसँग धेरैकुरा ठयक्कै मिलिदिन्छन्, अनि लेख्ने सोचनै धरासायी बन्छ ; यस्तोबेला खुसीनै लाग्छ कथा लेख्न नपाए पनि ।

हाम्रो परिबेशका चरित्र र घट्नाहरू अर्को परिबेशमा उही रुपमा उहीसारमा घटिरहेका हुँदारहेछन । तिनलाई झन कति सुन्दर सशक्त र जीवन्त ढङ्गले स्रष्टाहरूले सिर्जनामा चित्रण गरेका हुन्छन् । त्यसैले मन पुल्कित बन्छ । आफूले लेख्न नपाएपनि मनमा कुनै दु:ख, दुबिधा र असन्तोषको भाव रहदैन । बरु महान स्रष्टाहरूको हातबाट उहिले नै त्यस प्रकृतिको रचना लेखिसकेका कुरा थाहा पाउँदा हृदयमा गौरवका भावनाहरू छताछुल्ल पोखिन्छन् । नवीन र मौलिक कुरा भन्ने हामीले दिएको नाम मात्र रहेछ एकै प्रकृतिका घट्ना र स्वभावहरू इतिहासमा, समाजमा र मनोविज्ञानमा घटिरहेका हुँदा रहेछन् । शतांशको दशांक भाग त्यो लेख्नमा प्रतिबिम्बित भएपनि नब्बे प्रतिशत भाग अलिखित रुपमा समाजमा छरिएको हुन्छ ।

बि.पि. कोइरालाले लेखेको दोषी चश्माकथाको कथासार महान् रुसी लेखक आन्तोनचेखवको ’दि डेथ अफ एन अफिसियल’ कथासँग मिल्छ । लेखनमा केबल सहयोग मात्र थियो कि आन्तोनचेखब पढेर त्यसबाट प्रभावित बनी सचेतरुपमा लेखिएको थियो, त्यो म भन्न सक्तीन । तर चेखबको त्यस कथाको पात्र इभान चर्भियाकोभलाई हाम्रो दोषी चश्माको केशबराजको मनस्थितिमा छाम्न सकिन्छ । ब्रिजियालोभको चरित्र हाम्रो जर्सापको स्वभावमा भेट्न सकिन्छ ।

स्थान, समय र परिस्थितिको भिन्न भिन्न भूगोलमा घटेका घट्ना अनि भिन्न युग र भिन्न देशका कथाकारले अनुभूत गरेको सत्य एउटै रुपमा पाउँदा सृजनाको सर्बभौम चरित्र मात्र होइन स्रष्टाद्वरा आरोपित सत्यको स्वभाव सार्बकालिक र सार्बदेशीय पनि हुँदो रहेछ भन्ने मलाई लागेको छ ।

हाम्रो सामाजिक तथा संस्कृतिक मनोविज्ञान भित्रका लोभका बिबिध रुपमध्ये एउटा रुपलाई कथा मार्फत् अभिब्यक्ति दिने अभिलाषा भारतीय प्रसिद्ध कथाकार बिमल मित्रको ’कन्जुस’ कथा पढेपछि तुहेर गयो । मेरो समाजमा घटेको घटनालाई कथात्मक रुपदिने सोचलाई परित्याग नै गरिदिएँ मैले । आफ्नो कथा लेख्नु अगाडि नै बिमल मित्रको ‘कन्जुस‘ पढेर म यति सन्तुष्ट भएँ कि अब मैले मुखिया बाको कथा लेख्नु बेकार छ । मैले जे लेख्न र देखाउन खोजेको थिएँ त्यो कुरा उहाँले उहिलेनै देखाइसक्नु भएको रहेछ यो कुराले यतिखेर यति प्रशन्नताको अनुभूति तरंगित भएको छ कि करिब एउटा बोझबाट मुक्ति मिलेको छ । अनुभूतिका तिब्र लहरहरूले हृदयलाई थिचेपछि लेखनमार्फत त्यसलाई अभिब्यक्ति नदिउन्जेल बोझको रुपमा मलाई भारी बनाइरहन्छन् । तर आज हप्तौ अगाडि देखिको कथानक कथामा नढालीकन पनि अप्रतिम सुखबोध गरिरहको छु ।

कुरा सरल छ । गैरीघरे मुखियाबा करिब तीन महिना थलिए । उनी उहिलेका मुखिया भएपनि अहिले खिइदै गएर हिङ नभए पनि हिङ बाँधेको टालोको रुपमा सीमित भएका थिए । खान लाउनको दु:ख थिएन । भएका सबै छोरा छुट्टोफुट्टो भएर आ–आफ्नो लन्तने पेशा अगाँलेका थिए बाबुआमालाई हेरबिचार गर्दैनथे कारण आमाबुबालाई सेवागर्नु पर्छ भन्ने संस्कृतिनै मुखियाबाले दिएका थिएनन् । तीन महिनादेखि थलिंदा पनि औषधी गर्न कतै लगिएन; छर छिमेकीले उपचार गर्न लहान, धरान, बिराटनगर जहाँ भएपनि लगिदिने कुरा गर्दा बूढालेनै सातो खाए – कस्का बाउको धनले उपचार गर्छौ । मसँग एक पैशो पनि छैन, म तिर्न पनि सक्दिन । भो पर्दैन मलाई उपचार गर्नु पर्दैन । बुढाको कुराले छिमेकी पनि हच्किए तर छिमेकीहरूले उनका छोराहरूलाई भेला गरेर बूढाको जेथो छँदै छ, रिनपान गरेर पनि तिमीहरूले उपचारमा लग्नु पर्छ भने । नभन्दै मुस्किलले व्यवहार चलाएका छोराहरूले आफ्नो घरबाट पैशा निकाल्न नसके पनि बूढाकै खेती बटिया गर्ने उहिले उनीहरूकै हरूवा जेठो कार्कीसँग पाँचहजार रुपैयाँ काढेर लहान लगियो । बुढालाई रोगले अन्तिम बनाइसकेको थियो । डाक्टरले भरमग्दुर प्रयास गर्यो तर बूढा उभो आउन सकेनन् । लहान अस्पतालमै उनको मृत्यु भयो । मरेको लाशलाई किन घर फर्काउनु यही बलान खोलामा सद्गत गरौं भनेर छोराहरूले बलानको तिरमा लगे चितामाथि बूढालाई चढाउँदा संस्कार अनुशार लुगा च्यातिदिनु पर्छ भनी छोराहरूले लुगा निकाल्दा कम्मरमा एउटा कुटुरो फेला पर्यो त्यो कुटुरो खोलेर हेर्दा त्यहाँ पैंतिस हजार रुपैयाँ रहेछ । त्यहाँ भेलाभएका मान्छे मात्र होइन त्यो सुन्ने सबै तिरका मान्छे छक्क परे । आखिर लोभ गरेर साँचेका धन के को लागि रु सबैको नजरमा प्रश्नको बादल मडारियो । मेरो परिबेशको जम्मा जम्मी घट्ना यतिनै थियो । त्यसैलाई एउटा लामो कथाको रुपदिने सोचाइ थियो तर बिमल भित्रको कन्जुसले नै मेरो मनलाई पूर्ण सन्तुष्टिको बिन्दुमा तिरोहित गरिदियो ।

बिमल मित्रको कथामा एउटा मेडिकल अफिसर रेल यात्रामा यात्ररत छ । बीच बाटोमा एउटा यात्री रेल चढ्यो । उसको पहिरन एउटा फाटेको धोती र मैलो कमिज लगाएको छ । ऊ बिना टिकट चढेको थियो । उसका कुरा अनुसार छोरा छोरीद्वारा परित्यक्त छ । छोराछोरीलाई उसले ठूलो लगानी गरेर हुर्काएको, पढाएको, बढाएको थियो । तर त्यतिखेर बूढेसकालमा उसलाई छोराछोरीले राम्रो हेरेनन् । अहिले ऊ छोरो भेट्न हिंड्दै छ । छोराले पनि उसलाई खान, लाउन र औषधी उपचार गर्न प्रशस्त पैशा दिंदैनन् ।

त्यो यात्री मेडिकल अफिसरसँग दु:ख पोख्छ, आँखा कमजोर छ जँचाउन रु. ८ लाग्छ । त्यो पनि छैन । उसको कुरा अनुसार यात्रा गर्दा रेलमा कहिलै पनि ऊ भाडा तिर्दैन । टिकट चेकरले बिचैमा रेलबाट निकालिदियो भने अर्कोमा त्यसै गरी चोरी चालले चढेर यात्रा गर्छ । खाने टाइममा रेल रोकिन्छ सबै यात्रुहरू ओर्लिन्छन् । नास्ता, खाना, चिया, खान्छन् । मेडिकल अफिसर पनि आर्लिएर भोजन गर्छ । तर ऊ भने रु. एकको चिउरा र काँचो खुर्सानी बोकेर हिंडेको छ, खाना खाने बेलामा त्यही खाएर सन्तोष गर्छ ।

अचम्मको कुरा लुगाफाटो फाटेको लाए पनि खाने टाईममा खुर्सानी च्युरा टोके पनि जुत्ता निकै दामी लगाएको छ । जुत्ता भर्खर बनाएको नयाँ पनि छन् । राति सुत्ने बेलामा पनि ऊ जुत्तासँगै सुत्छ । मेडिकल अफिसरको मनमा एउटा स्वभाविक जिज्ञाशा पैदा हुन्छ । लुगा च्यातिएको लगाएको छ, खाने समयमा च्युरा टोक्छ । जुत्ता भने निकै महंगा लगाएको छ । उसले नसोधिरहन सकेन । त्यस यात्रीले पनि जबाफ दियो, यो भर्खरै बनाएको नयाँ जुत्ता हो । रु. १८ दिएर बनाएको एकदमै दामी जुत्ता हो । मलाई खान लाउनको कुने वास्ता छैन । तर जुत्ता चैं राम्रो हुनु पर्छ यो मेरो पहिलै देखिको सोख हो जस्तो भए पनि जुत्ता चैं मैले दामी नै टेक्नु पर्छ । उसको सोखको कुराले यात्री अवाक र अचम्मित बन्यो ।

रेलको रातभरिको यात्रा पछि भोलिपल्ट बिहान दुवैजना बिलाशपुर भन्ने ठाउँम ओर्लिनु पर्ने थियो । उसको एउटा बानी के थियो भने स्टेशनमा टिकट चेकरले समात्ला भन्ने डरले स्टेशन आउनु अगाडिनै रेलबाट झर्थ्यो । त्यहाँ पनि स्टेशनमा ट्रेन थामिनु अगाडि नै हामफाल्यो । हामफाल्दा लिक र प्लेफार्मको बीचमा डङरङ्ग लम्पसार पल्टियो । रेल थामिएको थिएन । उसका दुइटै खुट्टा रेलको लिकमा परेर गिडिए । रेलले खुट्टा छिन्यो भनेपछि ठुलो हल्ला भयो रेल थामियो । चारै तिरका मान्छे धुरिए उसलाई हतार हतार अस्पताल लगियो । मरणासन्न अवस्थामा पनि ऊ मेरा खुट्टा खै ! मेरा खुट्टा खै ! भन्दै कराइरह्यो ।

हरक्षण उसको याचनानै मेरा खुट्टा ल्याइदिनुस् रु मेरा खुट्टा ल्याइदिनुस्मा थियो । पछि बुझ्दा थाहाभयो । उसको चिन्ता खुट्टाकोभन्दा जुत्ताको बढिरहेछ । हुन पनि हो ऊ जुत्ताको सौखीन् मान्छे रु.१८ तिरेर किनेको जुत्ता । उसलाई खुट्टा सुरक्षित राखिएको छन् फिर्ता पाइन्छ भन्ने कुरामा आश्वस्त गराइयो; पछि बुझ्दा खुट्टा जलाइसकेको खबर आयो । उसले त्यतिखेर खुट्टा जलाए पछि जुत्ताको खोजी गर्यो । जुत्ता पनि खुट्टासँगै जलाइसकेको सूचना मिल्यो । त्यसपछि भने ऊ खङ्रङ्ग सुक्यो । छाँगाबाट खसे जस्तो भयो । अनि उसले नै खुलासा गर्यो, त्यो जुत्ता भित्र त उसको त्रिपन्न हजार रुपैया थियो । त्यसपछि उसको फुस्स सास गयो । कन्जुस कथाको कथासार यति नै हो ।

कन्जुस यात्रीले खुट्टा काटेको सजिलै सहन सक्यो तर रुपैयाँ जलेको कुरा एक मिनेट पनि सहन सकेन । हाम्रा गाउँका मुखिया बासँग प्रशस्त तादात्म्य गाँस्न सक्छ कन्जुस यात्रीले । मुखिया बाको कन्जुसी मृत्यु पछि भुँडीको खोकिलाबाट निकालेको पन्तुरो खोल्दा प्रकट भए जस्तै यात्रीको कन्जुसी खुट्टा गिंडिएर जुत्ता जलाउँदा प्रकट भयो ।

अन्धाले चश्माको लोभ गरे जस्तो खुट्टा गिंडेरपनि जुत्तामा राल चुहाइरहने यात्रीको स्वभाव बिचित्र खालको छ । कन्जुसीलाई लुकाउने अनेक तरकिब र बहानाहरू आखिरमा मुत्युशैया पुगेर पनि खुल्ने गर्छन् । मेरो रचना गर्भमै सीमित कथा कन्जुससँग सत प्रतिशत साम्यता राख्न सक्छ भनेर मैले त्यो कथा लेखिनँ । कन्जुस पढ्नेले मेरो कथामा कन्जुसको छायाँ देख्न सक्छ । अनुकरणको आरोप लाग्न सक्छ । चोरीको दाग लाग्न सक्छ ।

समाजमा बिन्यस्त लोभमा बिबिध रुप र आयामहरूलाई अबलोकन गर्दा मेरो सामु अँझै पनि थुप्रै थुप्रै कथाकंकालहरू छन् । गोथे कटुवालले पाँच रुपैयाँको लोभमा गुहुको लिंड जीव्रोले पल्टाएको कथा लेखिन बाँकी छ । पछि असी पचासी बर्षको उमेरमा पाचन यन्त्र बिग्रिउन्जेल लोभले बढी कुराउनी खाएर ब्रह्मनाल तकिया बनाएको कथा लेख्न बाँकीनै छ । पैसाको लोभमा आफ्नो गाईको ध्यु बेचेर च्युरीको तेल खाएर अस्पताल धाउने ध्यु साहुहरूको कथा लेख्न बाँकी छ ।

पैशा साँच्ने र पैशा कमाउने लोभमा खाने अन्न बेचेर फर्सी, सुठुनी, तरुल, गीट्ठाले छाक टारी छोराछोरीलाई क्वासिवर्कर, मरास्मस र रिकेट्सको सीकार बनाई मृत्युशैंयामा पुर्याउने धानेसाहु कोदेशाहुहरूका कथा लेखिन बाँकी छ । रु. १० को लोभमा दुई मुठी खोर्सानी सलसल्ती निल्ने मख्खि चुसहरूको कथा लेखिन बाँकी छ । खोल्दै जाँदा उधिन्दै जाँदा लोभ लालचका अनेकौं शृङखलाहरू अँझ पनि मेरो परिबेशमा छ्यापछ्याप्ती छन् । तिनलाई अक्षरमा उतार्न बाँकी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *