मेरो सात बर्षको छोरो आधीघण्टादेखि क्यालेण्डरमा धुँईं धुँईंती खोजी रहेकोछ । क्यालेण्डरमा खोई के खोजेको हो पत्तो पाउन सक्तिन । उसको खोजीमा म आफू अधैर्य बन्छु, अनी प्वाक्क सोध्छु – ‘नानी ! क्यालेण्डरमा के खोजेको ?’ मेरो प्रश्न भूँईमा खस्न नपाँउदै हातमा क्यालेण्डर बोकेर हुर्रिएर मनिर आयो, अनि सोध्यो –‘ बाबा ! नेपालबन्द कहिले पर्छ ? यो क्यालेण्डरमा त लेखेको छैन त ? कति खोजी सकेँ । भेट्तैभेट्तिनँ । ’

छोराको सोधाइले म अवाक बनेँ साथसाथै बिचलित पनि । दुई कक्षामा पढ्ने मेरो छोराले क्यालेण्डरमा नेपालबन्द खोज्न थाल्यो । उसको बालमस्तिष्कमा समयको एउटा क्रुर विम्व यसरी खोपिंदा मैले महसुस गरें, आजका हरेक नानीहरू नेपाल वन्दलाई एउटा नियमित पर्व या सार्वजनिक विदा या यस्तै कुराको रुपमा स्वीकार गर्ने अबस्थामा पुगिसके । छोरालाई कुरा बुझाउन निकै मुस्किल पर्यो । महिनाको दुईचाटि तीनचोटि या कहिलेकाँही त हप्तैपिच्छे आयोजना हुने नेपालवन्द क्यालेण्डरको अपरिहार्य अंग हुनुपर्ने कुरो मेरो छोराको अन्र्तदृष्टिमा परिसक्यो । छोराले आज मसँग जायज तर्क गरेको छ । पात्रो बनाउने पंचाङ्गकर्ता र थरिथरिका क्यालेण्डर निर्माण गर्र्नेे क्यालेण्डर निर्माताहरू ! नेपालवन्दलाई एउटा नयाँ तिथि र पर्वको रुपमा किन पात्रोमा किटान गर्दैनौ मलाई आश्चर्य लागेको छ ।

नेपाली संस्कृति अनुसार हाम्रो जीवनमा दशैं आउनु, तिहार आउनु, माघेसंक्रान्ति र चैतेदशैं आउनु, बैसाखेपूर्णे र तिज आउनु जस्ता कुराहरू जीवनकै अंग भैसकेकाछन् । त्यसलाई संस्कृति र जीवनपद्धतिको एक महत्वपूर्ण घटकको रुपमा हामीले स्वीकार गरिसकेका छौं । क्यालेण्डर वा पात्रोमा ती तिथि र पर्वका विदाहरू भर्सक रातो मसीमा कुँदिन्छन् । हाम्रो परिवेशले त्यसलाई संस्कृतिक मूल्यको रुपमा वरण गरिसकेको छ । त्यसैले हप्तै पिच्छे हुने नेपाल बन्द, चक्काजाम र स्कूलबन्दपनि नानीहरूको नजरमा नियमित तिथि या पर्व या विदाको रुपमा अंकित भैसके र त मेरो सातबर्षीया छोराले घोर आपत्ति जनाइसक्यो । ‘ क्यालेण्डरमा हरेक शनिबारका अंक र कोठामा रातो रंग पोतिएकोछ, साथै विदा भन्ने कुरापनि लेखिएकोछ । नेपालवन्द जस्तो कुरा चैं किन लेखिएको छैन । कस्तो भुलक्कड मान्छेले वनाएको यो क्यालेण्डर । छोराले वेकुफ क्यालेण्डर निर्मातालाई शब्द वाण प्रहार गरीसक्यो, म भने एक भन्नु न दुई भन्नु भएर चुपचाप टोलाएको छु । मेरा देशका आम नानीहरूको मष्तिष्कमा अंकित यस्ता त्रासद कुरादेखि म आतंकित वन्दै गएको छु । शासकहरूले सुशासन दिएका भए लाग्छ नेपाल वन्द हुदैनथ्यो होला, बाक्लै नेपालवन्द नभएपछि मेरा नानीहरूले बुझ्ने र बोध गर्ने थिएनन् । नेपालवन्द भनेको शनिवार आए जस्तै नियमित आउने एक पर्व हो, या आतंकको वर्वर दिन हो ।

मेरो छोरो क्यालेण्डरमा नेपालवन्द खोज्छ अनि एकाध महिना वन्द, हडताल भएन भने आश्चार्य मान्छ – नेपालवन्द किन भएन बा ? यसपालिको नेपालवन्द किन ढिलोभयो बा ? यी प्रश्नले पुनः म नाजवाफ बन्छु । मसँग तयारी उत्तरको कुनै पुरिया छैन । मेरो परिवेशमा सुल्टा र सकार विम्वहरू धुलिसात हुँदै गएकाछन्, उल्टा र नकार विम्वहरूले मलाई ईन्तु न चिन्तु हुने गरी डसिरहेकाछन् । जसरी महिनै पिच्छे आउने नेपालवन्द नआउँदामा नानीहरू आश्चार्य मान्छन् त्यसैगरी एकोहारो रुपमा सुखद, सुन्दर र सुल्टो समय बगिरह्यो भने यहाँ आश्चार्यको भाव पैदा हुन्छ । नाकार र नराम्रा घटनाले पुरिएको देशमा राम्रा कुरा र राम्रा काम हुन थाल्यो भने विस्मयको बिषय हुन्छ । मेरो गाँउ नजिकको गाँउमा सेनाको व्यारेक छ, हरेक रात जस्तो फायरिङ्गका आवाज र वमका बिस्फोटहरू सुन्नुपर्छ । कथंकदाचित एक दिन जंगलमा गोली पड्केनन् भने मान्छेहरू भन्न थाल्छन् – आज किन फायरिङ्ग भएन ? अव मेरो परिबेशमा वन्दुक पड्किनु आश्चर्य भएन बरु वन्दुक नपड्किनु चै आश्चर्य हुन थाल्यो । कति बिभत्स र त्रासद मनोबिज्ञानको रचना हुँदैछ त हामीभित्र । शासकहरूले नागरिक मनका सरल चित्तहरूमा वन्दुकको आवाज जीवनको अपरिहार्य अंगको रुपमा अंकित गरिदिई सके । वम विष्फोट र वन्दुक पड्किनु नियमित क्रमभित्र परिसके । त्यसैले मेरा नानीहरू बन्दुकको आवाज आएको साँझ आश्यर्यको मान्दैनन् बरु वन्दुकको आवाज नआएको साँझ आश्चार्य मान्छन् ।

रेडियोमा भिडन्तको खबर दशौं बिसौं हताहत भएको खबर आएन भने आश्चर्यको कुरो हुन्छ । मान्छे मरेको खवर नआँउदा त्यो खबर खबरै हुन छोडिसक्यो । खुद्रा मृत्यु मृत्यु नै होईन ग्याम ग्याम थोक मृत्युको खबर सुन्न अभ्यस्त भैसकेका कानहरू; समाचारपत्रहरूमा पनि भिडन्त र मृत्युका खबर छापिएनन् भने को किन्छ र ? त्यस्ता अखवारहरू भिडन्त आक्रमण र थोक मृत्युका घटनाहरू रेडियाले नभनी अरु नै समाचार भन्यो आ – आजको खवरमा त्यस्तो केही पनि रैनछ भनेर समय अगाडि नै रेडियो मारिदिन्छन् । यसरी मान्छे मरेको खवर प्रशारण हुनु आश्यर्य रहने अव मान्छे नमर्नु पो आश्चर्यको विषय हुन्छ । अस्वभाविक सन्दर्भहरू दिनप्रतिदिन स्वभाविक वन्दै गएकाछन् । अनि स्वभाविक हुनुपर्ने कुरा चाहिँ अस्वाभाबिक र असहज हुदै गएका छन् ।

यहाँ भन्सारमा सरुवा लिएर गएको खर्दारले एकाध बर्षमै आलिशान हवेली वनाउन सकेन भने मान्छेहरू उसको योग्यतामा शंका गर्छन् । उसले छानो फेर्न सकेन भने आश्चर्य मान्छन् । कर, अन्तशुल्कको मुखियाले रातारात महल उभ्याउनुपर्ने कुरा सबैको अन्तकरणमा चाहेर वा नचाहेर भित्रभित्रै कुँदिई सकेको हुन्छ । एउटा प्रोफेसर या अध्यापकले झुप्रेघरमा बर्षौ विताउनु स्वभाविक घटना हुन्छ तर भन्सार, अन्तशुल्क र करको पिउन खरको छानो मुनि रहनु घोर आश्चर्यको विषय बन्छ । यसरी हामी सोचाईका तहहरू निर्माण गर्दै गएका छौं । नयाँ मन्त्री नियुक्तिको तीन महिनासम्म पनि कुनै घोटला गरेन भने त्यो घटना आश्चर्यको घटना हुन्छ ।

मुङ्लिन र चन्द्रनिगापुरमा होटलबालाले वसयात्रीहरूलाई ताजा भात, ताजा दाल, र ताजा सव्जी झुक्किएर खुवायो भने त्यो समाचारपनि आश्चर्यको समाचार हुन्छ । दूध व्यापारीले पानीमा दूध मिसाउनु स्वभाविक हो यहाँ, कहिलेकाँही संयोगवश दूधमा पानी मिसाएर ल्यायो भने त्यो कुरा आश्चर्यको कुरा हुन्छ । व्यापारीले पीठोमा वेसार, डाल्डामा गाईको घ्यू, आलसतेलमा तोरीतेल, बाख्रीको मासुमा खसीको मासु, अाँटामा मैदा, कनिकामा चामल, मट्टितेलमा पेट्रोल, बूढी भैंसीको मासुमा राँगाको मासु मिसाउनु कुनै आश्चर्यको कुरा होईन, तर यसको उल्टो वेसारमा पीठो, घ्यूमा डाल्डा, तोरीमा आलस, खसीमा बाख्रा, मैदामा आँटा, चामलमा कनिका, पेट्रोलमा मट्टीतेल र राँगामा भैंसीको मासु कथम्कदाचित वेचिहाल्यो भने चाहिं त्यसमा आश्चर्य मानिन्छ । चोरी कर्म गर्दै आएको चोरले पुनः चोरी गर्यो भने त्यो अनौठो कुरा नहुँदो रहेछ । मान्छेहरूले ऊवाट त्यो भन्दा असल कुराको आपेक्ष नै राख्दा रहेनछन् तर चोर एकाएक साधु बन्यो भने अनौठो मानेर हेर्दा रहेछन् । व्वाँसोले जनावारको रगतमासु भक्षण गर्छ यो कुनै अप्राकृतिक कुरा होइन तर व्वाँसोले आफू शाकाहारी भएको घोषण गर्यो भने त्यो नाटक हो कि साँच्चै हो छुट्याउन गारो पर्दाे रहेछ । विगतमा राज्यको ढिकुटीबाट कुरुस्त लुड्याँएर शानसौकातको जिन्दगी वाँच्ने हन्तकालेहरू पुनः मन्त्रीपद प्राप्त हुँदा शुरुमै आर्थिक अनियमितता नगर्ने, स्वच्छ प्रशासन दिने, जनमुखी शासन गर्ने, घुस र भ्रष्टाचार नगर्ने प्रतिबद्धता पोख्छन् । त्यो घोषणा व्वाँसोले शाकाहरी भएको घोषणा गरे जस्तै हो । सुँगुरलाई जति सुकै भातमा वानी पारेपनि एक दिन परीक्षणको लागि उसको अगाडि आची गरि दियो भने क्वाप्प खान्छ भन्छन् । अहिलेका नेता, मन्त्री र सार्वजानिक पदधारण गरेका ब्यक्तिहरू खान नपाउन्जेल साधु वन्ने हुन् । अवसर नआउन्जेल सदाचारको भाषण वक्ने हुन् । घुस नपाउन्जेल नैतिकता खोक्ने हुन् । वेला आएपछि सबै उही कन्चिरा जोगीको भेषमा उत्रिन्छन् या एउटै ड्याङमा हुर्किएको मुलाको रुप र चरित्र प्रकट गर्न थाल्छन् ।

ठेकेदरले वलियो पुल वनाँउदा घोर अश्चार्य हुन्छ यहाँ । न्ययधिशले निसाफमा पिसाव पेर्दा अचम्म हुन्न तर निसाफमा पिसाव फेरेन भने चैं अचम्म हुन्छ । कस्तो विपरित भन्दा विपरित मनस्थितिहरू पैदा गर्न सफल छन् त यहाँका स्रष्टाहरू । समाजका अभियन्ताहरूलाई साधुवाद दिन मन पर्छ । गा.बि.स. को अध्यक्षले पाँचबर्षभित्र सहर या सदरमुकाममा घरघडेरी जोडेन भने आश्चर्य हुन्छ । तर जोड्यो भने त्यो कुरा सहज हुन्छ । सहज कुरा असहज हुदाँ छन्, असहज कुरा सहज हुँदा छन् ।

आज परीक्षामा चिट नबोकी आउने बिद्यार्थी भेट्नु, कार्यालयमा घुस नखाने कर्मचारी पाउनु र आर्थिक घोटला नगर्ने संसदिय दलका नेताहरू पाउनु प्याजलसुन नखाने वाहुन भेट्नु जस्तै दुर्लभ भैसक्यो । गाँउका बूढा वाजेहरू भन्छन् – उहिले उहिले जाँडरक्सी नखाने मतुबाली भेट्न गाह्रो हुन्थ्यो अनि जाँडरक्सी खाने तागाधारी भेट्न पनि त्यत्तिकै मुस्किल हुन्थ्यो तर अहिले जाँड रक्सी नखाने तागाधारी भेट्नु भनेको चामलमा बियाँ खोज्नु जस्तो भैसक्यो अरे । वूढावाका कथनहरू मन्थन गर्दा म त्यसमा धेरै प्रतिशत सत्यका अंशहरू घोलिएको पाउछु ।

कुनै खुंखार मूर्तिचोर एकाएक साधुभेष धारण गरी भगवान पुज्न मन्दिर मन्दिर कुद्छ भने त्यो दृश्य मान्छेहरूले सहजरुपले पचाउन सक्तैनन् त्यहाँ उसको सहजपन असहजपनमा रुपान्तरित हुन्छ । यहाँ मेरो वरिपरि यतिखेर चोरहरू साधु बन्दा छन् । साधुहरू माण्डव्य ऋषि झै चोर वनेर शुलीमा उनिँदा छन् । स्वच्छ छविको पुरातन परिभाषा पनि उल्टिएको छ यतिखेर । बद्रीमण्डलहरू स्वच्छ छवीको कित्तामा परेर मन्त्री उपप्रधानमन्त्री वनेको संगिन समय मेरो सामु उपस्थित छ । ऊवाट शासित छु म ।

इतिहासका अभागी जन हामी । तीन दिनमा तीनटा राजा व्यहोर्छौ । शरशैयामा सुतेको मृत राजाका अभागी प्रजा हामी । तीनदिन सम्म मरेका राजा युवराज दिपेन्द्रले शासन गरेकाछन् हामीलाई । मृत राजाले शासन गर्न योग्य मृत नागरिक हामी । हाम्रो अग्रचेतना मरेकोछ । हामी मृत नागरिक भएकोले नै हामी संबेदनाहीन भएका छौं । हामी सास फेरेर पनि अर्थी तुल्य भएका छौं । हाम्रो शरिरको अर्थ हराएर अर्थी भएका छौं । साढे ५ लाख हस्ताक्षरहरूले हत्यारा किटान गरेको व्यक्ति हाम्रो भावी राजा । त्यस्तो राजाका अभिशप्त अभागी प्रजा हामी । सम्झिंदा जीवित मान्छे हुँ भन्ने कुरामा कुरी कुरी लाज लाग्छ मलाई । उपायहिन भएर कोठा मै झोक्रिबस्छु । टुलुटुलु देश हेर्छु, मान्छेको वेश हेर्छु, घटना हेर्छु, परिघटना हेर्छु । एकोहोरो टोलाई बस्ता नजिकको छिमेकीले भनेको सुन्छु फलानो एक्लै कोठामा झोक्राउन थालेको छ अब मगज खुस्किन लागेको छ । … … … … … … ….. यो आवाजले मेरो स्नायुप्रणालीमा एउटा झट्का बोध हुन्छ । खुलेआम म भनिदिन्छु – हो म केही दिनमा पागल हुनेछु । …. … … … … … … ….. मैले अरु कुरा फलाक्न नपाँउदै छोरोले पुनः सोध्छ – बा किन क्यालेण्डरमा नेपालवन्द छैन । म ऊसँग भएर क्यालेण्डरको नेपाल होइन कि आफूले टेकेको नेपालको सास वन्द हुँदै गएको दृश्य सुस्तरी देखिरहेछु । त्यसकै कथा लेखिरहेछु ।

उदयपुर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *