महामुनि दत्तात्रेयले ब्रहमाण्डका चौबीसवटा बस्तु तथा जीबहरूलाई गुरु स्वीकारेका थिए । उनले थापेका गुरुमा पृथ्बी, जल, बायु, आकाश, चन्द्रमा, सूर्य, परेवा, अजिंगर, समुद्र, पुुतली, भँबरा, मौरी, हात्ती, मृग, माछा, बेश्या, चिल, वालक, कन्याकेटी, वाण बनाउने मानिस, सर्प, माकुरो, कुमालकोटी थिए । प्रकृतिका यी गुरुबाट उनले सकारात्मक शिक्षामात्र लिएनन् कतिपयलाई नकारात्मक शिक्षाको निम्तिमा पनि उपयोग गरे । उदाहरणको लागि पुतलीलाई लिन सकिन्छ । सुन्दरता र प्रकाशको पछाडि अति मोहित भएर झुम्ंिमदा बत्तीमा डढेर मर्नुपर्छ; त्यसकुराबाट उनले साबधानीको शिक्षा लिएका छन्, कुनैपनि कुराप्रति अति मोह र अति आकर्षण सुखद नहुने शिक्षा अबलम्बन गरेका छन् । यसैगरी माछा, स्वादको आशक्तिले बल्छीमा उनिन पुग्छ । मौरी अति संचयको कारणले मान्छेको मशाल बाट झोसिन्छ । मृग आफ्नै श्रवणइन्द्रिय कानको आनन्दको निम्ति घण्टीको आवाजमा एकोहोरिंदा शिकारी र शिकारी कुकुरको फन्दामा पर्छ ।
पुराणमा दात्तात्रेयले असल खराब दुबैखालका चिजहरूबाट शिक्षा लिए झैं हामीले पनि हमेसा खराब, दुष्ट र नकारात्मक चिजहरूबाट शिक्षा लिन सक्नुपर्छ भन्ने कुरा निकै सारगर्वित छ । नत्र बेश्या, सर्प, अजिंगर र माकुरो जस्ता बस्तुहरू बिधायक रुपमा भन्दा पनि नकारात्मक अर्थमा हामी तिनलाई बढी उपेक्षा गर्ने गर्छौ तर ती चिजहरूबाट पनि निकै महत्वपूर्ण शिक्षा लिन सकिने रहेछ भन्ने कुरा पौराणिक आख्यानले देखाएको छ ।
म यतिखेर मेरो सबैभन्दा ठूलो गुरु ज्योतिष मेघनाथलाई ठान्न थालेको छु । उनले म सात कक्षामा पढ्दा मेरो जन्मपत्रिका (चिना) हेरेर यो नानीको ग्रहमा बिद्या छैन । यसलाई पढाइ लेखाइ भन्दा भैंसी, बाख्रा र मकैखेती असाध्यै फाप्छ । पढाउनुमा कुनै फाइदा छैन । खोई के गरी सातकक्षा सम्म पढ्यो रु बिद्या त यसलाई एकअक्षर पनि लेखेको छैन । उनले भनेको त्यो कुरा किशोरवयमा लम्किन आँटेको मेरो बालमस्तिष्कले कसरी टिप्यो, त्यसको एक्किन हेक्का नभएपनि पढ्नुपर्ने कुरा मेरो बाल मनोबिज्ञानमा एउटा दुर्लंध्य चुनौति बनेर उभियो । चिनामा नलेखेको बिद्या प्राप्ति गर्ने होडमा म यसरी एकोहोरिएँ, जसरी भएपनि ज्योतिष बाजे र मेरो चिनालाई गलत साबित गर्नु थियो । अदम्य इखको त्यो सानो बिज यसरी उम्रियो, झांगियो, फुल्यो, फल्यो, मैले हजारौं बाधका बिचमा पनि एम.ए., बि.एड., बि.एल. जस्ता शैक्षिक उपाधि बिना रोकटोक हासिल गर्न सफल भएँ । कठै ! मेघनाथ बाले त्योबेला बिद्या छैन नभनि दिएका भए म यतिखेर शुद्ध भैंसी गोठालो पो हुन्थें कि रु गोठाले लेखनाथलाई कविशिरोमणि लेखनाथ’ बनाउनुको पछाडि काका पितृप्रसादको ’ नाथु तँ जस्ता फुच्चेले पनि कविता पढ्ने, जा भाग् ’ भन्ने बचनले जति काम गरेको छ । मलाई पनि अक्षरहरूको संसारमा ल्याउने गुरु मेघनाथ हुन् । उनले मलाई जीवनमा एकअक्षर सिकाएका होइनन् तापनि मैले उनलाई गुरु स्वीकार गरेको छु । गुरु स्वीकार गर्ने सिलसिलामा मेरो अनपढ दाजु बेदबिक्रम ठूला गुरु हुन् । कालोअक्षर भैंसी बराबर भन्ने उखान मेरो दाजुलाई हेरेर बनाइएको होकि जस्तो लाग्थ्यो पहिले पहिले । उहाँले जीबनमा कपुरी क लेख्नुपढ्नु भएन तर मलाई यो अक्षर संसारमा ल्याउने महान् गुरु हुनुहरून्छ । साथीको बहकाबमा लागेर एघारबाह्र बर्षको उमेरमा पहाडबाट भागेर लाहान पुगी अर्काको गाई गोठालोमा भर्ना भएको बेला तिनै दाजुले धुईपत्ताल खोजेर घर लगी पुनः किताब र स्कुलको अाँगनसँग तोडिएको नाता गाँसिदिएका थिए । अहिले सम्झँदा ठुल्दाइले मलाई घर फिर्ता नगराएका भए खाते भएर कहाँ पुग्थेँ होला रु आङ्ग सिरिङ्ग बन्छ । अक्षर नपढेपनि गाइगोठबाट अक्षरको संसारमा पुर्याउने मेरा निरक्षर दाजु हृदयभित्र महान् गुरुको आसनमा बिराजमान छन् । मेघनाथ जस्ता नकरात्मक गुरु र ठुल्दाइ जस्ता सकारात्मक गुरुका दर्जनौं अनुहारहरू मेरो स्मृतिपटमा ताजा छन् । तराजुको पल्लामा गुरुहरूलाई चढाउने हो भने दुबै खालका गुरुहरूले तराजुको डाँडी स्थिर बन्दो हो भन्ने लख काट्छु ।
गुरु थाप्ने र गुरु स्वीकार गर्ने बिषयमा मेरो अलिक छुट्टै खालका मान्यताहरू कायम छन् । जसले दसौं बर्ष मलाई अक्षरहरू पढाए ती मध्यका कतिपय मेरो नजरमा सम्मानित गुरुको आसनमा बिराजमान हुन असमर्थ अनुहार पनि छन् । अनि जसले एक अक्षर पढाएनन्, एक झल्को अनुहारको दर्शनसम्म मिलेन त्यस्ता ब्यक्ति पनि मेरा सम्मानित गुरु बनेका छन् । गुरु थाप्ने कुरामा प्रभाबपे्ररणा ग्रहण गर्ने कुरामा कर्ता गौण बनेको कृति महत्वपुर्ण ठहरिएको अनुभुति पनि छन् मसँग । ब्यक्तिका कृतिहरूबाट अनमोल ज्ञान प्राप्त गर्न सकिन्छ, ब्यक्तिका जीबनहरूबाट प्रेरणाहरू हासिल गर्न सकिन्छ । मान्छेसंग साक्षत्कार नभैकन पनि प्रभाबप्रेरणाको लहरमा हेलिन सकिन्छ र गन्तब्यको महासमुद्रसम्मै पुग्न सकिन्छ । त्यस्ता अप्रत्यक्ष गुरुहरू धेरै धेरै थापेको छु मैले । अप्रत्यक्ष गुरु थाप्ने अनन्त सिलसिला सायद जीबित रहुन्जेल कायम रहला भन्ने ठान्छु । यहि क्रममा नै साहित्य सिक्ने बिषयमा सायद पंज्ञेनीदेखि पुर्णबिरामसम्म, इच्छुकदेखि ईश्वरचन्द्र सम्म, बरालदेखि खरेलसम्म, मापोदेखि रासुसम्म, चापागाइदेखि संग्रौलासम्म मेरा कतिपय त बिना सिकाइका बिना देखाइका अप्रत्यक्ष गुरु बनेका छन् ।
चेला या शिष्यहरूको हृदय आशनमा राज गर्न असमर्थ गुरुहरूलाई म पटक पटक सम्झिन्छु । तिनीहरूबाट पनि नकारात्मक नै सही केही न केही आफू सच्चिने आफू सुध्रिने शिक्षा लिइरहन्छु । कलिको मध्यमा पनि द्वापर युगका द्रोणाचार्य मार्काका गुरुहरू बाक्लै भेट्न सकिन्छ । अछुत एकालब्यले लाख बिन्ती गर्दा पनि बा्रह्मणगुरु द्रोणाचार्यले धनुर्बाण सिकाउन अस्वीकार गरे । एकालब्यले आफ्नै साधना बलबाट धनु बिद्यामा सिद्धि प्राप्त गर्यो । पछि धुर्त गुरु द्रोणचार्यले गुरु दक्षिणाको नाममा एकालब्यको बुढी औंला छिनेर, उसले सिकेको सारा बिद्यालाई खरानी बनाइ दिए । त्यो मार्काका गुरुबाट पनि यस युगका चेलाहरू पीडित छन् । सित्तैमा टिउसन पढाइदिएको निहु पारेर सिजन सिजनमा चेलाहरूलाई खेत जोताउन तराई लैजाने गुरु पनि छन् । जाँचमा पास गरिदिएको बहानामा भारी बोकाउने, खुट्टा थिचाउने र गोठाला गराउने गुरु पनि छन् । आफूसँग टिउसन पढ्ने र नपढने कुराको आधारमा कक्षामै बिद्यार्थीहरूबीच दुई खाले ब्यबहार गर्ने गुरुहरू पनि छन् हामीसँग । टिउसन नपढेको कारणले ऐन मौकामा बदला लिने, रिस फेर्ने र कक्षाकोठामै हुर्मत लिने गुरुहरूलाई नजिक बाट देखेको छु र कतिपय क्षण तिनीहरूको कोपभाजन आफैं बनेको अनुभूति ताजा छ, त्यसैले ती गुरुहरू मेरो मनमन्दिरमा गुरुको आशनमा कहिले उक्लिन सकेनन् ।
मेरो जीबनको एउटा सुखद संयोग जहाँ जहाँ म शिष्य भएर शिक्षदिक्षा लिए पछि त्यहीँ त्यहीँ गुरु पनि बनें । प्रारम्भिक शिक्षा ताम्लिछा स्कुलबाट लिएपछि केही समय त्यहीँको शिक्षक बनें माध्यामिक स्तरको शिक्षा गाईघाट स्कुलबाट लिएँ, पछि त्यहीँको शिक्षक बनँे उच्चशिक्षा त्रियुगा क्याम्पसबाट ग्रहण गरेँ अहिले त्यहिँ क्याम्पसमा गुरु बनेको छु । त्यसैले मैले एकैचोटि गुरु र चेलाको भूमिका निर्बाह गर्ने अबसर पनि प्राप्त गरेको छु । अर्थात जहाँ म शिष्य थिए त्यहाँ गुरुको भूमिकामा साटिएर आउँदा मलाई पिटी पिटी, हकारी हकारी र माया गरी गरी शिक्षादान गर्ने गुरु त्यहीँ खडा हुनुहुन्थ्यो । प्रायः सबै जिबितहुनुहुन्थ्यो र अहिले सम्म जिबित हुनुहुन्छ आफू पछिल्ला पुस्ता शिष्यहरूको गुरु बन्दा पनि म अझै शिष्यको रुपमा स्कुल कलेजमा पुग्ने गर्छु कारण मलाई पढाउने गुरुहरू धरोहर बनेर मेरो सामु खडा हुनुहुन्छ । आफ्नै गुरुहरूको सहधर्मी, सहकर्मी र सहयात्री बनिसक्ता पनि म भित्रको संकोच, बिनयभाब र अनुग्रहले वहाँहरू सामु म गुरुको रुपमा ठिंग उभिन सकेको छुँइन । म अनबरत शिष्यको शिष्यनै खडा छु । यस अर्थमा म अबिछिन्न शिष्य हुनुमा आफ्नो शिष्यत्व प्रति गर्व गर्छु । म भित्र मेरागुरुहरूको सामु अहिले सम्म नजागेको अहंकार अब पनि जाग्न दिनुहुन्न भन्नेकुरामा म हरघडी होस राख्ने गर्छु । आफु हर्दम शिष्य रहनुमै महान् सम्झिरहेको बेला कतिपय मेरो गुरुहरूले मलाई घुईरा आँखाले हेरेको पनि थाहापाएको छु । हिजोको सिँगाने आज हाम्रै दर्जामा पढाउन आयो भनेर ईष्याले पनि हेरे । द्वेषको दंशले छाती घायल बनाएर अब यसले हाम्रो भाग खोस्ने भो जस्तो सशंकित पनि बने । यो कुराले कतिपय गुरुहरू प्रतिको मेरो आस्था र आदर केही धमिलिएको केही पातलिएकोमा मलाई असीम पींडा छ ।
आजभभोिल केही बर्ष अगाडिको मेरो चेलो प्रमोद मलाई कम्प्युटर सिकाउने गुरु बनेको छ, खड्गसर र म उसँग कम्प्युटरको आधारभुत कोर्स पढिरहेका छौं । जब म नोट लिएर पढ्न उसको ल्याबमा पुग्छु, श्रद्धाले एकचोटि झुक्न मन पर्छ, ठाडै नमस्कार गुरु भन्न मन लाग्छ । तर ऊ नै अगाडि हुन्छ, हतार हतार नमस्कार गरेर बिनम्रताको भाबले लतक्क झुक्छ । मलाई कता कता गुरु शिष्यसँग यसरी झुकेकोमा अफ्ठ्यारो लाग्छ । उसले मलाई पढाउन्जेलको अफ्ठ्यारो म राम्ररी बुझ्न सक्छु । भर्सक उसलाई सहज वातावरण हामी नै बनाउछौं । एउटा सहकर्मीको रुपमा घनिष्ट मित्रको रुपमा उसलाई अँगालो हाल्दा पनि ऊ असहज नै ठान्छ । ऊ भित्रको निसर्ग शिष्यत्व यसरी जाग्दा म भित्र हर्ष र खुशीका पुलकित भावहरू जन्मिने गर्छन ।
एकचोटिको चेलो सधैं र सबै कुरामा चेलो रहिनरहने कुरामा म विश्वास गर्छु । बिहानको चेलो बेलुका कुनै क्षेत्रको बिशिष्ट गुरु पनि बनिसकेको हुन्छ । गुरु गुँड रहीरहँदा चेलो चिनीमा रुपान्तरण भैसक्ने कुरा पुर्बजले उहिल्यै नै देखिसकेका हुन् । म चिनी बन्ने चेलाहरू प्रति नतमस्तक हुन्छु । अहोभाबले भरिछु । गौरबले फुल्ने गर्छु । हिजो मैले स्कुलमा हितोपदेश, पञ्चतन्त्र, आफन्तीका कथा, बुद्धका जातककथा सुनाइ सुनाइ सिँगान पुछेर हुर्केका बच्चा आज मैसँग स्नातकका कक्षाहरूमा चेखब, गोर्की, पुस्किन, एण्डरसन, शेली, वायरन, बी.पी., पारिजात र देबकोटा पढ्ने भएका छन् । उनीहरूको निखारिंदो प्रतिभा र अन्तरदृष्टि देखि म अन्त्यन्त खुशी छु ।
भर्खंरको कुरा स्कुलको एउटा चेलोले नेपाली ब्याकरणको प्रश्न हल गर्ने क्रममा उत्तर पुस्तिकामा लेखेका दुईवटा शब्दले मलाई अचम्मित तुल्यायो । प्रश्नमा ’काल कति प्रकारका हुन्छन् ? लेख’ भन्ने थियो । उसले व्याकरणीक काल जे भए पनि अहिलेको मुख्य काल दुईटा हुन् – एक संकटकाल, दुई अनिकाल । यति लेखेर देशमा ब्याप्त अनिकाल र संकटकालको रामै्र बिश्लेशण गरेछ । प्रश्नको उत्तर नमिलोस् त्यो आफ्नै ठाउँमा छ तर त्यस चेलाको अन्तरदृष्टि कति तीखो रु भेटेर तुरुन्तै साधुबाद दिन मन लाग्यो । अनिकाल र संकटकालको त्रासदीपूर्ण याममा जन्मेको यस नानीले समयको मुटुलाई कापीको पानामा जस्ताको तस्तै छरिदियो । मलाई लाग्यो, मेरा चेलाहरू म भन्दा एक कदम अघि बढिसके ।
इतिहासको संक्रमणकालीन दुर्भिक्ष याममा जन्मेका नानीहरू किताब पढ्दैनन् जीबन पढ्छन् । सिद्धान्त पढ्दैनन्, सिंगो समय पढ्छन्, त्यो अनुसारका जबाफहरू कापीका पानामा भेट्न थालेका छौं, लक्ष्मिनन्दन चालिसेका नबीन संस्करणहरूको झल्को देख्छु तिनको अाँखामा । जीबन पढ्नु र कागज पढ्नुको बीचमा निकै ठूलो दूरी छ भन्ने लाग्छ मलाई । अक्षर पढ्नु र अनुभब पढ्नुको बीचमा पनि निकै पार्थक्य भेट्छु । धन्य मेरा चेलाहरू अक्षरबाट अनुभब पढ्न थालेकाछन् । कागज बाट जीबन तिर उक्लिंदैछन् ।
यस मानेमा म गुरुलाई केवल साधनमात्र ठान्छु । यस्तो साधन जो शिष्यको हृदयमा प्यास उमार्न सक्षम होस् । आफू भित्रको ज्ञानगंगाले शिष्यका शुष्क छातीहरू भिजाउन तत्पर होस् ।
मैले कतै पढेको थिएँ, गुरु र शिष्यत्वको कथा । एउटा गुरुको आश्रममा तीनजना चेलाहरूले धेरै बर्ष लाएर शिक्षा हासिल गरे । अन्तिममा गुरुले चेलाहरूले लिएको शिक्षालाई परीक्षा लिने भए । परीक्षाको लागि उनले जंगलतर्फ यात्रामा पठाए । गुरुले के जाँच लिन लागे, अचम्म भयो । उनीहरू जाँदा जाँदा जंगलमा एउटा पानीको खोल्सो आयो । खोल्सामा सानो काठेपुल थियो । काठेपुलमा काढाँहरू थिए । खोल्सो तर्ने मामिलामा तिनवटै चेलाले तीनवटा तरिका अपनाए । पहिलो चेलो नदी फड्को हानेर तर्यो किनभने खोल्सो त्यति चौडा थिएन, कुदेर फड्को हान्दा तर्न सकिन्थ्यो । दोस्रो चेलो तलबाट घुमेर खोल्सो तर्यो । तेस्रो चेलोले साथीहरूको दुईवटै तरिका अनुकरण गरेन । उसले काठे पुलको काँढा एकएक पन्छायो र खोला तर्यो । त्यसपछि उनीहरू बेलुका आश्रममा फिरे । गुरुले कुनै पनि प्रकारको परीक्षा नलिएर बेकारमा जंगल पठाएको कुरामा चेलाहरू ढुक्क थिए । तर गुरुले परिक्षा भैसकेको र नतिजा सुन्न सबैलाई बोलाए । नभन्दै गुरुले झाडीमा लुकेर परीक्षा लिएको तथ्य उद्घाटन गरिदिए । पुलमा उनले नै काढाँ थुपारेका रहेछन् । फड्को हानेर अनि तल बाट घुमेर खोल्सी तर्ने चेलाहरू परीक्षामा अनुतिर्ण भए । जसले काँढा पन्छाएर खोला तर्यो, त्यो सफल घोषणा भयो ।
गुरुबाट के स्पष्ट भयो भने आफूले प्राप्त गरेको शिक्षाले अरुलाई कल्याण गर्न सक्नुपर्छ । दुईवटा चेलाहरू आफू त तरे, तर अरुको हीतको लागि सोच्न सकेनन् । आममानिसको कल्याणको निम्ति उनीहरूको शिक्षाले केही देन दिन सकेन । तेस्रो चेलाले मात्र आफ्नो बुद्धि, बिबेक र ज्ञान अरुको लागि प्रयोग गर्यो ; फलतः ऊ सफल भयो । त्यसैले असली शिष्यत्व काँढा पन्छाएर खोलो तर्नुमा रहेको छ ।
यो सूत्रकथा प्राचीन कालको भएपनि आजको युगमा त्यत्तिकै सामयिक लाग्छ, सान्दर्भिक र मननयोग्य देखिन्छ । असली गुरुत्व र असली शिष्यत्वको पुरातन मूल्य कतिपय सन्दर्भमा अहिले बिघटनको बिन्दुतिर जाँदै गरेको दृश्य देखिरहेछु ।
शिष्यमा सिर्जनशीलता र गुरुमा प्रज्वलनशीलताको ऊष्मा पहिल्याउन मन लाग्छ मलाई । उज्यालो छर्ने आफैमा धप्धप बलेको छैन भने अँगारले राप र ताप ओकल्छ भन्ने कुरामा मलई बिश्वास छैन ।
अर्को एउटा बोधकथा मैले सुनेको थिए । एउटा गुरुले आफ्ना तीन जना चेलालाई फूलको एक एक मुठी बिउ दिएर म दसबर्षपछि आँउछु, यो बिउ जस्ताको तस्तै फिर्ता गर्नु पर्छ भने । चेलाहरूलाई आपत पर्यो । उनिहरू ठूलो छटपटीमा परे, कसो गरी यो बिउ जस्ताको तस्तै सकल्ती रुपमा जोगाउने होला । चारै जनाले आ–आफ्नो बुद्धि अनुसार बिउ सुरक्षित गर्ने काम गर्न तिर लागे । एउटाले राम्रोसंग पोको पारेर फलामे सन्दुकमा थुनेर राख्यो । दोस्रोले बजारमा लगेर बेच्यो । उसले के सोच्यो भने दसबर्षसम्ममा किरा, घुन, पुतलीले बिउ बिगार्छ, खान्छ र मकिन्छ । त्यसैले यसलाई बेचेर पैशा बनाएर राख्यो भने गुरु आउने बेलामा यस्तै बिउ किनेर राख्दा भैहाल्छ भनेर पैशा पोक्याएर बस्यो । तेस्रोले राम्रोसँग बारी खनजोत गरी बिउ छर्यो । फूलको बेर्ना उमार्यो, क्यारीमा सारेर लहलह फुल फुलायो । बिउ पकायो । दोस्रो साल पनि त्यसैगर्यो, तेस्रो साल पनि त्यसै गर्यो । एवंम् रितले दश बर्षमा यस्तो बगैचाँ तयार गर्यो, जहाँ त्यो बिउबाट हजारौं हजार फूलहरू फुलिरहेका थिए । कति हो कति बिउ पाकिरहेको थियो दसबर्षमा गुरु फर्किदा पहिलोले सन्दुक खोल्यो दस बर्षमा बिउ मक्किएर धुलो भएको थियो । दोस्रो हतार हतार पैशा बोकेर बजारतिर कुद्यो भनेको बेलामा भने जस्तो बिउ भेटेन । तेस्रोले सरासरी फुलबारीमा गुरुलाई लगेर फुल देखाइदियो – यही हो बिउ भनेर । चेलो देखी गुरु नतमस्तक बने ।
असली चेलोको करामत उसको बिपुल सिर्जनशीलतामा उद्घाटन हुनुपर्छ । भनिन्छ सबै भन्दा सारो ढुंगो, ढुंगो भन्दापनि सारो फलाम, फलाम भन्दापनि सारो प्लेटिनम । शिष्यहरूका छाती ढुंगा किन प्लेटिनम नै किन नहुन शिक्षाको राप र तापले, गुरुरुपी आगो र कोइलाले पानी जस्तो तरल बनाउन सक्नु पर्छ । चरा, पुतली र फूल जस्तै सरल बनाउन सक्नु पर्छ ।
म दत्तात्रेय भन्दा हजारौं कदम अगाडि बढेर अगणित जीबजन्तु, कीटपतंग, बनस्पति र ब्रह्मण्डीय पीण्डहरूलाई गुरु थाप्न तयार छु, आउनुस् मेरा गुरुहरू, आउनुस् मेरा चेलाहरू तपाईंहरू पनि मलाई साथ दिन तयार हुनुहुन्छ ।
उदयपुर
