Skip to content


म जीवनको लयबद्धताको बारेमा सोचिरहेछु अथवा यसो भनूँ म लयबद्ध जीवनको अभिलाषा बोकेर जीवनपथमा भौतारिरहेको छु । म हर्दम संगीतबद्ध जीवनको कल्पना गर्छु, तर बिडम्बना मेरै जीवनमा कुनै सुर ताल मिलेका छैनन । लय, गति, यति मिलेका छैनन् । संगितबद्ध र संगतिबद्ध जीवनको लालसा सूक्ष्म कोषहरूमा बोकेर पनि संगतिहीन पाइला चालिरहेको छु, संगीतहीन धुन गुन्गुनाइरहेछु । शृंखलाबद्ध जीवनको याचना गर्छु तर पाउछु सर्बत्र बिश्रृंखलता, विदु्रपता र विपर्यासले मलाई कुंजोले जाँतो ढुँगे झैं ठुँगिरहन्छ हर्दम ।

बाह्य परिस्थिति र आन्तरिक मनस्थिति कुन शक्तिशाली हो, भेउ पाउन सक्तिन । भन्न त भन्छन् मनस्थिति ले परिस्थिति निर्माण गर्ने हो । तर मलाई परिस्थितिले लात्ते भुकुण्डो तुल्याएको छ । छातीमा एउटा सुन्दर मनोदशा निर्माण गर्ने प्रयत्न गर्छु, त्यो मनोदशाको जग नखनिंदै परिस्थिति यति दारुण र बिभत्स रुपमा प्रस्तुत हुन्छ, जसले क्षणमिनेटमा मेरो आन्तरिक मनोजगतको शान्तिलाई हरण गर्छ, आन्तरिक मनोजगतको संगतिलाई नाश गर्छ र चारैतिर जताततै बिसंगतिको राज कायम हुन्छ । त्यसपछि परिस्थितिको दास बन्ने सिलसिला सुरु हुन्छ । अनि म मनस्थिति भन्दा परिस्थितिनै जब्बर हुन्छ, शक्तिशाली हुन्छ भन्ने निचोडमा पुग्छु । हुन त मनस्थितिले परिस्थितिलाई पनि फेर्न सक्छ तर त्यो ज्यादै दुर्लभ र दुरुह संख्यामा मात्र फेरिएको छ । जब मान्छे परिवेश र परिस्थितिको निरिह दास बन्छ तब उसको आफैंमा चाउरिने सिलसिला सुरु हुन्छ । पुर्खाहरूले बनाएको उखान फेरि पनि सहिसत्य प्रमाणित हुन्छ, किन चाउरिस् मरिच आफ्नै रागले । मान्छे परिस्थितिको करिया बन्न थालेपछि रुग्ण मनस्थितिको भरिया पनि हुन थाल्छ; त्यसपछि ऊ क्रमिक गतिमा खुम्चन सुरु गर्छ । खुम्चिदै जान्छ, चाउरिंदै जान्छ । आफ्नो रागले आफैं सानो हुदैं जान्छ । अनि साँच्चैको मरिचमा रुपान्तर हुन्छ उसको जीवन ।

म देखिरहेछु, कोठामा बाद्ययन्त्रहरू छन् । त्यसमा एउटा हार्मोनियम पनि छ । सानोबच्चा कोठाभित्र छिरेर अौंलाले जताभाबी थिचिरहेको छ हार्मोनियम । उसको थिचाइबाट बिशृखंल आवाज निस्किरहेको छ। यो आवाजले मनलाई आल्हादकारी सौन्दर्यबोध प्रदान गर्न सक्तैन, उल्टो कान खाने कर्कश चिच्याहटमा रुपान्तर हुन्छ त्यो आवाज । केहीबेर पछि गायकभाइ भित्र पसेर सप्तकहरूमा अौंला चाल्छ, एउटा सुरिलो र सुमधुर स्वरको अभिर्भाव हुन्छ । म बिमोहित बनेर झुल्न थाल्छु । बजाउन जान्दाको हार्मानियम बाजा र बजाउन नजान्दाको हार्मोनियम बाजाको अन्तरलाई ठम्याउने कोसिस गर्छु ।

एउटा हार्मोनियमभित्र आवाजहरूको, ध्वनिहरूको, लय र तालहरूको, तुकबन्दी र छन्दहरूको अतुल संभाबना छ । मान्छेलाई गद्गद् खुशी तुल्याउने, रुवाउने, आँसु गिराउने, खित्खित खित्का छुटाउने, बिषाद नैराश्यमा डुवाउने, उत्साह र उमंगको संचार गराउने सबै ताल टुक्काहरू र ध्वनिहरू एउटै हार्मोनियममा बिन्यस्त छन् । अनेकन रस र मनोदशा पैदा गर्ने सामर्थ्य यसभित्र छ । जीवनोन्मुख र मृत्योन्मुख गर्ने दुबै अभिप्रेरणाको मूलस्रोत पनि यसै बाजाभित्र छ । यो बाजालाई संगीतबद्ध र लयबद्ध रुपले उपयोग गर्दा यसले बिमुग्धकारी रस र ध्वनिको बर्षात् गर्न सक्छ । जीवनशील ऊर्जाको संचरण गर्न सक्छ । आहत बेदनाका आँसु गिराएर मन माझ्न सक्छ । मनोबिरेचनको उत्कर्षमा मान्छेलाई उचाल्न सक्छ । तर यो लयबद्ध र संगतिबद्ध नहुने बित्तिकै कर्कशध्वनिको पान्डोरा बक्स हुनसक्छ; बिशृंखल आवाजमात्र पैदा गर्ने हो भने बिचेतनाको पाठशाला हुन सक्छ । त्यसैले त मेरा पुर्वजहरूले जानेरै बनाएका हुन् यो उखान, जान्दाखेरि श्रीखण्ड नजान्दा खुर्पाको बिडँ, त्यो पनि नजान्दा सुँगुरको लिँड ।

म ठान्छु जान्दाखेरी जीवनपनि हार्मोनियम बाजा जस्तै छ । बजाउन जान्दा मनमोहक आवाज निस्किन्छ । बजाउन नजान्दा पर्याबरणमा ध्वनि प्रदूषण थपिन्छ । जसरी एउटा हार्मोनियमभित्र संगीतका अपार र अतुल संभाबनाहरू लुकेका छन्, त्यसैगरि जिवनभित्र पनि अतुल संभावनाका पुञ्जहरू छन् । सिर्जनाका अपार संभावनाहरू गुत्थि परेर बसेका छन् । शक्तिको, सामर्थ्यको र ऊर्जाको स्रोत हो जीवन । तर शक्ति, सामर्थ्य र ऊर्जालाई सूत्रबद्ध गर्नसक्दा, श्रृंखलाबद्ध गर्नसक्दा, लयबद्ध गर्नसक्दा मात्र उपलब्धिका गाग्रीहरू भर्न सकिन्छ । मेरो जीवनका पलहरू लयबद्ध नहुनु, संगीतबद्ध नहुनु मेरो निम्ति असीम पींडाको बिषय बनेको छ । जब समस्याका अनगिन्ति नंग्राहरूले जीवनको कोमल गला चिथोर्न आउँछन्, अनि जीवनको शृखंला तोडिन्छ अनि जीवनको अस्तब्यस्तता सुरु हुन्छ । जीवनको बिशृंखलता, भद्रगोलता टुलुटुलु हेर्नु सिबाय कुनै उपाय देख्तिनँ ।

जीवनमा संगतिका कडीहरू टुटेपछि विसंगतिबोध सुरु हुन्छ । अनि सबै कुराका अर्थहरू हराउँछन् अर्थ हराउन थालेपछि निरर्थकताको सिमान्त बिन्दु सम्म पुग्छ मान्छे । मलाई बिसंगतिको दर्शन पाच्य छैन । बिसंगतिमा संगति खोज्न मन पराउँछु । निरर्थकताका सार्थकता पहिल्याउन कटिबद्ध छु । एउटा दार्शनिकले कतै भनेको कुरा पढेको छु – संसारमा स्वयं निरर्थक शब्दपनि निरर्थक छैन किनभने निरर्थकताको बोधबाट मान्छेले सार्थकताको गन्तब्य पहिल्याउँछ । सार्थकताको बाटो खन्न थाल्छ ।

बडो बिरोधाभाषपुर्ण छ मेरो मनस्थिति । घरिघरी बिसंगतिपनि मलाई अघोर मन पर्छ । बिशृंखलापनि प्यारो लाग्छ । हृदयभित्र बिचारको तहमा, भावको तहमा, कल्पनाको तहमा, सपनाको तहमा छाएको बिशृंखलता कोठाभरि पोखिएको छ । किताब, कपडा, ओछ्यान, जुत्ताचप्पल, खाने पिउने बस्तु, कलम कपीहरू टुथब्रश, झोला, ऐना, काइयो सबै बस्तु असरल्ल फिंजिएका छन् । कुनै चिजको रखाइमा तारतम्य मिलेको छैन । कोठा भद्रगोल छ, कोठा बिशृंखल छ । शृंखलामा सिमाबद्ध हुने मान्छे हुइनँ जस्तो लाग्छ । सूत्रबद्ध जीवनको एकोहोरो रटना मलाई प्रिय लाग्दैन । सिमाबद्ध होइन सिमाहीन हुन चाहान्छु । कुनै बिन्दुमा अन्त हुने भन्दा अनन्तसम्म जान सकिने यात्रा मलाई प्यारो लाग्छ । सँधै सँधै भावमा रहन मन लाग्दछ । तर अभावको हावा कताबाट छिर्छ कुिन्न भाव अभावमा परिबर्तन भएपछि जीवन लुतो झैं चिलाउन थाल्छ । अनि श्यामलको कवितामा भनेजस्तो कन्याइरहनुमा आनन्द हुन्छ । निरन्तर चिलाउनु निरन्तर कन्याउनु, चिलाउनु र कन्याउनुको घुमारो वृत्तमा जीवन फनफनी घुमिरहन्छ ।

यतिखेर अर्थसंकटका बाघे पँञ्जाले चिथोरेको मेरो बर्तमान आफैंमा संकटग्रस्त छ । जीवन अध्याँरोमा रुमलिएको छ । जीवनको निश्चित आकार आखाँमा साकार हुन सकेको छैन । म एक्लो छु, नितान्त एक्लो छु, निर्जन कोठामा आधीरात बित्दापनि मेरा आखाँलाई निद्राले चुम्बन गर्दैन । बाहिर निस्केर अध्याँरोमा आफैंलाई बिलय गर्ने कोसिस गर्छु । अँध्यारोको बाक्लो सिरकले धर्तीका अवयव पुरिएका छन् र पनि सूक्ष्म जुनकिरीको पुच्छरमा टिमीटिमी बालिरहेछ, जीवनऊर्जा । हेर्दै जान्छु आकाशको माथिमाथि झण्डै एक बाँस माथिसम्म जुनकिरीले टलक् टलक् बालिरहेछन् सूक्ष्म बत्ती । प्रेरणाको एउटा सबल आबेगले मलाई गम्लङ्ग अँगालो कस्छ अँध्यारोमा जुनकिरीको टिमटिमाहट औधि मनपर्छ मलाई । यसबाट मलाई बाँच्ने अभिप्रेरणाको संचरण हुन्छ । अँध्यारोको बिरुद्ध लड्न अथक सम्बल प्राप्त गर्ने गर्छु । यतिबेला सुन्छु किथ्राहरूको किरकिर आवाज । निरव निविड सन्नाटा बिथोलिरहेको छ यो आवाजले । धर्तिको एउटा सूक्ष्म किराको शक्तिलाई अनुमान लाउन खोज्छु । आवाजहरूको शक्ति सामर्थ्यले इतिहासका पटांगिनी हल्लिएका दृश्यहरू आखाँमा हाट लाग्छन् । सूक्ष्मकिरीहरूले ध्वनन् गरेको ध्वनिशक्ति निचाम्म निशाग्निलाई प्रहार गरिरहेको छ । किथ्राकिराका ध्वननबाट कालो साम्राज्यको मूर्दाशान्ति बिथोल्ने आँट पलाएर आउँछ । जुनकिरी र किथ्राका महागाथाहरू लेख्नलाई आधीरातमा कलम उठाँउछु । केही पंक्ति लेख्ने बित्तिकै भित्तामा टाँसिएको भित्तिले अचानक जिब्रो पट्टकाएर टिक टिक आवाज निकाल्छ । मेरो अन्तरमा त्यो आवाज ठिक ठिक बनेर गुन्जिन्छ । यसरी भित्तीले समेत ठिक ठिक भन्दा असाध्य ठिक काम गरेको बोध मलाई हुन्छ । मानिसहरूबाट मान्छेको सही मूल्यांकन नभएको बखतमा एउटा भित्ती (माउसुलि) बाट सही कुराको सही मूल्यांकन भएकोमा आनन्द लागिरहेछ ।

मान्छेलाई हृदयमा प्रेरणा अन्तप्रेरणाको स्पर्ष सधैँ सधैँ आबश्यक पर्छ कि क्या हो । त्यो प्रेरणाको आवस्यकता अरुलाई कति पर्छ, त्यो मलाई थाहा छैन । तर अन्तप्रेरणाको अभावले म कहिलेकाहीँ किंकर्तब्यबिमुढ बन्ने गर्छु । कुनै कुनै बेला लामो लामो समय म अकर्मण्य बनेर दिनलाई सुतेरै बिताइदिने गर्छु, घण्टाहरूलाई टोलाएरै गुजारिदिने गर्छु ।

जब मलाई प्रेरणाको अभाब र आबश्यकताले गाँज्छ तब म प्रकृतितिर फर्किन्छु । राति अँध्यारोमा खुला आकाशमुनि बसेर तारा हेरेर टोलाउने गर्छु । ताराको टिम्टिमाहट पनि प्रेरणाका सबल पुञ्ज बन्ने गर्छन् । हेर्दा हेर्दै आफैं विभोर बन्छु । रातको कालिमा पनि किन किन औधी प्यारो लाग्छ । बिहानीको लालिमालाई रातको कालिमा भित्र लुकेको झल्झली देख्छु । हेर्दा हेर्दै दिन नासेर आएको कालो रात, यो रातलाई पुनः उज्यालोको उषाले नास्दै, खियाउदै, काट्दै गएको दृश्यलाई हेर्न सक्छु । कहिले काँही खोलाको किनारमा गएर पानीको अबिरल प्रबाह हेर्छु । पानीको प्रबाहमा निसृत तरंग र ध्वनिहरूलाई हृदयका कानले सुन्ने कासिस गर्छु । जीवननदीको अबिरलतालाई खोलासँग तादात्मिकरण गर्छु । झमझम पानी परिरहेको दृश्यले पनि मलाई लोभ्याउँछ । चुहुने छानो मुनि बसेर निथ्रुक्क भिज्दै बिभोर आनन्दको अनुभूत गर्छु । मेरो मनमा एकाएक प्रश्न पैदा हुन्छ कहिले पानीको चुटाई नभेट्नेहरूले घर भित्र चुहेको पानीले भिज्दा हुने सुखबोध र असीम आनन्दबोधलाई कसरी आत्मसात गर्न सक्छन ? दुःखभित्र सुख खोज्ने एउटा बाहना निकाल्न सक्छु म ।

प्रेरणाकै लागि त बाथरुममा पसेर साबुन चिन्तन गरेको छु । एउटा साबुनको जीवन जत्ति सार्थक हुन नसकेको आफ्नो जीवनलाई घृणाबश पिच्रिक्क थुकेको छु । साबुनको जीवन अरुको मयल फ्याँक्तै जिउमा घोटिंदैं बित्छ । एउटा साबुनको जीवन समाप्ति अर्को साबुनको आगमन अनगिन्ति साबुनले पनि समाप्त गर्न सक्तैनन् जिउमा पैदा हुने मयललाई; र पनि साबुनहरू नित्य घोटिइरहेका छन् मैलाहरूमा, फोहोरहरूमा, दागहरूमा । सभामा सुकिलो लुगा हेर्छन् मान्छे साबुन बिर्सिन्छन् । चन्द्रमा देखाउने औंलो बिर्सिएर चन्द्रमा हेरेझैं । निरन्तर कर्तब्यमा लीन हुनुपर्छ भनेर साबुनले सिकाइरहेको छ मलाई । साबुनको जीवनमात्र किन कहिलेकाहीँ म एकखिली चुरोटको जीवनबारे पनि घोत्लिने गर्छु । मकैको बोटको जीवन, तोरीको जीवन, गडेउलाको जीवन, गोरुको जीवन, गधाको जीवन, खसी सुँगुरको जीवनलाई पढ्ने गर्छु । सबैसबैको जीवनसँग आफ्नो तुलना गर्दा त्यति ठुलो पार्थक्य बोध हुन्न मलाई । एउटा साबुन र चुरोटमा, एउटा गधा र गोरुमा आफू पनि रुपान्तरित हुँदैगएको हुँ कि जस्तो लाग्छ । फरक यति छ उनीहरूमा र म मा उनीहरूमा पाएको दुःखप्रति सचेत बोध छैन । मैले दुःखलाई सचेत बोध गरिरहेछु । त्यसैले असीम पींडाबोध भैरहेछ मलाई, साबुन र चुरोटलाई त्यो आभास छैन ।

खरानीको डंगुरभित्र आगोको झिल्का लुके जस्तो, कालो बादलका घेरामै चाँदीको किनारा भए जस्तो जीवनको बिशृंखला मै शृंखला खोजिरहेछु । लयबिहीन जीवनगतिमा लयबद्ध जीवनका रानारुनी फेला पारिरहेछु । बिसंगतिका बीचमा संगतिका सूत्रहरू खोजिरहेछु । असन्तुलनको आँचल पक्रेर सन्तुलनको सागरतिर बगिरहेको छु । पराधिनता र दासताको बन्दीगृहबाट मुक्तिको आलोक बालिरहेछु ।

उदयपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *