सहरका एक चर्चित पत्रकार । राष्ट्रिय दैनिकमा निकै तगडा आर्टिकल लेख्छन् । उनका सनसनीखेजपूर्ण रिपोर्टिङले कहिलेकाहीँ समाजलाई तताइदिन्छ । उनी सामाजिक अन्धविश्वास र रुढीवादी प्रथाको विरुद्धमा विगत केही समयदेखि कलम चलाईरहेका छन् । रुढिवादी चिन्तनको विरुद्धमा वैज्ञानिक विचारको वकालत गरेर शानदार लेख तयार गरी साइकल चढेर लेखलाई कुरियर सेवामा पुर्याउन सहरतिर लागे । सहर नपुग्दै अगाडिबाट विरालोले बाटो काट्यो । उनी सरक्क साइकल मोडेर घर फर्के । साढेँ विरालोले कस्तो अपशकुन लगायो । भोलिको पेपरमा निस्किने लेख ननिस्किने भयो भनेर कोठामा पिरिएर बसे ।
बजारको सिटिहलमा प्रगतिशील संस्कार संस्कृतिको उन्नयन र विकास तथा कुसंस्कारको अन्त्य विषयक विचारगाष्ठिको आयोजना गरिएको थियो । एक ब्राह्मण थरका जनवादी नेताले निकै क्रान्तिकारी विचारहरू पस्केर श्रोताहरूलाई स्तब्ध तुल्याए । जनवादी संस्कृतिका वैकल्पिक खाकाहरू निर्माण गर्नुपर्ने विषयमा निकै गहन दार्शनिक विचारहरू पोखे । उनको भाषण सुनेर निकै जनाले हात दुखुन्जेल ताली पिटे । भोलिपल्ट उनको गाँउमा डुल्न जाँदा थाहा भयो, उनी टपरामा खिरको डल्लो बोकेर पँधेरातिर कुद्दै रहेछन् । कमरेडले के लुकाएर बोकेका छन्, छिमेकीलाई सोधेँ । उनले जवाफ दिए, आज साराद थियो उनको घरमा । नभन्दै सातजना बाहुन पढाएर धुनधान पितृतर्पण गरिएको रहेछ । छिमेकीको कुराले म स्पष्ट भए ।
प्रजातान्त्रिक आन्दोलमा उहिलेदखि लागिपरेका राजुवावु दलित जातिलाई माथि उठाउन निकै कसरत गरिरहेकाछन् । दलित संघ संस्थाहरू पनि एउटा दर्बिलो हितचिन्तक पाएकोमा मख्ख छन् । हिजोको दलित भेलामा उनले दलितहरूको उत्थानको निम्ति निकै सारगर्वित मन्तव्य दिए । भोलिपल्ट ती प्रजातान्त्रिक नेताको घरमा एक दलित कार्यकर्ता समस्या बोकेर आए । उनी केवल परामर्श लिन आएका थिए । आफ्नै पार्टीको एक दलित कार्यकर्ता आएको देख्ने वित्तिकै राजुवावु नराम्ररी झस्के । अब यो सरासरी कोठाभित्र पस्न खोजी हाल्छ, घरमा हुनुहुन्न भन है म लुक्छु, श्रीमतीलाई यति भनेर राजुवावु घरपछाडि तिर छड्केका थिए । कहाँ पुगे टुंगो भएन । दलित कार्यकर्ता आएर आँगनको वेञ्चमा एकछिन पर्खिबसे । आउने छेकछन्द नदेखेपछि घरतिर फर्के ।
दसवर्ष अघिको संसदीय चुनावमा भारी मत पाएर चुनाव जित्ने एकनेताले विजय हासिल गरेपछि एकसरो गाँउ डुल्ने कोसिस गरेनन् । उनका अनुयायी र सहयोगी कार्यकर्ताहरूले साँसदज्यू एकचोटि बधाई थाप्न टोलटोल आउनु हुन्छ भन्ने आशा गरेका थिए । उनीहरूका अभिलाषालाई तुषारापात गर्दै ती नेता काठमाडौतिर हान्निए । दुईचार दिनपछि सुनियो, उनी वनारसको विश्वनाथ वावाको दर्शन गरेर बद्रीकेदारतर्फ लागे अरे । विश्वनाथ बाबाको भारी अनुकम्पा नमिलेको भए म कुनै हालतमा पनि चुनाव जित्ने थिइँन यसो भनेछन् । चुनाव जितेपछि उनीसामु आफ्ना भोलिन्टियर कार्यकर्ता तथा सहयोगीहरू गौण महत्वका विषय भए प्रमुख महत्वका चिज त मन्दिर, तीर्थधाम र देवताका मूर्तीहरू भए । त्यो सालको दशैंमा उनले भिमसेनलाई पञ्चवली दिएर भव्य भोजको आयोजना गरे । त्यो पञ्चवलीपनि चुनावको वेला भाकल गरेका रहेछन् । उनलाई आफूलाई भोट दिने जनता र कार्यकर्ताको भन्दा देवीदेउताको वढी विश्वास थियो । त्यसैले उनी जनताप्रति वफादार रहनु भन्दा पनि देवीदेउताप्रति बढी वफादार रहे । पछि पनि जनताप्रतिको दायित्वलाई बढी निर्वाह गरेनन् । भ्रष्ट्राचारी तथा अवैध काम गरेर कुरुस्त सम्पत्ति कमाए, हेर्दाहेर्दै काठमाडौमा महल, पजेरो र अन्य प्रशस्त दौलत जोड्न सफल भए । आफ्नो कार्यकालभरि उनी एकचोटिपनि जनताको घरदैलो आउने कष्ट गरेनन् बरु दिनै पशुपति गएर परेवालाई चारो दिन थाले । धर्मको एउटा नमुना सिर्जना गरिदिए ।
एकजना महिला मुक्तिको भाषण गरेर नथाक्ने नेता हुनुहुन्छ । उहाँले गोडा तिनेक श्रीमती भित्र्याउनु भएको रहेछ । गाँठी कुरा के हो त बुझ्दा थाहा भयो । जेठी श्रीमती अलि कलिलै किशोरवयमा पिताजीले मागीविहे गरेर भित्र्याइदिनु भएको रहेछ । पछि उहाँ पढ्दै जानु भयो, बढ्दै जानु भयो, राजनीतिमा पनि महत्वपूर्ण पदहरू पाँउदै जानु भयो । यताघरमा श्रीमतीले पनि छोराछोरी बेलैमा थुप्रो जन्माइन् । उनी असमयमै कुरुप देखिन थालिन् । काम र अन्य हैरानीले असमयमै बूढी जस्ती देखिन थालिन् । नेताज्यूलाई लाग्यो–यो अनपढ, पाखे, कोर्काली, कुरुप र अनपढ श्रीमती त साथीहरूको वीचमा देखाउनपनि लाज हुने भयो भनेर अर्की रोज्जा राम्री कलकल बँैसकी आफू भन्दा आधी उमेरकी युवती विहे गरे । छोराछोरीको विहे गर्ने समयमा वकाइदा आफ्नो विहे गरेर अचेल कान्छीसँग रमझम गरेर हिँडेको देख्छु । अचेल जब उहाँले जनवादी समाज निर्माणको विषयमा भाषण गर्नुहुन्छ । मलाई औँला कुप्र्याएर कुरीकुरी गर्न मनलाग्छ ।
एकजना महिला कमरेड एकमहिने स्वस्थानीको व्रत बसेकी छिन् । उनी दिनभरि राजनीतिक पार्टीको प्रशिक्षणमा जान्छिन् । माथिबाट आएका प्रशिक्षक कमरेडहरूले द्वन्द्वात्मक भौतिकवादको दार्शनिक व्याख्या पढाइरहेका छन् । दिनभरि द्वन्द्वात्मक भौतिकवादको कलास लिन्छिन् बेलुकी बेलुकी महादेवको पूजा गरेर घण्टी बजाँउदै स्वस्थानी व्रतको कथा सुन्छिन् । कसैले यस विषयमा प्रश्न गर्यो भने सानैदेखि लागेको वानी छोड्न मन लाग्दैन फेरि स्वस्थानी व्रतले गर्दा मेरो जीवनमा ठूलठूला परिवर्तन भएका छन् । लामो समय विहे भएको थिएन, यही देवीको व्रत लिएपछि विहे भयो । राम्रो श्रीमान् पनि भेटेँ । बेलैमा छोरोपनि जन्म्यो । यही व्रतकै कारणले घरमा आर्थिक अवस्थापनि सुधार भएको छ । उनी राधाकृष्ण मन्दिरमा पण्डित नारायण पोखरेलले संगीतमय पुराण वाचन गर्दा धुनधान नाचिन् । भजन, किर्तन र नाचहरू कुनै छुटाउदिनन् । टोलका सँगीहरूवीच यही कारणपनि उनी लोकप्रिय भएकीछिन् ।
यसरी बाहिर बाहिर प्रगतिशील भित्रभित्र अगतिशील चरित्र बोकेका थुप्रै पात्रपात्रीहरू वरिपरि छरिएका छन् । उनीहरू बाहिर बाहिर गतिशीलताको कुरा गर्छन् । भित्रभित्र अगतिशीलताको पूजा गर्छन् । एउटा इमान्दारिता केमा रहन्छ भने भित्र जे छ बाहिर पनि त्यही देखाउनु, अथवा बाहिरी जीवन जे छ भित्री जीवन पनि त्यही नै अप्नाउनु, यसो हुदाँखेरी जनमानसमा भ्रम कम हुन्छ । दोहोरो जीवन शैलीका कडीहरू टुट्न थाल्छन् । रुप र सारमा साम्यताका दृश्यहरू देखिन थाल्छन् ।
जीवनको बाहिरीपाटोमा कोरा सिद्धान्तको जलप छ, जीवनको भित्री पाटोमा रुढ संस्कारको चुरो आरुढ छ । मान्छेभित्रको अन्तर मनुष्यलाई जडसंस्कृतिको जंजिरले टनटनी कसेको छ । अनि बाहिर गर्छ एकथोक, भित्र चल्छ अर्कोथोक । बाहिर बोल्छ एकथोक व्यवहारमा देखिन्छ अर्कोथोक । यस्तै खालका मानिसका हात्तीका जस्ता दुईखाले दाँत हुन्छन् । चपाउने र देखाउने । देखाउने दाँतहरूले चपाउदैनन् । फेरि चपाउने दाँतहरू कहिल्यै देखिदैनन् । यिनै हात्तीदन्ता मानिसहरूको भीडबाट समाज बनेको छ, समुदाय बनेको छ । त्यसकै एकहिस्सा बनेर हामी बाँचिरहेका छौँ ।
चेतन मनको सानो हिस्सामा राम्रा राम्रा आदर्शका कुरा बोकेपनि हाम्रा अचेतन तथा अबचेतन मनमा पुरुष संकारका दृश्यहरू टनटनी खाँदिएर बसेका हुदाँरहेछन् । यस्ता संस्कारहरू हाम्रा पूर्बजहरूका अबदान स्वरुप हाम्रो अचेतन मनमा सर्दै आएका छन् । त्यस्ता कुराहरू कति त हाम्रो सचेत प्रयासले मर्दै पनि आएका छन् । तर पनि हाम्रो समाजको समग्र हिस्सामा यस्तै दोहोरो जीवनशैली अपनाउने वोलबाला कायम छ । राजनीति, अर्थनीति, समाजनीति, संकार सस्कृति, कला साहित्य र अन्य क्षेत्रका यस्तै खालका मखुण्डोधारी मानिसहरूको बोलबाला चलेको देखिन्छ ।
आत्मा रुपान्तरणको कठिन बाटोबाट गुज्रिएर कुनै पनि मानिसले आफँैमा शुद्धता हासिल गर्न सकेको छैन । शतप्रतिशत शुद्धताको माग समाजले गरेको छैन । तर पनि दसबीस प्रतिशत रुपान्तरण पनि देख्न सकिँदैन । परिबर्तनको कुरा गर्न ज्यादै सजिलो छ । परिबर्तनलाई ब्यवहारमा उतार्न त्यतिकै गारो कुरा छ । बाहिरी भौतिक जगत्को परिबर्तन, पुनः निर्माण, विकास राता रात गर्न सकिन्छ । पूँजी र प्रविधिको संयोजन मिलेमा यसको लागि लामो समयको जरुरी नै पर्दैन । तर अन्र्तमनको परिबर्तनको प्रक्रिया ज्यादै जटिल रहेछ ।
हाम्रो कोशकोशमा हज्जारौं हजार वर्षदेखि सर्दै आएको संस्कारले यसरी खिल गाडेको छ । त्यो खिल निकाल्ने अश्त्र आजसम्म कुनै पनि वैज्ञानिकले वनाएन सकेको छैन । हाम्रो रगतका प्रत्येक कणमा त्यो पुरातन चिन्तन घोलिएको छ । अनि हामीले जे बोलेपनि जे लेखे पनि अचेतन रुपमानै त्यसबाट निर्देसित भएर चल्न बाध्य हुदाँरहेछौ । किन शिक्षित सचेत भनाउँदा प्रवुद्ध वर्गलाई नै रुढिवादी जडताले डसिरहेको छ त ? किन अन्धविश्वासको अन्धरोगले गाँजिरहेको छ त ? किन कुसंस्कार, कुसंस्कृति र कुरीतिको काँचोवायुले छोइरहेको छ त ? यो पितृदानस्वरुप हाम्रो रगतमानै आएको छ । यसले हाम्रो सोचाई, विचार, चिन्तन प्रणाली र व्यबहारलाई नै परोक्ष या अपरोक्षरुपमा प्रभाव पारिरहेको छ । यी रोगहरूबाट मुक्त हुनको लागि जीवनप्रतिको गहन आत्मसमिक्षा र आत्मरुपान्तरणको कठिन साधनाबाट गुज्रिनु पर्छ ।
संस्कार संस्कृति भनेको शरीरमा लगाएको लुगा होइन यो त शरीरमा टाँसिएको छाला हो । हामी लुगा फेरेर आफू बदलिएको कुरा कथुर्न सक्छौँ । लुगा भनेको बाहिरी आवरण मात्र हो । यो त सतहमा देखिने रुपपक्ष मात्र हो । लुगा फेर्न त सजिलो हुन्छ, कुनै कष्ट साध्य उकालीहरू अरोहण गर्नै पर्दैन । आफूलाई परिशुद्ध राख्नको लागि त आफ्नो छाला काढेर अर्को नयाँ छाला भिर्ने कुरा हो । यसको लागि सर्जरीको आबश्यकता पर्दछ । समाजको हरेक पक्षमा काम गर्ने अगुवाहरूले आफूलाई अपरेशन गरेर अर्थात् आफ्नो पुरानो छाला काढेर नयाँ छालाले आफूलाई लेपन गर्ने हिम्मत राख्नु पर्छ ।
हामी बाहिरबाहिरको कपडामा उपचार खोजी हिड्छौं । समस्या वाहिरी कपडाको होइन्् समस्या छाला फेर्ने कुराको हो । आफ्नो छाला काढ्न सानो आँट, सानो हिम्मत र सानो शौर्यले काम दिनेवाला छैन । यसको लागि त ठूलो हिम्मत र जोखिम मोल्नु पर्छ । तथाकथित रुपको समाजमा ठूलो खतरा मोल्नु पर्छ ।
शरीरबाट एउटा मखुण्डो फ्याँकेर अर्को धारणा गर्नु जस्तो सजिलो कुरा त केही छैन । मखुण्डो र वाहिरी आवरणवाट कुसंस्कार, कुसंस्कृति र रुढ चिन्तनको उपचारै छैन । यसको निम्ति छालामा टाँसिएको , छालामा विच्छिएको त्यो महारोगलाई फ्याँक्न शुरुमा आत्मक्रान्तिको उद्घोष गर्नु जरुरी छ । आफूभित्र आत्मक्रान्तिको राँको नसल्काई वाहिर क्रान्ति गर्न धेरै पुल्ठा वालिसक्यौँ । तर हामी जाँहाको ताहीँ छौं । रौं वरावर पनि रीतिथिति र संस्कृतिको क्षेत्रमा परिवर्तनको आभा ताप्न असफल रह््याँै । आफूलाई नफेरी कसरी समाजलाई फेर्न सकिन्छ र ? आफूलाई नफेरी कहाँ समाजका गलत अक्षरहरूलाई फेर्न सकिन्छ र ? समस्याको जरो नचिनीकन पातमा ओखती दलेर रोगमुक्त हुन खोजेको समय धेरै भयो । रोग छ भित्री अंगमा, ओखती दल्छौं वाहिर छालामा । अनि हामी कहिले निरोग हुने होला । हामी सतहको समाधान त दिनदिनै गरिरहेछौँ, तर समस्याको केन्द्रमा पुगेर त्यसलाई केन्द्रवाटै हल गर्ने कुरामा पछि परिरहेका छौँ । युग युगदेखि वाहिरी परिधिमा परिक्रमा गरेर केन्द्र फेर्ने कुरा गरिरहेछौं । समस्या केन्द्रबाटै परिधिसम्म फिँजिएको छ । त्यसैले केन्द्रमा नै कर्तनो चलाउनु पर्ने घडी आएको छ । समस्याको जरा छिमल्न जमिन खोस्रिनै पर्छ । गहिराइमा जानै पर्छ । वाहिरी वोक्रोबाट, पातबाट दृष्टिहरू उठाएर भित्रतिर हेर्नुपर्छ । अनि भित्रैबाट फेरिन थाल्नुपर्छ । माथि उल्लेखित समाजका प्रवुद्ध महोदयहरूले आफूभित्रको जडमनुष्यलाई चिन्न कहिल्यै भित्रबाट चियाउन कोसिस गर्नु भएको छ । समाजलाई स्वस्थ्य, सृजनशील र सौम्य अवस्थामा पदार्पण गर्न अन्तरभित्रको अगतिशील चिन्तन विरुद्ध अस्तुरा चलाउने बेला आएको छ । त्यो अस्तुरा तपाईंभित्रै छ, त्यसलाई चिन्ने कोसिस गरौं र त्यो अस्तुराको सही ढंगले सदुपयोग गरौं तपाईंको विरोधाभासी व्यक्तित्व विलोपीकरणतिर जानेछ ।
