एकान्तको सौन्दर्यले मलाई मोहनी लाएको बेला एक अज्ञात बिद्वानको विचारले हृदयलाई छुने गर्छ । उनले भनेका रहेछन् – एकान्त ठाउँ मूर्खका लागि जेलखाना हो अनि ज्ञानीको लागि स्वर्ग हो । हुन त स्वर्ग र नर्क भन्ने कुरा कुनै भौगोलिक अवस्थितिभित्र पर्ने ठाउँ हुन् भन्ने कुरामा मलाई विश्वास छैन् । भूगोल र ब्रह्माण्डको परिधिभन्दा बाहिरका कल्पित स्थानको रुपमा यिनलाई बुझ्ने गर्छु । खगोल विज्ञानको त्वरित उचाईमा काहीँ पनि स्वर्ग फेला नपरेकोले वैज्ञानिक र अन्तरिक्ष यात्रीपनि थकित थकित भएर सुस्केरा काढिरहेका छन् यतिखेर । त्यसै यी चिज भौतिक स्थान नभएर मानसिक स्थानको रुपमा बढी लिने गर्छु ।
एकान्तलाई स्वर्गमा रुपान्तरण गर्ने त्यस्तो परम ज्ञानी पुरुषभित्र म पर्दै पर्दिन अँझ ज्ञानीको विशेषण मनमा खेलाउनुसम्म पनि घोर आत्माहीनता र आत्माश्लाधाको चपेटामा पर्ने गर्छु । स्वर्गीय अनुभूतिको बिराटचौतन्यसम्म एकान्तलाई डोर्याउन नसकेपनि म एकान्तलाई आफूलाई हेर्ने ऐनाको रुपमा उपयोग गर्छु । आफू भित्रको बिशृंखलतालाई लयबद्ध गर्ने अवसरको रुपमा उपयोग गर्छु । आफू भित्रको बिद्रुपता, कुरुपता, कोलाहलतालई थोरै भएपनि शान्तिसन्नाटाको गोरेटोमा शृंखलाबद्ध हिंडाउने चेष्टा गर्छु । चरम विसंगतिका भासहरूलाई संगतिको आभासमा परिणत गर्ने साधन मेरो लागि एकान्त नै बन्छ । त्यसैले अक्सर एकान्तलाई मन पराउँछु । यसरी एकान्तप्रतिको मोहले मालाई कतिपय मानिसहरूको मुखबाट एकलकाँटे पनि भनाएको छ । त्यस कुरासँग मेरो कुनै आपत्ति छैन कारण म एकान्तलाई अग्घोरै माया गर्ने ब्यक्ति हुँ । आफूभित्रको सम्पदालाई एकान्तमै बृद्धि गर्ने मान्छे हुँ ।
भनिन्छ मानिसको एकान्तमा शिक्षा हुन्छ र भीडमा त्यसको परीक्षा हुन्छ । यो कुरासँग म शतप्रतिशत सहमत छु । एकान्तको उपयोगले मानिसमा शिक्षार्जन हुने, ज्ञानार्जन हुने, र त्यो ज्ञानको प्रयोग परीक्षण मान्छेहरूको बीचमा हुने कुरा सत्य हो । बुद्धले छ सात वर्ष एकान्तवासबाट प्राप्त गरेको ज्ञान चालीस चालीसवर्ष मानिसहरूको भीडमा बसेर फिँजाउने काम गरियो । माक्र्सले ब्रिटिश लाईब्रेरीको एकान्तमा निर्माण गरेको सुत्र र सिद्धान्त अहिले पनि मानव समुद्रमा परीक्षाकै रुपमा परीक्षाण हुँदैछ ।
एकान्तमा चुपचाप बस्नु, एकान्तमा टहलिनु, एकान्तमा हिडं्नु मेरोलागि ज्ञानार्जन, अनुभूति आर्जन र आनन्दानुभूतिको उपक्रम बन्ने गर्छ । एकान्तलाई उपयोग गरेर अहिलेसम्म कहिल्यै नसुनिएका प्रकृतिका पदचाप सुन्ने चेष्टा गर्छु । आहत अनाहत निसर्ग ध्वनिहरूको बीच हराउन पनि मलाई सुनसान एकान्तको दरकार पर्छ ।
एकान्त अर्थात निरब सन्नाटा । एकान्त अर्थात चुपचाप अस्तित्व अनुभूति । अस्तित्वका सारा आयामहरू चुपचाप चुपचाप आफ्नो बाटोमा यात्रारत छन् । घाम चुपचाप उदाइरहेको छ, अस्ताउने बेलामा पनि चुपचाप अस्ताएको छ, जून चुपचाप झुल्किरहेको छ । हावाको लहर चुपचाप चुपचाप अदृश्य रुपमा तरङ्गिएको छ, पहाड चुपचाप उभिएको छ । बादल चुपचाप कुदिरहेको छ क्षितिजभरि । तारा चुपचाप उदाएका छन् । चाहे रात्रीको आगमन होस या प्रभाती आगमन होस, यी सबै उत्सबहरू एउटा निरव सन्नाटामा घटित भैरहेकाछन् । फूल चुपचाप फुलिरहेको छ, आगो चुपचाप बलिरहेको छ, समुद्र चुपचाप सुतिरहेको छ । रुख चुपचाप तपोलीनमा झुलिरहेको छ । चरा चुपचाप उडिरहेका छन् । पुतली चुपचाप नाचिरहेका छन् । यी सबै कृत्यहरू चुपचाप चालिरहे को बेला हामी चाहिं किन वेकारको कोलाहल, भीड, दौडधुप, स्याँ स्याँ, फ्याँ फ्याँ र अशान्तिको आगोमा पाकिरहेका छौं, एकान्तमा यो कुरा सोच्ने गर्छु ।
सानो मुखले ठुलो कुरा गरे जस्तो अस्तित्वका विराट वस्तुका सामुन्ने क्षुद्र प्राणी मान्छे क्षुद्र आवाज निकालेर आफैंभित्रको शान्तिलाई धरापमा राखिरहेको छ । क्षुद्रताको शोरगुलले भद्रताको व्यक्तित्व पुछिरहेको छ । चरा निशब्द उडेको बेला मेरो मनमा हर्दम प्रश्न पैदा हुन्छ, मान्छे किन निशब्द उडान भर्न नसकेको होला ? बगैचाँमा पूmल चुपचाप फक्रेको बेला मान्छे किन चुपचाप फुल्न नसकेको होला ? प्रश्नका हथौडीहरूले ट्याक्क ट्याक्क मनलाई पिट्ने गर्छन् ।
एकान्तमा म प्रकृतिको निस्पन्द छाती छाम्ने चेष्टा गर्छु । निस्पन्द छातीका स्पन्दन छाम्न एकान्तको ठुलो महत्व हुँदो रहेछ । प्रत्येक निर्जीव वस्तुमा सजीव स्पन्दनको आभास भेटिनेरहेछ । प्राणहीन बस्तुमा पनि प्राणऊर्जाका कम्पन छाम्न सकिने रहेछ । मेरो दैनिक यात्रा खोलाको डिलडिलै हुने गर्छ । अर्थात् म आफ्नो पेशाको कार्यकक्षमा पुग्न करिब आधी घण्टा खोलाको डिल हिँड्ने गर्छु । त्यो एकान्तमा म खोलाको बोलीमा लठ्ठिने गर्छु । खोलो बोल्छ कुनै निष्कलंक निर्दोष वालक बोले जस्तो, खोलो मसँग कुरा गर्छ न्यस्त स्वार्थबाट मुक्त साधु फकिर जस्तो । गतिमान जलको प्रवाहबाट निसृत ध्वनिमा म तरेली तरेलीका भावहरू ग्रहण गर्छु ।
कलकल, कत्ल्याङ्गकुत्लुङ्ग, छत्ल्याङछुत्लुङ् र अनवरत सुसाईभित्र प्रकृतिपीडा, वहवेदना, उच्छ्वास अहंकार आदि आदि स्वरलहरीहरू सुन्न सक्छु । खोलाको सरगम सुसेलीभित्र पनि मानवजीवनको रङ घोलिएको छनक मिल्छ । पहाडी खोलाका भित्ताहरूमा आवाजहरूलाई ध्वनिहरूलाई प्रतिध्वनित गर्ने अचम्मको शक्ति छिपेको हुन्छ । सानो आवाज सानो ध्वनि प्रतिकम्पन सहित प्रतिध्वनिमा रुपान्तरित हुन्छ । अंग्रजीमा त्यो प्रतिध्वनिलाई इको साउण्ड भन्छन् क्यारे । त्यो आवाज सुन्न म किन किन औधी लोभिन्छु । त्यो ईको शब्दको बारेमा ग्रिक पुराणमा एउटा कथा छ । ओलम्पसका देवराज जुपिटर र रानी जुनोका सेवासुश्रुषा गर्ने थुप्रै परीहरू थिए । ती परीहरू मध्येकी ईको सारै सुन्दरी परी थिइन । ईको को स्वाभावमा एउटा सारै खड्किने कुरा के थियो भने उनी सारै कुरौटे थिइन् । उनी चुपलागेर बस्नै सन्तिनथिन् । उनलाई यति बोल्नुपर्थ्यो त्यो कुराको भनिसाध्यै छैन । आखिरमा धेर बोल्ने स्वभावले नै उनलाई दु:ख र दुर्भाग्यको संसारमा धकेलिदियो ।
राजा जुपिटर पनि रानी जुनोको आँखा छलेर सुन्दरी परीहरूसँग कुराकानी गर्न र उनीहरूको सुन्दरताको रसपान गर्न माहिर थिए । यो कुरा रानी जुनो ठुलो ईष्र्या गर्थिन् । राजाले सुन्दरीहरूसँग गफ गरेको चियो चर्चो गर्थिन् । एकचोटि राजा पहाडभन्दा तल उपत्यकामा परीहरूसँग ठट्टा रोमान्स गर्न झरे, रानी जुनोले त्यो कुरा थाहा पाएर परीहरूलाई झपार्न चियो गर्दै झरिन । त्यतिखेर बिचबाटैमा ईको भेटिइन् । ईकोले रानी आफ्नै परिसाथीहरूलाई दण्डित गर्न झरेको थाहा पाएर उनलाई अल्मल्याउनको लागि वात मार्न थालिन् । कुराले यति झुाल्याइन् कि रानीलाई एक शब्द बोल्न पनि दिइनन् र त्यहाँबाट हिँड्न पनि दिइनन् । कसो कसो गर्दा सास रोकेको मौका पारेर त्यहाँबाट फुत्किन् । त्यतिखेर सम्ममा सबै परिहरू भागिसकेका थिए । राजापनि त्यहाँबाट हिँडिसकेका थिए । यो कुराले रानी यति क्रोधित भइन् कि ईकोको षड्यन्त्रै हो भन्ने ठहर गरी उनलाई सजाय स्वरुप सराप दिइन । त्यो अनुसार उनको सुन्दर बोली सदाको लागि खोसियो र अरुले बोलेका वाक्यको अन्तिम शब्दहरू मात्रै मसिनो रुपमा टाढाबाट आएको स्वरमा दोहोर्याउने क्षमता दिइन् । जसले गर्दा खोलामा कसैले ठुलो आवाजले बोलाउँदा अँझ पनि त्यो बोलीको प्रतिध्वनित हुने गर्छ, आवाजको प्रतिआवाज तरंगित हुन्छ । अहिले विज्ञानले इको साउण्डको रुपमा त्यो ध्वनिलाई बिज्ञापनमा पनि प्रयोग गर्ने गर्छ ।
यो कथा बढी बोल्नु, बढी हल्ला गर्नु, कुरौटे हुनु र चुपचाप नरहनुको परिणति राम्रो हुन्छ कि नराम्रो हुन्छ ? त्यसको सारशिक्षा पस्किन पनि सफल छ । प्रकृतिका अकाट्य नियम र रहस्यपूर्ण शक्तिका बिषयमा पुराकथा र लोककथाहरूले विभिन्न अर्थ र सन्दर्भका जामाहरू लगाइदिएको छ । त्यसको बैज्ञानिक सत्यता के हो ? त्यो आफ्नो ठाउँमा होस् तर यी कुरा सुनेपछि हामी एकचोटि रोमाञ्चित नभैरहन सक्तैनौं ।
एकान्तमा आकाश, चरा, रुख, पुतली, पानीको कलकल आवाज मेरा अन्तर्सबांदका प्रिय सखीहरू हुन् । निरहंकारी निर्बन्ध चराहरूको उन्मुक्त उडान, पहाडको अबिचलता, रुखको शितलता र आकाशको बिस्तृतिले हृदयलाई यसरी गाँजी दिन्छ, जसको मोहपाशबाट सजिलै फुत्किन सक्तिन सबै बाधाविरोधहरूलाई स्वीकार भावले ग्रहण गर्दै अगाडि बढ्ने खोलाको अविरल गतिशीलता, हृदय पुलकित गर्ने पंक्षीको स्वरमाधुर्य मेरो असीम आकर्षणका बिषय हुन् । पुनर्जन्म यदि सत्य हुने हो भने मलाई अर्को जुनीमा चरा भएर जन्मिने लोभ लाग्छ ।
बुद्ध महावीरले निर्जन जंगलको निरब एकान्तता मन पराउनुको रहस्य अहिले अली अली बुझ्न थालेको छु । एकान्तको मौनता साँधेर हजारौं तपस्वीहरू, मुनिहरू, ऋषिहरू, कविहरू सभ्यताले आर्जन गरेको कुरा मेरो नजरबाट कहिले टाढा हुन्न ।
जब एकान्तमा एक्लो हुन्छु, एक्लोपनले छाती खुम्चेको बेला आकाश हेर्ने गर्छु, पहाड हेर्ने गर्छु, ढुंगा हेर्ने गर्छु, रुख हेर्ने गर्छु । यिनीहरूपनि मसँग अन्तर्सम्बादमा सम्मिलित हुन्छन् ।
सानो र छोटो एकान्तमा मान्छे किन भयग्रस्त हुन्छन् होला । सायद भीड र कोलाहलको बीच अनबरत अभ्यस्त रहँदा ऊ भित्रको रसायन पनि कोलाहलमय हुँदो हो । एकान्तको निरब वातावरणमा उसको छातीले तादात्म्य गाँस्न नसक्त्तो हो । त्यसैले ऊ सानो एकान्त पनि पचाउन सक्तैन । एकान्तमा आफ्नै स्वास पनि आफ्नो निम्ति परमभित्र बन्छ । म अनुभूत गर्छु बाहिरको भद्रगोलपूर्ण परिबेशले आफैं भित्र अर्को भद्रगोलपूर्ण वातावरण सिर्जना गरेको हुन्छ । बाहिरका हरेक बिशृंखलाहरू, बिसंगति र बिद्रुपताहरू भित्रको सन्तुलित दुनियाँ भत्काउन सहायक तत्व बन्छन् ।
बिद्रुप र बिशृंखल यथार्थहरूले स्वासको लयबद्धतालाई खण्डित गरेको हुन्छ म एकान्तमा त्यही लयहीन स्वासलाई लयबद्ध गर्ने कोसिस गर्छु । वासना र शासन को पछि पछि दगुर्दा हामी कति असन्तुलित भएका रहेछौं, त्यो असन्तुलनलाई पनि म एकान्त मै छाम्ने गर्छु ।
एकान्तप्रतिको मोहलाई मेरा बाल्यकालीन जीवनका क्षणहरूसँग गाँसेर हेर्ने गर्छु । छियी खोलो, छाङ्गे खोलो, ठुलो खोलो, सिस्नेरी, मार्से र बैखोलाका चेपहरूमा एक्लै एक्लै गुन्गुनाएर घाँस काटिरहेको अतित सम्झिने बित्तिकै ती एकान्तको परमसौन्दर्य मेरो हृदयमा यस्तरी गोचर हुन्छ, जसलाई म कहिले भुल्न सक्तिन ।
बाख्रा चराउन जाँदा एक्लै एक्लै भस्मेको जंगलबाट घण्टौं खोलो काराएको सुन्नु, रंगी बिरंगी पुतलीको उडान हेर्नु एकान्त मोहका प्राकृत उडानहरू थिए । अहिले त खाली कुँजिएका अपाहिज भएका उडानहरूलाई तन्याकतुनुक पारेको मात्र हो ।
त्यतिखेरको एकान्तको सुन्दरतादेखि त्यसै त्यसै बिस्मित हुने गर्छु । त्यो बेलाको निर्दोष, निष्कलंक, निर्मल मन अहिले कहाँ पुग्यो होला ? शिक्षा, संकृति, समाज र कानूनले प्राकृत मनलाई कति ठाउँ भाँचभुँच गरेछ, कति ठाउँ गाजल भनेर मोसो पोतिदिएछ, कति ठाउँ सुन्दरताका बाँही र कल्ली भनेर परतन्त्रताका सिक्रीहरू कसेछ ।
अँझै पनि सम्झन्छु हर्राबोटेको पाखाबाट हेर्दा हेर्दैको बादल सिँगारी बाख्रो जस्तो बनेको, एकछिनमा तारे गोरुको जुरोमा परिणत भएको अनि केही बेरमा त्यो पँधेरा माथि बरमा रुपान्तरण भएको चित्र । आफैंमा त्यो कति मनमोहक र चमत्कारी घटना थियो । मनको अवस्था अनुसार ढिकीको आवाजबाट अर्थहरू प्रस्फुटित हुन्थे । जाँतोको आवाजबाट विविध जातका भावहरू तरंगिन्थे ।
अहिले बादल हेरेर कल्पनानुसारका कोलाज चित्र वनाउन खोज्छु । भने जति एकान्त नै जुर्दैन । म भित्रभित्रै खिन्न हुन्छु । सारा खिन्नतालाई मेट्न एकान्तको सौन्दर्य बिषयलाई लेख्न खोज्छु । त्यो पनि महिनौ पछि सानो छोटो एकान्त जुर्छ यो सानो एकान्तमा आफ्नो सम्पूर्ण अनुभूति पोख्न असक्षम छु । तर पनि एकान्तको सुन्दरतालाई कसी लाउन पुन: पुन: कलममा मसी लाइरहने इच्छा छ । याद गर्नुहोस् मभित्रभन्दा तपाईभित्र अँझ सुन्दर र शक्तिशाली एकान्त वोधका झुल्का हुन सक्छन् । त्यो सम्पदाअनुभूतिको सुखबाट कतै तपाई त बञ्चित हुनु हुन्न ।
ईति विसं २०६२/२/१२
