रामकृष्ण पौडेल अनायास
निलो साइकल
समयले पनि एउटा कोल्टे फेरीसक्यो यतिबेला त । साईकलको घंटी ढोका अगाडि हिजो अस्ति गुन्जीई सक्थ्यो । निरास हुँदै कोठा भित्र पस्छु । अनि एकै छिन टेवलमा फिजाइएका किताबहरू एकएक गरी हेर्छु पन्ना पल्टाउँछु । प्रत्येक शब्द शब्दमा उनकै प्रतिबिम्ब देख्छु । फेरि बन्द गर्छु । अनि हत्तपत्त बाटोमा साइकलको आवाज सुन्छु र बाटो तर्फ दौडन्छु । जाँडिया पो परेछ । रोकेर व्यर्थै निउपो खोज्न थाल्छ । म सुरुक्क फेरि फर्कन्छु घटी हेरेको ९ बजेर २७ मिनेट भएको रहेछ । २०६० सालमा केको मोवाइल लिन पाइन्थ्यो ? नत्र फोन हजार चोटी हान्थे होला ।
वर्गसङ्घर्ष
सधैँझैँ आज पनि उही दृश्य, प्रभाले फ्याँकेको स–साना ढुंगा भुईमा नलागेर उसको हृदयमा लागिरहेको छ, किनकि उसको हृदयको तारमा पनि झङ्कार भइरहेको थियो । आँखा नै बन्द हुँदैनथे, ऊतिर हेरिरहँदा प्रभाको गोरो शरीर, चञ्चलपना त्यसमा पनि नीलो रङको धारिवाल कमिज लगाएकी थिई । एक हिसाबले प्रशान्त प्रभाको रुप वसन्त ऋतुमा फक्रिएको फूलजस्तै जीवन देखेर भित्रभित्र पागल भइसकेको थियो ।
