Skip to content

पुस्कल पौडेल

नजिक हुन खोजेथेँ तिमी टाढा भइदियौ

माया गर्ने मायालु आज कता गइदियौ
नजिक हुन खोजेथेँ तिमी टाढा भइदियौ

तिमीले छोडी गयौ किन भर्खर माया बसाएको
भुल्या छैन तिमीले मलाई दु:खमा पनि हँसाएको
मलाई सधैं हँसाउनेले आखिर रुवाइ गइदियौ
नजिक हुन खोजेथेँ तिमी टाढा भइदियौ

मन मुटु नै पो दिनु पर्छ त

मन मुटु नै पो दिनु पर्छ त, माया गरेर मात्र कहाँ हुन्छ
भाग्यमा लेखिनु पर्छ, मन परेर मात्र कहाँ हुन्छ

भाग्यमा छ भन्दैमा डोकामा, दुध दोएर त अडिने हैन
गोड्मेल गरेका बिरुवा त मर्छन, बिउ छरेर मात्र कहाँ हुन्छ

सायद गजल यसरी नै बन्छ

नचाहँदा नचाहँदै माया, लाए पछि बन्छ गजल
त्यही मायामा फेरि धोका, पाए पछि बन्छ गजल

थाहा पाउन गाह्रो हुन्छ, आखिर मात केको लाग्यो
२, ४ प्याक बिना सितन, खाए पछि बन्छ गजल

यत्तिकैमा मरेँ भने

माफ गर्नु तिमीलाई, मैले माया गरेँ भने,
ढिक्का आँशु झारिदिनु, यत्तिकैमा मरेँ भने

तिमी बाहेक अरु मेरो, रुने मान्छे कोही छैन,
रुँदा सोधे अरुले, भन्नु यो कोही हैन
भेट्न आउँन सक्दिन, बन्धनमा परेँ भने,
ढिक्का आँशु झारिदिनु, यत्तिकैमा मरेँ भने

मेरो इच्छा

खुट्टा छ ! सो अनुसारको जुत्ता छैन
जुत्ता छ ! सो अनुसारको खुट्टा छैन
जाबो लास ढाक्ने कात्रोमा
किन आज बुट्टा छैन

इच्छा म मर्दा यही मेरो
खसी काटी सबैले खाइयोस्
मरी स्वर्ग गए पनि
फेरि पनि मर्न पाइयोस्

म मरेको छैन यहाँ

म मरेको छैन यहाँ, अझै बाँचिराछु
तिम्रो श्राप मेरो पाप, कट्टा गरिराछु ।।

धुकधुकी बाँकी छोडी, न त मेरो ज्यान लियौ
यस्तै जिवन ज्युँनु तैले, भनिकन श्राप दियौ ।।
श्राप मुक्त हुन्छु भन्ने, आशमा अल्झिराछु
तिम्रो श्राप मेरो पाप, कट्टा गरिराछु ।।

अलि–अलि टाउको दुखेको छ

अलि–अलि टाउको दुखेको छ
अलि–अलि भाको छु बिरामी
अलि–अलि (मुन्टो) गर्दन दुखेझैँ भा छ
सायद नमिलेर होला सिरानी ।।

अलि–अलि नाडी पनि बढेको छ
अलि–अलि कोखामा हान्दैछ सोला
अलि–अलि कसैको याद पनि आइराछ
सायद ढुकढुकी बढेको त्यसैले होला ।।

जन्मदिनको शुभकामना तिमीलाई

तिम्रो जन्मदिनको उपलक्ष्यमा, धेरै–धेरै मेरो बधाइ,
लाखौं लाख शुभकामना, अरु के दिऊँ म तिमीलाई ।

कोमल तिम्रो पाउमा काँडाले नघोचोस्,
आँधी बेरी हुरीले तिम्रो बाटो नछेकोस्,
हरेक पाइलामा तिमीलाई सफलता मिलोस्,
दुःख कष्ठ पीडाले मुटुमा नपिलोस् ।

ढुकढुकी त चलिरन्छ

ढुकढुकी त चलिरन्छ, बाँकी रहे सास
बाँचे भेट भई हाल्छ, मरे मार्नु आश

मनको बोझ हलुङ्गो पार्न, पोख्नु पर्छ व्यथाहरू
मनमै कुरा गुम्सिन्छन्, थुपारेमा रास

दुई–चार थोपा साँच आँशु

यहाँ भन्ने छैन आँखा सधैँ, आँशुले नै सजाउनु पर्छ
दुई–चार थोपा साँच आँशु, म मरेँ भने बगाउनु पर्छ ।।

एक अर्काको सुख–दुःख बाँड्ने, हामी बिचमा त्यस्तो सर्त छैन
नाम मात्रको साथी म तिम्रो, हुनु–नहुनुको अर्थ छैन ।।
यो पनि हैन मेरो मतलव, मनमा तार–बार लगाउनु पर्छ
दुई–चार थोपा साँच आँशु, म मरेँ भने बगाउनु पर्छ ।।

ऊसँग पैसा छ मसँग छैन

सायद ऊ हाँसी खुसी नै मर्छ होला
तर म एकिन दुःखै दुःखमा मर्छु
उस्को जीवन सौख अनि मोजमा बित्छ
म दुई छाककै लागि काम गर्छु ।
यहि छ ऊ र ममा फरक!
ऊसँग पैसा छ मसँग छैन ।

तिम्रो शुभ विवाहको उपलक्ष्यमा

तिम्रो शुभ विवाहको उपलक्ष्यमा
धेरै–धेरै मेरो बधाइ,
लाखौं लाख शुभकामना
अरु के दिऊँ म तिमीलाई ।

कोमल तिम्रो पाउमा काँडाले नघोचोस्
आँधी बेरी हुरीले तिम्रो बाटो नछेकोस्,
हरेक पाइलामा तिमीलाई सफलता मिलोस्
दुःख कष्ठ पीडाले मुटुमा नपिलोस् ।

तीन मुक्तक

१.
आफैले माया मारे झैँ भयो
अर्कैमा माया सारे झैँ भयो
जित्न त जितेथेँ सबको नजरमा
तिम्रो नजरमा हारे झैँ भयो ।।

२.
आफैले जालमा पारे झैँ भयो
पछि फेरी त्यसै टारे झैँ भयो
बित्थामा सबले शंका मात्र गरे
बेकारमा दश तीर चारे झैँ भयो ।।

३.
आफैंलाई भ्रममा पारे झैँ भयो
रीत्त्याई सबै निखारे झैँ भयो
मैले त मनको सीमाना कोरेथेँ
आउने जाने लाई बारे झैँ भयो ।

पुस्कल पौडेल (–––प्रतिक)

मात्र दुई मुक्तक

१.
आफैले माया मारे झैँ भयो
अर्कैमा माया सारे झैँ भयो
जित्न त जितेथेँ सबको नजरमा
तिम्रो नजरमा हारे झैँ भयो ।।

२.
आफैले जालमा पारे झैँ भयो
पछि फेरी त्यसै टारे झैँ भयो
बित्थामा सबले शंका मात्र गरे
बेकारमा दश तीर चारे झैँ भयो ।।

पुस्कल पौडेल (–––प्रतिक)

हुन्न कोही पानी चल्ने, हुन्न कोही अछुत्तो

कोही माया साँचो हन्छ, कोही माया झुट्टो
हुन्न कोही पानी चल्ने, हुन्न कोही अछुत्तो ।।

मान्छे चिन्न गारो हुन्न, माया चिन्न गारो
माया गर्ने मायालु त, सबलाई हुन्छ प्यारो
कोही माया धार–वाला, कोही माया भुत्तो
हुन्न कोही पानी चल्ने, हुन्न कोही अछुत्तो ।।

भटाभट झर्न थाले, रोजेका फूलहरू

भटाभट झर्न थाले, रोजेका फूलहरू
त्यसै गरी सुक्न थाले, सदाबहार मुलहरू ।।

दिलको बगैँचामा मैले, माया रोप्नु गल्ती भयो
जुन फूल फल्यो मायोको, फेरी त्यही चल्ती भयो ।।
फुलेका फूल चल्ती गर्नु, ती नै मेरा भुलहरू
भटाभट झर्न थाले, रोजेका फूलहरू ।।

पाइलैपिच्छे भेटिन्छन्, जिन्दगीका साहुहरु

लागेको छ मुटुमा, नभरिने घाउहरू
पाइलैपिच्छे भेटिन्छन्, जिन्दगीका साहुहरू ।।

ऋणी हैन म कसैको, न कसैको दास नै हुँ
आत्मीय छैन मेरो कोही, न कसैको खास नै हुँ ।।
पहिल्याउन सकिन सायद, जिन्दगीका दाउहरू
पाइलैपिच्छे भेटिन्छन्, जिन्दगीका साहुहरू ।।