Skip to content

होम सुवेदी

माताश्रीको ताडनाबाट बनेको मेरो भाग्गे

परिवार नै गरिब निर्धो र छोराछोरीलाई एक पेट खुवाउन नसक्ने र एक धरो लगाइदिन नसक्ने परिवारमा जन्मे हुर्केको । दुःख के हो मलाई थाहा छ । म सानैदेखि दुःख पाएको मान्छे । यसमा अब मलाई ढाँटढुँट गर्नु छैन । साथै सानैदेखि कुटाइ खाएको मान्छे । चौध वर्षदेखि भने कुटाइ खाइएन । यो पनि नढाँटीकन भन्छु । यसमा पनि ढाँट्नु छैन । पितामाताहरू स्वर्गीय भइसक्नु भो उहाँहरूको बदनाम होला भन्नु पनि छैन । उहाँहरूको चिन्ताका पछिको कारण गलत थिएन भनेर म अहिले पनि भन्छु र सधैं भन्छु ।

HomSuvedi

अपहत्ते

आज भुराभुरी र बूढाबूढीहरूबाहेक अरु सबैको हातमा छ मोबायल । कुनै बेला यो मोबायलले बोक्ने मान्छेको हैसियत देखाउँथ्यो । त्यो मान्छे कुन तह र वर्गको रहेछ भन्ने कुराको जनाउ दिन्थ्यो । तर अहिले यसबाट त्यो पुरानो अर्थ हटिसकेको छ । जसको हातमा पनि देखिन्छ मोबायल, चाहिएन अब कुनै हैसियत यसलाई हातमा लिन । पहिले चोरहरूको चोरिने वस्तुका रुपमा पनि यो थियो । अहिले ता उनीहरूलाई पनि महत्वको मूल्यवान् कुरा भएन । गाउँ, सहर, बस्ती सबैतिर यसले छाएको छ । श्रमिक, किसान, मजदुरहरूमा पनि यसको पकड छ । युवायुवतीको हातको कुरै छाडौं, उनीहरूलाई ता यसले संसार नै देखाइदिन्छ । म हजुरबा भइसकेको मान्छेको हातमा पनि यो रहन्छ सधैं । कहिलेकाहीं यसले सारै ठुलो गुन पनि गर्छ । अनि बैगुन… ?

सूत्र कथा

कन्जुसीकाे पनि हदै थियाे हरिभक्त । अावश्यक परिणाममा सिमेन्ट र रड छड प्रयोग नगरी बनाएकाे उसकाे घरको छत खसेर सुतेकै ठाउँमा ठहरै भयाे । अन्त खाेज्न जानै परेन कालिदासलाई ।

पद्याङ्कनकाे लेखकीय कथन

(पद्यबद्ध गर्नेका केही कुरा)

गद्यका केही सामग्री पद्यबद्ध गरुँ भनी
मलाई कसरी आयो थाहा छैन अँझै पनि ।
त्यसै लहडले गर्दा स्वयं यो काममा भीडें
मानौ कन्टकिलो बाटो रहेछ त्यसमा हिंडें ।

एक मुक्तक (जिन्दगी सुकिलो मुकिलो होस्)

जिन्दगी सुकिलो मुकिलो होस्
यो ता चाहना मात्नै भो
सधै‌ भयाे मेरो जिन्दगी धमिलो धमिलाे
धेरै थाेक खाएर अघाइयाे जिन्दगीमा
अब ता यो सेन्टरम पनि भएछ अमिलाे अमिलाे ।

मुक्तक

लघुकविता

कति बिताउनु यो जिन्दगीलाई
दुःख र बेथाहरुकाे काँडेघारीमा
कति तौलनु यो जिन्दगीलाई
थाम्नु नै नसक्ने पिरकाे भारीमा
बरु अाउनुहोस् एकैछिन भए पनि
यो जिन्दगीलाई बिताऊँ
रमाइलाे चियाबारीमा ।।h

निर्दयी

सहरमा जोडिएका घर भए भने एक घरकाले अर्को घरका धेरै कुराहरू नचाहेरै पनि थाहा पाउँछ । यस्तै थियो प्रकाशको घर पनि । उनको घर र छिमेकीको घरका बीच पाँच फुटको दूरी मात्र थियो । कतिपय उताको कुरा यताकाले सुन्दथे अनि यताकाले उताको पनि । यिनै जोडी घरमध्येको एक घर हो प्रकाशको ।

आधा दिनको बिदा परेको भए पनि अफिसबाट आज निकै गलेर आए प्रकाश । यसैले माथिल्लो तलको बरन्डामा गएर बाहिरतिर आराम कुर्सीमा बसेर आराम गर्न थाले । उनलाई भित्रबाट चिया आयो, खाजा पनि आयो ।

पुरस्कारको चारो छर्नुहोस आफ्नै खल्ती भर्नुहोस्

केही वर्ष यता नेपालमा पुरस्कार नामक दुवाली थापेर लेखक रुपी माछोलाई बल्छीमा पार्ने चलनको जोडदार ढङ्गले विकास भएको छ । यस अवधिलाई पुरस्कार थाप्ने कामको स्वर्णीम कालभन्दा पनि बढी हुँदैन । कुनै बेला एउटा बबुरो मदन पुस्कार मात्र थियो नेपालभरि । त्यसको इजत बेग्लै थियो । आज त्यसलाई लफन्ड्याउने खालका घागघाग पुरस्कारहरू देशभरि छरपट्ट उम्रिएका छन् । करोडिमलहरूले उमारेका छन् । पुरस्कारको पिण्ड बटारेर लेखकहरूको तर्पन पानी र सराद्धे गर्न बसको यी लोट्टोका संस्थापकहरू मानौं भारतको गयाका लम्बरी पण्डाहरू हुन् जसले लेखकको पिण्डपानी गर्छन् र आफ्नो भित्री अदृश्य स्वार्थ सिद्ध गर्न धामा गरिरहेका हुन्छन् ।

अँधेरो सरी लाग्दथ्यो जिन्दगानी

अँधेरो सरी लाग्दथ्यो जिन्दगानी
कतै रामछायाँ कतै घामपानी
बिनालाई देखें जसै एक झल्को
रुमानी र चङ्गा भयो जिन्दगानी ।।

म ठान्थें यसै जिन्दगी वैलिएछ
यहाँ भित्र कालो धुवाँ फैलिएछ
विनालाई देखें कुनै एक बिहानी
भुवा झैं हलुङ्गो भयो जिन्दगानी ।।

तिमीलाई धन्यवाद छ भीम धन्न अमलाको रुख उखेलिदिएनछौ

मेरा जन्मघरको बाहिर सिकुवामा एउटा पुरानो काठको खाट अँझै पनि छ । त्यस खाटबाट सुतेर हेर्दा पश्चिमतिर पारिपट्टि निघुरादिको डाँडो र उत्तरतिर थेचुम्बू गाउँको अस्पष्ट दृश्य मेरा आँखामा पर्ने गर्दछ । खाटबाट अलिकति निहुरिएर हेर्दा पाथीभरा माताको मन्दिर भएको डाँडाको दृश्य टढ्कारै आँखामा आउँछ । पिताजी त्यसै खाटमा खाँडीको बर्को ओढेर बस्नुहुन्थ्यो ।

पद्यहरु

फुर्ति नलाऊ तिमी धेर नानी
पानी सरी लाग्दछ जिन्दगानी
चिप्लेर भौडीतिर पर्न सक्छौ
चुर्लुम्म खाडीतिर डुब्न सक्छौ ।।

सग्लो छु भन्ने जब पर्छ भान
आफै‌ हरायौ तिमी आफू जान
सम्पूर्णताको भ्रम पाल्नु हुन्न
यो जिन्दगानी परिपूर्ण हुन्न ।।

हावा छ तातो

हावा छ तातो छ जमीन तातो
उडाउला झै‌ हुन थाल्छ सातो
आकाशमा बादल फर्किआओस्
यो चैत पापी कहिल्यै नआओस् ।।

के पापको भोग्नु पर्यो कि दण्ड
हुँदै गए सूर्य अँझै प्रचण्ड
वर्षा ऋतु लौ बरु शीघ्र आओस्
यो चैत पापी कहिल्यै नआओस् ।।

२०४० सालतिर लेखेकाे मेरो लामाे कविताकाे अारम्भका केही पद्यहरु

खोलूँ कि मनका कुरा तिमीसँगै एकान्तमा गैकन
लेखूँ कि अनुहार हेरी कविता क्वै शिल्पी झैं भैकन
बोलूँ कि तिमीलाई भित्र मुटुको माया र चोखो प्रित
गाऊँ गोधुलीका अनेक अधुरा मेरै बितेका गित ।।

जान्थेें जङ्गल हेर्न गाई म कुनै ग्वाला सरी थें जब
उस्तै दौंतरी थे किशोर वयको केटै हुँदो हुँ तब ।
मेरा चञ्चलता अनेक थरी थे पाठै सरी खेल्दथें
प्यारो बालककालको क्षण थियो लाडे भई बोल्दथें ।।

आमाका मृदु काखको छुनमुने यौटा म नानी थिएँ
साथी दौंतरीका समाज बिचको अर्काे म साथी थिएँ
दाजैको प्रिय भाइ थें अनि थिएँ छोरो पिताको प्रिय
खेल्थें बालक कालका लहडिला खेलाहरु निर्भय ।

विपत्तिको बेलामा पनि

निधनको बेला गुरुप्रसादले दुई तले घरको माथिल्लो तलाको फ्याटमा दिवाकर दाजुको परिवार र तल्लो भुइँ तलामा मनोहर अर्थात् भाइ चाहिंको परिवारले मिलेर बस्नु भनेकोले केही वर्षसम्मसँगै मिलेर बसे । तर भाइ चाहिं अलिक क्षुद्र मतिको भएकोले यसै विषयलाई लिएर अदालतमा मुद्दा हाल्यो, तलमाथि बरोबरी गरेर बस्नु पर्ने वा कुनै एकले घर निखन्नु पर्ने कुरा झिकेर मुद्दामा जिरह गर्यो । आफूले नसके पनि दाजुले घर निखनेर आफूलाई बिदा देओस् भन्ने उसको सोच थियो । तर दाजुसँग कहाँ हुनु पैसा । यसैले दुवैले घर निखन्न आँट गरेनन् । यस विषयमा निकै लामो बहस पछि अदालतले आलोपालो गरी तल र माथि दुवै मिलेर बस्नु भन्ने आदेश सुनाएकाले त्यसै गरेर बसेका थिए । यही आधारमा दाजुको परिवार माथिबाट तल र भाइको परिवार तलबाट माथि सरेर बस्यो ।

मेरा पुराना मुक्तक


भाेलिसँग विश्वास गर्नेहरु
भविष्यकालसँगै खेलबाड गर्छन्
जब अड्डा अदालत र सविचालयमा
भोलिको लोली सुन्लान्
अनि मात्र तिनीहरु तिन छक्क पर्छन् ।
२०३४ असार काठमाडौ


तिनले क्या मिठो गीत गाइन्
त्यसै गीतबाट तिनले धेरैसँग माया लाइन्
त्यसै गीतबाट कता कता धाइन्
मलाई पनि उनको सारै माया लाग्न थालेकाे छ
उनलाई अब भेटेरै भनौ भनौ लाग्न थालेकाे छ
प्लिज एड मि वान ग्लास वाइन ।
२०३८। वनेपा

३‍
सधै‌ हरियाे देख्नेका अाँखाहरु
सुकेकाे रुखमा पनि
फूल फुलेकाे देख्छन्
सामन्तिकाे प्रशस्ती लेख्ने बानी परेकाहरु
सामन्तका कुकुरकाे पनि
महाभाष्य लेख्छन् ।

०४०।४।४ झापा

भयो एक सपना मलाई

भयो एक सपना मलाई आज राति
रुँदै थी कतै त्यो चिरी आफ्नु छाती
घुटुक्कै चल्यो बाडुली कल्पी कल्पी
मेरी मायालुले मलाई सम्झी होली ।।

बहाना बनाई लगाएर चोली
नपाएर शान्ति कतै भाग्दी होली
परीवारमा पिर्दी हो झर्कंदी हो
मलाई गरी कल्पना तड्पँदी हो ।।

वृक्षरोपण

हिउँद लागे पनि यसपालि मन्त्रीका लागि कलेजको मैदानमा वृक्षरोपणको आयोजना गरिदिनै प¥यो कलेजले । सभा बडो सानदार थियो । मञ्च भव्य थियो । मैदानमा पोहोर साल रोपिएका बिरुवाहरुको नामो निसानै थिएन । मैदान सफा थियो । गाई वस्तु बाख्रा भैंसीहरु चरिरहेको थिए । गोठालाहरु पर पर मैदानमा मोबाइले खेलाएर रमिते जस्ता भएर बसिरहेका थिए ।… Read More »वृक्षरोपण