वृक्षरोपण

हिउँद लागे पनि यसपालि मन्त्रीका लागि कलेजको मैदानमा वृक्षरोपणको आयोजना गरिदिनै प¥यो कलेजले । सभा बडो सानदार थियो । मञ्च भव्य थियो । मैदानमा पोहोर साल रोपिएका बिरुवाहरुको नामो निसानै थिएन । मैदान सफा थियो । गाई वस्तु बाख्रा भैंसीहरु चरिरहेको थिए । गोठालाहरु पर पर मैदानमा मोबाइले खेलाएर रमिते जस्ता भएर बसिरहेका थिए । पोहोर सालका मन्त्रीले रोपेका बिरुवा पोहोर सालका मन्त्री हराएकै जसरी हराए । यस पालिका मन्त्री ता यसै कलेजका पूर्व विद्यार्थी । यहाँ वृक्षरोपण गर्ने परम्परा नै छ उहिल्यैदेखिको अनि यो परम्परा उनले कसरी छोडून् । अनि उनको ता यहाँ वृक्षरोपण गर्ने अधिकारै भो नि । यसैले तयारी गरिएको छ मञ्च । अरु अरुले ता गर्छन् भने उनको ता हकै भो नि । तबैतारे ।

मञ्चमा सबै उच्च तहका पदाधिकारीहरु थिए । यसै बेला एकजनाले अलिक छिचरो बोलीमा भने—“हैन मन्त्रीज्यू, यो मैदानमा बिरुवा रोप्ने परम्परा नै छ । कसैले रोपेका बिरुवा बाँचेनन् । यहाँ पञ्चायतकै पाला वा त्यस भन्दा पनि अघिदेखि रोपिंदै आएको हो बिरुवाहरु । सुरक्षा कहिल्यै भएन । पोहोर मात्र पनि तिन लाखको बजेट थियो भनिन्छ त्यसले पनि बिरुवाको सुरक्षा हुन सकेन । बरु यस पालि सुरक्षाको राम्रो बन्दोबस्त पनि होस् भन्ने अनुरोध गर्दछु म । बढी बोलें भने क्षमा चाहन्छु ।”

उनको कुरा सुनेर मन्त्रीले साथै मञ्चमा बसेका स्थानीय विकास अधिकारीसँग सुरक्षाको उपाय के गर्नुभएको छ भनेर सोधे ।
उत्तरमा स्थानीय विकास अधिकारीले भने—“हजुर यसपालि सुरक्षाको नयाँ कार्य तर्जुमा गरिएको छ । पोहोर परार गरिएको सुरक्षा उति फलदायी भएन । बारबेर गर्दा काठ सडेर जाने । गतिलो काठ लगाऊँ भने हराउने । सखुवाकै काठले तारबेरा गरिएको थियो पोहोर ता । गतिलो काठ देखेपछि ता उखेलेर रातारात हराइहाल्छ । पारीबाट आएकाहरुले तार काटेर लगिहाल्छन् । चौखोटका लागि चिरानी गर्दै गरेकोसम्म पनि भेटियो यहाँको काठ । के गर्नु । मार्नु भएन । फेरि काठको तार जाली लगाउँदैमा गाई भैंसी रोकिए पनि बाख्रा रोक्न सकिन्न । यसपालि ता मैदानको ओरिपरि छ बाई छ को खाल्डो खन्ने कुरा पास गरिएको छ । गहिराइ पनि दस फुट जति हुनु पर्ने कुरा छ । अझ यस खाडलमा बारै काल पानी भर्न पाए माछापालन पनि यहाँ नै हुने थियो । बारैकाल पानी भएपछिलाई ता कमलको फूल फुलेर कलेजलाई सोभायमा गराउला भन्ने आशा पनि छ । अरुअरु फाइदा हुने कुरा पनि प्राविधिकको सुझाव छ । बरु यो सबै कामका लागि बजेटको कमी होला कि । हजुर यसो अर्थतिर पनि फाइल पठाएको छ । बुझ्दै गरिबक्सेला ………… ।”
“हुन्छ म अर्थतिर तागेता गरिदिन्छु ।” मन्त्रीले भने ।
यता कुरा हुँदै गर्दा वृक्षरोपणको शुभारम्भका लागि तयारी गरियो । मन्त्रीले मञ्चबाट शंखध्वनिका साथ वृक्षरोपणको शुभ कार्य थाले । यसै बेला केही लेबरहरुले मैदानको पल्लो कुनाबाट खाल्टो खन्न पनि थाले । एक जना जनलाई लगाएर खनिएको एक खाडलमा एकैछिनमा मन्त्रीले मैदानको अर्काे कुनामा सशरीर प्रवेश गरेर बिरुवा रोपे । तालीको गडगडाहट भो ।

कार्यक्रम सकिदा नसकिँदा मैदानमा चरिरहेका बाख्राहरु मन्त्रीले रोपेको बिरुवातिर झुम्मिदै गरेको देखिन्थ्यो । त्यता हेर्न कसलाई फुर्सुद होस् यता मन्त्रीको फिर्ती सवारी चलाउनु छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *