सहरमा जोडिएका घर भए भने एक घरकाले अर्को घरका धेरै कुराहरू नचाहेरै पनि थाहा पाउँछ । यस्तै थियो प्रकाशको घर पनि । उनको घर र छिमेकीको घरका बीच पाँच फुटको दूरी मात्र थियो । कतिपय उताको कुरा यताकाले सुन्दथे अनि यताकाले उताको पनि । यिनै जोडी घरमध्येको एक घर हो प्रकाशको ।
आधा दिनको बिदा परेको भए पनि अफिसबाट आज निकै गलेर आए प्रकाश । यसैले माथिल्लो तलको बरन्डामा गएर बाहिरतिर आराम कुर्सीमा बसेर आराम गर्न थाले । उनलाई भित्रबाट चिया आयो, खाजा पनि आयो । खाजाका साथ चियाको चुस्की लगाउँदै मात्र थिए, अचानक उनका आँखा पल्लो घरको समानान्तर बरन्डामा परे जहाँ भर्खरै नुहाएर कपालको पानी झट्कारिरहेकी थिइन् एक महिला । महिला भर्खरकैकी देखिन्थिन् । नहेरुँ भन्दाभन्दै पनि प्रकाशका आँखा उनमा परे र कसो कसो गर्दा महिलाका आँखा पनि प्रकाशका आँखासँग जुधे । एकछिन हेराहेर भयो । महिला यसै सुन्दरी थिइन् र उसमाथि भर्खर नुहाएकी हुँदा अँझै आकर्षक थिइन् । प्रकाश पनि उही उमेरका हुन् । त्यो बेला यिनका माझमा अलिकति आँखाको जुधाजुध भयो । हेराहेर भयो । प्रकाश र उनका आँखा जुध्दा प्रकाश अलिकति औपचारिकताका लागि खिस्स हाँसिदिए । महिलाले पनि हाँसोसँग अलिकति मुस्कान छरिदिइन् । बस यत्ति नै हो कुरा । यस सिवाय केही थिएन, भएन त्यहाँ । यस अघि ता यति पनि भएको थिएन ।
यही परस्परमा तिनीहरूका आँखा जुधेकै बेला महिलाका घरको भित्रबाट राम्रोसँग खुट्टा पजि टेक्न नसक्ने जस्तो र खुट्टा लर्बराएको एक पुरुष बाहिर आयो र युवतीको भर्खर नुहाएको कालो कपाल जगल्ट्उँँदै भित्रतिर लघारपछारपछार पार्दै तानेर लग्यो, मनमा भने आत्मग्लानीको बोध भइरह्यो । चिया खाएको पनि उनले पत्तै पाएनन् ।
नसुनुँभन्दा पनि प्रकाशलाई उताको आवाज कानमा परिहाल्यो— धेरै थरीका आवाजसँग आएको एक वाक्य थियो—“तँलाई नकच्चरी, कताकताका नाठासँग आँखा झिम्क्याउँछेस् । आज म तेरो छाला नकाढी कहाँ छोड्छु र……….. !
प्रकाशले स्पष्ट सुने भित्रतिर जगल्ट्याएर लगिएकी युवती कुटाइ खाइरहेकी छिन् । बेला बेला अइया…… भनेको आवाज उनका मुखबाट निस्किरहेको कुरा पनि स्पष्टसँग सुने । यो यो सुनेर प्रकाशलाई युवतीमाथि परेको यातना आफैंमाथि परेको अनुभव भइरह्यो । उनका मनमा कस्ता निर्दयी पशुहरू हुन्छन् भन्ने सोच मात्र आइरह्यो तर उनी केही गर्न सक्तैनथे । यसैले उनी हक्क न बक्क परिरहे ।
2016-04-29 05:49:07 +0000
