खोलूँ कि मनका कुरा तिमीसँगै एकान्तमा गैकन
लेखूँ कि अनुहार हेरी कविता क्वै शिल्पी झैं भैकन
बोलूँ कि तिमीलाई भित्र मुटुको माया र चोखो प्रित
गाऊँ गोधुलीका अनेक अधुरा मेरै बितेका गित ।।
जान्थेें जङ्गल हेर्न गाई म कुनै ग्वाला सरी थें जब
उस्तै दौंतरी थे किशोर वयको केटै हुँदो हुँ तब ।
मेरा चञ्चलता अनेक थरी थे पाठै सरी खेल्दथें
प्यारो बालककालको क्षण थियो लाडे भई बोल्दथें ।।
आमाका मृदु काखको छुनमुने यौटा म नानी थिएँ
साथी दौंतरीका समाज बिचको अर्काे म साथी थिएँ
दाजैको प्रिय भाइ थें अनि थिएँ छोरो पिताको प्रिय
खेल्थें बालक कालका लहडिला खेलाहरु निर्भय ।
थाहै छैन मलाई कण्ठ कहिले रुद्री र चण्डी भयो
थाहै छैन मलाई बालकपना मेरो कसोरी गयो
खाली थाह छ बार वर्ष पछिको मेरो बितेको दिन
छाडी गाउँ हिंडें विदेश तिर जो ज्ञानी हुने थ्यो धुन ।।
टिस्टा रङ्गितका किनार नजिकै यौटा छ प्यारो थल
जङ्घा कन्चन हाँस्तछन् अलिकति देखिन्छ सूर्याेयद
वारि पारि अपार वस्तीहरुका वस्तीहरु छन् जहाँ
प्यारो दोर्लिङ त्यो अपार मधुरो पाउँ म फेरि कहाँ ?
मैले पूर्वीय सभ्यता र कखरा खारें त्यसै ठाउँमा
मैले जिन्दगीका मिठासहरु जो पाएँ त्यही ठाउँमा
मेरा जिन्दगीमा प्रभाव रसिला आए त्यही ठाउँका
बिर्संेछु अघिका अनेक थरिका आफ्ना कथा गाउँका ।
पढ्ने काम थियो ममा रहर थ्यो पढ्थें परीका कुरा
हेर्ने बानी थियो नयाँ रउस थ्यो हेर्थें म नौला कुरा
कक्षाकार्य सधंै तयारी नगरी गर्दैनथें क्यै पनि
मान्छे आफ्नु कथा गमेर पिरले रुन्छन् कति तैपनि ।।
