Skip to content

विपत्तिको बेलामा पनि


निधनको बेला गुरुप्रसादले दुई तले घरको माथिल्लो तलाको फ्याटमा दिवाकर दाजुको परिवार र तल्लो भुइँ तलामा मनोहर अर्थात् भाइ चाहिंको परिवारले मिलेर बस्नु भनेकोले केही वर्षसम्मसँगै मिलेर बसे । तर भाइ चाहिं अलिक क्षुद्र मतिको भएकोले यसै विषयलाई लिएर अदालतमा मुद्दा हाल्यो, तलमाथि बरोबरी गरेर बस्नु पर्ने वा कुनै एकले घर निखन्नु पर्ने कुरा झिकेर मुद्दामा जिरह गर्यो । आफूले नसके पनि दाजुले घर निखनेर आफूलाई बिदा देओस् भन्ने उसको सोच थियो । तर दाजुसँग कहाँ हुनु पैसा । यसैले दुवैले घर निखन्न आँट गरेनन् । यस विषयमा निकै लामो बहस पछि अदालतले आलोपालो गरी तल र माथि दुवै मिलेर बस्नु भन्ने आदेश सुनाएकाले त्यसै गरेर बसेका थिए । यही आधारमा दाजुको परिवार माथिबाट तल र भाइको परिवार तलबाट माथि सरेर बस्यो ।

बल्ल माथिको तलाको आरामी फर्माउन पाइयो भनेर भाइको परिवार मख्ख थियो । तलको चिसो छिँडीमा बस्ता बस्ता उसको परिवार चिसो भइसकेको ठान्थ्यो । दाजुचाहिं अलिक इमानदार र माया स्नेह भएको हुनाले भाइलाई अप्ठेरो नपारी सरक्कै तल भैंतलामा सर्यो माथिबाट ।

आज २०७२ साल बैशाख १२ गते भाइको परिवारमा निकै रमाइलोको बेला थियो । उसको विवाहको वर्ष गाँठ भएकोले सानो पार्टी राखेको थियो । दाजुको परिवार भने घरको माथि चढ्ने ओर्लने समस्याबाट मुक्त भएको अनुभव गरिरहेको थियो । झगडिया नै भएपछि उति बोलाचाली थिएन ।

भाइको फ्ल्याटमा पार्टीका लागि बडो भव्य रुपमा तयारी भइरहेको थियो । केही पाहुनाहरू आउन पनि थालेका थिए । केही पकाइतुल्याइमा लागेका थिए । तीब्र स्वरमा अंग्रेजी संगीत बजिरहेको थियो । केटाकेटीहरू नाचगान र गफगाफमा मस्त थिए ।

सायद दिउसोको बार बजिसकेको थियो होला त्यसै बेला अचानक भूकम्प आयो पृथ्वी नै कमाउने गरी । सारा धर्ती नै काम्यो । कता कसको के भयो कसैले केही बुझ्न पाएन । को कता गयो, मर्यो बाँच्यो केही थाहा भएन । यही विपत्तिले दिवाकरको घरमा नजिकैको अर्को घर ढलेर आयो अनि माथिल्लो तलालाई किचिक्क पार्यो । कसो कसो गरी मनोहर बाँचेर भाग्न सफल भयो तर आगन्तुकका साथ उसको परिवार अचार भयो ।

तलको उसको दाजुको परिवारलाई भने घर पुरै नकिचिएकोले केही भएन । विपत्तिको बेलामा पनि क्षुद्र भनेको क्षुद्र नै हुँदो रहेछ किनभने कसै गरी भूकम्पबाट जोगिएको भाइचाहिं त्यो बेलामा पनि दाजुतिर हेरेर सरापिरहेको थियो ‘यही असतीले ता हो नि ! घर निखनिदिएको भए अहिले हामी सबै बाँच्ने थियौं ।’

उता उसको दाजु भने आतुरताका साथ माथिल्लो तलामा किचिएकाहरूमध्ये जीवित रुपमा कसैलाई झिक्न सकिन्छ कि भनेर हार गुहार गरिरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *