Skip to content

माताश्रीको ताडनाबाट बनेको मेरो भाग्गे


परिवार नै गरिब निर्धो र छोराछोरीलाई एक पेट खुवाउन नसक्ने र एक धरो लगाइदिन नसक्ने परिवारमा जन्मे हुर्केको । दुःख के हो मलाई थाहा छ । म सानैदेखि दुःख पाएको मान्छे । यसमा अब मलाई ढाँटढुँट गर्नु छैन । साथै सानैदेखि कुटाइ खाएको मान्छे । चौध वर्षदेखि भने कुटाइ खाइएन । यो पनि नढाँटीकन भन्छु । यसमा पनि ढाँट्नु छैन । पितामाताहरू स्वर्गीय भइसक्नु भो उहाँहरूको बदनाम होला भन्नु पनि छैन । उहाँहरूको चिन्ताका पछिको कारण गलत थिएन भनेर म अहिले पनि भन्छु र सधैं भन्छु ।

त्यो बेलाको सोच नै त्यस्तै थियो होला । साधारण कुरामा पनि हात उठाइहाल्नु पर्ने । कुटिहाल्नु पर्ने । सायद त्यो बेला उहाँहरूमा दयामाया हराउँथ्यो कि कसो ! सारै नरमरी कुट्नुहुन्थ्यो । कुटाइका अनेकौ प्ररण छन् । भनुला अरु अरु कुनै बेला । अनि उहाँहरूको कुटाइ आफ्नो जिउले नै नथाम्ने गरीको कठिन हुन्थ्यो र प्रायःजसो दुई चार दिनमा कुटिरहनु हुन्थ्यो । यसोभन्दा उहाँहरूमाथि अश्रद्धा गरेको पनि नहोला भन्छु ।

कुटाइ खानेमा मझौलोहरू नै बढी पर्दा रहेछन् । जेठो दाजु जेठो भइहाल्नु भो । उहाँलाई कुट्न भएन क्यारे, बरु उहाँले कुट्ने पो अधिकार पाइसक्नुभएको हुन्छ, बेला बेला हामीमाथि उहाँ पनि थाल्नुभएको थियो यो कर्म गर्न । कान्छो सानो र मायाको पात्र उसलाई पनि कुटाइ खानु परिरहेन, सानोलाई कसरी कुट्नु । अनि कुटाइ ता कि साइँलोले खानु पर्यो कि माइलोले । म साइँलो थिएँ कुटाइ खानेमा म केही बढी नै थिएँ । अहिले सम्झन्छु म त्यति सारो छुचो पनि थिइनँ, लाटो पनि थिइनँ, सुधो पनि थिइनँ, अटेरी पनि थिइनँ तैपनि म किन कुटाइ खाइरहन्थें होला ? खै थाहै भएन ।

एघारदेखि तेर वर्षको उमेरतिरको कुरा हुनुपर्छ । मलाई आमाले सारै नराम्रो गरी कुटेको थाहा छ । अरु अरु ता साधारण नै भए । त्यो दिनको कुटाइ म कहिल्यै पनि बिर्सन्न । मलाई चण्डी घोक्न लगाइएको थियो । सातौं अध्याय घोकिरहेको थिएँ । योभन्दा तल कण्ठस्थ भइसकेको थिो । अब ता सबै कण्ठै छ । त्यो बेला घरको घोर्ली बाख्रो भर्खर ब्याएको थियो । पाठाहरू तीनओटा पाठा पाएको थियो । ती पाठाहरू बर्याक बुरुक उफ्रन्थे, तिनका साथमा घरदेखि तल कोलडाँडोमा खेल्न गएँछु क्यारे । यसैको सजायमा सायद मैले कुटाइ खाएको हुनुपर्छ, त्यो बिर्सनै नसिकने कुटाइ । अहिले म यसो सम्झन्छु, सायद भनेको जति पढिनछु क्यारे, अनि दिएको जति पाठ पढिनछु क्यारे । यही हुनु पर्ने हो त्यस दिनको कुटाइको कारण, अथवा बाख्रोको पाठोहरूसँग पो खेल्न गएँछु क्यारे । मान्छेका पाठाहरूसँग ता कहाँ खेल्न पाइयोस् !

बिहानको बेला थियो । हाम्रो घरको पछिल्तिर भैंसी बस्ने आहाल अँझै पनि छ । त्यही आहालमा आमाले मलाई लिएर जानु भो कनसिरी र कानमा तानेर समाएर घिसार्दै । हाम्रो घरको पछिल्तिर अहिले पनि आहाल छ तर पानी भने बर्खामा मात्र हुन्छ आज भोलि । ऊ बेला हिउँदमा पनि पानी हुने गर्थ्यो । तर अहिले हिउँदमा सुकेको देखिन्छ । त्यस आहालका छेउ र भित्तातिर नजिकै अहिले पनि सिस्नु घारी छँदैछ । त्यही सिस्नुघारीबाट आमाले एक लाथ्रोले सिस्नोको एक झरिलो झ्याम्टो लिनुभयो र मलाई आहालको पानीमा चोबल्दै दुवै खुट्टाको तिघ्राभन्दा तल झ्यामझ्यामी हिर्काउन थाल्नुभयो । आहालको पानीमा सिस्नाको झ्याम्टाले दोहोलो काड्न थाल्नुभयो । म रोएर कोकोहोलो गरेंछु क्यारे । माताश्रीलाई ता त्यो खास कुरा भएन तर अरु अरु छरछिमेकका नारीहरूलाई त्यो दृश्य सही नसक्नु भएछ । मेरो आर्तनाद सुनेर सायद त्यही आहालको भित्तोमा भएको पँधेरोको पानी लिन आउनेमध्ये छिमेकी डाँडाघरे बृहस्पति रिजालकी पत्नीको मन थामिएनछ । उहाँलार्ई हामी अचेल काकी भन्छौं र मोरङको पेट्रोल खानी भएको ठाउँकै छेउमा पर्ने बाहुनी गाउँमा अँझै हुनुहुन्छ र उहाँकै छोरा अहिले पनि त्यो उत्खनन नगरिएको खानीको सुरक्षामा खटिनु भएको छ, त्यहीं काम गर्नुहुन्छ । हामी उहाँलाई ऊ बेला कान्छ्यामा भन्थ्यौं । हो उहाँ कान्छ्यामा आएर आहालमै पसेर मेरी माताश्रीको हातबाट मलाई अलग्याउनु भयो, बाघका पन्जाबाट सिकार जोगाएजस्तो गरी । झरिला सिस्नाका झ्याम्टाले पानीमा चोबल्दै हानेर पोलेका र डाबरै डाबर भएका पिंडुला कन्याएर रालसिँगान भएर रोइरहेको थिएँ म । कान्छ्यामा आएर मलाई उद्धार गर्नुभो । मलाई अलि पर चौरमा लानुभो र आहालको हिलो सफा गरिदिनुभो । मलाई आमाको माया कस्तो हुँदो रहेछ भन्ने कान्छ्यामाबाट प्रत्यक्ष भो । उहाँको काखमा लुटुपुटु गर्न मन भो क्यारे तर फेरि भरे त्यसो गरे बापत माताश्रीको सिस्नु फेरि पर्न सक्ने सम्झेर म चुप लागेको सम्झन्छु ।

“नकुट दिदी, कस्तो दया माया नै हराएर कुटेको ? बालखलाई कति सारो कुटेको ? यो पनि तरिका हो ?” सायद यस्तै केही भन्नुभो क्यारे कान्छ्यामाले माताश्रीलाई । अनि माताश्री बरबराउँदै घरतिर लाग्नुभयो । म त्यत्तिकै त्यहीं बसें वा कता लागें त्यसपछिको कुरा थाहा भएन ।

म भने कान्छ्यामाको उद्धारबाट बचेर बिलखबन्दमा परें । घर जाऊँ झन् कुटाइ खाइने डर, कान्छ्यामाकोमा जाऊँ त ‘तेरी आमा त्यही हो, लौ अब उतै जा !’ भनेर खेदाउमा पर्ने डर । त्यस दिन भात खान पाइयो पाइएन । फेरि कसरी घरमा के कसो गरेर मिल्ती भो आदि इत्यादि कुरा केही पनि थाहा छैनन् । हो, कान्छ्यामाले भनेको भने मलाई अहिले पनि झलझली थाहा छ— उहाँले मलाई उद्धार गर्दै भन्नुभएको थियो—“यसरी छोरा पढाउनुभन्दा ता बरु गोठाला र हली नै बनाउँछु म ता !”

नभन्दै उहाँले भने जस्तै उहाँका सबै छ जना पुत्रहरू त्यस्तै हुनुभयो । नजिकै इस्कुल खुले पनि कसैले एसएलसीसम्म पढेको थाहा भएन । म भने माताश्रीले ताडनाकै बलको प्रभावबाट हुनुपर्छ केही कनिकुथी गरेर जीविका गरिरहेको छु । धन्य माताश्री सिस्नोको झ्याम्टो नपरेको भए र मेरा कन्सिरी नचुँडिएको भए म उही पहाडको बारीहरू खनी खोस्री गरिरहेको हुँदो हुँ वा उहिल्यै पिण्ड खाइसकेको हुँदो हुँ । धन्य माताश्री ! यो मान्छे अहिले हजुरको त्यही ताडनाबाट यत्तिको भएको छ । धन्य माताश्री । नमन माताश्री !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *