Skip to content

पुन्य कार्की

नाम, बदनाम र गुमनाम

नाममा वासना छ । नाममा शासना छ । नामको निम्ति मान्छे अन्धो हुन्छ । विवेकका आँखालाई तर्पण दिन्छ । हिजोसम्म मामदामको कुनै जोहोतोहो नभएको मानिस मामदामको कुरुस्त व्यवस्था मिलिसकेपछि नाम कमाउने भोकमा तड्पिएको छ । लाग्छ ऊ नाम कमाउने अन्धो धुनमा शरीरको रक्तचाप बढाइरहेको छ । काम, माम र दामको वर्तुल घेरामा सीमित हुँदारैनछन् मान्छेका चाहनाहरू । माम र दामपछि जसलाई पनि नामको भोक लाग्छ क्यारे ।

मृत्युसित लुकामारी

अस्तित्वप्रति आभारी छु; यसकारण कि पलपलमा मृत्युबोध गरी बाँच्न पाएको छु । शरीर रोगी छ र न मृत्युबोधको अवसर मिलेको छ । निरोगी र स्वस्थ शरीर हुन्थ्यो भने त्यो अवसर भेट्टाउन्नथेँ । टाउको नदुखुन्जेल मानिसलाई टाउको छ भन्ने कुरापनि बोध हुँदैन । टाउको दुख्न थालेपछि यसप्रति सचेत र बोधपूर्ण हुन थालिन्छ । यसैगरी आँखा छउन्जेल आँखाको महत्व थाहा हुँदैन मानिसलाई; दाँत छउन्जेल दाँतको महत्व र उपादेयता थाहा हुँदैन मानिसलाई; जब आँखा गुमाउँछ, दाँत गुमाउँछ ऊ खुनखुन गर्न थाल्छ । ती चिजको महत्व र गरिमालाई भित्रैबाट बोध गर्छ ।

जीवन्त अनुभूतिको महत्व

मानिसको हृदय छुने गरी लेख्नका लागि लेखनमा कुनचिज चाहिन्छ होला ? यो प्रश्नले मलाई कहिलेकाहीँ कुत्कुती लगाउँछ । मेरो सपाट मनले भन्छ –मुटु छुने गरी लेख्नको लागि स्रष्टाको आत्मामा जीवन्त अनुभूतिको बाढी चल्नुपर्छ । जीवन्त अनुभूति जीवन अनुभवबाट आर्जित चिज हो ; सूचना र ज्ञान किताबबाट आर्जन हुनसक्छ । त्यसलाई अध्ययनबाट समृद्ध गर्न सकिन्छ । तर अनुभूति अलग चिज हो, यो जीवनका उकालीओरालीहरूको हिँडाइबाट प्राप्त हुने चिज हो । व्यवहारका बाङ्गाटिङ्गा मोडहरूबाट आर्जित हुने वस्तु हो । त्यसैले ज्ञानको शुद्ध भण्डारमा धनी मानिस जीवन अनुभवमा गरिब हुन सक्छ ।

पहाड चढ्ने तिर्सना

अजब छ पिताजीको पहाड चढ्ने तिर्सना । वर्षले अहिले बयानब्बेमा यात्रागर्दै हुनुहुन्छ । उहाँका समयवधी दौँतेरीहरू माटोमा मिलिसके । वार्धक्यको शिखरमा हुनुहुन्छ । सरदर नेपालीको आयु पूरा गरेर उहाँ अर्कै आयु बाँचिरहनु भएको छ । बयानब्बे वर्षको उमेरमा पनि अहिले प्रत्येक दिन पहाड चढ्ने कुरा गर्नुहुन्छ । आफ्नो जन्मथलो ताम्लिछा एकैदिनमा पुग्ने उम्मीद राख्नुहुन्छ । पिताजीको पहाड चढ्ने सपनालाई म हृदयदेखि नमन गर्न चाहन्छु; उहाँको अन्तरहृदयको यो तिर्सनालाई अभिनन्दन गर्न चाहन्छु । हामीलाई यात्रामा उकालो भन्ने बित्तिकै नौनारी गलेर आउँछ । उकालो सुनेर भित्रैबाट हाम्रो साहस सुकेर आउँछ ।

घैलाधर

दश वर्ष अघिको कामरेड अग्निधर ! विपुल क्रान्तिको अभियन्ता !

वर्गवैरीको मुटुको शूल । वितराजनको हृदयको फूल !

सो बखत गाउँका छितकी पातकी, कोदेशाहु, कामचोर मास्टर, चर्को व्याजमा पैशा लगानी गरी व्याज खाने सूदखोर, दुइटी तीनवटी स्वास्नी बटुल्ने कामी पुरुष ऊदेखि थरहरि हुन्थे । समाजमा विकृति विसंगति जन्माउने, गरीव निमुखालाई शोषण दमन गर्ने त्यस्ता पात्रपात्रीलाई नम्वर कुँदिएका थरिथरिका भाटाले डाम्ने गर्थ्यो ।

हो गयी लाल

घर अगाडिको बनमा उभिएका सिसौहरुले आफ्ना हाँगाविँगामा नयाँ मुजुरा नहाल्दो हो त; म पनि उहिल्यै नै मरुभूमि भैसक्थेँ होला । म पनि भित्रभित्रै सुकेर जर्जर नाँगो गाछी हुन्थेँ होला । जसै सिसौका कापकापबाट मुजुराको जुलुस निस्किन्छ, त्यसैगरी म पनि पाउलिन थाल्छु, चिउलिन थाल्छु । रुख र मेरोबीचमा सकारात्मक अन्तरसम्बन्ध छ । सिसौघारी उजाड बनेको बेला मेरो पनि अन्र्तजगत् उजाड उजाड बन्दछ । सिसौघारीमा हरियाली मधुमास छाउँदा मेरो मनमा पनि उदासीका रेखाहरू मेटिएर कलकल पाउलो हाल्न थाल्छ । निराशाले उजाड पारेको मनमा आशाका टुसा अंकुरण हुन थाल्दछन् । त्यसैले मनोजगत् सिक्रो बनेको बेला सिसौका मुजुरा हेरेर आफूभित्र हरियाली खोज्छु ।

जाली बाठो

म यतिखेर जाली बाठाहरुको समाजमा छु । अर्थात् धेरै खाले जाली बाटाहरुको बीचमा चेपिएको छु । म मात्र होइन, सिङ्गो समाज र देशै जाली बाठाको चङ्गुलमा फँसेको छ । जालीका दुइटा अर्थछन्, एउटा प्वालै प्वाल पारेर बनाइएको कुनै चिज । र अर्को त्यस्तो व्यक्ति जो अरुलाई झूट, पाखण्ड र कपटपूर्ण व्यवहार गरेर अल्मल्याउन वा ठग्न सिपालु हुन्छ । ऊ जालसाज कलामा प्रवीण हुन्छ । गफ र धुत्र्याइँमा निष्णात् हुन्छ । जाली मान्छेलाई इन्द्रजाली, जालन्धरी र औतारी पुरुषपनि मानिन्छ । स्वर्गका राजा इन्द्र जाल गर्ने कुरामा माहिर थिए ।

साकार ध्वनि


अस्तित्वको म एक साकार ध्वनि हुँ ।

म स्वय म ध्वनि भएकोले जीवनका सरगमहरू ध्वनित गरिरहेछु । मेरो निम्ति स्वय म अद्भूत ध्वनि हो । यो ध्वनिमा आवाजहरुको विराट मेला छ । सन्देशका अकथनीय सङ्कथनहरू छन् । ध्वनिविहीन जीवन जीवन होइन । जीवनको स्पन्दन ध्वनिमा निहित छ । यदि जीवन ध्वनिहीन हुनपुग्यो भने त्यहाँ जीवन जीवन रहँदैन । त्यहाँ यसको आस्तित्व मेटिन्छ र त्यहाँ मूर्दा सन्नाटाको व्याप्ति खडा हुन्छ ।

औपचारिकताको उल्झन

नाथे एउटा जिन्दगीका आयुहिस्साहरू औपचारिकताका उल्झनमा रुमलिएर बित्दो रहेछ । अस्ति भर्खर एकजना मित्रका पिताजी बित्नुभयो । सुनेपछि मलामी हिँडे । घाटमा पुग्दाखेरी करिब करिब अर्थी जलिसकेको थियो । मलामीहरुपनि फात्तफुत्त हिंडिसकेका थिए । केही आवश्यक मान्छेमात्र बाँकी थिए । मैलेपनि हतारहतार एकचिम्टी माटो र केही छेस्का दाउरा चितामा चढाएर मलामी आउनुको औपचारिक रीत पुरा गरेँ । अक्सर आजभोलि मलामी गएका मान्छेहरू चितामा मट्टी चढाएपछि ओल्टोकोटो छेलिँदै बाटो लाग्ने गर्छन् । समयको व्यस्तता र समस्याका जटिलताले मान्छेलाई कसोकसो धेरैतिरबाट बाँध्दै लगेको छ । मान्छे हिजो जस्तो फुक्काफाल स्वायत्त छैन । कतिपय काममा खटाइखटाइ समय चुँडेर निकाल्नु पर्ने भएको छ ।

कालजयी कला

कला कालजयी हुन्छ भनिन्छ । यसको अर्थ कलामा काललाई जित्न सक्ने शक्ति हुन्छ भनेको होला । कला कालजयी हुन्छ भन्ने कुरासित एउटा मूर्तिकारको मिथक कथा गाँसिएको छ । एकचोटि एउटा नामुद मूर्तिकारलाई कालदेखि साह्रै रीस उठ्यो । ऊ ज्यादै सिपालु मूर्तिकार थियो र ऊ लामो आयु बाँच्न चाहन्थ्यो, र कलासाधनाबाट अरु बेजोड सिर्जनाहरू समाजलाई सुम्पिन चाहन्थ्यो । तर कालले उसलाई खबर पठाइसकेको थियो । म फलानो मितिमा लिन आइपुग्छु । तिमीले जति काम गर्न बाँकी छ गरिसक्नू । मृत्युको यो खबर उसलाई नमीठो लाग्यो, अब उसले काललाई टार्ने विषयमा अनेकौँ पटक सोच्यो । कालसित प्रत्यक्ष मुकाविला गर्ने ऊसित कुनै शक्ति पनि थिएन, उपाय पनि थिएन ।

सिकाइ र शिष्यगण

आजका शिष्यहरुको ज्ञानको तहलाई; उनीहरुको सिकाइको स्तरलाई एक सानो बोधकथाबाट सुरु गर्न चाहन्छु । यो कथा प्राचीनकालका गुरुशिष्यको बीचमा घटित कथा थियो । तर पनि कथाले यसयुगका मर्महरू बोकेको छ । अहिलेको यथार्थलाई पनि यसले चित्रण गरेको छ ।

एकजना गुरुको आश्रममा थुप्रै शिष्यहरू ज्ञान आर्जन गर्न जम्मा भएका थिए । गुरुकुलमा गुरुको सान्निध्यमा रहेर धेरै कुरा जाने, धेरै कुरा सिके । ज्ञानमा चेलाहरुलाई पारंगत बनाइसकेपछि उनीहरुलाई लिएर एकदिन गुरु यात्रामा निस्के । त्यो जमानामा यातायातको साधनमा गोरुगाढा मात्र उपलब्ध थियो । यात्राको सर्वोत्कृष्ट साधन नै रथ र गोरुगाढा थिए । टाढाको बाटो गोरुगाढामा चढेर उनीहरू प्रस्थान गरे ।

मन धुने साबुन

गम्भीरबहादुर थापाले कहिलेकाहीँ गुन्गुनाउने गीतको गेडाले भन्छ

‘घर त लेले हो ।
मयल धुने साबुन
साबुन धुने पानी
यो मनचाहिँ केले धुने हो ।’

यो गीतको विषयमा जिज्ञासा राख्ता उहिल्यै नै एकदिन ललितपुरको कछाडतिर घुम्न जाँदा असारे रोपाईंको बेला त्यहाँका ग्रामीण महिलाहरुले गाइरहेको गीत सुन्नुभएको थियो अरे । काठमाडौँको काँठतिर उवेला गाइएको यस लोकगीतले हामी मान्छेसामु एउटा प्रश्न गरेको छ –तिमी मनलाई कसरी धुन्छौ ? तिम्रो मनको फोहोर कसरी बगाउँछौ ? कि मनमा फोहोरमैलाको डङ्गुर थुपारेर बस्छौ ? अनि थापाले यो गीतलाई जोड दिएर गाउनुको कारण हामी मनमा फोहोर पाल्ने मान्छेलाई मन सफा गर्नपर्छ भनेर भनेका रहेछन् ।

बस्नु राम्रो

जहाँ नउभिँदा हुन्छ, त्यहाँ बसे हुन्छ । जहाँ नबस्दापनि हुन्छ,त्यहाँ सुतेहुन्छ । जहाँ नदगुर्दा हुन्छ, त्यहाँ बिस्तारै हिँडे हुन्छ । जहाँ नबोल्दा हुन्छ, त्यहाँ मौन रहे हुन्छ । जहाँ विचार नगर्दा हुन्छ, त्यहाँ निर्विचार रहे हुन्छ । मेरो यस विचारमा तपाईं सहमत हुनुहुन्छ/हुनुहुन्न त्यो मलाई थाहा छैन । तर मेरो विचारमा शरीरलाई बढीभन्दा बढी आराम दिनुछ । अँझ धेरै वर्ष यो शरीरलाई बचाउनुछ । यो शरीरबाट अँझ धेरै काम गराउनुछ । त्यसैले छिट्टै थोत्रे बनाउनुभएको छैन यो शरीरलाई । विरोधाभास त्यहाँनेर हुन्छ, एकातिर यो शरीरलाई जतन गर्नुछ भनिरहेको हुन्छु, अर्कोतिर लत वा स्वादको संस्कारले यही शरीरलाई हानी हुने चिजपनि खाइरहेको हुन्छु । निर्दोष शरीर उपर अत्याचार लादिरहेको हुन्छु । शरीरलाई अनावश्यक रुपमा सताइरहेको हुन्छु । जसले गर्दा शरीरभित्र रोग पस्ने प्वाल खनिँदै छन् ।

सबभन्दा सजिलो काम

आजभोलि कसैले सबभन्दा सजिलो काम कुन हो भनेर सोध्यो भने म सजिलै भनिदिन्छु –अरुको आलोचना गर्नु, अरुको कुरा काट्नु । वास्तवमा हामी दिनदिनै आलोचनामुखी हुँदै गएका छौँ । त्यो पनि स्वआलोचना होइन पराईआलोचना । हर्दम अरुको कुरा गर्नमा हामीलाई रस आउँछ । अरुका दोष र दुर्वलता खोतल्नमा मजा लाग्छ । आफ्ना कमीकमजोरी ढाकछोप गरेर अरुका आन्द्राभुँडीको बिस्कुन सुकाउन आनन्द लाग्छ । हामी आजभोलि अरुका ससाना दोषलाई लेन्सले ठूलो बनाएर हेर्ने छिन्द्रान्वेषी भएका छौँ । आफूभित्रका औँला छिर्ने छिद्रहरू हेर्दैनौँ । अरुका रौँ छिर्ने छिद्र खोजी बस्छौँ । अर्काका प्वालमात्र हेर्ने बानीले आफ्ना प्वालहरू देख्तैनौँ । दिनदिनै छ्याँन्द्रा छ्याँन्द्रा भएर आफू कति ठाउँ चुहुने भएका छौँ त्यसको रत्तिभर हेक्का छैन । त्यसैले आफ्नो दोष लुकाएर अरुको दोष देखाउने काममा हामी सिपालु हुँदै गएका छौँ ।

तोल्स्तोईको कथा र बुच्चे काकाको भाग्य

तोल्स्तोई बूढाको एउटा मार्मिक कथा छ । कथामा मृत्युको देवताले एकदिन आफ्नो दूतलाई पृथ्वीमा पठोउँछन् । एउटी आइमाईको मृत्यु हुनेवाला थियो । तिनको आत्मालाई लिनाको लागि देवदूतलाई पठाइएको थियो । देवदूत ती महिलाको लाश वरिपरि विजोग भएका नानीहरुको अवस्थाले हड्बडाउँछन् । एउटी सानी बच्ची लाश भएकी आमाको दूध चुसिरहेकी थिई । एउटी बच्ची रोइरहेकी थिई । अर्की बच्ची रुँदारुँदै त्यहीँ निदाएकी थिई । ती अबोध नानीहरुलाई हेरचाह गर्ने, माया दिने कोही थिएनन् । उनीहरुका बुबा पहिले नै मरिसकेको थियो ।

दूध लुकाउने गाई

म सानो छँदा हाम्रो बाले दूध खानलाई एउटा गाई किनेर ल्याउनु भएको थियो । त्यस गाईलाई दुहुनु अगाडि मीठामीठो घाँस दिएर अघाउँजी पार्नुपर्थ्यो । अगाडि नै घाँस र खोले नदिएमा दूध दुहुन दिँदैनथ्यो । बिहान व्यूँझिने बित्तिकै गोठ पुग्नुहुन्थ्यो र गाईलाई घाँस हालिदिनु हुन्थ्यो । दुहुने बेलासम्म गाईलाई अघाउँजी पारेन भने बाँच्छालाई नै दूध दिँदैनथ्यो । कहिलेकाहीँ गाईले दूध दुहुन दिई नै हाल्यो भने पनि थुनबाट एकथोपो दूध आँउदैनथ्यो । अनि बा रीसले बम्किनु हुन्थ्यो –“साँडीले दूध लुकाइ हाल्यो नि ।” दाजुको दुहुने पालीमा त दूध लुकाउँदाखेरि ढुङ्गैढुङ्ग्राले कुटेर गाईलाई गाली बक्नुहुन्थ्यो –“अलच्छिनी पड्के । त्यत्रो पैसाओइर्याएर ल्याएको दूध लुकाएर मर्छ ।”

साना काम

जीवनमा साना साना कामहरुको ठूलो महत्व हुँदोरहेछ । मुटु रोगका सर्जन डा. भगवान कोइराला हिजो टि.भी.मा भन्दै थिए– सानो सानो कामबाट ठूलो काम बन्छ । उनको भनाइमा मेरा पनि धेरै चिन्तन सूत्रहरू मिले । वास्तवमा समग्र रुपमा थोक कार्य काहीँपनि हुँदैन । साना साना कार्यहरुका गठजोडबाट ठूला कार्य बन्दा रहेछन् । विशाल पहाड हेरौँ, साना साना धुलीकणहरुको योगबाट नरि्माण भएको छ । सीमाहीन समुद्र हेरौँ, थोपाथोपा पानीबाट निर्मित भएको छ । हजारौँ गजकपडाको बण्डल हेरौँ सानो केसभन्दा मसिनो धागोबाट बुनिएको छ । महाभारत र रामायण विश्वका धेरै श्लोक भएका महाकाव्य मानिन्छन् । महाभारतका प्रत्येक श्लोकहरू साना साना शब्दबाट, साना साना रुपबाट, साना सानाअक्षर, वर्ण र सूक्ष्म ध्वनिहरुबाट रचना भएका छन् । यसरी सानो चिजबाटै ठूलो चिज बन्नेरहेछ, सानो कामबाटै ठूलो काम बन्नेरहेछ ।

चिप्लिँदो समय/आयु

समय कहिलेकाहीँ घस्रिएर बित्छ लोसे पारामा । अनि यही समय कहिलेकाहीँ चिप्लिएर बित्छ द्रुतगतिमा । आज समयका दुई भिन्न खाले गतिलाई नियालिरहेको छु । एउटा समयको सुस्त, लोसे, लाटो गति । एउटा वेगवान, द्रुत त्वरा गति । एउटाको गति खरायोको जस्तो छ । एउटाको गति कछुवाको जस्तो छ । एउटा बिजुली गतिमा दौडिन्छ, अर्को कमिलो गतिमा घस्रिन्छ ।

गुँडबाट बचेरा उडेपछि

घर सुनसान छ । आजबाट यस घरमा एक प्रकारको शून्यताले राज गरेको छ । जसरी बचेराहरू गुँड छाडेर उड्छन् र त्यहाँ शून्यता छाउँछ; त्यस्तै भएको छ मेरो घर । दुइटा बचेराहरू उडेर गए, आजबाट गुँड शून्य भयो । बचेराहरू उडेपछि माउको हृदयमा जुन शून्यताको, खिन्नताको घाउ लाग्छ । त्यही घाउ लागेको छ मनमा । बचेराहरू उडिगएपछि बच्चासँग गाँसिएका अनेकौँ सन्दर्भहरू विस्मृतिको गर्भबाट फटाफट बाहिर आए । अतितको त्यो मृदुल स्मृतिमा डुब्दा अनयास आँखामा आँशुको दह जम्यो । छोराछोरीसितको सन्निध्यता टुटेको छ आजबाट ।

चालीस पुग्दा

आज म चालीस वर्ष पुगेँ । आजबाट मेरो मान्छेको आयु सकियो । अब गोरु या गधाको आयुतिर लाग्दैछु । गोरुको आयु यसर्थ भनिरहेको छु, उहिल्यै पाँच छ कक्षातिर पढ्दा एउटा काल्पनिक कथा पढ्नुपर्थ्यो । जसअनुसार उहिल्यै व्रह्माजीले पृथ्वीको सृष्टि गरे । पृथ्वीलाई बस्न बाँच्न लायकको बनाउन जीवजन्तु चरा, चुरुङ्गी, किटपतङ्गदेखि मानवसम्मका प्राणीहरुको रचना गरे । सबै जीवहरुलाई एकएकओटा आयु दिए । आयु बाँड्ने क्रममा जीवजन्तुहरुलाई भेदभाव नगरीकन सबैलाई चालीस चालीस वर्षको उमेर व्यवस्था गरे । चालीस वर्षको आयुप्रति घोर आपत्ति जनाउँदै केही प्राणीहरुले सभा बोलाए ।