चिप्लिँदो समय/आयु


समय कहिलेकाहीँ घस्रिएर बित्छ लोसे पारामा । अनि यही समय कहिलेकाहीँ चिप्लिएर बित्छ द्रुतगतिमा । आज समयका दुई भिन्न खाले गतिलाई नियालिरहेको छु । एउटा समयको सुस्त, लोसे, लाटो गति । एउटा वेगवान, द्रुत त्वरा गति । एउटाको गति खरायोको जस्तो छ । एउटाको गति कछुवाको जस्तो छ । एउटा बिजुली गतिमा दौडिन्छ, अर्को कमिलो गतिमा घस्रिन्छ ।

आइन्स्टाइन महोदयले आफ्नो सापेक्षतावादको जटिल भौतिक सिद्धान्तलाई सरलीकृत गरेर बुझाउने क्रममा ठीकै भनेका रहेछन् –एउटा प्रेमिले आफ्नी प्रियसीको मिलनमा एकघण्टा समय पाएको छ भने त्यसको निम्ति एकघण्टा समय एक मिनेट जस्तो भएर बित्दछ । अनि एउटा मानिसलाई तातो तावामा एकमिनेट राखिन्छ भने त्यो एकमिनेट उसको लागि एकवर्ष बराबर हुँदछ । सापेक्षतावादको सिद्धान्तको सार कुरा आइन्स्टाइनले यसरी बताएका थिए अरे ।

यसको अर्थ समय पनि सापेक्षिक छ, सापेक्षिक हुन्छ । हामीले अनुभव गरेको कुरा हो, सुखद काममा, सृजनामा, आनन्दमा, खुशीमा लीन भएको बखत समय छिटोछिटो हामीबाट भाग्ने गर्छ । थाहै नपाई यति छिटो चिप्लिदिन्छ, जसको अनुभूति भैरहेको हुँदैन । अकर्मण्यतामा फँसेको बेला, सृजनविहीन भएको बेला, निस्सारताले गाँजेको बेला समय लामो झन लामो हुने गर्छ । एकघण्टा एक महिना जस्तो हुन्छ ।

विगत चारदशकको आफ्नो आयुलाई नियाल्दा बितेका समयलाई म दुई खण्डमा विभाजित गरेर हेर्छु । एउटा छयालीस सालभन्दा अगाडिको समय, अर्कौ छयालीस सालपछिको समय । छयालीस अगाडि वालवय र किशोरवयमा थिएँ । त्यो समय सायद घस्रिएर बितेको थियो क्यारे । मस्तिष्कमा जीवनप्रतिको चिन्तनका विजहरू अंकुरण नभैसकेको हुनुपर्छ । परिपक्क दृष्टिकोणको निर्माण नभैसकेको समय हुनुपर्छ त्यो । त्यसैले त्यो समयप्रति त्यति सचेत छुइनँ । जानकार छुइनँ । तर छयालीस सालपछिको समय मेरो सामुबाट चिप्लिएर बितिरहेको छ । समयप्रति सचेत र बोधपूर्ण बनेपछि समय मबाट छिटोछिटो चिप्लिरहेको छ । प्रत्येक पल समयले मलाई लात हानेर पछाडि झन पछाडि धकेल्दै अगाडि भागिरहेको बोध हुन्छ ।

अहिले प्रविधि र उपकरणले समयलाई खुम्च्याई दिएको छ । पहिले पहिले खबरखाबर पठाउन चिठीपत्र लेखिन्थ्यो । हुलाकमा हालेको चिठी आफन्तको हातमा पुग्न त्यसठाउँको दूरी अनुसार हप्तादिन, दश दिन, पन्ध्र दिन, बिस दिन, महिना दिन, दुई महिना, तीन महिना लाग्थ्यो । डाँडाकाँडा, गाउँघर, पहाड, मधेश घुम्दैघुम्दै चिठी ठाउँमा पुग्थ्यो । अहिले प्रायः प्रायः चिठीलेखनको युग समाप्तिएको छ । प्रत्येकको हातमा मोवाइल छ, चिठीमा लेख्नुपर्ने कुरा प्रत्यक्ष बोलेर सिधै कानमा पुर्याइन्छ । एसएमस्, फेसबुक, अनलाइन च्याटिङले चिठीपत्रको लम्बेतान झमेला र झंझटलाई समाप्त गरिदिएको छ । सूचना प्रविधिको विकासले समयलाई किफायत गरेको छ । लम्वेतान समय खाइदिने परिपाटीलाई साँगुरो झन् साँगुरो बनाइदिएको छ ।

एकहिसावले हेर्दा प्रविधिले हाम्रो गुणात्मक आयु बढाइदिएको छ । यातायातको विकासले पहिले तीसदिनमा पुगिने ठाउँ केही घण्टामै पुगिने भएको छ । हिँडेर तीनदिन लाग्ने र पुगिने ठाउँ तीनघण्टामा पुगिने भएपछि हामीलाई दुइदिन एक्काइस घण्टा समय किफायत हुन थालेको छ । यसरी पैदल यात्रालाई यातायात प्रविधिको विकासले छोटो छोटो झन् छोटो पार्दै लगेको छ । यस हिसावले हाम्रो आयु पनि थपिंदै गएको छ । मेरा पिताजीले आजभन्दा सत्तरी वर्ष अगाडि दश दिन पैदल हिंडेर पुग्ने काठमाडौं अहिले म माइक्रो चढेर सिर्फ छ घण्टामा पुग्ने भएको छु । पच्चीस मिनेटमा उडेर पुग्ने भएको छु । यसले मेरो आयुलाई किफायती गरिदिएको छ । पिताजीको जीवनमा काठमाडौं पुग्न खर्च भएको आयुको तुलनामा मेरो थोरै खर्च हुने भएको छ ।

प्रविधिको सहज सुविधाले अहिलेका मानिसको गुणात्मक आयु दिन प्रतिदिन बढ्दो छ । गोरुगाढाको युगमा जन्मिएका गौतम बुद्ध आफ्नो असीवर्षको आयुमा धेरैभन्दा धेरै घुम्दापनि अहिलेको विहार उत्तरप्रदेश र नेपालका केही भूभागसम्म मात्र घुमेछन् । आफ्नो देशना फिजाउँने क्रममा उनले निरन्तर पैदल यात्रा गरे । अहिलेको यातायात र संचारका साधन बुद्धले प्रयोग गर्न सकेका भए, उनले सिंगो विश्व चाहर्न भ्याउँने रहेछन् । उनले असीवर्षको आयुमा सम्पन्न गर्ने काम, केहीमहिना र केही वर्षमै सम्पन्न गरिसक्थे होला । प्रविधिको सहारा लिएको भए असीवर्षमा आठसय वर्षमा गरिसकिने काम पूरा गर्थेहोला यो एक अनुमानको कुरा हो ।

मानौँ हिँडेर तीन महिनामा पुगिने ठाउँ छ, तर प्लेन चढेर तीनै घण्टामा पुगियो भने उसको जीवनमा दुईमहिना उन्तिस दिन एक्काइस घण्टा समय किफायती हुन्छ । यो समय उसको जीवनको थप आयु होभन्दा अत्युक्ति नहोला । यसरी विश्लेषण गर्दा प्रविधिलाई उपभोग गरेर सक्रिय क्रियाशील जीवन बाँच्ता मानिस थोरै बाँचेर पनि लामो गुणात्मक आयुको काम गरिराखेको हुन्छ । भनिन्छ शंकराचार्य थोरै दिन बाँचे, केवल तीस वर्ष बाँचे तर उनको काम र क्रियाशीलताले बाह्र चौध जुनी जन्मेर गरिने काम एकै जुनी त्यसमा पनि केवल तीसवर्षको उमेरमा गरेको तथ्य इतिहासले देखाउँछ ।

यस हिसाबले मेरा कुप्राबालेभन्दा हजुरबाले लामो आयु बाँचे । कता हो कता धेरै परिवर्तन देख्न नपाएपछि धिमा गतिकै सही, सो समयको नयाँ रङ, रीति, विधि, प्रविधि देखेहोलान्, भोगे होलान् । यसैगरी मेरा हजुरबालेभन्दा मेरा बाले लामो आयु बाँचे । अनि मेरा बालेभन्दा मैले लामो आयु बाँचिसकेँ । मेरा बा नब्बे वर्षका हुँदा अहिले म त्रिचालीस वर्षको भएँ । बाले नब्बे वर्षमा देखेको भोगेको दुनियाँभन्दा मैले अर्कै दुनियाँ भोगिसकेको छु । देखिसकेको छु । कतिपय कुरामा बाभन्दा म बूढो भएको छु, बाभन्दा बढी म पाको बनेको छु । शिक्षा र सीपमा, आधुनिक प्रविधि र उपकरणलाई समात्ने, प्रयोग गर्ने मामिलामा म बृद्ध भैसके, पिताजी बच्चै हुनुहुन्छ । अनि मभन्दा छब्बीस वर्ष कान्छो छ मेरो छोरो । तर प्रविधि र यात्राको मामिलामा मभन्दा वयस्क बनिसक्यो । कम्प्युटर र अन्य उपकरणको प्रयोगमा, आधुनिक शिक्षा ग्रहणको मामिलामा मभन्दा हजार गुणा वयस्क बाठो बनिसक्यो । कतिपय कुरामा ऊ मेरो गुरु बनेको छ, मार्गदर्शक अभिभावक बनेको छ । यहाँ मैले धेरै भोटा फटाएको उमेरको कुनै काम छैन । उसले कम भोटा फटाएर पनि मभन्दा वयस्क र पाको बनिसक्यो । मेरोभन्दा गुणात्मक आयु र उमेर उसको बढी भैसक्यो । त्यो कुरा मैले स्वीकार गर्नैपर्छ । आउने पुस्ताको अग्रचेतनालाई हामीले नमन गर्नैपर्छ । उनीहरुको मेधा र क्षमतालाई सहर्ष स्वीकार गनैपर्छ ।

उमेरका तह खप्टेर, वर्षवर्षका आयु गनेर मान्छे बूढो हुने होइन; उसले शिक्षामा, कर्ममा, ज्ञानमा, अनुभूतिमा, प्रविधिको प्रयोगमा, सार्थक सिर्जनामा कति अग्रस्थान लिएको छ ? त्यस कुराले ऊ बृद्ध बन्छ, वयस्क बन्छ । यस सन्दर्भमा एकजना सन्यासीको उद्गार याद आउँछ । पचहत्तर वर्षको बृद्ध सन्यासीलाई कसैले सोध्यो –‘कति वर्ष हुनुभयो ?’ वृद्ध सन्यासीले जवाफ दियो–‘पाँच वर्ष ।’ प्रश्नकर्ता छक्क पर्यो । मान्छे यति बूढो छ, तर उमेर पाँचवर्ष बताउँछ, कतै यो मानिस पागल त भएको छैन ? फेरि उसले दोहोर्याएर सोध्छ –‘कसरी पाँच वर्षमात्रै हुनु भयो त ? केश फुलिसकेको छ । दाँत झरिसकेको छ ।’ उसले गम्भीर भएर उत्तर दियो –‘हो बाबु म पाँच वर्ष पुग्दैछु । सत्तरी वर्षमा मलाई जीवनको सच्चा ज्ञान प्राप्त भयो । त्यस अगाडिको जीवन त बोधपूर्ण होशपूर्ण बिताउनै सकिनँ । जीवनको महत्व र गरिमा सत्तरी वर्षको बृद्ध उमेरमा थाहा पाँए । त्यसपछि मैले नयाँ ढंगले जीवन सुरुवात गरें । मैले अनुभूति गरे; सत्तरीवर्षको उमेरमा मेरो पुनर्जन्म भएको छ, अब म आत्मबोधको निम्ति जुट्नुपर्छ । अनि म साधनामा लागेँ । साधना सुरु गरेको पाँच वर्ष हुँदैछ । यसलाई मात्र म आफ्नो वास्तविक आयु मान्छु । त्यस अगाडिको जीवन त निरर्थक रुपमा बित्यो केवल खाने सुत्ने क्रियामा अल्मलिएर । त्यसलाई मैले आफ्नो साँच्चो आयुमा हालिनँ । मेरो साँचो आयु केवल पाँच वर्ष मात्र भएको छ ।’

ती सन्यासीको कुरामा सत्यताका अंशहरू थिए । किनभने मान्छेको वास्तविक आयु त्यसैलाई मान्नुपर्छ; जुन सार्थक कार्यमा व्यतित भएर बितेका छन् । निरर्थक बितेका वर्षले मान्छेको आयुको नापो गर्न सक्तैनन् भन्ने मतप्रति मेरो विश्वास बढ्दै भएको छ । त्यसैले त मेरो आयु मेरो शरीरबाट छिटोटिछो चिप्लिंदो छ । मबाट टाढा टाढा भाग्दो छ । म किनारामा बसेर टोलाएर चिप्लिँदो आयुलाई हेर्दो छु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *