म सानो छँदा हाम्रो बाले दूध खानलाई एउटा गाई किनेर ल्याउनु भएको थियो । त्यस गाईलाई दुहुनु अगाडि मीठामीठो घाँस दिएर अघाउँजी पार्नुपर्थ्यो । अगाडि नै घाँस र खोले नदिएमा दूध दुहुन दिँदैनथ्यो । बिहान व्यूँझिने बित्तिकै गोठ पुग्नुहुन्थ्यो र गाईलाई घाँस हालिदिनु हुन्थ्यो । दुहुने बेलासम्म गाईलाई अघाउँजी पारेन भने बाँच्छालाई नै दूध दिँदैनथ्यो । कहिलेकाहीँ गाईले दूध दुहुन दिई नै हाल्यो भने पनि थुनबाट एकथोपो दूध आँउदैनथ्यो । अनि बा रीसले बम्किनु हुन्थ्यो –“साँडीले दूध लुकाइ हाल्यो नि ।” दाजुको दुहुने पालीमा त दूध लुकाउँदाखेरि ढुङ्गैढुङ्ग्राले कुटेर गाईलाई गाली बक्नुहुन्थ्यो –“अलच्छिनी पड्के । त्यत्रो पैसाओइर्याएर ल्याएको दूध लुकाएर मर्छ ।”

खुस नपरेको बेलामा त्यस गाईले कहिलेकाहीँ दूध लुकाउँथ्यो भन्ने कुरा केबाट पनि प्रमाणित हुन्थ्यो भने उसलाई मन पर्ने घाँस घोत्ली, बाँस, बन्सो, खरुकी, चिप्लेले अघाउँजी पारेर थप मकैको पिठाको खोले दियो भने मजाले एक ढुङ्ग्रो दूधदिन्थ्यो । उसलाई मन नपर्ने घाँस दिएको छ भने एकमानो दूधपनि झर्दैनथ्यो । त्यही दुहुनपनि लात्ती हानेर, उफ्रेर सकस बनाउथ्यो । गाईले साँच्चै नै मालिकको आड मार्न दूध लुकाएको हो कि दूधै नआएको हा;े त्यो कुरा त मलाई पूराका पूरा थाहा छैन । तर दूध लुकाउने गाईकै स्वभाव भएका ज्ञान लुकाउने गुरुहरुबाट भने म पीडित हुँदै आएको छु । त्यसैले त्यस्ताी गुरुलाई मैले दूध लुकाउने गाईको कोटिमा राखेको छु ।

म आठ नौ कक्षामा पढ्दा अङ्ग्रेजी पढाउने एकजना बूढा गुरुजी हुनुहुन्थ्यो । उहाँ कक्षामा किताबी कुरा सिकाउन असाध्यै कन्जुसी गर्नुहुन्थ्यो । उहाँले अङ्ग्रेजी पढाउँदा हामी जस्ता निम्नस्तरका विद्यार्थीले नबुझ्ने भाषामा अङ्ग्रेजी बढ्बडाउनु हुन्थ्यो । अङ्ग्रेजी व्याकरणका अभ्यासहरू राम्रोसित नबुझाइकनै पाठ्यपुस्तक सक्नुहुन्थ्यो । उहाँले कक्षामा कन्जुसी गर्नुको एउटै कारण थियो, विद्यार्थीहरुलाई ट्यूशनमा आकर्षित गर्नु । आवश्यक कुरा स्कुलमा नसिकाएपछि विद्यार्थी गुरुकोमा ट्यूशन पढ्न जान बाध्य हुन्थे । बाध्यपनि ती विद्यार्थी हुन्थे, जो महिनैपिच्छे ट्यूशन फी तिर्न सक्षम छन् । ट्यूशन फी तिर्न नसक्ने अर्काको घरमा भाँडा माझेर, गोठालो गरेर पढने विद्यार्थीहरू भने साँच्चैको मर्कामा पर्थे । एक त उनीहरुसँग फाल्टो समय हुन्नथ्यो, अर्कोकुरा पढेपछि महिनैपिच्छे साठी सत्तरी बुझाउन पैसा हुन्नथ्यो । म यीदुवै अप्ठेयाराबीचमा चेपिएकोले ती गुरुसँग ट्यूशन पढ्न जान सक्दिनथेँ । फेरि ती गुरुलाई कक्षामा नबुझेको कुरा सोध्न मनाही जस्तै थियो । असाध्य जण्ड, क्रोधी र निरङ्कुश स्वभावका गुरु कक्षामा नबुझेको कुरा सोध्ने विद्यार्थीलाई मनपरी गाली गर्थे । त्यसैले कमजोर विद्यार्थी प्रश्न सोध्नपनि डराउँथे । बूढाको गाली खानुभन्दा प्रश्नै नसोध्नु उचित ठान्थे । फेरि ट्यूशन पढेर महिनैपिच्छे पैसा बुझाएपछि अङ्ग्रेजीमा जान्ने होस् या नहोस्, उसले त्यस विषयमा राम्रो अङ्क प्राप्त गरिहाल्थ्यो ।

ती गुरुको अर्को विशेषता केपनि थियो भने उनलाई छोडेर अर्को सरसित अङ्ग्रेजीमा ट्यूशन पढ्न गयो भने त्यसलाई खेदोपानी लाउँथे । कक्षामा जति नै राम्रो लेखेर ल्याएपनि, जति नै राम्रोसित पाठ प्रस्तुत गरे पनि एउटा न एउटा दोष निकालेर बेइज्जत गर्थे । उनको अपमान र बेइज्जतीबाट बँच्न विद्यार्थीसकेर होस् या नसकेर होस् ट्यूशन पढ्न बाध्य हुन्थ्यो । विद्यार्थी जीवन पार गरेर शिक्षण जीवनमा प्रवेश गरेपछि थाहा भयो, तीगुरुले कक्षामै राम्रोसित बुझाएर पढाइदिएको भए कुनैपनि विद्यार्थीले ट्यूशन पढी राख्नु जरुरीरहेनछ । शिक्षकले कक्षाकोठामा सिकाउन कन्जुसी गरेपछि विद्यार्थी बाध्यभएर ट्यूशन पढ्न जाँदो रहेछ ।

सिकाउने कुराजति यदि शिक्षकले विद्यालयमै राम्रोसित सिकाइदिने हो भने विद्यार्थीले ट्यूशन पढ्ने समयमा घरमै मिहेनत गर्दा बढी उपलब्धि हासिल हुने रहेछ । यसरी कक्षाकोठामा पढाउन कन्जुसी गर्ने गुरुहरुलाई दूध लुकाउने गाईको उपमा दिएको छु । दूध लुकाउने गाईलाई कुँडो खोलेले खुशी पारेर दूध पगारे जस्तै ती गुरुहरुलाई महिनैपिच्छे अतिरिक्त पैसा तिरेर ट््यूशन पढेको अभिनय गरिदिएपछि उनीहरुको ज्ञानको फाँचो त्यसैत्यसै पग्रिने गर्छ । घाँस र कुँडोरुपी पैसा नपाएपछि गाइले लात्ती हानेर ढुङ्ग्रो उछिट्याइदिन्छन् ।

गाई चारखुट्टे पशु हो, उसले मनमाफिक पेट भनै पाएन भने दूध नदिनु स्वाभाविक कुरा हो । गाईले खाने खाँस, खोले र कुँडोको उसले दिने दूधसँग सीधा सीधा सम्बन्ध छ । किनभने घाँस खोलेकै कारण भित्रका दूधग्रन्थीमा दूध पैदा हुन्छ । रुखोसुखो ख्वाएर या गाईलाई भोकै राखेर ढुङ्ग्रोभरि दूध दुहुन खोज्नु साँच्चैको मूर्खता हो । तर राज्यको ढिकुटीबाट विद्यार्थीलाई राम्रोसित लेखपढ गराउने शर्तमा महिनैपिच्छे तलवभत्ता थापेरपनि कक्षामा पढाउन कन्जुस्याइँ गर्नु, विद्यार्थीलाई आवश्यक कुरा सिकाउन कृपण हुनु भनेको साँच्चै नै बेइमानी हो । यस्ता गुरुहरू दूधलुकाउने गाईभन्दा एक तहमुनिका निकृष्ट पशु हुन् भन्ने मेरो ठहर छ । गाई जनावर भएकोले उसले प्रदर्शन गर्ने अबोध पशुत्व हामीलाई स्वीकार्य हुनसक्तछ तर मानिस चेतनशील र विवेकशील प्राणी भएर पनि िववेकलाई खोपामा राखेर ज्ञान लुकाउन खोज्नु किमार्थ राम्रो कुरा होइन ।

दूध लुकाउने पशु स्वभावका अनेकौँ गुरुजीहरुबाट आजका शिक्षार्थीहरुको जमात ठगिँदै आएको छ । अरुलाई बाँड्नुपर्ने ज्ञान गुरुकै खोपडीमा गानिएर गनाउन थालेको छ । त्यही दुर्गन्धले स्कुल कलेजहरू लछप्प ढाकिएका छन् । उहिल्यै हाम्रा बाले दूध लुकाउने गाईलाई ढुङ्ग्राले पिटे जस्तो शिक्षा क्षेत्रका दूध लुकाउने गाइलाई पिटे कसो होला । पक्क्र हुँदैन । बरु उनीहरुको खोपडीको द्रव्यपिचास सोचलाई निकालेर फ्याक्नुपर्ला । धनभन्दा ज्ञान ठूलो भन्ने चिन्तनलाई उनीहरुको दिमागमा रोप्नुपर्ला । आफूले अरुलाई वितरण गर्नु ज्ञानको कुनै मूल्य हुँदैन । त्यो आफैँमा अमूल्य छ भन्ने भाव जगाउनु पर्ला । यति गर्न सक्ता अनि पग्रेलान् दूधलुकाउने गाईका फाँचाहरू । तिनै कलिला नानीहरुका बाआमाले गाँस काटेर बुझाएको तिरोबाट राज्यको दानापानी खाएपछि त्यसको निमेक बुझाउनुपर्छ, त्यसको बदलामा आफूसँग भएको सम्पूर्ण ज्ञान, सीप र धारणा नानीहरुलाई दिनुपर्छ भन्ने भावभित्रैबाट जगाउनु पर्ला अनिमात्र पग्रेलान् दूध लुकाउने गाईका फाँचा । नत्र उनीहरू रहने छन् काँचाको काँचा ।

पुण्य कार्की
जनज्योति उ.मा.वि. चुहाडे, उदयपुर
फोन : ९८४२८२६७९१

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *