आजका शिष्यहरुको ज्ञानको तहलाई; उनीहरुको सिकाइको स्तरलाई एक सानो बोधकथाबाट सुरु गर्न चाहन्छु । यो कथा प्राचीनकालका गुरुशिष्यको बीचमा घटित कथा थियो । तर पनि कथाले यसयुगका मर्महरू बोकेको छ । अहिलेको यथार्थलाई पनि यसले चित्रण गरेको छ ।

एकजना गुरुको आश्रममा थुप्रै शिष्यहरू ज्ञान आर्जन गर्न जम्मा भएका थिए । गुरुकुलमा गुरुको सान्निध्यमा रहेर धेरै कुरा जाने, धेरै कुरा सिके । ज्ञानमा चेलाहरुलाई पारंगत बनाइसकेपछि उनीहरुलाई लिएर एकदिन गुरु यात्रामा निस्के । त्यो जमानामा यातायातको साधनमा गोरुगाढा मात्र उपलब्ध थियो । यात्राको सर्वोत्कृष्ट साधन नै रथ र गोरुगाढा थिए । टाढाको बाटो गोरुगाढामा चढेर उनीहरू प्रस्थान गरे ।

गुरु र शिष्यहरू एउटै गाढामा चढेर गैराखेका थिए । गुरुलाई निद्रा आउनआउन थाल्यो । चेलाहरुलाई सम्झाए –“म केही समय आराम लिन्छु । तिमीहरू चनाखो भएर बस्नु । बाटामा केहीचिज खस्नओर्न सक्छ । राम्ररी हेर्नु ।…..”

यति भनेर गुरु भुसुक्क निदाए । चेलाहरू बडा चनाखो भएर हेर्न थाले । हेर्दाहर्दै अलिपर पुगेपछि गाढाबाट गुरुको कमण्डलु बाटोमा खस्यो । त्यो कमण्डलुलाई ध्यान दिएर हेरिमात्र राखे । केही समयपछि गुरु ब्यूझेँ र राखेको ठाउँमा आफ्नो कमण्डलु छामे । कमण्डलु छैन । कमण्डलु अघि नै उनी सुतेको समयमा बाटामै झरिसकेको थियो ।

उनले चेलाहरुलाई सोधे –“खोइ मेरो कमण्डलु ?”

चेलाहरुले भने –“कमण्डलु त अघि नै बाटोमा खस्यो ।”

गुरुले रिसाएर भने –“झन तिमीहरुलाई उतिमाथि मैले भनेको थिइन, केहीचिज गाढाबाट खस्न सक्छ, राम्रारी हेर्नु भनेर ।”

चेलाहरुले सपाट जवाफदिए –“हेरेको गुरु, राम्ररी हेरेको । हामी सबै जनाले दैख्तादेख्तै त्यो कमण्डलु खसेको हो ।”

चेलाहरुको जवाफ र व्यवहारले उनलाई के लाग्यो भने यिनीहरुलाई मैले ठिक तरिकाले ज्ञान दिन सकेनछु । चेलाहरुलाई सहीसिकाइ गर्न नसकेको आत्मबोध भएपछि उनले तत्क्षण केही कुरा सिकाए –“अब देखि यहाँबाट जे चिज भूइँमा खस्छ । त्यसलाई टिपेर जतनसाथ राख्नु ।” गुरुले यति सिकाएर पुनःनिदाए । गुरुले सिकाएको ज्ञान मनमा राखिरहेका थिए चेलाहरुले ।

केहीसमय पर पुगेपछि गोरुले हग्यो । चेलाहरू झटपट भूईँमा ओर्लेर गोबर टिपे । त्यसलाई जतनसाथ गुरुको सिरानमा राखे । गुरुले भने बमोजिम गरेकोमा उनीहरू प्रशन्न थिए । निद्रामा नै गुरुलाई टाउको चीसो भयो । डुङडुङ्गी गनाउनपनि थाल्यो । गुरु ब्यूझेँ । चेलाहरुले उनलाई गोबरै गोबर बनाइदिएका थिए ।

गुरुले आक्रोश पोखे –“यो के गरेको ?”

चेलाहरुले एकमुष्ट जवाफदिए –“यो सबै हजुरले भने बमोजिम नै गरेको हौँ ।”

गुरुलाई पुनःआफ्नो सिकाइप्रकृयामा शंका लाग्यो । अँझै यिनीहरुलाई सहितरिकाले कुरो बुझाउन सकेनछु भन्ने लाग्यो । गुरुले गम खाए । आखिरमा उनले गर्नहुने काम र गर्न नहुने कामको लिष्ट बनाए । त्यो लिष्ट के हुँदा के गर्ने सबैको सूची बनाए । सूचीमा कमण्डलु खस्ता –टिप्ने, गोरुले गोब्य्राउँदा –नटिप्ने, लुगा खसेमा –टिप्ने, गोरुले पिशाव फेरेमा –नथाप्ने, यस्तै यस्तै दशपन्ध्रओटा कामको सूचीपत्र दिएर फेरि चेलाहरुलाई भने –“अब आइन्दा केहीचिज खस्यो भने के गर्ने भन्ने विषयमा मैले लिस्ट बनाइदिएको छु, यसलाई अध्ययन गरेर त्यसै बमोजिम गर्नू ।”

चेलाहरुलाई यति कुरा सिकाएर गुरु आराम गर्न पल्टे । केहीबेरमा उनी पुनःनिदाए । गोरुगाढामा जाँदाजाँदा उनीहरू एक नदीतटमा आइपुगे । बाटो नदीको बीचबाटै अगाडि बढेको थियो । गोरु पानीमा पसे । नदीको प्रवाहले गाढा ढलपल ढलपल गर्नथाल्यो । त्यतिन्जेलसम्म चेलाहरू गाढाबाट ओर्लिसकेका थिए । गुरु भने मस्मिन्द निद्रामा थिए । पानीको वहावले गाढा ढलपलायो । त्यसै क्रममा गुरु नदीमा खसे । नदीमा खस्ता उनी गाढा निदमा थिए । उनलाई कुनै सुधवुध रहेन । चेलाहरू अत्तालिए । हतारहतार गुरुले तयार गरिदिएको लिस्ट पल्टाएर अध्ययन गर्न थाले । त्यहाँ गुरु पानीमा गिर्दा के गर्ने ? भन्ने कुराको उल्लखै थिएन । लिस्टमा नलेखिएकै कारणले उनीहरुले गुरुलाई समातेर पाखा लाउन सकेनन् ।

चेलाहरुकै बीचबाट गुरुलाई पानीले बगायो । उनीहरुले त्यो दृश्य हेरीमात्र राखे ।

घटना प्राचीनकालीन गुरुकुलीन शिक्षाको भएपनि यस दृष्टान्तबाट अहिलेका हामी गुरुहरू र हाम्रा चेलाचेलीको विद्या, विवेक, सिकाइ र व्यवहारलाई हेर्न सक्छौँ; अवलोकन गर्न सक्छौँ । बोध र विवेक जगाउन नसक्ने शिक्षाबाट पीडित छौँ हामी । जुन गुरुले शिष्यको हृदयमा बोध र विवेक रोप्न सक्तैन । त्यो गुरुपनि असफल, ती शिष्यगणपनि असफल । जुन शिक्षाले सृजन, उत्पादन र स्वावलम्वन सिकाउन सक्तैन । त्यो शिक्षाको कुनै काम छैन । कोरा कितावी सुत्रले जीवनका समस्या हलगर्न सक्तैन । विवेकको जागरण अनि व्यवहारमा रुपान्तरण शिक्षाले दिनुपर्ने मूल कुरा हो । त्यसैकुरामा हाम्रो शिक्षाप्रणाली फितलो छ । गुरुवर्ग फितला छन् । चेलाहरू फितला बन्दाछन् ।

अहिलेपनि कमण्डलु खस्ता हेरी बस्ने चेलाकै जमात बढी छ । गोबर टिपेर शीरमा राख्ने शिष्यकै व्याप्ति छ्यास्छ्यास्ती छ । एउटा पढेको छोराले अनपढ आमाले साहु तिर्नलाई पालेपोसेको खसी बेचेर मोवाइल किनेछ । एउटा पढेको छोराले अनपढ बाउको धनमाथिको राति गेडी लैनो भैँसी बेचेर पल्सर किनेछ । ती आमा मसित आएर रोइन्, ती बाउ मसित आएर गुनासो गरे । मसित आउनु स्वभाविक थियो । ती बच्चाहरुको गुरु थिएँ म । गुरु हुनुको नाताले मसित मन विसाउन आएका थिए । मसित दुःख विसाएर मन हलुको पार्न आएका थिए । र आएका थिए, मेरो सम्झाइवुझाइले ती छोराको ज्ञानको द्वार पो खुली हाल्ला कि भनेर । पढेको सन्तान यसरी ज्ञानहीन, विवेकहीन र समझहीन भएर निस्किंदो छ । पीडित छन् जन्म दिने बाउआमा । पीडित छन् शिक्षा दिने गुरु गण ।

यस विन्दुमा आएर आत्मसमीक्षा गर्छु; कतै जीवनका विराट समस्या हल गर्न उनीहरुको विवेकद्वार खोल्नु पर्नेमा त्यसो नगरी सानो सूचीपत्र बाँडेर उनीहरुलाई बेकम्मा, काम नलाग्ने त बनाइरहेका छैनौँ । कहाँ चुक्यो हाम्रो सिकाइ ? जसले जीवन सिकाउन सकेन । जसले व्यवहार सिकाउन सकेन । जसले परिवर्तन सिकाउन सकेन । जसले विवेक र करुणा सिकाउन सकेन । जसले सीप र सृजना सिकाउन सकेन । जसले पौरख र पसिना सिकाउन सकेन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “सिकाइ र शिष्यगण”

Leave a Reply

Your email address will not be published. Required fields are marked *