दश वर्ष अघिको कामरेड अग्निधर ! विपुल क्रान्तिको अभियन्ता !
वर्गवैरीको मुटुको शूल । वितराजनको हृदयको फूल !
सो बखत गाउँका छितकी पातकी, कोदेशाहु, कामचोर मास्टर, चर्को व्याजमा पैशा लगानी गरी व्याज खाने सूदखोर, दुइटी तीनवटी स्वास्नी बटुल्ने कामी पुरुष ऊदेखि थरहरि हुन्थे । समाजमा विकृति विसंगति जन्माउने, गरीव निमुखालाई शोषण दमन गर्ने त्यस्ता पात्रपात्रीलाई नम्वर कुँदिएका थरिथरिका भाटाले डाम्ने गर्थ्यो ।
जण्ड ज्यानको कामरेड अग्निधर भाटे कारवाही गर्न अग्रणी पुरुष थियो । भाटे कारवाहीमा मात्र होइन, घैला फुटाउ अभियानको पनि अग्रणी अभियन्ता थियो । चौवीस घण्टा मातेर हिँड्ने मत्थु जँड्याहाको लागि कालभैरव तुल्य थियो ऊ । गाउँ–गाउँका जाँडरक्सीका घैला कति फुटायो फुटायो । उसकै अगुवाईमा गाउँ मदिरा निषेधित गाउँ भएको थियो ।
वर्षभरि भात खाने अन्न कुहाएर जाँडरक्सीको व्यापार गर्ने अनिकालका जन्मदाता हुन् भन्ने उसको मान्यता थियो । त्यसैले जाँडरक्सीका घैला फुटाएर उसले जीवन र सम्पत्तिको बर्वादी गर्न रोक लाएको थियो ।
—
दशवर्ष पछिको कामरेड अग्निधर ! समयले ऊमाथि गरेको क्रुर खेल ! जंगलको हतियारबन्द युद्ध र सडकको सुनामी जनलहरले छिटै ऊ खुला समाजमा अवतरित भयो । उसले देखेका हवाई स्वप्नहरू क्रमशः क्रुर यथार्थका चट्टानमा ठोक्ँिकदै, धुलिसात हुन थाले । क्रमशः ऊ मलिन, क्लान्त अनि ओजविहीन बन्न पुग्यो । ऊ भित्र निराशाको विसंगतिको, अन्यौलको आगो बल्न थाल्यो ।
तनाव र दुश्चिन्तालाई भुल्न घैलाको शरण लियो । अहिले उसलाई दिनको चोवीस घन्टा घैला रस चाहिन्छ । हिजो हजारौँ घैला फुटाउने क्रान्तिवीर अग्निधरको हिजोको नाम अहिलेका मोन्छेले बिर्सिँदै गएका छन् । उसको नाम हाल फेरिएर कामरेड घैलाधर भएको छ ।
समाप्त
