Skip to content

पहाड चढ्ने तिर्सना


अजब छ पिताजीको पहाड चढ्ने तिर्सना । वर्षले अहिले बयानब्बेमा यात्रागर्दै हुनुहुन्छ । उहाँका समयवधी दौँतेरीहरू माटोमा मिलिसके । वार्धक्यको शिखरमा हुनुहुन्छ । सरदर नेपालीको आयु पूरा गरेर उहाँ अर्कै आयु बाँचिरहनु भएको छ । बयानब्बे वर्षको उमेरमा पनि अहिले प्रत्येक दिन पहाड चढ्ने कुरा गर्नुहुन्छ । आफ्नो जन्मथलो ताम्लिछा एकैदिनमा पुग्ने उम्मीद राख्नुहुन्छ । पिताजीको पहाड चढ्ने सपनालाई म हृदयदेखि नमन गर्न चाहन्छु; उहाँको अन्तरहृदयको यो तिर्सनालाई अभिनन्दन गर्न चाहन्छु । हामीलाई यात्रामा उकालो भन्ने बित्तिकै नौनारी गलेर आउँछ । उकालो सुनेर भित्रैबाट हाम्रो साहस सुकेर आउँछ । ठाडो बाटोको यात्राले हाम्रो आत्माको आँट सेलाएर आउँछ । तर यो उमेरमा पनि पिताजीको आँट, हिम्मत यति अमिट रुपमा कुँदिएको छ, सबै कुरा भुल्नुहुन्छ तर पहाड चढ्नेकुरा कहिल्यै भुल्नु हुन्न ।

यो उमेरमा उहाँको यस्तो सशक्त मनोवल देखेर आफूभित्र सुतेको ऊर्जापनि प्रकम्पित भएर आउँछ; त्यसैले मेरा पिताजी मेरो लागि ऊर्जाको अखण्ड स्रोत हुनुहुन्छ । गाईघाटबाट ताम्लिछा पुग्ने कुरा एकाध घण्टाको यात्रा होइन,सम्म बाटोको सजिलो यात्रापनि होइन । लगातार आठ दशघण्टा त उकालो मात्र चढ्नुपर्छ । पैदल यात्राबाट पनि करिबकरिब दुइदिनलाग्ने बाटो हो । त्यो बाटो जमनामा उहाँ एकैदिनमा पुरा गर्नुहुन्थ्यो अरे । अहिलेपनि त्यो यात्रा एकैदिनमा पूरा गर्न सक्छु भन्ने आँट छ उहाँमा ।

पहाड चढ्ने कुरामा उहाँको मनस्थिति अहिलेपनि एकरत्ति गलित भएको छैन, उहाँको साहस एकरत्ति शिथिल भएको छैन । पहाड चढ्ने कुराले उहाँलाई यति उत्तेजित बनाउँछ, नाडीभित्र मरेको तरानपनि पहाड जाने होइनबा ? भनेपछि ब्यूँझिने गर्छ । कलिेकाहीँ बिरामीभएर सुतेको बखत “बा ! ताम्लिछा जाने होइन ?” यति सोधेपछि बिस्तराबाट जुरुक्क उठ्नुहुन्छ र लौरो टेकेर हिँड्न तयार पर्नुहुन्छ । पहाडसितको यो अतिशय प्रेमले उहाँलाई यो उमेरमा पनि ऊर्जावान बनाइरहेको छ ।

पहाड चढ्ने उहाँको अदम्य साहस र संकल्प देखेर मान्छेहरू जीव्रो टोक्छन् । “ यो उमेरमा पनि यत्रो हिम्मत !!” आश्र्यचकित बन्छन् । पहाडकै पानीको तरानले बूढालाई यति हिम्मती बनाएको हो, यसो भनेर प्रतिक्रिया जनाउँछन् । हुनपनि हो, जीवनको लामो कालखण्ड पहाडमै बिताउनु भयो । करिब पचासी वर्षसम्म पहाडमै रम्नु भो । वार्धक्यले छोपेपछि यहाँ झर्नुभयो । तर उहाँको सपनामा पहाड छ । विपनामा पहाड छ । एकचोटि पहाड पुग्नुपर्ने भन्ने कुरा मुखमै झुण्डिएको छ ।

घरिघरि बालाई ठट्टा गर्ने हिसाबले सोध्छु –“पहाडको के मीठो बा ?” उहाँ जोसिएर जवाफ दिनुहुन्छ –“पहाडको पानी मीठो ।” सायद त्यही मीठो पानीको करामतले यति सशक्त, यति निरोगी र यति तन्दुरुस्त रहनु भएको होला ।

दिनैपिच्छे, हप्तैपिच्छे पहाड जान्छुभन्दा अलि पछि जानुपर्छ । तपाईलाई मैं पुर्याइदिन्छु भन्दै टार्दै, भाका राख्दै आएको छु । कहिलेकाहीं त यसले नपुर्याइदिने भो, मलाई झुक्याई राख्यो भनेर म घरमा नभएको मौकापारी झोला झ्याम्टा बोकेर बाटो लाग्नु हुँदो रहेछ, कयौँचोटि छिमेकीले फर्काइदिएका छन् । ‘कहिलेकाहीँ पहाड जान दे मलाई’ भनेर बालसुलभ रोढ्याइँ देखाउनुहुन्छ । नर्सरी बन, कामीटोल, चाँप र ठाडी गाउँ घुमाएर घर ल्याउँछु । मनको अवचेतन पाटोमा पहाड चढ्ने तिर्सना यसरी खोपिएको छ, जसलाई लाख कोसिस गर्दा पनि भुलाउन सकिन्न ।

कहिले गोडेलीको उकालो चढिरहेको कल्पनागर्नुहुन्छ, कहिले कोल्बोटेको उकालो चढिरहेको कल्पना गर्नुहुन्छ । अनि कहिले रोटाबास र नागीको उकालो चहिरहेको कुरा गरेर आफैँमा आनन्दित बन्नुहुन्छ । पहाडको उकालो कुरा गरेपछि उहाँको अनुहार एक आभाले ढाकिन्छ । उकालोको कुरा गर्ने बित्तिकै आँखामा एक ज्योति भरिन्छ । यही ज्योतिले उहाँलाई यो उमेरमा पनि दिप्त गरिरहेको छ ।

उकालोको कुराले मात्र पनि मनका दुर्वलताहरु, शिथिलताहरू सातसुत पुछिन्छन् । र उत्साहको आवेगले हृदयलाई अंकमाल गर्दछ । अखण्ड मनोबलका संवेगहरुले शरीरलाई प्रदिप्त गर्दछन् । यो उमेरमा पनि निरोगीरहनु सायद उच्च एव म अखण्ड मनोवलको जादूले काम गरेको हुँदो हो ।

मान्छेको मनोवल जब दुर्वल हुँदै जान्छ तब शारीरिक शिथिलताले पनि गाँज्छ क्यारे । र त्यहीँबाट रोगले शरीरमा प्रवेश पाउन सुरु गर्छ ।

पहाडीबाटोमा, पहाडी माटोमा त्यस्तो कुन तत्व छ, जसले पिताजीको अन्तरहृदयमा एक अमर अभिप्सा जगाइरहेको छ । केही वर्ष अगाडि नेपालका एक राजनीतिज्ञ शैलेन्द्र कुमार उपाध्यायको अवसानको विषयमा पढेको थिएँ । उनी असी पचासीवर्षको बूढ्यौली उमेरमा सगरमाथा चढ्न घरबाट निस्के । धेरै आफन्ती परिजनले बूढ्यौलीको यो जर्जर अवस्थामा सगरमाथा आरोहण उचित हुन्न भनी सुझाए होलान् तर ती हिम्मती बूढालाई कसैले रोक्न सकेन, छेक्न सकेन । सगरमाथा चढ्ने संकल्पमा उनी यति दृढ थिए; बरु मृत्यु स्वीकार्य छ, आफ्नो उद्देश्यमा उनी अविचल र दृढ देखिए । सगरमाथा चढ्न हिँडेको केही दिनपछि सुनियो । सगरमाथा चढ्दा चढ्दै बाटोमा नै बुढाको इहलिला समाप्तभयो ।

बूढाहरुको यो खालको यात्रा आउने पिढीको निम्ति ऊर्जाको अखण्ड स्रोत बन्न सक्छ । उत्साहको ननिभ्ने ज्योति बन्न सक्छ । उनीहरुको यात्राले छोडेको आलोकमा भोलिका पथिकहरुको गन्तव्य पहिल्याउने गोरेटो देख्छन् । म यो घडी पिताजीको पहाड चढ्ने अभिप्साको साक्षी छु । उहाँको अखण्ड अटुट अभिप्साबाट एक अदृश्यशक्ति आर्जन गरिरहेको छु । आफू जीवनको यात्रामा थाकेर शिथिल, क्लान्त र रित्तो भएको घडी ९२ वर्षका पिताजीका पहाड चढ्ने जोसिला कुरा सम्झेर ऊर्जावान हुने गर्छु । उहाँबाट शक्ति भर्ने गर्छु । र कामना गर्छु –म पनि जीवनको बाटोमा आउने अनाकण्टर उकालीहरू विना लौरो, बिना सहारा टकटक छिचोल्न सकूँ, जीवनको शिखर छुन सकूँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *