जहाँ नउभिँदा हुन्छ, त्यहाँ बसे हुन्छ । जहाँ नबस्दापनि हुन्छ,त्यहाँ सुतेहुन्छ । जहाँ नदगुर्दा हुन्छ, त्यहाँ बिस्तारै हिँडे हुन्छ । जहाँ नबोल्दा हुन्छ, त्यहाँ मौन रहे हुन्छ । जहाँ विचार नगर्दा हुन्छ, त्यहाँ निर्विचार रहे हुन्छ । मेरो यस विचारमा तपाईं सहमत हुनुहुन्छ/हुनुहुन्न त्यो मलाई थाहा छैन । तर मेरो विचारमा शरीरलाई बढीभन्दा बढी आराम दिनुछ । अँझ धेरै वर्ष यो शरीरलाई बचाउनुछ । यो शरीरबाट अँझ धेरै काम गराउनुछ । त्यसैले छिट्टै थोत्रे बनाउनुभएको छैन यो शरीरलाई । विरोधाभास त्यहाँनेर हुन्छ, एकातिर यो शरीरलाई जतन गर्नुछ भनिरहेको हुन्छु, अर्कोतिर लत वा स्वादको संस्कारले यही शरीरलाई हानी हुने चिजपनि खाइरहेको हुन्छु । निर्दोष शरीर उपर अत्याचार लादिरहेको हुन्छु । शरीरलाई अनावश्यक रुपमा सताइरहेको हुन्छु । जसले गर्दा शरीरभित्र रोग पस्ने प्वाल खनिँदै छन् ।
मास्टरी गर्दा धेरै समय उभिनुपर्छ । विद्यार्थीसामु धेरै बोल्नुपर्छ । मेरा गुरु तथा अग्रजहरू जसले चालीस–चालीस वर्ष अध्यापन कार्यमा आयु लगानी गरिसकेका छन् । अँझ उनीहरुले कति करोड शब्द सङ्ख्या बोलिसके होलान् । उनीहरुको दाँजोमा पुग्न त मलाई अरु धेरै वर्ष लाग्नेछ । तरपनि बीस वर्षको अध्यापनकालमा यो मुखबाट धेरै शब्द निकालियो होला ।
बोल्दा शरीरमा भएको शक्ति व्यय भइरहेको हुन्छ । अनावश्यक ठाउँमा अनावश्यक कुरा धेरै बोलेर म शक्तिको व्यय गर्ने पक्षमा छुइनँ । त्यसैले जहाँ नबोल्दापनि हुन्छ, त्यहाँ चुपचाप टोलाएर बस्छु । त्यस्तो क्षणमा पूर्ण मौनमा रहन्छु । उहिले उहिले वाणीको साधना गर्ने मानिस थिए, मौनताको साधना गर्ने मानिस थिए । उनीहरू धेरै धेरै वर्ष मौन रहेर ऊर्जाको सञ्चिति बढाउँथे । मौनताको साधनाले नै उनीहरू मुनि भएका होलान् भन्ने लख काट्छु । तर अहिले जमाना ठिक उल्टो छ । नबोल्ने मानिसको त कुनै पनि ठाउँमा खैरियत रहँदैन । अनि त उखान बनेको छ –बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामलपनि बिक्दैन ।
अर्को पक्षबाट सोच्दा बोल्नु भनेको एकप्रकारले आफूभित्रको पागलपनको रेचनपनि हो । आफूभित्रको विक्षिप्तताको विरेचन पनि हो । भित्रका असन्तुष्टिहरु, गुनासा र सिकायतहरु, विरोध र स्वीकृतिहरू बोल्दाखेरी छताछुल्ल पोखिने गर्छन् । यसबाट मान्छेलाई सन्च हुन्छ । मन हलुङ्गो बन्छ । धेरै बोल्ने बानी परेका मान्छेहरुलाई नबोल्दाखेरी उकुसमुकुस र छटपटीले गाँज्छ ।
आफूलाई भने बोल्नभन्दा सुन्न मजा लाग्ने भएकाले वक्ता हुनुभन्दा श्रावक हुनुमा बढी कुशलता देखेको छु । फेरि धेरै बोल्न धेरै शक्तिको खाँचो पर्दोरहेछ । कम बोल्दा कमशक्तिको व्ययीकरण भएको कुरा घरको रेडियोबाट थाह पाउँछु । रेडियोलाई चौबीसै घण्टा बोल्न लाइराख्यो भने ब्याट्रीको पाइन दुवै दिनमा खँलास बन्छ । थोरै बजायो भने धेरै दिनटिक्छ । मान्छेको शरीरभित्रको ऊर्जा पनि त रेडियोको ब्याट्री जस्तै होला ।
फेरि कम बोल्दा शक्ति सञ्चय हुँदोरहेछ भन्ने कुरा भदौ महिनामा विशेषरुपमा अनुभूति गर्न सक्छु । साउनमहिनामा मैले शिक्षण गर्ने शिक्षण संस्थाहरू प्रायःबन्द रहन्छन् । एक/डेढ महिनाको बर्खे बिदामा मैले करिब–करिब कम बोल्दा हुन्छ । फेरि म बढीभन्दा बढी मौन रहने चेष्टा गर्दछु । जब भदौमा स्कुलखुल्छ, अनि अलिबार पढाउन, कामगर्न बढी ऊर्जावान् भएको महसुस गर्छु । त्यतिखेरको वाणीमा ओज र माधुर्यपनि अर्कै अर्कै हुन्छ । यसबाट तपाईको लागि गलतै होस्, एउटा झिनो निष्कर्ष निकाल्छु –साउनमहिनाको मौनताबाट शक्तिसञ्चय भएर म बढी ऊर्जावान् भएको हुँदो हुँ ।
ठाउँ कुठाउँ धेरै बोल्ने बानी नभएकाले मलाई कसैकसैले यो ठ्याप्पै बोल्दैन भनेर आलोचना गरेको पनि सुनेको छु । कसै कसैले घोसें भनेको पनि थाहा पाएको छु । तर नियतवश नबोलेर घोसे भएको चाहिँ होइन । बोल्नभन्दा चुप लाग्न मन पराउने स्वभाव भएकाले यस्तो भान परेको मात्र हो । यो स्वभावले कति ठाउँमा मलाई असफल बनाएको छ । जीवनको बाटोमा यही स्वभावले कति ठाउँमा पछि पनि परेको छु । तर पनि मलाई बोल्नभन्दा मौन रहन नै मजा लागिरहेको छ ।
अनि अलिकति ओछ्यान मिल्यो कि लम्पसार सुतिदिन्छु । कतिपय अवस्थामा पत्नीको गुनासो हुन्छ –के लडिका बनेर सुतिहाल्नु परेको होला ? यो बूढाको त सीधा बस्ने बानी नै छैन । बस्नुभन्दा सुत्नु जातिको आफ्नो पूराण सुनाउँछु । यस कुराले उनको दिमागी पारो अरु माथि चढ्छ । उनले जतिभने पनि मैले आफ्नो बानी नफेरेपछि उनले मेरो ओछ्यानमा ढल्किने बानीलाई स्वीकारभावले हेर्न थालेकी छिन् ।
अचेल म बिहानपाँच बजे उठ्छु । उठ्ने बित्तिकै आफ्नो नित्यकर्म सकेर स्कुल कुदिहाल्छु । बिहानपाँच बजे घरबाट निस्केको मान्छे मा.वि.देखि मास्टर डिग्रीसम्मका कक्षा भ्याएर राति सात/आठ बजे घर फर्किदा थाकेर लोथ हुन्छु । घर आएर गाँस टिपेर नौ नबज्दै ओछ्यानमा पुर्लुक्क पल्टिन्छु । त्यो बेला श्रीमतीजीका वचनवाण कानमा ठोक्किन्छन् –सुत्ने र पढाउने बाहेक तपाईको अर्थोक काम केही भएन । म सुत्न आतुर भएको कारण शक्तिसञ्चय नै हो भन्ने कुरा बुझाउन मलाई गाह्रो परिरहेछ ।
कक्षामा उभिएर प्रस्तुत गर्नुपर्ने विषयवस्तु बाहेक अरु कुरा पढाउँदा आरामसित बसेरै पढाउँदा पनि हुन्छ भन्ने मान्यता राख्छु । सहज ढङ्गले बसेर पढाउन मिल्ने ठाउँमा म त्यो अवसरलाई पनि उपयोग गरिदिन्छु । मेरो बानी बुझेका कतिपय चेलाचेलीले मलाई सहजरुपमा बस्ने चाँजोपाँजो पनि मिलाइदिन्छन् । उनीहरुले बुझिसकेका छन्, जहाँ नउभिँदा हुन्छ, त्यहाँ सजिलोसित बसेरै काम गर्नुपर्छ । जहाँ नबस्ता हुन्छ त्यहाँ सुतेर शरीरलाई आराम दिँदा हुन्छ ।
यो उमेरमा पढाउनुको अलावा कमाउने र बालबच्चा पाल्ने व्यवसायका अन्य उपाय केही गरिएन । व्यापार सिकिनँ, ठेकेदारी गर्न जानिनँ । मान्छेको व्यापारमा हात हालिनँ । खेतीपातीको ख पनि शरीरले स्वीकार गरेन । विद्यार्थीलाई गोटागन्ती शब्द सिकाउनु, कापी काट्नु, अक्षरमा अनुभूति पोख्नु बाहेक अरु केही गर्न जानिनँ । यति गर्नपनि दुईदुई चोटि सर्वाइकल अपरेशन व्यहोरेको मेरो कमजोर शरीरलाई धेरै धेरै ऊर्जाको आवश्यकता छ । त्यही ऊर्जा सञ्चय गर्न म जहाँ नउभिँदा हुन्छ त्यहाँ बसिदिन्छु । जहाँ नबस्दा हुन्छ त्यहाँ सुतिदिन्छु । जहाँ नदगुर्दा हुन्छ त्यहाँ सुस्तरी हिँडिदिन्छु । जहाँ नबोल्दा हुन्छ त्यहाँ मौनतामा डुबिदिन्छु । जहाँ नसोच्दा हुन्छ त्यहाँ निर्विचार भइदिन्छु ।
पुन्य कार्की
