अस्तित्वको म एक साकार ध्वनि हुँ ।

म स्वय म ध्वनि भएकोले जीवनका सरगमहरू ध्वनित गरिरहेछु । मेरो निम्ति स्वय म अद्भूत ध्वनि हो । यो ध्वनिमा आवाजहरुको विराट मेला छ । सन्देशका अकथनीय सङ्कथनहरू छन् । ध्वनिविहीन जीवन जीवन होइन । जीवनको स्पन्दन ध्वनिमा निहित छ । यदि जीवन ध्वनिहीन हुनपुग्यो भने त्यहाँ जीवन जीवन रहँदैन । त्यहाँ यसको आस्तित्व मेटिन्छ र त्यहाँ मूर्दा सन्नाटाको व्याप्ति खडा हुन्छ ।

मेरो आवहवामा तैरिरहेका प्रत्येक जीवनले प्रतिपल पोख्ने जीवन्त ध्वनिमा म आफ्नो अस्तित्व अनुभूत गरिरहेको हुन्छु । यहाँ सबै मानिस एकएकओटा आवाज ध्वनन गर्न आएका छन् । मान्छेमात्र होइन सूक्ष्म किराकिरी समेत आफ्नो अस्तित्व ध्वनिबाट निसृत गरिरहेका छन् । जब सन्ध्या र रात्रिमा झ ारपातको चेपबाट आउँने आवाजहरू सुन्छु, ती आवाजहरुले अँध्यारो सन्नाटालाई तोडिरहेका छन् । अँध्यारोप्रतिको अस्वीकार हो या स्वीकार, एउटा न एउटा आवाज गुञ्जायमान छ त्यहाँ । यसरी हेर्दा राति कराउने किथ्रोपनि अस्तित्वको एक साकार ध्वनि हो । बाह« बजेको टन्टलापुर घाममा कागतिको पातमा लुकेर झ्याउँकिरी एकोहोरो कराइरहेको छ । ऊपनि अस्तित्वको साकार र जीवन्त एक ध्वनि हो ।

जगत्का सबै ध्वनिप्रति एक अद्भूत समादरको भाव हृदयको भित्रीतहबाट उठिरहेछ । मैले पहिलोचोटि आमाको गर्भबाट धर्ती टेक्न पाउँदा च्यहाँको आवाज निकालेँ । त्यतिखेर भोकलाई, दुखाइलाई, पोलाइलाई, चिलाइलाई एउटै गोलमटोल रोदन ध्वनिबाट बाहिर पोखिदिएँ । त्यो ध्वनिमा विचित्रको शक्ति निहित थियो, त्यसमा विचित्रको दम थियो । शब्दको शक्तिमाभन्दा ठूलो बल र तेज थियो । एउटा कलिलो शिशुको रोदनध्वनिमा भयङ्कर तागतको जुलुश मुठ्ठी कसेर सडकमा उत्रेको विम्ब यतिखेर आँखामा गोचर हुन्छ । त्यो तागतले जननीहरू हडबडाउँथे । मेलो छोडेर चोलोका तुना फुकाउँदै घरतिर कुद्न उनीहरू विवश बन्थे । म अरठ्ठिएका बाउआमालाई लत्याकलुतुक पार्ने शक्ति त्यो ध्वनिमा देख्छु । जनसमुद्रले कुनै हठी शासकलाई गलाए जस्तो बाउआमालाई त्यस ध्वनिले असिनपसिन बनाएको दृश्य देखेको छु । शब्द उच्चारण गर्न नसक्ने शिशुको रोदन ध्वनि कति बलशाली हुन्छ भन्ने कुरा अहिलेपनि दृश्यका विभिन्न कलेवरहरुमा ठम्याउन खोज्छु ।

मभित्रबाट बजिरहेको जाग्रत नादलाई मैले ध्वनि भनिरहेको छु । अक्सर यो बाहिरका कर्णविवरले सजिलै ठम्याउन नसक्लान् । यसलाई सुन्न चेतनाका कान चाहिन्छ । संवेदनाका कान चाहिन्छ । बाहिरका आवाज सुन्न बाहिरी कान जरुरी भएजस्तै भित्रको आवाज सुन्न भित्रीकान जरुरी पर्दछ । बाहिरीको उज्यालो हेर्न बाहिरका चर्मचक्षु भए जस्तै भित्रको उज्यालो हेर्न भित्री आँखा खुलेको हुनुपर्दछ ।

ध्वनिबाट म जीवनका स्वीकार भावहरु, समादरका संवेदनाहरुमात्र प्रशारण गरिरहेको छुइनँ । यसबाट जीवनका विरोधाभास र विपर्यासहरू पनि प्रकट गरिरहेको छु । ध्वनिबाट समता र सम्यकत्व मात्र पोखिरहेको छुइनँ, यसबाट अभेद र अखण्ड चेतनाको कुरामात्र होइन समाजको विभेद र विद्रुपतालाई पनि उधिनी राखेको छु । किनभने म ध्वनिबाट म समुज्ज्वल चेतनाको संचरण गर्दछु । यसबाट ज्ञानको प्रशारण गर्दछु ।

स्रष्टाले ध्वनन गरेको ध्वनिशक्तिमा अकम्प चैतन्यको आलोक मिसिएको हुन्छ । यस्तो ध्वनि स्वयम्मा विष्फोटक ऊर्जा हो । यसले बाँझो पल्टेको मनोबारीमा पनि संवेदनाका बेर्ना उमार्न सक्छ । जडवत जीवनहरुमा पनि प्राणको कम्पनल्याउन सक्छ ।

पुन्य कार्की
२०६७/०५/३०

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *