घर अगाडिको बनमा उभिएका सिसौहरुले आफ्ना हाँगाविँगामा नयाँ मुजुरा नहाल्दो हो त; म पनि उहिल्यै नै मरुभूमि भैसक्थेँ होला । म पनि भित्रभित्रै सुकेर जर्जर नाँगो गाछी हुन्थेँ होला । जसै सिसौका कापकापबाट मुजुराको जुलुस निस्किन्छ, त्यसैगरी म पनि पाउलिन थाल्छु, चिउलिन थाल्छु । रुख र मेरोबीचमा सकारात्मक अन्तरसम्बन्ध छ । सिसौघारी उजाड बनेको बेला मेरो पनि अन्र्तजगत् उजाड उजाड बन्दछ । सिसौघारीमा हरियाली मधुमास छाउँदा मेरो मनमा पनि उदासीका रेखाहरू मेटिएर कलकल पाउलो हाल्न थाल्छ । निराशाले उजाड पारेको मनमा आशाका टुसा अंकुरण हुन थाल्दछन् । त्यसैले मनोजगत् सिक्रो बनेको बेला सिसौका मुजुरा हेरेर आफूभित्र हरियाली खोज्छु ।

मैले पढाउने कक्षाकोठा सामुन्नेमै छ, बूढो गुलमोहरको रुख । वर्षौदेखि यसले शीतल छाहारी दिइरहेको छ । वर्षौदेखि सुमन सौरभको अनुपम छटा फिँजारिरहेको छ यो । हामी शिशिरका उजाड दिनमा यसको छेउमा बसेर यसको नांगोभुतुंगो शरीर हेर्दै अनुमान लाउँछौ –यो सालदेखि त यसले मुजुरा हाल्न सक्तैन होला, रुख ज्यादै बूढो भैसक्यो हाँगोविँगापनि कक्रिसके । हाम्रो पूर्वानुमानलाई गलत सावित गर्दै वसन्तका अन्तिम दिनमा फेरि लोभलाग्दो गरी नूतन मञ्जरीले आफूलाई ढकमक्क पार्छ । अनि सुन्दर फूलको वर्षात् गरेर विद्यालय परिसरलाई नै मनोरम तुल्याइदिन्छ ।

अनुमान गर्छु, जेठको चर्कँदो धुपमा यो गुलमोहरको बूढो गाछीले पुष्पपराग नछाँड्दो हो त; मपनि उहिल्यै नै खङ्ग्रङ्ग सुकिसक्थेँ होला । मेरो मनोजगत् उहिले नै बञ्जर बनिसक्थो होला ।

गृष्मकालमा पूर्वेली दाइको कोठेवारीमा उजाड बनेको बाँसघारीमा नवीन सुइराहरू पलाउन थाल्छन् । जसै बाँसमा सुइरा निस्किन्छन्, त्यसैगरी मेरो मनमा आशामञ्जरीहरू टुसाउन थाल्छन् । बाँसले नयाँ सुइरा नहाल्दो हो त; म पनि कठ्याङ्ग्रिएर निर्जीव बनिसक्थेँ होला ।

प्रकृतिको लालीले मभित्र लाली चढाइरहेछ । प्रकृतिका पोतिने हरियालीले म भित्र हरियालीको रङ उमारिरहेछ । प्रकृति जतिजति सजीव बन्छ, त्यतित्यति म जीवन्त हुँदै जान्छु । प्रकृतिसँग जीवनको तादात्म्य कति अद्भुत छ । प्रकृतिसित जीवनको नातो कति अन्योन्याश्रित छ ।

बादलले पानीका शीतल थोपाहरू झारिरहेको छ र म दिनदिनै ऊर्वर रसिलो बनिरहेको छु । यदि बादलले वर्षात नछर्दो हो त; म पनि उहिल्यै खङ्ग्रङ्ग बगर बनी सुकिसक्थेँ होला । बारीमा हेर्छु, भुपट्ट खडेरीका दिनमा पनि मकैका दानो टुसाएर दुई पात हालिरहेछ । यसैलाई हेरेर मेरो जीवनबारीमा पनि आशाका अनन्त बीज अंकुरित बनिरहकेका छन् ।

अनन्त उदासीले बेरेर मन मरुभूमि भएको बखत, अनन्त निराशाले डसेर तन जराजीर्ण भएको बखत मलाई बूढो गुलमोहरले हरियो बनाएको छ । सिसौको हरियो गाछीले मभित्र चिउला थपेको छ । बाँसका नूतन टुसाले मभित्र मुनामञ्जरी रोपेका छन् । प्रकृतिको काखबाटै मैले आशाको ज्योति पाएको छु ।

प्रकृतिको रङले मेरो मनोदशाको रङ निर्धारण गरिरहेछ । प्रकृति जतिजति मनमोहक बन्छ्, जति सुन्दर र आल्हादकारी बन्छ, त्यति त्यति म आनन्दको भावमा यात्रा गर्छु । घामका मृदुल किरणसितै आफूपनि उज्यालिन मन लाग्छ । जूनताराको सुशान्त शीतल रोशनीमा आफूपनि आलोकित हुन मन लाग्छ । हावाको जीवनदायिनी झोँक्कासितै आफूपनि सुगन्धित हुन मन लाग्छ ।

जसै बच्चाहरू निर्दोष हाँसोमा खिल्खिलाउँछन्, तसै मभित्र पनि मृत मरुभूमिमा एउटा मुस्कान ब्यूँझिने गर्छ । बच्चाहरुले, बच्चाहरुको निर्मल हाँसो र तिनको तोतेबोलीले मभित्र प्राणको ऊर्जा उद्दिप्त गरेका छन् । त्यसैले मलाई सर्वप्रिय छ –बच्चाहरुको निर्दोष हाँसो र चञ्चलता । उनीहरुको चञ्चलतताले मभित्रका सुषुप्त अंशहरुलाई जगाएका छन् । मलाई तिनले निराशाको सघन कुइरो च्यात्न सघाएका छन् ।

साँझ परेपछि मेरो सुत्ने ओछ्यान नजिकै कुनै प्रजातिको किरो अनौठो संगीतको आलाप छर्न थाल्छ । निद्रामा प्रवेश गर्नु अघिको समय, त्यसकै संगीतमा डुल्न खोज्छु । यसको संगीतले मलाई निर्विचार हुन सहयोग गर्छ । यस किरोसित मेरो अचम्मको नातो गारिएको छ । प्रत्येक्ष रुपमा यो किरो कस्तो छ ? कत्रो छ ? त्यो मलाई थाहा छैन । एकदुईचोटि टर्च बालेर त्यो किरो कहाँनिर बसेर कराउँछ ? पत्तो लगाउनु पर्यो भनेर खोज्ने सोच नआएको पनि होइन । फेरि मनले तर्क गर्यो –कतै मेरो खोजतलासले यसलाई, यसको गतिविधि र यसको शान्ति निकेतनमा बाधा अवरोध पर्ला । मलाई निःशुल्क संगीत दान गर्ने किरो सधैँको लागि यो ठाउँ छोडी कतै हिँड्ला कि भन्ने त्रासले यसलाई खोज्ने प्रेरणा भित्रभित्रै सेलायो । यस्ता किटपतङ्गले पनि मेरो शुष्क हृदयमा संगीतको आलाप उमारेका छन् । जीवनप्रतिको राग र मोह रोपेका छन् । मान्छेको नजरमा यो कामै नलाग्ने किरो हो । साँच्चैभन्दा यसलाई दुईपैसे किरो पनि भन्न मिल्दैन । किनभने यसलाई मूल्यमा जोख्ता दुईपैसा पनि पर्दैन । कुनै सार अर्थ नभएको किरोले पनि मेरो सारहीन जीवनमा थोरै सार थपेको छ । सङ्गीतहीन जीवनमा सङ्गीतका लय थपेको छ ।

कल्पना गर्छु, यस किराले रात्रिविश्रामको घडीमा सङ्गीतको जादू नछर्दो हो त मभित्रका स्वरहरू सुकिसक्थे होला । स्वरभित्रका मूच्र्छनाहरू मरिसक्थे होला । स्वरभित्रका रागहरू राख बनिसक्थे होला । यसैकिराले आफूभित्रको अन्र्तसंगीतलाई जगाइदिएको छ ।

कहिलेकाहीँ घरमा एक्लै भएको घडी/अँझ घरमा श्रीमतीजी नभएको बेलामा तारमा बसेको एकहुल भँगेरालाई आँगनमा आमन्त्रण गर्छु । एकमुठ्ठी चामल छरिदिएपछि भँगेराहरू आँगनमा ओर्लिन थाल्छन् । सुरुमा डराइडराइ एकादुई निडर भँगेरा भूइँमा ओर्लिन्छन् । मैले कुनै हातपात नगरेपछि उनीहरुलाई विश्वास हुन्छ । अरु भँगेराहरू क्रमशः सबै चारो टिप्न थाल्छन् । त्यो बेला उनीहरुको अनौठो नृत्य हेर्छु तिनका पयरमा । भँगेराको नृत्य हेर्नकै लागि पत्नीको आँखा छलेर, उनी नभएको मौका पारी थुप्रै चोटि आँगनमा चामल छरेको छु ।

भँगेराको त्यस नृत्यले आफूभित्रको नर्तन बोध हुन्छ । तिनका पयरको नृत्यले म भित्रको नृत्य उद्दिप्त बनेको छ । त्यसैले म कुनै आन्तरिक प्रेरणाबाट कहिलेकाहीँ भँगेरालाई चामल छरिरहेको छु । पँक्षीगणको नृत्यलाई अवलोकन गर्न नपाउँदो हुँ त; म भित्रको नर्तक पनि मृत्युशैयामा लम्पसार परिसक्तो हो । यिनका नृत्यलाई दर्शन नगर्दो हुँ त; मेरो नर्तन क्षमता मेरो पयरमै सुकिसक्थ्यो होला ।

यसरी प्रकृतिमा विन्यस्त स्थावर र जङ्गमका थरि थरिका रुपहरुले, तिनका स्वर र सङ्गीतका जादूहरुले, तिनका रङ्ग र तरङ्गका कम्पनहरुले म दिनदिनै कम्पित हुँदो छु । दिनदिनै तरङ्गित हँदो छु । तिनकै रङ्गमा रङ्गिदो छु । तिनकै राग र सुरमा सुसेलिँदो छु । कविर र धारमदासका यी पदमा मेरै मनको सत्य लेखिदिएको भान हुन्छ –

लाली मेरे लालकी जित देखूँ तित लाल
लाली देखन मैं गयीमै भी हो गयी लाल
कविर
लाल महलके लाल कंगूरा, लालिनी लागि किवरिया हो ।
लाल पलङ्गके लाल विछौना, लालिनी लागि झलरिया हो ।
लाल साहेवकी लालिनी मूरत, लाली लाली अनुहरिया हो ।
धरमदास

समाप्त

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *