मलाई मेरै घर आँगन प्यारो छ
फराकिलो र चौडा,मुरीका मुरी घाम सुकाउन पुग्ने,
मेरो आँगनमा प्रेत्यक दिन…
चराहरू आएर घाम ताप्छन्,भंगेराहरू आएर
नाच्छन् र रमाउँदै उडछन् ।
बार्दलीहरुबाट चराहरुले चिर्बिराएको मेरो आँगनको धून मन पर्छ
मेरो ईलामको संगीत मन पर्छ, र मेरो देशको अविछिन्न गीत मन पर्छ ।
मलाई आँगनमा ढकमक्क फूलहरू फूलेको मनपर्छ,
तुलसी झुलेको मन पर्छ ।

मैले कलिलै उमेरमा गाउँ घरमा गरिने व्यवहारिक कामहरू खेतीपाती, वस्तुभाउ र घरभित्र गर्नु पर्ने कामहरू सिकें । घरमा बिहान बेलुका गाईवस्तुको गोबर भकारा गर्नुपर्थ्यो । त्यसपछि घाँसका भारी बिसाएर मात्र स्कूल जान पाइन्थ्यो । खेतीपातीका बेला स्कूल बिदा बसेर काम गर्नुथियो । नियमित स्कूल जान नपाएपछि पढाइ राम्रो हुने त कुरै भएन । स्कूलको पढाइलाई छाँयामा पारेर केही राजनीतिक गर्ने व्यक्तिहरूको संगतमा परें । उनीहरू कमुनिस्ट भन्थे । राति राति हाम्रो घरमा आउँथे । मलाई तिनीहरूले चम्किलो रातो तारा भन्ने किताब दिए । नोरोदोम सिंहानुकको बारेमा पनि ताता-तुतु गरें । ती पढेपछि मेरो कलिलो मस्तिकमा कम्युनिस्ट शिक्षाले अर्कै प्रभाव पार्यो । कम्युनिस्टहरू धर्ममा विश्वास गर्दैनन्, उनीहरूको शब्दकोषमा भूतप्रेत भन्ने हुदैन भन्थे ।