सम्बन्ध बिच्छेद (लघु कथा)


गल्लि छेउको पुरानो घरको भित्तामा अढेस लागेर खुकुरी छापको सिगरेटको लामो सर्को तान्दै धुवाँ माथि हावातिर उढाएर रुद्रमणिले श्रीमतीसँग सम्बध बिच्छेद भएको बारेमा गहिरिएर ध्यान दिदै सोच्यो । होइन हौ ! के कारणले त्यस्ती धिप धिप बल्ने अँगाला भरिकी स्वास्नीले छोडेर गई ? दु:ख सुख खान लगाउन दिएकै थिएँ । हरेक कुरामा उसैलाई निर्णय गर्न छोडेको थिएँ । आफू हल्लुड घोटिए जस्तै काम गरे उसलाई केही लगाइन । किन त्यसले त्यसरी छोडेर गई ? मान्छे खराब चरित्रकी पनि थिइन । हो महत्वाकांक्ष बढी थियो । त्यसैले त होइन ?

स्वास्नीसँगको सम्बन्ध बिच्छेदको बारेमा रुद्रमणिले आफैले आफैलाई प्रश्न गर्दै आफै उत्तर दिन थाल्यो । होइन ए रुद्रे ! तैले श्रीमतीलाई मनोरन्जनको लागि सिनेमा देखाउन लागेको थिइस् ? रुद्रेले आफै नरम भाषामा उत्तर दियो, कहिले काही लागेको थिएँ । कुन फिल्म देखाइस् त ? नेपाली सिनेमा माइती घर र परालको आगो । त्यस्ता फिल्मले हुन्छ ? दादा गोद्केले बनाएको यौन आकर्षक र शेखर कपुरद्वारा निर्देशित काम शास्त्र देखाउनु पर्थ्यो । खानपिनको लागि कहिल्यै बाहिर लगिस् ? एक दुई पटक के एफ सी र पिज्जाहट लागें । त्यतिले पुग्दैनथ्यो कान्छा ! नियमित रुपमा लान सक्नु पर्थ्यो । घरमा के काम सघाउँथिस् ? सबै गर्थ्ये…..घर धन्दा, कपडा धुन, यति सम्म कि उसका पर सरेका दिनका कपडा पनि धुने गरेको थिएँ । त्यसले केही पनि हुदैन थियो । वासिंग मेसिन किनेर राख्नु पर्थ्यो । गर-गहनाहरु के के दिइस् त ? सामान्य एक सरो । ए त्यतिले हुन्थियो है ! रुद्रे जंगियो र भन्यो के मेरो कपाल खौरिएर दिनु त ? मेरो औकात त्यति नै थियो । फेरी नरम भएर “सेतो हात्ती” पाल्न सकिदैन भन्ने जानी जानी किन ल्याइस् त बाबै ? मैले ल्याएको होइन, उसले आफै आउँछु भनेकी हो ।

आई फोन, ब्ल्याक बेरी किनेर दिइस् त ? के को पैसाले दिनु ? नोकियाको राम्रै वाईफाई भएको सेट दिएको थिएँ । त्यतिले मान्दैन हौ लाटा ! तँसँग कार त थिएन होला ? थिएन । मोटर साइकल थियो ? अहँ थिएन । के थियो त ? एउटा पुरानो एटलसको साइकल थियो । ए ! तँ अघि अघि बसेर किर्लिंग किर्लिक्ग घन्टी बजाउदै साइकल चलाउने बुढी पछि बस्ने होला है ? उसको साथी भाइका अगाडि इज्जत थियो कि थिएन ? यी सबै कुरा पुर्याउन नसक्ने भए किन आगोमा हात हालिस् त भाइ ? के त्यसका सबै चाहना पूरा गर्न मैले आफ्नो मृगौला बेचौ ? रुद्रले एक पटक जोडसँग भित्तामा मुड्की बजारेर थुइक्क गर्दै थुक्यो । ए केटा ! शान्त शान्त भन्दै आफैले आफैलाई समाल्यो । तैले उसलाई एक्लो हुदाँ मन बहलाउन नदिन कुनै किताब किनेर दिइस् कि ? हो दिएको थिएँ । बि पि कोइरालाको हिटलर र याहूदी अनि तसलिमा नसरिनको लज्जा भन्ने उपन्यास ……यी किताबमा के छ र ? युधिर थापाको झरनाको मिठो पानी र सलमान रुस्दीको सटेनिक भर्शेस पो दिनु पर्थ्यो त ! अनि गीत सुन्नको लागि नि ? सूर्य थुलुंगले गएको ”मागी मिठो खादैन,चोरी राम्रो लाउदैन’ र नेपाली हो बीर झुक्दैन यो शिर भन्ने गीत दिएँ…… त्यस्ता गीतमा कसैको मन बहलाउदैन साथी आजकल ! आतिश असलमले भेडाको स्वरमा गाएको गीत र साकिराले गएको “ओक्का ओक्का” भन्ने गीत पो हुनु पर्थ्यो त । यो पनि दिइन, ऊ पनि दिइन, यसो पनि गरिन, उसो पनि गरिन भन्छस् । जागिर कसरी खाइस् त ? लोक सेवा पास गरेर । लोक सेवा त पास गरिछस्, तर स्वास्नी खुशी राख्न यति ठूलो अग्नि परिक्षा पास गर्नु पर्दैनथ्यो ? अरु के कारणले छोडी होलि त तेरी श्रीमतीले ? रुद्रमणिले विचार गर्यो । उमेरको दश वर्ष फरक थियो, पढाइमा ऊ एम ए पास थिई, रुद्रमणि स्नातक मात्र, रुपमा ऊ राम्री थिई । ऊ कूल घराना कि थिई, रुद्रमणि गरिब घरको । ऊ आधुनिक विचारकी, रुद्रमणि पुरातनवादी सोचको । ऊ ह्रिस्ट पुस्ट थिई, रुद्रमणि शारीरिक दूर्बलताले खाइसकेको थियो । उसको र रुद्रमणिको प्रकृति पूर्व र पश्च्चिम जस्तो फरक, राजनीतिक विचार धारा पनि अलगै …..उसले यिनै कुराहरुको निचोड निकाल्दै भन्यो, अनि अडिन्छे तेरी स्वास्नी…. ? .गरी नि सम्बन्ध बिच्छेद !!

एल एन सुवेदी ”हस्ती”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

2 thoughts on “सम्बन्ध बिच्छेद (लघु कथा)”

  1. शुद्धाशुद्धीमा ध्यान पुगेन जस्तो छ ।
    एल.एन. जी कथा राम्रो लाग्यो । तर अलि शुद्धाशुद्धीमा विचार नपुगे जस्तो लाग्यो ।

  2. ठिस बुढा

    सम्बन्ध बिच्छेद
    सम्बन्ध बिच्छेद… अनि तितो सत्य ।
    मिठो, दमदार, रोचक…
    अझै यस्तै यस्तै रोचक कथा पढ्न पाउने आशा राखेको छु।

    धन्यवाद मझेरी, धन्यवाद एल एन सुवेदी ‘हस्ती’ ज्यू।

Leave a Reply

Your email address will not be published. Required fields are marked *