Skip to content


धर्मानन्दको घरको बत्ती निभेको पनि दुई बर्ष नाघिसकेछ । घाउ निको भएको छैन, समय निकै अगाडि कुदिसक्यो । कान्छो छोरो मरेको छ महिना नपुग्दै स्वास्नीले देहत्याग गरी । हल कनाहा हुँदा पनि जसो तसो काम चल्छ, तर जोडी छुट्टिएर एक्लै हुँदा भने जिन्दगी सकस हुने रहेछ ।

आज दशैंको टीकाको दिन ! धर्मानन्द बिहानै उठ्यो, वस्तु भकारा सक्यो । घर लिपपोत गर्यो, सूची भयो र नुहायो । छोरीहरूलाई सिकुवा आँगन सफा गर्न लगायो । खानाका केही परिकारहरू बनायो । आफूले टीका लगाउन नपाए पनि छोरीहरूलाई त समयमा नै लगाई दिनु पर्यो भनेर सबै सरजाम ठीक पार्यो ।

माथि गुम्बाबाट लामाहरूले फुकेको एकोहोरो शंखको ध्वनि आयो । पारिपट्टिका मेजरले तोप पड्काउने भन्दै भरुवा बन्दुक पड्काए । धर्मानन्दले सम्झ्यो, टीकाको साइत आएछ । जेठी छोरीलाई टीका लगाउँदै धर्मानन्द घोरियो ।

जेठो छोरो छुट्टी पुगिकन पनि दशैमा आएन । आमा र भाइको पीरले अझै पीडा थपिन्छ भनेर होला । ऊ आएको भए मेरो मन अलिक हलुका हुने थियो । बहिनीहरू खुशी हुने थिए । आमा-बाबुले टीका लगाएर आशिर्बाद दिदै आमाका हातले बनाएर दिएका मीठा खानेकुरा सम्झ्यो ।

अहिले भित्तामा झुन्ड्याएको क्यालेन्डर घामले खाएर सबै अक्षरहरू उढे जस्तै धमिलो आकृतिमा आमा-बाबु देखा पर्दै भने, “बाबै हामी नभए पनि दशैं राम्ररी मनाएस् है !”

जुँगाको रेखी बस्दै गरेको कान्छो छोरोलाई हैजाले लागेको दिन सम्झ्यो र भन्यो, “भगवानले म माथि ठूलो अन्याय गरेका छन् ।”

जवानी हुँदै क्षय रोगले खाएकी स्वास्नी केशरी ओठमा लत्पतिएको लिपिस्टिक सहित राता कपडामा सजिएर अगाडि देखा परी र भनी, “सधैं त मलाई अगाडि टीका लगाई दिनुहुन्थ्यो त खसम ! के छोडेर गएको दुई बर्ष पनि नबित्दै मलाई बिर्सनु भयो ? जीवित हुँदा सधै साथ दिएकी थिएँ त !”

केशरीले बररररर आँसु झारेको देखेर धर्मानन्दले केशरीको निधारतिर टीकाको हात बढाउदै भन्यो, “केशु ! म तिमीलाई नै टीका लगाई दिंदैछु त ?”

धर्मानन्दको हातको अक्षता सबै भुइँमा झरेपछि उसले ठूलो आवाजमा घुक्का छाड्यो । टीका थाप्न बसेका उसका दुईटी छोरीहरूले पनि कोलाहल मच्चाएर रुन थाले ।

एल एन सुवेदी “हस्ती”

Leave a Reply

Your email address will not be published. Required fields are marked *