दशैं खर्च सहित तीन महिनाको तलब बुझ्दा बाटुले प्रसाद निकै दंग पर्यो । घरका सारा अभाव यस पटक टर्ने भए भन्दै हाकिमसँग आशिर्बाद लिएर बिदा हुन हाकिमको कोठामा पस्यो ।
हाकिमले सोध्यो, “तलब बुझ्यौ त बाटुलेप्रसाद ?”
“बुझें सर !” बाटुले मुस्कायो । “सर ! अष्टमीको दिन मेरो घरमा ज्यूनारको लागि पाऊ कष्ट गरी दिए मेरो घर पवित्र हुने थियो ।”
हाकिमले गोजीबाट दुई हजार निकालेर दिदैँ “दशैं राम्ररी मानेस्” भन्यो ।
बाटुलेका आँखा भरिए । नासु र खरदारसँग पनि मिलौ भन्दै उता पस्यो । त्यताबाट पनि दुई पाँच सय पायो । उसले पुराना हात्ती छाप चप्पल फेर्ने विचार गर्दै जुत्ता दोकानमा पसेर कपडाका गोलीगाँठा छोप्ने जुत्ता किन्यो । बुढीको लागि एउटा बाक्लो कराई र प्रेसर कुकर किन्यो । फाट्न लागेको जरिकोटको एउटा गोजीमा नानीहरूलाई चकलेट हाल्यो र अर्कोमा दुधिया भोड्काको सानो बोतल राख्यो । घर पुगेर सामान बूढीको हातमा थमायो र भोड्का खोलेर एकै सासमा स्वाहा पार्यो ।
बाटुलेले पकेट डाइरी निकाल्दै स्वास्नीसँग सल्लाह गरी एक एक गरेर किन्ने समानको लिस्ट बनायो । सानो खसीको लागि अलग बजेट, छोरा छोरी र स्वास्नीको आंग ढाक्नको लागि अलग बजेट छुट्यायो । घरमा चाहिने मरमसला सातु समालको लागि अलग बजेट निकालेर स्वास्नीको हातमा राखी दियो ।
लत्ता कपडा र खसी किन्न हिडेको बाटुलेले खेचा साहूको आँगनमा जूवाको खाल बसेको देख्यो । बाटुलेले सयको नोट च्याखें थाप्यो । दुई सय पायो । दुई सय हान्यो, त्यो गयो, पाँच सय हान्यो, त्यो पनि गयो ।
“ल ल रोपे फल्छ, हान् बाटुले” भन्दै मानिसहरूले उकासे ।
बाटुलेले आसासिदैं हजारको नोट हान्यो, त्यो पनि गयो । पकेट खर्च बाहेक सबै पैसा दाउमा हान्यो । अमिलो मुख पर्दै मैचाका होटल भित्र पस्यो र एक ट्वाक लोकल रक्सी सुट्कायो र मुख आँ गरेर ह्वावावा गर्दै सास फ्याँक्यो । हाड र छाला मात्रै भएको फुल पार्न लागेको पोथी कुखुरो च्यापेर गल्लीको बाटो हुदैं घरतिर लाग्यो ।
अलिक पर पुगे पछि पेन्टको पछाडिको गोजी धूजा पार्यो । घर पुग्दा स्वास्नीले सोधी, “यो के गरेको बूढा तिमीले ?”
बाटुलेले नरम हुँदै “पाकेट माराले भिडमा सबै पैसा उढाएछ” भन्दै पकेट देखायो ।
एल एन सुवेदी “हस्ती”
