विहानको सूर्योदयसँगै राम भुजु, बगरे बजारको एउटा कुनाको सानो चिया पसलको पलङ्गमा बसेर खलियाँ कुर्मीको शरीरको आगाडिको आकर्षक भागतिर दृष्टीगोचर गर्दै त्यसैको मजामा चियाको चुस्की र बिँडीको सर्को तान्ने तरखरमा थियो । खलियाँ त्यस्तै ३५/३६ की हुँदी हो । सानो चिया दोकानबाट घर गुजारा गर्नु पर्ने । यसो निहुरिएर चनाको तरकारीमा हाल्नको लागि जीरा र खुसार्नी पिँधिरहेकी छे । यसै बेला उसका अलि अलि फाट्न लागेका कपडाबाट आधा जति बाहिर चियाउन लागेका लाजतिर हेर्दै रामभुजु निकै रातो पिरो भई सकेको छ । यत्तिकैमा “चिया खाइसक्यौ, राम भुजु ?” भन्ने शतिबार रावतको आवाज सुनेर रामभुजु झसङ्ग हुन्छ ।
“हँ हजुर ! खाएको छैन । चिया खाइन्छ की पिइन्छ ?” करमविर कराउँदै आइपुग्यो ।
“यहाँ यस्तै यस्तै उल्टा उल्टा अर्थ लाग्ने गर्छन् बुझ्यौ !” धनीरामले अलिक आक्रोस पोख्न खोज्यो ।
“कसले के को उल्टो अर्थ लगाएको छ ? हामीलाई उदाहरण देउ त,” वडा अध्यक्ष बम्क्यो ।
“के को भन्नु ! मान्छेको, खानाको, समाजको, छिमेकीको, चरित्रको, राजनीतिकको, लोकतन्त्रको….आदि आदिको ।”
गा.वि.स अध्यक्षले गम गर्यो । “अँ यी र यस्ता कुराहरूको साँच्चै नै उल्टो अर्थ लगाइन्छ । हो ! मेरो गा.वि.समा आएको रुपैया सबै वडामा बराबरी गरी बाँडफाँड गरेर विकासको काममा लगाएँ । तर मान्छेहरूले उल्टो अर्थ लगाए । गा.वि.स. अध्यक्षले सबै पैसा खायो भने ।”
गा.वि.स अध्यक्ष सोचमा पर्यो “मैले कमल खोलामा पूल हालें, तर पैसा खायो भने । कहंी पैसा पनि खाइन्छ ? हो खाइन्छ, घूस खाइन्छ, खसी खाइन्छ, मासु खाइन्छ, रक्सी खाइन्छ, तर मान्छेले पैसा खाएको आज सम्म मैले कही पनि देखेको छैन । म यिनीहरू सबैलाई सम्झाउँछु,” भन्ने तरखरमा पुगेको अध्यक्षले बोल्न नपाउँदै, जे.टि.ए टुल्लुरामले प्वाक्कै मुख खोल्यो, “हुजुर ! मान्छेहरूले, कृषि विकास शाखाबाट आएको तरकारीको बीऊ सबै खायो भनेर म माथि उल्टो अर्थ लगाए ।”
समाजसेवी कूलमणिले नम्र भाषामा भने, “हेर टुल्लुराम ! सायद अलि अलि वितरण गरेर बाँकि रहेको खायौ कि ?”
उसको सहायक भक्भकायो, “बीऊ खाएको हैन बाजे ! बीऊबाट उब्जिएको तरकारी खाएको ।”
भेला भएका सबै जना उसको मुखमा हेर्दै थिए । यत्तिकैमा मान्छेको भीडबाट अगाडि सर्दै एउटा लक्का होनहार जवानले भन्यो, “यहाँ सबै कुराको छानविन हुनु पर्छ । सबै कुराको परिभाषा हुनुपर्छ । यति गरियो भने सबै पारदर्शी हुन्छ ।”
युवकको चोटिलो कुरामा दत्तचित्त भएर युवकलाई सवैले निहालेर हेर । ढाकाको टोपी लगाएको, कपडाको जुत्ता, साधारण सट-पेन्ट, गलामा मफलर, नाडीमा एच.एम.टी. घडी लगाएको, बाँया कुममा कपडाको झोला भिरेको, शिरुपाते जुङ्गा राखेको जोशिलो युवकको कुरामा सबै सहमत भए ।
“हो ! सबै कुराको परिभाषा हुनु पर्छ । तर एक एक जनाले पालै पालो गरेर बोल्नु पर्छ ।”
गा.वि.स अध्यक्षले रुलिङ्ग गर्ने भए । “तर के कुराको परिभाषा गर्ने ?” एउटाले प्रश्न गर्यो ।
सबैले युवकलाई हेरे । युवकले जम्मा तीनवटा कुराको परिभाषा गर्नुपर्छ भन्यो । १) मानवीय चरित्र २) राजनीतिक आचारण र ३) लोकतन्त्र । सवैले ताली पिटे । अध्यक्षले घडी हेर्दै भने, “हामीले समयको पनि ख्याल गर्नु पर्छ । आज हामी एउटा शीर्षकलाई परिभाषित र त्यस माथि छलफल गर्नेर्छौ । त्यो हो लोकतन्त्र ?”
अब पालै पालो सबैले बोल्ने क्रम शुरु भयो । अध्यक्षले छेउमा बस्नेलाई ईशारा गरे । ऊ उठ्यो र शुरु गर्यो “हामी “लोकतन्त्र”लाई समाजको मेरुदण्डको रुपमा लिन्छौ । यसले मानिसको न्यूनतम आवश्यकतालाई परिपूर्ति गर्छ । हामीले पञ्चायती व्यवस्थामा पनि सुधारिएको पञ्चायती प्रजातन्त्र लागू गरेका थियौ । त्यो एक अर्थमा लोकतन्त्र नै थियो । अर्थ व्यवस्थामा पञ्चशिलको सिद्धान्त थियो । त्यो तीसवर्ष चल्यो बुझ्यौं……..” भन्न नपाउँदै राम लोचनले आँखा राता राता पार्दै “तँलाई पञ्चे, मण्डले । ए ! तँलाई अझै तीस वर्षले पुगेन र ……?” भन्दै गर्दा, “शान्ति – शान्ति –” भन्दै अध्यक्षले हल्ला साम्मे पारे ।
अब कूलमणि बाजेको पालो आयो । बाजे बोल्दै गए । लोकतन्त्र भनेको प्रजाका वा देशका नागरिकका हितमा शासन गरिने पद्धति हो । यसमा गाँस, बास र कपास हुन्छ । वाक स्वातन्त्रता हुन्छ, प्रेश स्वातन्त्रता हुन्छ, हिंडडुल गर्ने स्वातन्त्रता हुन्छ । यो शासन गर्ने एउटा सर्वोत्तम विधि हो । बीपीले हामीलाई त्यसै भनेर जानु भएको छ ।”
अब युवकतिर सबैका आँखा मोडिए । युवक तेजिलो पाराले धारावाहिक रुपमा बोल्न शुरु गर्यो, “मेरो विचारमा र हाम्रो पार्टीले व्याख्या गरेको आधारमा लोकतन्त्र भनेको सर्वहारा वर्गको अधिनायकत्व हुने गरी जनताको हितमा, जनताका प्रतिनिधिले, जनताको लागि गरिने शासन ब्यबस्था हो ।”
यसमा बाजेले भने जस्तै – “गाँस, बास, कपास हुन्छ । हामीले समुन्नत लोकतन्त्रमा स्वातन्त्रता, शिक्षा, स्वास्थ्य, नागरिक हक, मानव अधिकार र रोजगार पनि थपेका छौं । यसमा प्रेश स्वतन्त्रता, वाक स्वतन्त्रता पनि हुन्छ । यसले समाजमा रुपानतरण ल्याउँछ । यसलाई अर्को भाषामा भन्दा “लोकतान्त्रिक समाजवाद” हो ।”
अर्को अलिक पेट निस्किएको पचास जति बसन्त निली सकेको विद्वानले लोकतन्त्रको परिभाषा दिन थाले, “के भन्छन् भने हाम्रो पार्टीको अध्क्षय पथले परिभाषा गरेको लोकतन्त्र अलिक फरक छ । देशको यथास्तिथिबादी, सामान्तिबादी चिन्तन भएका, नोकरशाह, पूजीवादी, साम्राज्यबादी सबै शक्तिलाई सखाव परेर, तिनीहरूको सफाया गरेर हाम्रो पार्टीले गर्ने जस्तो शासन प्रणाली नै अग्रगामी लोकतन्त्र हो भन्ने हामीलाई लागि राछ ।”
सुर्तिको धुवाले अंगार जस्ता काला काला ओठ भएको मूठा जुँगा पालेको हेर्दै डरलाग्दो मान्छे उठेर भन्यो, “अरे हो कामरेड ! तपाईले भनेको कुरा सबै ठिक भई हाल्छ ! हाम्रो मधेश कहाँ गयो ! खोई मधेशीको लोकतन्त्र ! हामीलाई एक मधेश एक प्रदेश चाहिदैन ! तपाईहरूले हामीलाई मधेशबाट बन्चित गर्नु भो भने सारा मधेश लिएर उता पसी हाल्छौं । हाम्रो दह्रो शक्ति उतातिर छ । तपाई के गरिहाल्नु हुन्छ !” उसले बर्षौ देखिको तितो पोखी दियो ।
यतिकैमा त्यस्तै पैतालिसको जस्तो देखिने एक हातमा लोती छिनेको हात्तीछाप चप्पल बोकेर एउटा खाली खुट्टामा लर्खरिदै कराउँदै आयो, “तिमीहरू सबै लोकतन्त्रको अपव्याख्या गर्छौ, के सरकार जोगाउन एकै पटक पाँच-पाँच मन्त्रीहरू थाइलैण्ड जानु, त्यसैका नाममा सूरा सुन्दरीको प्रयोग हुनु, प्राडो पजेरो विना भञ्सार ल्याएर व्यापारीलाई बेच्नु लोकतन्त्र हैन ? यसो गर्दा कस्को मानव अधिकार हनन भयो ?”
“अर्थ मन्त्री हुँदा कसैले बोराका बोरा सुन खाए, कसैले लाउडा खायो, खोर्साने माइलाले ४ करोडको घर बनायो, पूर्व सञ्चार मन्त्रीले मोवाइल फोन खायो । यी सबै लोकतन्त्रका तत्व हुन् । जोडसँग हाँस्दै पन्द्र हजार मान्छेलाई स्वाह पार्नु, राष्ट्रको ढुकुटी आफू खुशी बाढेर कार्यकर्ता पाल्नु, छोरोलाई सगरमाथा चड्नको लागि दुई करोड दिनु यो के हो ! लोकतन्त्र होइन ! संसदले अपहरण गर्नु, सभासदले रातो पासपोर्ट बेच्नु यो के हो ! तपाईहरूले ल्याएको लोकतन्त्र होइन ! छोरीको विहे गर्ने निहुँले पैसठ्ठी करोड सरकारको पैसा आफ्नो राजकीय ढुकुटीमा लानु झन् महालोकतन्त्र – जनवादी नेताले स्वास्नीका नाममा छाउनीमा बेल्जियमबाट चेन्जेबल शिशा मगाएर तीन तलाको घर ठड्याउनु, सभासद भएर पुलिसमा जागिर लगाइ दिन्छु भनेर पैसा लिदै हिरासतमा बस्नु ! त्यसलाई के भन्ने ? लोकतन्त्र हैन ?”
अलिक गम्भीर अनुहार बनाउँदै “अँ मेरो होनहार छोराको नयाँ सत्ताधारीहरूले घाँटी रेटेर स्वाहा पार्नु र छोरीलाई पुराना सत्ताधारीले सामूहिक बलत्कार गरी इहलिला समाप्त पार्नु चाहिं उत्तम किसिमको लोकतन्त्र हो । तपाईहरूको लोकतन्त्र भनेको असनमा महिनौदेखि थुप्रिएर रहेको फोहोर गनाए जस्तै हो, बिष्णुमतिमा बगेको मैलो र दुषित पानी जस्तै हो ! तपाईहरूले ब्याख्या गर्ने लोकतन्त्र ।” आँखाबाट आँसुका धारा बगाउँदै लोकतन्त्र जिन्दावाद – लोकतन्त्र ….. भन्दै सुइँकुच्चा ठोक्यो ।
भेला भएका मानिसहरू सबै मुखा मुख गर्दै थिए । त्यसै बेला छेउको पलंगमा घुडा सम्म लुंगी फर्काएर बसेकोको छेदीलाल गर्ज्यो, “तपाईहरू जे सुकै भन्नुहोस्, आफू त राम्रो भए यता बस्ने गडबड भए उता पस्ने” भनेर सबैको मुख बन्द गराई दियो ।
एल एन सुवेदी “हस्ती”
मंगलबारे ५ ईलाम
हाल स्दूबई, यू ए ई

Nice article
Very good & cantemporary article….keep going on ……..cheers !!