Skip to content


प्रेमचन्दलाई आर्थिक विषमता र पारिवारिक जिम्मेवारीको कारणले गर्दा जुँगाको रेखी नबस्दै गाउँ छोडेर हिड्नुपर्यो । पढाइलाई वीचैमा पूर्ण विराम लगायो । एक कोरी बर्षै नपुगी बिचरा कहाँ हो कहाँ हानियो । जानु कहाँ नै थियो र ? पढाइ राम्रो र आर्थिक सम्पन्नता भएको भए यूरोप, अमेरिका, जापान, सिंगापुर । त्यसो नभए त आफ्नै इमान र इज्जतलाई धितो राखेर आत्मा रुवाउँदै जाने पानी पँधेरो जस्तै ठाउँ त्यही अरब त हो नि !

बुझ्नेहरूले तातो बालुवाको भारी र तेलका ग्यालिनमा छाँदिएर हिडेको होला भने । नबुझ्नेहरूले लाहुरतिर गएको छ । सुन-चाँदी र पैसाको बिटो च्यापेर केटो आउँछ भने । आवश्यक कागजात र दुई-तीन जोर कपडा झोलामा खाँद्यो । बाबु-आमालाई दण्डवत गर्दै प्रेमचन्द चूपचाप बाटा लाग्यो । पारीको चौरमा गएर एक छिन आफ्नो घरगाउँलाई हेर्यो र अनुहारमा अमिलो खन्याउदै भन्यो, “आफ्ना साथीहरू गाउँमा अटाउँछन्, उमेरै नपुगी के भएको होला मलाई ?” फेरि मुखियाले खेताला लगाउने टारी खेत हेर्यो, छिमेकी लाहुरेको टिनको घरमा आँखा डुलाउँदै सोच्यो, “दुईचार वर्ष दु:ख गर्नु पर्छ ! तेरो पनि दिन पर्किन्छ ।”

आफ्नो गन्तव्य पुग्यो । काम कुर्चीमा कोट झुन्ड्याउने सोचेको थिएन । आफूले सुनेको र सोचेकै जस्तो काम पायो । दुई वर्षमा घर आयो । मान्छे खाई लाग्दो र हट्टाकट्टा देखिन्थ्यो । ऋणपान तिरोभारो गर्यो । मुखियाको टारी खेत नै नकिने पनि छि : भन्ने किनेन । भाइ-बहिनीहरू पढाउँदै गयो । अर्को छुट्टीमा बहिनीको बिवाह गर्यो । भाइलाई काठमाडौँ पढ्न पठायो । बूढाले भने, अब त जोडी बाँध हौ केटा ! त्यस पछिको छुट्टीमा बिहे गर्यो । सोच्यो अब दुई बर्ष बसेर आफ्नो लागि केही गर्छु । यतिकैमा छोरो जन्मियो । अब उसको पढाइको लागि अरु दुई वर्ष बस्ने सोच बनायो । गाला भासिदै जान थाले । उमेर मध्यान्नको सूर्य भयो । छोरोलाई शहरमा पढाउनु पर्ने,परिवार शहरतिर सार्यो । अरु दुई वर्ष भन्दै आफैंलाई ढाँट्दै गयो ।

छोरोले मोबाइल र ल्यापटपको माग राख्यो । फेरि अरु दुई बर्ष बसौ न त भन्यो । यता उमेर, जोश र जाँगरमा सुख्खा लाग्दै गयो । आफूलाई फिटफाट राख्न बेलाबेला औषधी खाँदै गर्थ्यो । छोरोले फेरि सानो माग राख्यो, एउटा पल्सर मोटर साइकल नभए साथी भाइका अगाडि के मुख देखाउनु ? अब छोरोको माग पूरा गरी फर्किन्छु भन्यो । बिस्तारै हातखुट्टा बास बसे । औषधी मुलो गर्दै गयो र सोच्यो अब त घर फर्किन्छु । दबाई पानीले उसैलाई खान थालेपछि एक दिन आफ्नो कर्म थलोमा एक मुठी सास फुस्सै हावामा उडाई दियो… ।

एल एन सुवेदी “हस्ती’

Leave a Reply

Your email address will not be published. Required fields are marked *