Skip to content


उनलाई मानिसहरूले शुरुमा पण्डित मोतीखर भनेर चिन्थे । पण्डित्याइँ काम खासै गरेनन् । पूर्खाले कमाएको नै अथाह सम्पति थियो । पहाडमा आँखाले भ्याएसम्म जग्गा जमिन थियो । मधेशमा पनि एउटा मौजा नै समालेर बसेका थिए । उनी पंचायत कालको गाससदेखि लिएर लोकतन्त्रको मन्त्रीसम्म भए । मन सेतो भएको हुनाले मोतिखरको कपडामा कहिल्यै कालो दाग लागेन । बरु उनले अरुलाई दिएर खाए अरुको लिएर खाएनन् । झन्डै एक दर्जन पटक मन्त्री भएका मोतिखरको एउटै महत्वाकांक्षा थियो, समाजमा आदर्श नेता र कुशल वक्ता बन्ने । आदर्श नेता थिए, त्यसमा दुई मत थिएन । तर भाषण गर्दा र महत्वपूर्ण ठाउँमा बोल्दा उनी धेरै पटक विवादमा परे । कान अलिक कम सुन्ने भएकाले कहिले कहीं एउटा सुन्ने ठाउँमा अर्को सुन्थे । बेला बेलामा अर्थको अनर्थ लाग्दथ्यो ।

एक पटक राजाको कालमा उनी भ्रमण मन्त्री थिए । भाषण गर्दै भने, “मेरो सरकारले यसै आर्थिक वर्षमा यो गाउँको बाटो पीच गरी बक्सनेछ ।” झन्डै राजाको चेताउनी पाए । मन्त्री छँदै अमेरिकाको भ्रमणमा गए । अमेरिकामा रेस्लिंग खेलेको देखेछन् । फर्किएर आए पछि एउटा कार्यक्रममा प्रमुख अथिति उनी थिए र विषेश अतिथि अमेरिकी राजदूत । अंग्रेजी भाषा सामान्य ताता तुतु मात्रै गर्थे । भाषण गर्न शुरु गरे, सभाको सभापति र राजदूतलाई सम्बोधन गर्दै भने, “सभामुख महोदय, युअर एक्सिलेन्ट (Your Excellency भन्नु पर्ने ठाउँमा ) भन्दै बोल्दै गए…….तपाईंहरूले हामीलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा पुर्याउनु भएको सहयोगको लागि धन्यवाद दिन चाहन्छु । र भविष्यमा पनि यो सहयोगको निरन्तर उपेक्षा गर्दछु । अपेक्षा भन्ने ठाउँमा उपेक्षा भनेको सुनेर उनको स्वकीय सचिवले कानै छेउमा गएर भन्यो । बूढा ! के को उपेक्षा भन्या ? आशा गर्छु भन्नु नि ! भाषणको आवेगमा आएका मन्त्रीले प्रस्ट कुरा बुझेनन र भने, के को आशा ? त्यो हिन्दुस्थान कि गीत गाउने आशा भोसले ? अहिले तिनको चर्चा गर्ने बेला भएको छैन । के हाम्रा रानु देवी, अरुण लामा, तारा देवीको नाम निशान मेटियो ?

उनले राजदूततिर हेर्दै भने, युअर एक्सिलेन्ट ! तपाईहरू हाम्रो देशमा लडाईं झगडा भएको छ भन्नु हुन्छ । अस्ति म अमेरिका जाँदा दिउसै हजारौं मान्छेका अगाडि यत्रा-यत्रा कपाल काटेका मुडुला भुसतिग्रेहरूले दिन दाहाडै रक्सी धोकेर कुटाकुट गरेको फोटो मेरो सचिवले खिचेको छ (रेस्लिंग सम्झिए छन्) । मन्त्रीको भाषण सुनेर राजदूतले मुस्काउँदै भने, “गुड स्पिच, गुड स्पिच” । छेउमा बसेका प्रधान न्यायधिशलाई सचेत गराउन खोज्दै उद्घोषण गर्नेतिर फर्किएर भने, “श्रीमान् ! अब न्यायलयले पनि सुधार गर्नु पर्ने बेला आएको छ । अगाडिका दर्शकहरू गललल हासें पछि भने हो यसरी कुरा बुझ्नु पर्छ । शहिद दिवसका दिन सहिदका बारेमा बोल्दै भने, “ जति धेरै शहिद हुन्छन्, त्यति नै देशको विकाश हुने रहेछ । उत्तेजित हुदैं भने, “तपाईंहरूका छोरा छोरी मेरा पनि छोरा छोरी हुन्, तपाईका बाबु आमा मेरा पनि बाबु आमा, तपाईहरूका श्रीमती मेरा पनि श्रीमती”……भने पछि दर्शकहरू अलिक तितर बितर हुन लागेको देखेर भाषण छोटो पर्दै भने, “सम्बृद्ध नेपाल बनाउन अझै धेरै शहिद बनाउनु पर्छ र शहिदको सपना सकार पार्नु पर्छ ।”……………

एल एन सुवेदी ”हस्ती”

1 thought on “शहिदको सपना”

  1. ठिस बुढा

    “शहिदको सपना”
    एल एन सुवेदी ‘हस्ती’ ज्यू को निक्कै रोचक-घोचक कथा पढ्न पाएकोमा खुशी छु।
    निक्कै मन पराएँ।

    धन्यवाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *