Skip to content


मेरो सानैदेखिको सपना अमेरिका थिएन । यूरोपका कुनै चामत्कारिक विकाश भएका देशको कल्पना पनि थिएन । त्यहीँ पर्तिर सीमाना जोडिएको छिमेकी देश भारत पनि थिएन । आफ्नो जिल्ला छोडेर अर्को जिल्ला वा क्षेत्रमा गएर बस्ने चाहना पनि थिएन । गाउँकै माटो सुँघियो, लडीबडी गरियो, गाउँबेशीका गीतले बाल्यकालका दिनहरू बिते । जननीले यहीं खसालिन् । अरु पनि यहीं खसे । यहीं मरे । म पनि त्यही त हो भन्ने लाग्थ्यो । अँझ मलाई त के पनि लाग्थ्यो भने मेरा सारा परिवार आफन्तहरूसँग वरिपरि बसौं, मीठो मसिनो जो मिल्छ त्यही खाउँ । कसैको मृत्यु नहोस्, कसैलाई दु:खान्त कहानीको सामना गर्नु नपरोस् । होइन ! परमेश्वरको विधान नै मान्ने हो भने पनि मेरा अग्रज जहाँ जान्छन्, म पनि त्यहीँ जाउँ, उनीहरू जो बाटोमा हिंडे मेरो बाटो त्यही होस् । असल र परोपकारी काम मात्र गरौँ । तर त्यसो नहुने रहेछ । म बालक हुँदा डाँडाका घाम भएकाहरू एक पछि अर्को हुदैं गए । जो जवानी थिए तिनीहरू बूढाबूढी हुदैं गए र धमाधम मानो चामल बिसाउन लागे । समय चक्र र जीवन चक्र एकै जस्तो हो रहेछ । दिन रात महिना हुँदै वर्ष बित्दै जान्छन् र नयाँ वर्षा शुरु हुन्छ । वर्षहरू बित्दै जान्छन् र युग शुरु हुन्छ । मान्छेहरू जन्मन्छन्, बढ्छन्, जवान हुन्छन् फेरि बूढाबूढी हुदैं जान्छन् र फेरि इहलिला समाप्त हुन्छ । कोही जन्मदा नै मर्छन्, कोही बाल्यकालमा मर्छन्, कोही जवानीमा जान्छन् । तिनीहरूलाई अपवाद छोडेर हेर्ने हो भने समय र मानिसको जीवन चक्र उस्तै उस्तै लाग्छ । समय हरेक दिन, महिना र वर्षा उस्तै र उसै गरी आउँछ । मानिसको जीवन नयाँ अवतार हो कि जस्तो लाग्छ । मानिसहरू रुप फेरिएर आउँछन्, फेरि जान्छन् । युगौंयुग यसरी नै चलेको छ ।

सास्त्व सत्य मान्नु पर्ने रहेछ । त्यो भनेको मृत्यु हो । हाम्रो समाज र परिवेश पनि यसरी नै मृत्युको मुख वरिपरि घुमेर चलेको छ । म पनि त्यसैको एउटा पात्र हुँ । मेरो परिवार र आफन्तहरू पनि उही उपस्थितिका पात्र हुन् । म हामी र हाम्रो समाज वरिपरिको वातावरण र परिवेशलाई गहिरिएर अनौठो तरिकाले नियालेर हेर्छु । हरेक कुरा एकापसमा समानान्तर र परिपूरक लाग्छ । मानिस, वातावरण र प्रकृति वीच एकै किसिमको तादम्यता छ । सबै बिहान उदाएर बेलुका अस्ताए जस्ता । मानिस, बनस्पति, चराचुरुंगी र जनावर वीचको आपसी सम्बन्ध बडो गजब र अनौठो समानतामा अडिएको छ । जन्मिने बढ्ने, हुर्किने मर्ने सबै एकै किसिमको । आफू जीवनको आधा अंश पार गरिसकेकोले म नयाँ जन्म त्यसको विकाश र पूर्ण जवानीमा खासै ध्यान दिन्न । तिनीहरू अपूर्ण छन्, पूरा हुन अँझै समय लाग्छ । भविष्य कसले देखेको छ र ? भन्ने भनाइलाई म विश्वास गर्छु ।

म मृत्युको खोजी गर्दै छेउबाट नियालेर हेर्छु । यो कहाँ छ, के गर्छ, किन लुकेर हिड्छ भनेर । यो एउटा अदृश्य वस्तु हो । अदृश्य शक्ति हो, कसैले देखेको छैन र देख्दैन । अनुभूति गर्छ र हतास भएर भन्छ काल आयो कि के हो ? एउटा मानिस आएर भन्छ, त्यसकी हजुरआमा बितिछन् । म भन्छु, उमेर भैसकेको थियो, ठिकै भएछ । अर्को आएर ठाडो भाषामा भन्छ, त्यो टार घरेको छोरो मरेछ । म सहज रुपमा भन्छु,”सुस्त मनस्थितिको थियो” दु:खै लुकाएछ । तेश्रोले भन्छ रानीपौवामा विका टीका सर बित्नु भएछ, म अलिक झस्किएर भन्छु । ओहो ! कसरी त्यस्तो भयो ? चालिस नै पुगेका थिएनन् । मृत्युले चालिस र बीस नभन्ने रहेछ दाइ भन्दै ऊ गयो । फेरि अर्कोले आएर भन्यो, बिमला भाउजू सुत्केरी हुदैं गर्दा मरिन् रे । म त्रस्त र आक्रोशित मुद्रामा भन्छु । नचाहिने नचाहिने कुरा नगर न । उसले भन्यो सत्य कुरा स्वीकार्नु पर्यो दाइ ! मेरो दिमाग चड्किन लागेपछि मैले भने…..आ ! जो जो मर्छन् मर्न देओ, मैले रोकेर रोकिन्छ र ?

तर मृत्युले मेरो मस्तिकमा स-साना छिद्र पारिसकेको थियो । मैले मृत्युको चरित्र हेर्दै गएँ । उसले एक पछि अर्को गर्दै, मानिस,चराचुरुंगी जनावर र वनस्पतिलाई ठूलो बाटोमा अगाडि अगाडि लगाएर ऊ पछि पछिबाट धपाउँदै हिंडेको देखें । धेरै हिंडेपछि जंगलले छोपिन लागेका अनगिन्ती बाटाका मलिन धर्षाहरू कोरिए । कोही सहायक बाटोतिर लागेर हराउँदै गए । मूलबाटै मूल बाटो अगाडि जानेहरूको आकृति सानो मधुरो हुदैं गयो र आखिरमा तिनीहरू पनि बिलय भए । उनीहरू कहिल्यै फर्केर आएनन् । आखिर कहाँ गए, के भए केही थाहा भएन र यकिन गरियो । तिनीहरूको मृत्यु भइसकेछ । म मृत्युलाई नजिकबाट हेरिरहेको थिएँ । ऊ बडो मिहिनेत र इम्मान्दारीका साथ आफ्नो काम गरिरहेको थियो । पानी-झरी, हावा-हुण्डरी, चिसो-गर्मी दिनरात केही नभनी आफ्नै काममा तल्लिन थियो । साँचो कुरा के थियो भने उसका हात परेपछि जीवात्माहरू फर्किदैनथे । तिनीहरू सदाका लागि जान्थे र त्यसलाई मृत्यु भनिन्थ्यो । धेरै गहिराईमा पुगेकोले फर्किएर यथास्थिति आउन मलाई बडो सकस परेको थियो । धेरै कोशिस गरेपछि म पसिनै पसिना भएर पूर्ववत् अवस्थामा आएँ । नजिकै बसेर चिया र सिगरेट पिइरहेको एउटा साथीले मेरो पसिना र त्रासले भरिएको अनुहार हेर्दै भन्यो, खुस्किन लागिस् कि कसो यार ? अर्कोले मजाकको हाँसोमा भन्यो यो ठिस भएछ हौ । अर्कोले हाँसी मजाक मै भन्यो, यो खुस्केट भयो भन्ने कुरा अस्ति देखि यसको चालचलनले लागि रा थियो । अर्कोले म माथि केही सहानुभूति राख्दै भन्यो, यो त्यसै चाहिँ यस्तो भएको छैन यसले केही छनक पाएर नै यस्तो हुँदैछ । मेरा खुट्टा र शरीर डरले लगलग काँपिरहेका थिए ।

एकै क्षण आत्मा विश्वास दह्रो बनाए झैं गरेर सहज परिस्थितिमा आउने कोशिस गर्छु । साथीहरूले पत्याउँदैनन् । एउटाले डडाल्नामा धाप मार्दै भन्यो, चिन्ता नगर हौ केटा ! हामी के को लागि ? अर्को भन्छ, तेरा लागि ज्यान दिन तयार छौँ यार ! किन चिन्ता गर्छस् ? म एकछिन राहतको सास फेर्छु । फेरि मेरो मन मृत्युतिरै जान्छ र मनमनै भन्छु । म मर्ने ठाउँमा तिमीहरू मरिदिन्छौ र भाइ हो ? एक पछि अर्को मृत्युका घटनाका बारेमा म सोच्न पुग्छु । भर्खरै घटेको सुनकोशीको भयानक र कारुणिक दृश्य मेरो दिमागमा घुम्न थाल्छ । हिजोसम्म दुखिजिलो गरेर बसेका परिवारहरू एकै रातमा कहाँ पुगे होलान् ! ल हराउनेहरू त कहीं गए रे, भोलि आउलान् कि भनी नपत्याउने झिनो आशामा मन अड्याउँला । जो मृत फेला परे, तिनीहरू त मरे नि ! मृत्युले खाएको होइन र ? फेरि फिल्मी नायक श्रीकृष्ण श्रेष्ठको मरणको सम्झना आउँछ । उमेर नै नपुगी बीच बाटो छोडेर गएका इन्द्र लोहनीलाई सम्झन्छु, नराम्रै गरेर मरेको भए पनि चरी विचरा पनि मरे कै त हो नि ! अरु जानेका नजानेका, कर्तव्य र भवितब्यले वरिपरि थाकैथाक पारेर मृत्युले सोहोरेको याद आउँछ । छाती निकै नराम्रोसँग दुख्न थाल्छ, घटीमा सास अड्किएर घिडिक्क हुन्छ । थुक निल्न खोज्छु, मुख घाटी सुकेर अनुहार निलो र फुस्रो भइसकेको छ । कि मृत्यु आइपुग्यो हौ भन्ने लाग्छ ।

म जताततै मृत्यु नै मृत्यु देख्न थाल्छु । मर्न कसलाई मन हुन्छ र ? म मृत्युको पन्जाबाट निस्किने सुरक्षित उपाय खोज्न थाल्छु । नजिकैको ठूलो ढुङ्गामा अढेस लागेर जोगिन खोज्छु, निमेष भरमा नै त्यो बडेमानको ढुङ्गाले मलाई किचेर किमा जस्तै थिली फितिल्ली पार्छ । त्यहाँ पनि भयानक मृत्यु छ । म भाग्दै ठूलो रुखमा चढेर आफ्नो ज्यान बचाउँन खोज्छु । त्यो रुख पनि गर्ल्याम्म ढल्छ र भीरको तलतिर खस्छ । म बेजोडसँग चट्टानमा पछारिन्छु र प्राण खुस्किन खोज्छ । नजिकैको खोला तरेर भाग्ने सुरले म खोलामा पस्छु, खोलाको भंगालोले एकै चोटी हुर्याएर बगाउँदै तल किनारमा फ्याँकी दिन्छ । मलाई हरेक तिरबाट मृत्युले घेरा हालिसकेको हुन्छ । सकी नसकी म भाग्ने कोशिस गर्छु । मेरा अगाडि लामो बिषालु सर्प मतिर डस्नलाई आतुर भएको छ । हरे शिव ! कहाँ भाग्ने होला ? म दौडदै पर उभिरहेको साँढे गोरुको छेउमा सहारा लिन खोज्छु, त्यसले हानेर तीन काल्ला मुनी खसाई दिन्छ । म भाग्दै एउटा घरको तला माथि जानलाई भर्यांग चड्छु, बीचमा नपुग्दै भर्यांग भाँचिएर जाँतो माथि खस्छु । फेरि पनि सास अल्झाउने आशामा अगाडि रोकिएको बसमा हतार हतार गएर चढ्छु, त्यो बस अलिक पर गएर दुर्घटनामा पर्छ । त्यस भित्रका धेरै जना मानिसहरूको मृत्यु हुन्छ । आखिर मृत्युसँग बच्ने ठाउँ कहाँ छ त ?

मैले देखे, कहीं कतै गए पनि मृत्युसँग जोगिने उपाय भेट्दिन, ठाउँ छैन । जीर्ण भएको शरीर लिएर म हेर्छु । यताबाट करवीर मसान जस्तै ठूलो सेतो घोडामा चढेर काला कपडा लगाएको हेर्दै डर लाग्दो खुकुरी भिरेको काल आउँछ । अर्कोतिर हेर्यो लामा दाँत, नंग्रा र कपाल भएको अजीवको प्राणी मतिरै आएको देख्छु । एउटा कालो बिरालाको आकारमा मलाई झम्टिरहेछ । मेरा आँखा तिल्मिलाउँदै जान्छन्, म हरेक कुरालाई मृत्युको रूपमा देख्छु । म आफूलाई बचाउँन एक्कासि चिच्याउँन पुग्छु, मलाई बचाओ यार ! अगाडि उभिएको साथीले एक जग पानी मेरो शरीरमा खन्यायो । अर्कोले ग्लासबाट पानी खुवाउँदै भन्यो, होसमा आइज यार, के भएको छ तलाईं ? म आतिदै भन्छु, म मृत्युको मुखमा पुगेको छु…..मलाई बचाओ । तिनीहरू मलाई भरोसा दिनलाई आकाश पाताल जोड्दै भन्छन्, हेर ! कोही अजमरी हुदैन र काल नआई कोही पनि मर्दैन । सजीव प्राणी मर्नका लागि नै जन्मिएको हुन्छ । यसलाई सजिलो तरीकाले लिनुपर्छ । हामी सबैले एक दिन मर्नुपर्छ (We must die at all……) । मैले बाहिरी रुपमा तिनीहरूको कुरा माने पनि मलाई म भित्रको बाघले खाइरहेको हुन्छ । मृत्यु जताततै घुमिरहेको छ……. ।

एल एन सुवेदी “हस्ती”
न्यूयोर्क, यू एस ए

Leave a Reply

Your email address will not be published. Required fields are marked *