युद्धको निचोड (लघुकथा)

  • by


बाटुलेचौर गाविसका जनताहरू हरेक कुरामा अगाडि थिए । शिक्षा, स्वास्थ्य, राजनीतिक, नैतिक कुराले मात्र होइन आर्थिक रुपमा पनि धेरै अगाडि थिए । हरेक समस्याको समाधान र उचित निर्णय उनीहरू आफैं मिलेर निकाल्ने गर्दथे । बाह्र बर्षे जनयुद्धको प्रचुर प्रभाव उनीहरूको गाउँमा पनि पर्यो । युद्धले नराम्रोसँग सबैतिर क्षति पुर्यायो । “रात बिती, बात बिती” भन्ने कुरालाई मध्य नजर गरेर अबको दिनमा कसरी अगाडि बढ्ने भनेर गाउँमा भेला बोलाइयो । सबै तह र ताप्काका मानिसहरूको उपस्थिति भयो ।

एउटा नेता उठेर कुर्लियो, “जनयुद्धले नेपालीहरूलाई सचेत, स्वातन्त्र र सार्वभौम सत्ता सम्पन्न नागरिक बनाएको छ । यसलाई ठूलो उपलब्धि मानेर अबका दिनमा अगाडि बढ्नु पर्छ ।”

अर्कोले खोक्यो, “दुई सय चालिस बर्षको एकाधिकार केन्द्रिकृत शासन प्रणाली ढालेर गणतन्त्र आएको छ । यो भन्दा ठूलो अर्को उपलब्धि के होला ? त्यसैले पाएको अधिकारलाई सदुपयोग गर्नुपर्छ ।”

अर्कोले मुस्कुराउँदै भन्यो, “हामीले स्वातन्त्रता मात्र पाएका छैनौ, संघीय राज्य प्रणालीमा जाने सुवर्ण अवसर पाएका छौं । बरु अब त्यसलाई कसरी व्यबस्थापन गर्ने भन्नेतिर लागौं ।”

जनताहरूले खुलेर ताली पिटे ।

अर्को उठेर ठूलो आवाजमा भन्यो, “जनयुद्धले के चाहिं गरेन ? शरीर जताततै दुखिरहन्छ । शरीर दु:खेको त सहन सकिन्थ्यो होला तर आत्मा दुखे पछि मान्छे हतास हुन्छ र हरेस खान्छ ।आत्मा बल नभएको मानिस अस्वस्थ हुन्छ, अस्वस्थ मानिसले केही गर्न सक्दैन । हामी केही गर्न नसक्ने मानिस भएका छौं ।”

जनसमूहले फेरि गड्गडाहट ताली पिट्यो । युद्ध ठिक भन्दा पनि ताली पिट्छन्, ठीक होइन भन्दा पनि ताली पिट्छन् ।

सबै एउटा कुरामा सहमत भए । अर्को भेलामा युद्धको उपलब्धिको बारेमा निचोड निकाल्ने र त्यसै अनुसार अगाडि जाने । सहभागी र उपस्थित सबैले घरमा गएर सोच्न लागे । जनतालाई आपसमा लडाएर बनेको नेता, हिजो सम्म हरि कङ्गाल भएर मुखमा माड हाल्न नसकेको तर आज ठूल्ठूला घर गाडी जोड्नेले पनि युद्ध सकारात्मक नै भन्यो । युद्ध लडेको लडाकुले जनताले तिरेको कर सरकारी राहत कोषबाट लिएको रकमलाई बिष सेवन गरे जस्तै मान्यो । लडाईंमा अपाङ्ग भएको, युद्धको दोहोरो मारमा परेर ज्यान बचाउन विदेश हानिएको, पारिवारिक छुट र बेमिलनमा परेको, युद्धमा पति गुमाएर जवानीमा नै बिधवा भएकी एकल नारी, उमेर नै नपुगी लडाईंमा बितेका छोराछोरी सम्झेर पीडाले खाग भएका बाबुआमा सबैले युद्ध घातक, विनासकारी र दुष्परिणाम भएको र भविष्यमा यस्तो युद्ध दोहोरिनु हुदैन भन्ने निचोड निकाले ।

कथाकार : एल एन सुवेदी “हस्ती”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *