वर्षौंदेखि मेरा आँखा त्यही बूढो बरको रुखमा परिरहन्थे । बिहान, बेलुकी, दिउँसो राति सधैभरि त्यही कहाली लाग्दो बूढो रुख । चारैतिर हाँगाहरू छरिएर विशाल भू-भागमा फैलिएको त्यो रुख मैले जान्ने हुँदै पनि त्यस्तै थियो । मेरा दाजुहरूले जान्दा पनि त्यस्तै थियो रे । मेरा पिताजीले आमालाई विवाह गरी ल्याउँदा पनि त्यो त्यस्तै थियो रे । मेरी हजुरआमाले कहाँबाट हो कुन्नि ? मसिना एक जोडी वर र पिपलका बिरुवा ल्याएर बिधि पूर्वक रुपमा तिनीहरूलाई रोपेपछि हजुरआमाले नै साइत हेरी बिहे गरी दिनु भएको हो । हजुरआमाका मलिला हातले त्यसका जराहरूलाई फाले हालेर एकै ठाउँमा चौखुर्याई दिएपछि पक्षघातले थलिएर बिमारी जस्तै आजसम्म पनि त्यही ठाउँमा इमान्दार पूर्वक यता-उता अलक-ढलक नगरी बसेको छ । शुरुमा वर पिपलसँगसँगै हुर्कन लागे पनि समय बित्दै जाँदा वरको सेपले पिपल सिन्ग्रिदै त्यतिकै काँस्यो रपछि नाम निशाना हरायो ।
हाम्रो घरको पारीपट्टिको ठूलो भू-भागमा फैलिएको यो रुखको चारैतिर अनकंटारको बाँसघारी छ । बाँसघारी वीचमा एउटा खोल्सो बगेको छ । गाउँमा त्यसलाई कामी खोल्सो भन्छन् । नाम किन कामी खोल्सो राखे मलाई थाहा छैन । त्यहाँ दिउँसै राति जस्तो अँध्यारो हुन्छ । गाउँमा वरिपरिका मसिना बच्चाहरू मरे भने त्यही वरको रुख भन्दा अलिक तल लगेर सेलाउँछन् । त्यहाँ दिउँसो पनि एक्लै हिड्यो भने तर्साउँछ भन्छन् । त्यस ठाउँतिर मध्य रातमा अनौठा अनौठा आवाज निस्कन्छन् । कहिले चूरा बजाए जस्तो आवाज आउँछ, कहिले बालक रोएको होकी जस्तो, कहिले काही मानिसहरू गुन्गुनाए जस्तो लाग्छ, कहिले बृद्ध मानिसहरू रोएको हो कि जस्तो सुनिन्छ । सायद हावाको वेगले बाँसहरू एकापसमा रगडिएर निस्किएका आवाज हुँदा हुन् । निस्पट्ट र उराठ लाग्दा रातहरूमा स्याल र फ्याउराहरू कराउँदा अझै डरलाग्दो वातावरण हुन्छ ।
त्यो बरको रुख कसैको घर बनेको छ, कसैको मनोरन्जनको साधन बनेको छ, कसैको आराम गर्ने चौतारी बनेको छ । युगल जोडीहरूका लागि माया प्रिती गाँस्ने ठाउँ बनेको छ । हरेक कुनाबाट हेर्दा कामको लागि नै बनेको हो, अरुको भलाइको लागि जिएको हो । त्यो रुखमा मसिना बच्चाहरू हाँगा तानेर पिंग खेल्छन् । कमिलाले आफ्नो घर बनाउँछ । चराचुरुंगीहरू आ-आफ्ना जोडी लिएर माया प्रीतिका गीत गाउँछन् । ढुकुरको भालेले पोथीलाई घुमाई घुमाई छेकेर फकाउँदै सहबास गर्छ र फेरि खेल्न थाल्छ । तुलिगांडाहरू साँझ पख कराउँदै आउँछन् र बास बस्छन् । बिहानीको भालेको डाकसँगै नजाने कता कता जान्छन् र फेरि बेलुकी बास बस्न आइपुग्छन् ।
म हेरी रहेको हुन्छु, एका बिहानै एउटा भाले गिद्ध आएर त्यो वरको रुखको टुप्पोमा बस्यो । तल माथितिरका मान्छेहरूले त्यसलाई देखेर कराउन थाले, “आज बिहानै अलच्छिन लाग्यो, आज के हुने हो कुन्नि” भनी एउटा लवर पाँडे केटाले दाउराको झटारो हानी तीन चारवटा मसिना हाँगाहरू भाँचिदियो । झटाराको चोटले कति दुखेको होला ? रातभरि पानी बर्सियो, विचरा निथ्रुक्कै भिजेर बसेको छ । जाडो पनि हुँदो हो । पानी ओभाउँदै गएपछि एक हूल बाँदरहरू आएर कसैले हाँगाहरू हल्लाए, कसैले कलिला मूनाहरू मर्याक मुरुक्क पारे । तीन चारवटा ढेडूहरू जोडसँग पिंग खेल्न थाले । मैले त्यो देखेर वरलाई पीडा भएको महसुस गरे र बाँदरहरूलाई कुकुर लगाएर लखेटें । उसले अलिक आरामको सास फेरे जस्तो लाग्यो । वरका फेदमा एक जोडी मानिस चामलका भारी बिसाएर आराम गरी राखेका छन् । एउटाले गोजीबाट सानो ऐनाको बट्टा निकालेर अनुहार हेर्दै सिन्दूरको टिका लगायो । एउटा एक्ले ढेडू दुई तीन दिनदेखि त्यही रुखमा बास बसेको छ । कहिले वरका दाना खान्छ, कहिले हंगामा पींग खेल्दै तल र माथि गर्छ । स्वास्नीसँग सम्बन्ध बिच्छेद गरेको जस्तो छ । बिहानी पख निकै बिरहको भाकामा बिलौना गाउँछ । मलाई त्यो नराम्रोसँग रोएको जस्तो लाग्छ । मैले त्यसलाई त्यँहाबाट खेद्ने सुर कसेको थिएँ । हजुरआमाले, “बाबु ! त्यो बिचरो एक्लै छ केही नगर पाप लाग्छ भन्नुभयो । फेरि मलाई त्यो प्रति दया जागेर आयो । हरे ! हामी पनि परिवारदेखि छुटेर यसरी नै एक्लै हुनु पर्यो भन्ने के हविगत होला भनेर मेरो दिमाग रन्थनियो ।
गाउँका चार-पाँच जना हुल्याह केटाहरू घाँस काट्ने निहूले त्यहाँ गएर वरलाई कसैले ठुँगे, कसैले मसिना जरा काट्ने, कोही हसियाका चूच्चाले कोरेर के के लेख्न थाले । त्यस विचारालाई घाउ नै घाउ बनाए । मेरी हजुरआमाले तिनीहरूलाई पाप र पुण्यको छ्यान् नभएका दोखहरू भन्दै गाली गरेपछि तिनीहरू तितर बितर भए । एउटा घुमन्ते कहाँबाट आएको हो कुन्नि ? त्यही बसेर सिरुको पात टिपेर मिठो आवाजमा हाक्पारे भाकाको गीतको धुन बजायो र एक छिनपछि बाटा लाग्यो । छिमेकी बाजेले आफ्ना गोरु पानी ख्वाउने बहानामा त्यही रुखको फेदमा लगे । गोरुले भुईमा खसेका पात खाँदै वरको रुखमा दलिएर निकै बेर आराम गरे । गाउँमा काम नभएका लतरखाजी झल्ला केटाहरू त्यसको फेदमा बसेर नजिकैको खोल्सीबाट दुंडमा पानी ल्याएर बनाएको धारोमा नुहाउन लागेका जवान महिलाहरूतिर नजानिदो पाराले आँखा घुमाउँदै आफू-आफूमा के-के छाडा कुरा गर्छन् । अलिक हद नाघ्न थालेपछि एउटी सुरी महिलाले तेरी आमाले नुहाएको हेर्न भन्दै गाली गरिन् । तिनीहरूको अनुहारमा चूक घोप्टियो र त्यहाँबाट टाप हाने । घाँस र दाउराका भारी बोकेर आएका केही युवायुवतीहरू एक छिन बसेर आनन्द लिएर हिंडे । तीन जना धानका बोरा बोकेर आएका तन्नेरीहरू त्यही बरको रूख फेदीमा भारी बिसाएर आफ्नी आमाको न्यानो काखमा सुते जस्तै गरी आराम गरी बाटो तताए ।
कागले गूँड लगाएर आफ्ना बच्चा हुर्काउँदैछ । चिबे चराहरू भुर्र उडेर आउँछन् र ओल्लो हाँगा पल्लो हाँगा गर्दै तलतिर बिष्टाएर जान्छन् । हजारौंको संख्यामा आएका सुँगाहरू साँझ पख बास बसेर बिहानै खेततिर बाली खान जान्छन् । रातमा लाटोको सेरो एकोहोरो कराउँछ । रात छिपिदै जाँदा कोइलीले कोकिल कण्ठले सुरिलो भाकामा गीत गाउँछ । फेरि बिहान हुन्छ । शिशिर ऋतुमा पात झरेर रुख जिंग्रिङ्ग पर्छ । फेरि बसन्त ऋतुले बेहुली सिंगारिए जस्तो हुन्छ । दिन, रात, हप्ता, महिना वर्ष, हुदै युग र सताब्दी नै बितिसकेको छ । रातको समयमा त्यो बरको रुखलाई हेर्यो भने विभिन्न किसिमका डर लाग्दा आकारहरू देखिन्छन् । त्यो हेर्दा जीउ फुलेर टाउको जिरिङ्ग भएर सातोपुत्लो जाला जस्तो हुन्छ । कुनै तिथि, चाड पर्वमा मेरी हजुरआमाले त्यसको फेदमा सानो लोटामा पानी र एउटा कलशमा गाईको शुद्ध दूध लगेर चढाउनु हुन्थ्यो । विचरा त्यो विशाल रुखलाई सानो लोटाको पानीले के हुँदो हो र ! उसको आयु कति लामो कसैले भन्न सक्दैनथे । मेरी हजुरआमा सान्तानब्बे बर्ष बाँच्नु भयो, त्यसको पनि त्यसैको आसपासमा आएपछि कसैले आरा धसी दियो । अफसोस् ! आज मेरी हजुरआमा पनि हुनुहुन्न र त्यो सबैको छहारी बनेको बरको रुख पनि छैन ।
एल एन सुवेदी “हस्ती”

खारिएको भाषा शैली र स्थानीय
खारिएको भाषा शैली र स्थानीय बोलीचालीको भाषाको प्रयोग गरेर लेखिएको यो कथा “हजुरआमा र बरको रुख” सेरोफेरोमा मात्र अल्मलिएको जस्तो लाग्ने | तर असाध्यै सुक्ष्म ढंगले चराचर जगतलाई अध्ययन गरेर लेखिएको कथा अति मन पर्यो | उसै त म एल एन सरको भाषा सैलीको पारखी हुँ | वास्तवमा गहिरिएर पढ्ने हो भने यो जीवन र जगतमा मानिस , प्राणीहरु र बनस्पति वीचको आपसी अन्तर सम्बन्ध र चरित्रको सजिव चित्रण गरिएको छ | यिनीहरु एक अर्कामा कति परिपूरक छन् भन्ने कुरालाई अनि मायाँ र छायाँको मूल्य र मान्यतालाई पनि अति नै सुक्ष्म ढंगले ब्याख्या गर्न सफल कथाकारलाई बधाई छ साथै यस्तै मनोविश्लेषणात्मक खालका कथा पढ्न पाउने अपेक्षा राखेकी छु |
Thanks
Dhanyabad Laxmi ji !