Skip to content

अनुत्तरित प्रश्नहरू

  • by


सुस्त मनस्थिति भएको बीरुको छोरो कान्छाले आँगन सँगैको खोल्मामा बाँधेको लैनो गाईलाई तीन-चार सिर्कना लगाएर कराउँदै भन्यो, “लु मर ! अहिले गोबर सोहोरेर सफा गरेको होइन, फेरि हगिस् ?”

गाईले दाम्लो छिनाएर भागौंला झैं गरेर यता र उता गर्यो ।

बीरुले कान्छालाई सम्झाउदै भन्यो, “अबुई कान्छा ! गाईलाई त्यसरी कुट्नु हुन्न नि ! फेरि दूध दिदैन, अनि के खानु हामीले ?”

“कुट्यो भने दूध दिदैन र बाबु ?” कान्छाले सोध्यो ।

“दिन्न नि बाबु, त्यसरी पशुलाई कुट्नु हुदैन माया पो गर्नुपर्छ ।”

एक छिन पछि हसियाँ लिएर घरको गारो कोर्दै कान्छो घर पछाडितिर लाग्यो । बीरुले आफ्नो मातृ भाषामा बोलायो । “आतान्बे कान्छा ? कोन्ना फेरे, कोन्ना फेरे !!” (कहाँ जान्छस् हौ कान्छा ? यता आइज, यता आइज)

कान्छोले आफ्नो बाबुको छेउमा बसेर सोध्यो “के गरेको बाबु ?”

बीरु भन्छ, “डोको बुनेको ।”

“किन बुनेको ?” कान्छाको प्रश्न ।

“घाँस दाउरा बोक्नको लागि,” बाबुले जवाफ दिन्छ ।

“किन घाँस दाउरा बोक्ने ?” कान्छाले प्रश्न माथि प्रश्न तेर्स्याउँदै जान्छ ।

कान्छाले डोकोको इतिहास खोज्न थालेपछि बीरु कान्छाको कुरा मोड्नलाई “हामी भोलि बजार जाने ल” कान्छा भन्छ । थोरै थोरै सुस्त मनस्थितिको छोरोलाई बीरुले कपासमा सुताएको छ । जता जान्छसँगै लिएर जान्छ । केही कुराको अपुग नहोस् भनेर मरी हत्ते गर्छ । कोही गाउँलेहरू भन्छन्, “होइन यो लठेप्राले के नाप्छ भनेर बीरु मरी हत्ते गर्छ हँ ?”

कसैले भन्छन्, “बिचाराले आमाले दिने माया सबै दिएको छ ।”

बीरु उसको छोरोलाई कहिल्यै गाली गर्दैन, नराम्रो भन्दैन । कान्छाको मनोविज्ञान बुझेर कुरा गर्छ ।

एक पटक कान्छो निकै दिन झोक्रायो । कान्छाले बाबुलाई भन्यो, “बाबु ! आमा लेऊ न हौ”।

बीरुले भन्यो, “तँ अलिक ठूलो भए पछि आमा आउँछु भनेकी छे ।”

“म कहिले ठूलो हुन्छु बाबु !” कान्छो प्रश्न गर्न थाल्छ ।

“अब छिटै कान्छो ठूलो हुन्छ अनि आमासँग भेट्ने है” भन्दै बिरु आफैले कान्छालाई झारफुक गर्यो । कान्छालाई बिशेक भएन । बारीको डिल छेउमा सेउली गाडेर कुखुराको अन्डा चढाई हिड्यो, त्यो पनि काम लागेन र अन्त्यमा फुल दिदैं गरेको कालो पोथी कुखुरोलाई हेनेमेने गर्ने निहुँमा स्वाहा पार्यो । बेलुकी कुखुरो भुत्ल्याएर ततात्तो झोलसँग कान्छालाई खाना खुवाउँदै गर्दा अगेनामा बल्दै गरेको आगोको उज्ज्यालोले भित्तामा उसकी प्रीय स्वास्नी दिलशोभाको छायाँ देख्यो । काटीकुटी दिलु उस्तै छे, कपाल गुजुल्तटयाएर डल्लो पारेकी, चोलोको एउटा तुनो खुल्ला छ, दुबै हातमा एक एकवटा चाँदीका बाईं छन् । काम गर्ने तरीका उस्तै, त्यसै गरी हाँस्छे । बीरु अचम्ममा पर्यो ।

“दिलु ! तैले मलाई ठूलो भुमरी भित्र छोडेर एक्लै गइस् । म माथि आकाश खस्यो ।”

“हल कनाह भए जसो तसो चल्थ्यो होला, जोडी नै नभए पछि केही नहुने रहेछ । हामी वीचमा केही स्वार्थ थिएन । समर्पण र त्याग थियो । तैले त्याग गरिस्, मैले समर्पण गरे । म तेरो रुप, गुण, जवानी र मायामा पग्लिएँ । तलाईं एउटा साहरा र भरोसाको खाँचो थियो । एकले अर्कोलाई अंगालियो । तर समय नै नभई मलाई यस्तो मोडमा लगेर छोडी दिइस् । न त अगाडि जान सक्छु, न पछाडि फर्कने बाटो छ । कस्तो बिलखबन्दमा परेको छु । अगाडि बढ्नको लागि म त्याग गर्न सक्थेँ । त्यो तेरो लागि हुन्थ्यो । पछाडि फर्केर मेरो स्वार्थको निर्णय गर्न सक्थे, त्यो मेरो लागि हुन्थ्यो । तर वीचमा एउटा सानो सुस्त मनस्थितिको पिप्सो छोडेर गएकी छेस् । एकातिर पर कतैबाट तैले चिहाइरहेकी होलिस्, त्यसले कतै दु:ख पाउने हो कि भनेर । अर्कोतिर सामने यो अबोध बालक मलाई सयौं अन्नुतरित प्रश्नहरू गरी रहन्छ । म यस्तो भयानयक र डर लाग्दो मानसिकताको पराकास्टभित्र रुमलिएको छु । यो बालक एक्लै हुँदाको अवस्था सम्झेर मलाई डरलाग्दो त्रासले खाँदै लागेको छ । यस्तो परिस्थितिलाई भगवानले पनि केही गर्न सक्दैनन् । यदि भगवानले केही गर्न सक्ने भए मैले पानीबाट झिकेको माछो हुनु पर्थ्यो र ?”

गालासम्म बगेका आँसुका थोप्ला देखेर कान्छाले भन्यो, “बाबु ! तिमी रुँदै छौ कि के हो ?”

बीरु समालिदै भन्छ, “होइन कान्छा ! यो दाउराको धुँवा मेरो आखाँमा परेर आँशु आएको हो ।”

“यो दाउरालाई बाहिर लगेर फ्याँकी दियँ बाबु ?” कान्छो प्रश्न गर्छ ।

केही दिन पछि कान्छो अलिक उजिल्लियो । दशैं घरभित्र पस्न लागेको थियो । सिकुवाको आटमा बसेर बीरु खेतका गरामा झुलेका धनका बालातिर हेर्दै फेरि दिलुमा ठोक्किदै भन्यो, “दिलु ! तैले जितिस्, मैले हारें । वास्तवमा यो हारजितको खेल थिएन, तर निर्णय यस्तै भयो ।”

अनौठो संयोग भनौ कान्छो पनि घुम्दै गएर बीरुलाई “आमा कहिले आउने हौ बाबु ?” भन्दै प्रश्न राख्यो ।

कान्छाको मनस्थिति बुझेर बीरुले “दशैमा हामी बजुको घरमा जाने है कान्छा” भन्दै उसको जिज्ञासा टार्यो । कान्छालाई पिठ्यूँमा बोकेर बीरु ससुराली हिड्यो । कान्छो कहिले बाबुको चिउडो समाउँछ, कहिले उस्का पातला तिखा परेको जुँगा उखेल्न खोज्छ, कहिले बाबुको टोपी झिकेर आफ्नो टाउकामा लगाउँछ । कान्छालाई देखेर बीरुकी सासूले भनिन्, “आम्मै नि ! नाती त मेरी छोरी जस्तै अनुहारको पो भएछ त । काटिकुट्टी उस्तै पो छ त हौ !”

फेरि कान्छाले आमा खोज्दै भन्यो, “मेरो आमा कहाँ छ बजु ?”

बिरुले कान्छालाई थम्थमाउँदै भन्यो, “अब चाडै आउँछ कान्छा ।”

सासूले सेता अक्षताका टीका लगाई दिदैँ ज्वाईंलाई भनिन्,”होइन ज्वाईं ! अर्को बिहे गरेर बस भन्छु, मान्ने होइन । कसरी जिन्दगी बिताउछौ ?”

बीरू भन्छ, “कुरा बुझिदेऊ न आमा ! मैले अर्को बिहे गरें भने यो कान्छालाई कसले हेर्छ ? सौतेनी आमाको व्यवहार तिमीलाई नै थाहा छ ।”

“होइन हौ, सबै सौतिनी आमा त्यस्तो हुदैनन्” भन्दै बूढी आशु पुच्छिन्, बीरु घुटुक्क थुक निल्छ ।

दिन, हप्ता, महिना र बर्षहरू आफ्नै गतिमा बिते । ऋतुहरू आउँदै जाँदै गरे । कान्छो शारीरिक रुपमा जवान हुँदै गयो । बाबुको असल व्यवहारले मानसिक रुपमा पनि केही परिपक्क भए जस्तो देखियो । उनीहरू वीचमा एउटा फरक देखिन थालेको छ । कान्छोमा जवानी चड्दै गयो बीरु बूढेसकालतिर लम्कन लाग्यो । काम गर्दा त्यति भाँती नपुर्याए पनि आजकल कान्छो घर खेतीको काम आफैं गर्छ । बीरु अलिक शारीरिक रुपमा पनि गल्न थालेको छ ।

कहिले काहीं बीरुलाई छाती देख्ने गर्छ । उसले कान्छालाई भन्छ, “कान्छा ! मेरो छाती दुख्यो अस्पताल जाउँ है !”

कान्छाले “मलाई पनि दुखेको छ” भन्छ । बाबुलाई हुने पीडा आफूलाई पनि भएको अनुभव गर्छ । ठूलो जवान भैसकेको छ फेरि पनि बाबुसँगै सुत्छ । बिरूको छाती निकै दुखेपछि स्वास्थ्य चौकी लानको लागि कान्छोले बीरुलाई पिठ्यूँमा बोकेर हिंड्यो ।

माथिको चौतारीमा पुगेर बिसाउँदै भन्यो, “पिसाब लाग्यो हौ बाबु !”

बाबु भन्छ, “उतातिर गएर गर्न ।”

कान्छो बाबु बसेभन्दा तीन चार हात पर गएर पिसाप फेरेर टक्टकाउँदै आएर फेरि बाबुलाई पिठ्यूँमा हाल्छ । बीरू पुराना दिनतिर फर्किन्छ, “हिजो मैले यसलाई यही ठाउँमा बोकेर हिड्ने गर्थे, आज मलाई उसले बोकेर हिड्छ । दिलुलाई भगाएर यही बाटो आएको हिजो अस्ति जस्तो लाग्छ, आज ऊ भएकी भए….!”

कान्छाका काँधमा बीरुका आँसुका थोपा खसे ।

कान्छालाई यो अवस्थामा पुर्याउन एउटा स्वास्थ्य चौकीको कम्पाउन्डरले ठूलो मद्धत गर्यो । कान्छासँग कस्तो व्यहार गर्ने भनेर बीरुलाई सधै सल्लाह र सुझाब दिने गर्थ्यो । जसै कान्छो बिरुसँग बजार जान्छ, नजिकै रहेको स्वास्थ्य चौकीको कम्पाउन्डर शोभा कान्त झासँग केही तरकारी घ्यू फलफूल लगेर भेट गर्छ । कान्छो सानो हुँदा शोभाकान्त उसलाई मिठाई दिदै भन्थ्यो, “ओहो ! कान्छो त अब ठूलो हुन लागेछ है ।”

आजकल कान्छोलाई शोभाकान्तले देख्ने बितिक्कै उसको काम गर्ने मानिसलाई भन्छ, “लौ कान्छो आईपुगेछ । कान्छाको लागि मिठाई र सेल रोटी लिएर आउ ।”

कान्छो खुशी हुँदै भन्छ, “बाबुलाई पनि लेऊ मलाई पनि लेऊ है सर !”

हरेक कुरा बाबुलाई भाग नलगाई केही खाँदैन ।

शोभा कान्तले बीरुलाई भन्यो, “हेर बिरु ! दिलशोभा चाडै गइन्, मलाई पनि बडो अफसोस् लागेको छ । झन् तिमीलाई त कत्रो घाउ लागेको होला । तर तिम्रो असल चालचलन, बानी बेहोरा, माया र राम्रो घरायसी शिक्षाको कारणले गर्दा तिम्रो कान्छोमा कति ठूलो परिवर्तन आयो । असक्त मानिसहरूलाई माया ममता, राम्रो घरायसी वातावरणले ठूलो प्रभाव पारेको हुन्छ । हेर ! अहिले कान्छाले तिमीलाई गर्ने माया न शब्दमा व्यक्त गर्न सकिन्छ, न बोलेर र बुझाएर ब्यक्त हुन्छ । तिमीसँग उसका अनुत्तरित प्रश्नहरू छन् । ऊसँग तिमीलाई गर्ने अथाह माया छ ।”

कथाकार : एल एन सुवेदी “हस्ती”

मंगलबारे, ईलाम

हाल : यू ए ई

Leave a Reply

Your email address will not be published. Required fields are marked *